१८ चैत्र २०६९ | 31 March 2013

हुईको नेपाली सुर

Share:
  

उनी हुन्, रेन हुई। घर हो– दक्षिणपश्चिम चीनको हेनान प्रान्तको नान्याङ शहर। हँसिली र फुर्तीली यी चिनियाँ केटी हिजोआज बुटवलमा 'लल्ली' नाममा चिनिन्छन्। स्वयंसेवी चिनियाँ भाषा प्रशिक्षक भएर बुटवलको कालिका उमाविमा आएकी हुईको योभन्दा महत्वपूर्ण परिचय नेपाली संगीतको चिनियाँ साधक हो। उनी मञ्चहरुमा पनि जम्न थालेकी छन्। “नेपाली गीतसंगीतमा उनको लगाव गम्भीर छ”, वागेश्वरी संगीतालयमा हुईको भोकल प्रशिक्षक सुरेश सेञ्चुरी भन्छन्, “मादल र सारंगी बजाउन पनि सिकिसकिन्।”

'सयौं थुंगा फूलका हामी...' र अन्य आधुनिक गीतको उच्चारणमा कुनै खोट नराखी गाउने हुईलाई चिनियाँ राजदूतावासको समन्वयमा बुटवल आउँदा कहिले समय बित्ला र फर्कुंला भन्ने थियो। तर, अब उनलाई समय छिटो सकिएकोमा थकथक लागिरहेको छ। उनले देश फर्किएपछि नेपाली गीतसंगीतको क्षेत्रमा काम गर्ने योजना बनाइसकेकी छन्, तर त्यसका लागि अलि लामो बसाइँको आवश्यक छ। “गीतसंगीत भनेको आफैंमा एउटा संस्कृति हो”, उनी भन्छिन्, “थोरै समयमा कुनै पनि संस्कृतिको गहिराइमा पुग्न सकिंदैन।”

दीपक ज्ञवाली, बुटवल

comments powered by Disqus

रमझम