१–१५ चैत २०६६ | 14-28 March 2010

धोबीको टिपोट

Share:
  
- ऋतुराज

कविजी दोहोर्याई दोहो¥याई पढिरहेका थिए हातमा कागजको चिर्कटो लिएर एउटा कविगोष्ठीमा ।

तत्रा दुई

आठ कमिज

प्यान्ट सात

चार सिरानी खोल

गञ्जी पाँच

कुर्ता दुई

तीन पेटीकोट

छ ब्लाउज

सारी तीन

श्रोताहरू बडो तन्मयसाथ सुनिरहेका थिए कविजीको कविता वाचन । उनीहरूलाई जिज्ञासा थियो अनेक नौला रुपकहरूको प्रयोगबाट कविले के भत्र लागेका हुन् भनेर । खासगरी नारी पहिरनको उल्लेखबाट पुरुष श्रोताहरू केही बढी नै रोमाञ्चित भइराखेका थिए ।

माथिका हरफहरू तीन पटक दोहो¥याइसकेपछि कवि आफैं केही झ्स्के र कागतको चिर्कटोलाई आँखा नजिक ल्याएर पावरदार चस्माबाट नियाले । केही असजिलो मान्दै कविजीले क्षमा मागेको भावमा भने, “होसै भएन ! यो त धोबीको टिपोट पो रहेछ । यहाँ सुनाउन भनेर ल्याएको मेरो नयाँ कविता चाहिँ कोटको अर्को खल्तीमा परेछ ।”

छन्दको नियम र लालित्यलाई तोडेर गद्यकविता लेखिन थालेपछि धेरैअघि बनेको यो जोक अचेलभरि घरी घरी याद आइरहेछ । किनभने हाल नेपालका प्रधानमन्त्री रहेका नेपाल ती कविजीले जस्तै कविता ठानेर धोबीको टिपोट पढिरहेछन् ।

चार शिलान्यास

उद्घाटन तीन

पुस्तक विमोचन दुई

एक अनावरण

पुरस्कार वितरण एक

एक दीक्षान्त भाषण

हेलिकोप्टरमा सयर दुई

दोसल्ला ग्रहण अभिनन्दन एक

यी सबै भ्याउँछु एक दिनमा

केवल एक दिनमा

अहिलेसम्म धोबीको टिपोट पढ्नमै मग्न उनलाई अर्को खल्तीमा रहेको संविधानको असली कविता पढ्ने होश कहाँ ?

स्टेरोइडको प्रभाव ?

बेन जोन्सन बडा चर्चित धावक थिए । अश्वेत क्यानाडाली यी धावक १०० मिटरको दौडमा इतिहासमै बेजोडा निस्के । गठिला मांसपेशीका बेन जोन्सनको प्रसिद्धिमा त्यतिखेर चारचाँद लाग्यो जतिखेर उनले ९.७९ सेकेण्डमै १०० मिटरको दौड पूरा गरे । त्यो चमत्कार उनले सन् १९८८ मा कोरियाको राजधानी सोलमा भएको ओलम्पिक्समा देखाएका थिए । त्यसभन्दाअघि त्यति छिटो कुनै धावक दौडेको थिएन । उनले स्थापित गरेको यस नौलो विश्व कीर्तिमानले मानिसको सारा अनुमानलाई परास्त गरेको थियो । जात्रे–सुत्रेहरू कुनै मानवले ९.९० सेकेण्डभन्दा कम समयमा दौडेर १०० मिटरको दूरी पूरा गर्न सक्दैन भन्थे । यी तेज धावकले ती सबैलाई गलत सावित गरिदिए ।

तर बेन जोन्सनले बनाएको नयाँ कीर्तिमान र उनको नौलो उचाइको प्रतिष्ठा दुई–तीन दिनमै झवाम भयो । उनको मूत्र परीक्षण गरिँदा उनले ‘स्टेरोइड’ खाने गरेको पाइयो । उनले आर्जन गरेको खिताब खोसियो । उनी खेल जगतबाट यसरी हराए जसरी उज्यालोमा तारा ।

