२५ चैत्र २०६९ | 7 April 2013

ई–पाटीमा पढाइ

Share:
  
सोलुखुम्बुमा शुरू गरिएको ई–पाटी कार्यक्रमले विपन्न परिवारका बालबालिकालाई आधुनिक प्रविधिसँग जोडेको छ।

सोलुबाट संसार चियाउँदै, फाप्लुका प्राथमिक तहका विद्यार्थी।
सूचनाप्रविधिको विकासले मानिसको जीवनयापनसँगै शैक्षिक उन्नतिलाई पनि सहज बनाएको छ। दुर्गम सोलुखुम्बुका बालबालिका आधुनिक प्रविधिसँग नजिकिन पाउनुको कारण प्रविधिको विकास नै हो। शेर्पा एजुकेसन फाउण्डेशन, सोलुखुम्बुले 'जिक. ओ. कनर स्कूल' फाप्लुका बालबालिकालाई ई–पाटी (ल्यापटप) मा रमाउँदै पढ्ने अवसर दिएपछि उनीहरूले पाठ्यसामग्रीको अभाव व्यहोर्नु परेको छैन भने आधुनिक प्रविधिबाट शिक्षा लिन टाढा धाउनुपर्ने बाध्यता पनि हटेको छ। विश्व खाद्य कार्यक्रम, साझा शिक्षा ई–पाटी र शेर्पा एजुकेशन फाउण्डेशनको संयुक्त प्रयासमा ती बालबालिकाले यो अवसर पाएका हुन्।

जिल्लाको शैक्षिक उन्नतिमा क्रियाशील डा. मिङमार शेर्पाको पहलमा २०६२ सालमा स्थापना भएको फाप्लु सामुदायिक विद्यालयलाई जिक. ओ. कनर नामकरण गरिएको छ। एउटा कोठाबाट शुरू भएको यो विद्यालयलाई स्थानीय आङ्तावा लामाले तीन रोपनी जग्गा दिएपछि विद्यालय सञ्चालन गर्न सहज भएको डा. शेर्पा बताउँछन्।

परम्परागत सिकाइलाई परिमार्जन गर्दै बालमनोविज्ञान अनुरुप सिकाउनु संस्थाको लक्ष्य रहेको डा. शेर्पा बताउँछन्। उनी भन्छन्, “किताबमा लेखिएको पढ्न र जान्न सक्ने बनाउने मात्र होइन, त्यसबारे अनुसन्धान गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु हाम्रो लक्ष्य हो।” उनी त्यही लक्ष्य प्राप्त गर्न विद्यालयमा 'एक विद्यार्थी एक ल्यापटप' कार्यक्रम शुरू गरिएको बताउँछन्। अङ्ग्रेजी माध्यमबाट निःशुल्क पढाइ हुने यो विद्यालयले दलित, आदिवासी, गरीब बालबालिकालाई सहुलियत पनि दिएको छ। हरेक कक्षामा सरदर ३० जना विद्यार्थी रहेको विद्यालयका माथिल्लो कक्षाका विद्यार्थीले कम्प्युटर ल्याब सुविधा पनि उपभोग गर्न पाउँछन्।

प्रविधिसँग जोडिंदै

विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा साझा शिक्षा ई–पाटी नेपालको कार्यक्रमअन्तर्गत शेर्पा एजुकेशन फाउण्डेशनले सन् २०१० बाट ई–पाटी बाँड्न शुरू गरेको हो। ई–पाटीमा पाठ्यक्रममा आधारित भिन्नै सफ्टवेयर छ। त्यसले पाठ्यपुस्तकका विषयलाई सहज, सरल र मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्न सहयोग पुर्‍याउँछ। जसले बालबालिकालाई अध्ययनमा रुचि जगाउँछ। यो प्रविधिले सिकाइलाई प्रभावकारी र अन्तरक्रियात्मक पनि बनाएको छ।

ई–पाटीको प्रयोगले रटाइ, घोकाइबाट विद्यार्थीलाई टाढा बनाउँदै ज्ञान आर्जन सहज बनाएको शिक्षकहरूको अनुभव छ। शिक्षक नितु गुरुङ कापी र बोर्डको सिकाइमा ध्यान नदिने विद्यार्थी समेत ल्यापटपमा पढ्दा खुशी हुने बताउँछिन्।

कक्षा २ देखि ६ सम्मका १२० जना विद्यार्थीलाई एक–एक थान ई–पाटी उपलब्ध गराइएको छ। विद्यार्थीलाई यसरी ई–पाटी उपलब्ध गराउने र आधुनिक प्रविधिबाट अध्ययन गराउने यो स्कूल पूर्वाञ्चलकै पहिलो भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ङिमा तेण्डुप शेर्पा बताउँछन्। विद्यालयको भौतिक पूर्वाधार निर्माण, विद्यालय सञ्चालन र शैक्षिक विकासमा सर एडमण्ड हिलारी हिमालयन ट्रष्ट क्यानडाले सहयोग गरेको छ।

शोभा अधिकारी

comments powered by Disqus

रमझम