१–१५ चैत २०६६ | 14-28 March 2010

पहिचान र प्रतिष्ठा चुम्दै

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
पुरुष हावी भएका कतिपय पेशा–व्यवसायमा महिलाको पनि दह्रो उपस्थिति बन्दैछ ।

पुरुषले मात्र गर्ने छाप लागेका धेरै पेशा–व्यवसायमा महिला उपस्थिति बढ्दो छ । सवारी चालक, सेना, वैदेशिक, रोजगार, सुरक्षागार्ड जस्ता पेशामा महिलाहरू अगाडि आएको धेरै भएको छैन । महिलाका लागि भनेर बुझ्निे नर्सिङ, एयर होस्टेस, ब्यूटीपार्लरलगायतका पेशालाई आफ्नै पेशामा राख्न सफल महिलाहरू पछिल्लो समयमा चिकित्सक, विमानचालक, शिक्षक, वकिल, प्रहरी, इञ्जिनियर, ब्याङ्कर्स, पत्रकार, कलाकार जस्ता पुरुष बहुल पेशागत परिचयमा समेत दह्रो महिलाको हस्तक्षेप हुन थालेको छ ।

महिलाको काम घर–धन्दा, चुल्हो–चौको र बालबच्चा स्याहार्ने अनि पुरुषले मात्रै कमाउने भन्ने मान्यतालाई चुनौती दिँदै अलग र स्वतन्त्र पहिचान बनाउने महिलाहरूको सङ्ख्या बढेको छ । श्रीमानको कमाइले मीठो खान र राम्रो लाउन पुगे पनि सम्पन्न परिवारका पढेलेखेका छोरी–बुहारीका लागि समेत अलग्गै पहिचानका लागि विभिन्न पेशा र व्यवसायतर्फ बढेको आकर्षणले बताउँछ, अर्काको घर जाने जातलाई पढाएर के गर्नु भन्ने सामाजिक मान्यता मक्किएको छ । जसका कारण आफ्नै उद्योग–व्यवसाय सम्हाल्नेहरूको सङ्ख्या बढेको छ । माओवादीको हिंसात्मक विद्रोहमा बन्दूक बोकेर महिलाहरू पुरुषसरह लडेका थिए ।

अधिकारकर्मी मन्दिरा शर्मा, पुरुष हावी भएको पेशा–व्यवसायमा महिला हस्तक्षेप बढ्दै जानुलाई समयक्रमसँगै आएको महिला सशक्तिकरणको गतिलो प्रमाण ठान्छिन् । उनको बुझइमा महिलाहरू हरेक क्षेत्रमा पुरुषसँग प्रतिस्पर्धा गर्न सक्षम छन् । एकल महिला समूहकी लिली थापाका भनाइमा महिला र पुरुषमा प्राकृतिक भूमिका मात्र फरक हो, त्यसबाहेक पुरुषले गर्ने जुनसुकै काम महिलाले गर्न सक्छन् । महिलाले सक्दैनन् भन्ने धारणा बदलिएको बताउँदै उनी भन्छिन्, “घरभित्रै धेरै जिम्मेवारीमा थिचिनु परे पनि महिलाहरू बाहिर निस्किएर कामकाजी बन्दै गएका छन् ।”

महिलाहरू सक्षम भएर नै विभिन्न पेशा–व्यवसाय र सरकारी तथा निजी कार्यालय, उद्योगमा सामान्य कर्मचारीदेखि उच्च तहसम्म पुगेका छन् । राजनीति, कानून, उद्योग, ब्याङ्किङ, राष्ट्रिय–अन्तर्राष्ट्रिय सरकारी–गैरसरकारी संस्थाको उच्च तहमा पनि महिला सहभागिता बढेको छ । यसले देखाउँछ, कमाइ, पहिचान र प्रतिष्ठाका हिसाबले महिलाहरू पुरुषकै हाराहारीमा पुग्न थालेका छन् ।