स्टेरोइड शक्तिबद्र्धक औषधि हो । त्यो खानाले अतिरिक्त बल र स्फूर्ति प्राप्त हुन्छ । मांसपेशीको आयतनमा पनि वृद्धि भएर शरीर पाक्कपुक्क हुन्छ । त्यस्तो औषधि खाएर खेलमा भाग लिनु अस्वस्थ प्रतिस्पर्धा मानिन्छ । त्यसैले त्यसको प्रयोगमा ओलम्पिक्स र सबै अन्तर्राष्ट्रिय खेलकुद संस्थाहरूबाट प्रतिबन्ध लगाइएको छ । दौडने–खेल्ने खेलाडीहरूका लागि त्यो लागू भए पनि राजनीतिका खेलाडीहरूका हकमा भने त्यो नियम लागू हुँदैन । जति मन लाग्यो स्टेरोइडको त्यति मात्रा उनीहरू खान सक्छन् । त्यसमा प्रतिबन्ध छैन । किनभने राजनीति स्वस्थ प्रतिस्पर्धाको खेल होइन ।

जे होस्, राष्ट्रियस्तरका चार जना नेताहरूले हाल स्टेरोइड खाने गरेका छन् भनिन्छ । ती हुन् जीपी कोइराला, केपी ओली, विद्या भण्डारी र प्रदीप नेपाल । यी चारै नेताहरू निकै कडा रोगहरूबाट सताइएका छन् र कडा रोगसँग जुध्न कडा औषधि खानै प¥यो । स्टेरोइड कडा औषधिमध्येकै हो । उनीहरूका पाक्कपुक्क मुहारमा स्टेरोइडको प्रभाव झ्ल्कन्छ ।

पाक्कपुक्क देखिनुबाहेक स्टेरोइड सेवनको अर्को प्रभाव बोलीवचनमा पनि पर्दछ रे ! मुखबाट ह्वारह्वार के निस्कन्छ त्यसमा कन्ट्रोल नै हुँदैन रे ! बोलिसकेपछि ज्या के बोलिएछ भत्रे भए पनि बोल्दा जिब्रामा लगाम लगाउन सकित्र रे !

यो कुरा ऋतुराजलाई हालै स्टेरोइडका एकजना नियमित सेवनकर्ताले बताएका हुन् र माथिका चार जना स्वनामधन्य नेताहरूको स्टेरोइड सेवनबारे जानकारी पनि उनैले दिएका हुन् । हुन पनि हो, चारै जनाका बोली सुन्दा उनीहरूका मुख खापाबिनाको ढोका हुन् कि भत्रे लाग्छ । प्रदीप नेपाल त आफ्नै पार्टीलाई खराबमध्येको असल भनेर चुनावमा नमज्जासित हार्ने मान्छे हुन् ।

लौ मानौं यी चार जनाका बोलीलाई त स्टेरोइडको प्रभाव प¥यो रे ! तर पिपलपाते र सिल्पट कुरा गर्नमा त हाम्रा सबै नेता एक से एक छन् । के सबै रोगाहा छन् र सबैले स्टेरोइड खाएकै कारण उनीहरूका बोलीको ठेगान नभएको हो ?

राष्ट्रिय नारी दिवस

८ मार्च– अन्तर्राष्ट्रिय नारी दिवस ।

छापा, रेडियो र टेलिभिजनको समाचार अनुसार संसारभर नारी दिवस धुमधामले मनाइन्छ र यसपालि पनि मनाइयो । त्यसैले यसलाई अन्तर्राष्ट्रिय नारी दिवस भनिएको हो ।

नेपालले पनि अस्ति ८ मार्चका दिन यो अन्तर्राष्ट्रिय दिवस धुमधामले मनायो । सरकारले बिदा दियो । ब्याङ्क बन्द भए । स्कूल कलेज छुट्टी भए ।

तर काठमाडौंमा रहेका कुनै विदेशी दूतावास वा कूटनीतिक संस्थाहरूमा न बिदा थियो न त युएन र अनमिन नै त्यस दिन बन्द थिए । ती कार्यालयमा काम गर्ने नारीहरू नभएका त होइनन् । दिवस चाहिँ अन्तर्राष्ट्रिय, बिदा चाहिँ राष्ट्रिय । उसो भए के अब यसलाई राष्ट्रिय नारी दिवस भत्रे ?

comments powered by Disqus

रमझम