१८ चैत्र २०६९ | 31 March 2013

स्वादिला कोरियाली परिकार

Share:
  

नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल आदि परिकार खाइरहेको जिब्रोलाई नयाँ स्वाद लिन ठमेलको कोरियन रेष्टुरेन्ट एउटा राम्रो विकल्प हुनसक्छ। २२ वर्षदेखि सञ्चालित सांग्रिला रेष्टुरेण्ट प्रा.लि.को यो रेष्टुरेन्टमा आफूले रोजेको तात्तातो परिकार चुल्होसहित टेबुलमा आइपुग्छ।

सामग्याप सल सेट यो रेष्टुरेण्टमा सर्वाधिक चलेको परिकार हो। कोरियन स्टाइलका पर्क मीटलाई आफैं चुल्होमा पकाएर, दुई प्रकारको किम्ची, टोफु, अचार, खुर्सानी, लसुनलाई साङछुको पातमा बेरेर पान जस्तै गरी सामग्याप सल खाँदाको मजा विशेष हुन्छ। राइस र कोरियन सुपसहित आउने सामग्याप सल सेटले दुई जनालाई पुग्छ।

यो रेष्टुरेन्टको अर्को विशेष परिकार बुल गोगी सेट हो। चिकन, पर्क र विफमा हुने यो परिकार पनि सामग्याप सल जस्तै टेबुलभरी हुन्छ। यो रेष्टुरेन्टको अन्य परिकारमा ढुङ्गाको बोलमा खाने डोल सोट विविम्वाप, भेजिटेवल, राइस, मीट, अण्डा मिक्स सी फुडमा र्‍याप गरिएको किमवाप विशेष छन्। यहाँ जाडोमा कोरियन मसला राखेर बनाइएको सिङ्गो चिकन साङ्गे पान र गर्मीमा कोल्ड सस, कोल्ड नुडल्स, भेजिटेबल, अण्डा, मीटलाई आइसमा राखेर खाने नेङमेन पनि पाइन्छन्। शुक्रबार र बुधबारको स्पेसलमा बार्बी क्यु थपिन्छ।

भिल्ला एभरेष्टका मसला, सस, खुर्सानी, सी फुड र बनाउने शैली कोरियन भए पनि धेरैजसो उत्पादन नेपाली नै हो। यहाँ चाहिने धेरैजसो चिजबिज रानीवारीको ९ रोपनी जमिनमा उत्पादन हुने रेष्टुरेण्ट सञ्चालक तथा सेफ आङदोर्जी शेर्पाले बताए।

अनुशील

सामग्याप सल सेट रु. ६५०

बुल गोगी सेट रु.६००

बुल गोगी सेट रु.४००

डोल सोट विविम्वाप रु.४००

किम वाप रु.३००

साङ्गे पान रु.७००

नेङमेन रु.३००

सम्पर्कः ०१–४४४१५९३

comments powered by Disqus

रमझम