२५ चैत्र २०६९ | 7 April 2013

सामान्य उपचारमा सीमित सरकारी अस्पताल

Share:
  

सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीहरूले आफूहरूको उपचार व्यवस्था राम्रो नभएको बताएका छन्। देशका विभिन्न १३ शहरका २४ प्रतिशत उत्तरदाताले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रको उपचार नराम्रो भएको बताएका हुन्। सम्बन्धित शहरका अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचाररत बिरामीहरूमाथि गरिएको सर्वेक्षणमा २२.६ प्रतिशतले राम्रो र ५१.३ प्रतिशतले 'ठीकै' बताएर परिस्थितिसँग सम्झ्ौता गरिरहेको जनाउ दिएका छन्।

कुल ३७६ उत्तरदाताबीच गरिएको सर्वेक्षणमा सबैभन्दा खराब उपचार बुटवल (७६ प्रतिशत) र जनकपुर (६४ प्रतिशत) का सरकारी अस्पतालमा हुने गरेको पाइयो। त्यस्तै सरकारी अस्पतालमा राम्रो भन्नेहरूमध्ये सबैभन्दा बढी धरान (३६ प्रतिशत) र काठमाडौं (३३ प्रतिशत) रहेको छ।

विर्तामोड, धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, घोराही, नेपालगञ्ज, धनगढीसँगै काठमाडौं उपत्यकामध्ये घोराही (३६ प्रतिशत) र जनकपुर (२४ प्रतिशत) का बिरामीहरूले चिकित्सकको व्यवहार नराम्रो बेहोरेका छन्। चिकित्सकको व्यवहार राम्रो पाउनेमा सर्वाधिक धनगढी र वीरगञ्जका बिरामीहरू ४४–४४ प्रतिशत रहेका छन्। कुल उत्तरदातामध्ये २९ प्रतिशतले चिकित्सकको व्यवहार राम्रो मानेका छन् भने ११ प्रतिशतले नराम्रो। ५६.९ प्रतिशतले 'ठीकै' भन्नुलाई उही सहनशील आम नेपाली मनोविज्ञानकै अभिव्यक्ति मान्न सकिन्छ।

अघिल्लो साता सम्पन्न सर्वेक्षणमा सामेल उत्तरदातामध्ये १८.१ प्रतिशत ज्वरो आएर अस्पताल पुगेका थिए। त्यस्तै १६ प्रतिशत हातखुट्टा दुखेर/भाँचेर, १५.४ प्रतिशत पेट दुखेर, ११.४ प्रतिशत छाती दुखेर तथा ४ प्रतिशत सामान्य कमजोरी भएर अस्पताल पुगेका थिए। यसबाट प्रष्ट हुन्छ– सरकारी अस्पताल जानेहरूमा सामान्य उपचारको खोजीमा रहेकाहरूकै बाहुल्य छ। सरकारी अस्पतालको उपचार व्यवस्था, चिकित्सकहरूको व्यवहार 'ठीकै' भएको बहुसंख्यकको प्रतिक्रियाको प्रतिबिम्ब हुनसक्छ, विशेषखालको उपचारको आवश्यकता भएकाहरूको गन्तव्य सरकारी अस्पताल बन्न सकेको छैन।

तथ्यांकशास्त्री बालकृष्ण खड्काको नेतृत्वमा देशभरका १२ शहरमा हरेक साता गरिने यस सर्वेक्षणका लागि द एशिया फाउण्डेशनको सहयोग रहेको छ।

–सम्पादक

comments powered by Disqus

रमझम