सरकारी सेवामा पनि महिला सहभागिता बढेको छ । कुल ७२ हजार ८३८ निजामती कर्मचारीमा महिलाको सङ्ख्या ८७३१ पुगेको छ । भर्खरैको परराष्ट्र मन्त्रालयको अधिकृतका लागि खुलेको भर्नामा लोकसेवा आयोगले लिएको परीक्षामा प्रतिस्पर्धी पुरुषलाई पछि पार्दै पार्वती थापा प्रथम भइन् । केही महिला जहाज उडाइरहेका छन् भने कैयौं उडाउने लाइनमा छन् । राजधानीमा एयरहोस्टेस प्रशिक्षण दिने आधा दर्जन इन्ष्टिच्युटबाट हरेक तीन महिनामा सयभन्दा बढीले तालिम पूरा गर्छन्, तर हवाई कम्पनी र तिनको सेवा सीमित भएकाले सबैले काम पाउन सकेका छैनन् । बरु विदेशी एयरलाइन्सहरूले नेपालीलाई एयरहोस्टेस लिन थालेका छन् । त्यसैगरी देशभर करिब तीन हजार चिकित्सक, ६० हजार शिक्षक महिला छन् । नेपाल प्रहरीमा उच्च ओहोदादेखि जवानसम्म कार्यरत ५६ हजार ७७ जना प्रहरीमध्ये ३,१६९ महिला छन् । नेपाली सेनामा १११५ जना महिला कार्यरत छन् । नेपाल बार एसोसिएसनका करिब १० हजार सदस्यमध्ये १ हजार महिला वकिल छन् । ब्याङ्किङ क्षेत्रमा करिब चार हजार महिला कार्यरत छन् ।

पत्रकारितामा पनि महिलाहरू अगाडि नै छन् । नेपाल पत्रकार महासंघको तथ्याङ्क अनुसार देशभर ८०० पत्रकार महिला छन् । समाचार लेखेकै कारण भएको जनकपुरकी सक्रिय पत्रकार उमा सिंहको हत्या र रुकुमकी टीका बिष्टमाथिको आक्रमण काफी छ, यो क्षेत्रको ‘फ्रण्टलाइन’ मा महिला उपस्थिति प्रमाणित गर्न । नेपाली टेलिभिजन स्टेशनका क्यामरा चलाउनेमा महिलाहरूको उल्लेख्य उपस्थितिले यो पेशाकर्मीलाई नै पुरुष मात्र जनाउने ‘क्यामराम्यान’ को सट्टा ‘क्यामरापर्सन’ भनेर सम्बोधन गर्न थालिसकिएको छ । चलचित्र निर्देशनमा पनि महिला उपस्थिति देखिन थालेको छ । यस क्षेत्रमा सुचित्रा श्रेष्ठ, सरिना गुरुङ, रेणु चौधरी, सम्झ्ना रौनियार आदि सक्रिय छन् ।

पर्वतारोहणमा प्रशस्त सम्भावना भए पनि जानकारी र अवसरको कमीले महिलाको सङ्ख्या नगण्य नै छ । प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामुले इतिहास रचेको १६ वर्षमा १८ नेपाली महिलाले शिखर चुमेका छन् । दुई वर्षअघि मात्र १० जनाको प्रथम समावेशी महिला सगरमाथा आरोहण दलले सगरमाथामा पाइला टेकेको थियो । राजधानीमा सञ्चालित दुई हजार ब्यूटीपार्लरबाट धेरै महिला आत्मनिर्भर भएका छन् । राजधानीमा सयभन्दा बढी बुटिक र आधा दर्जन नाम चलेका फेशन डिजाइनिङ स्कूल महिलाको आधिपत्यमै छन् । उपत्यका बाहिरका साना–ठूला शहरमा पनि यो पेशामा संलग्न महिलाको सङ्ख्या बढेको छ ।

वैदेशिक रोजगारीमा भारतबाहेक अन्य मुलुक पुग्ने करिब ३० लाख नेपालीमध्ये २० प्रतिशत महिला छन् । नेपालमा हरेक वर्ष भित्रिने करिब डेढ खर्ब रेमिट्यान्समा उनीहरूको पनि उल्लेख्य योगदान छ । युनिफेमको वैदेशिक रोजगारमा महिला सशक्तिकरण कार्यक्रमकी दक्षिण एसिया संयोजक सरु जोशी विदेश जाने महिलाप्रतिको हेराइ बदलिँदै गएको बताउँदै भन्छिन्, “महिला आत्मनिर्भर हुँदा एउटा घर मात्रै होइन समाजकै स्वरुपमा परिवर्तन आउँछ ।” युनिफेमका अनुसार दैनिक ६० जना जति नेपाली महिला आफ्नै प्रयासमा वैदेशिक रोजगारीमा गइरहेका छन् भने दलालहरूमार्फत भारतीय बाटो भएर जानेको सङ्ख्या अझ् धेरै छ । विदेश जान माघमा चारित्रिक प्रमाणपत्र लिन प्रहरी प्रधान कार्यालय पुग्ने ६२०४ जनामध्ये १६३० महिला थिए । अर्कोतिर धेरै पुरुष विदेशिएकाले पनि महिलाहरूको सम्पत्ति र स्वामित्वमा पहुँच, ग्रामीण भेगका स–साना उद्योग व्यवसायमा संलग्नता तथा समाजमा जिम्मेवारी र हैसियत बढेको छ ।

सामाजिक जागरणले महिलाप्रतिको विभेद कम हुँदै गए पनि अन्त्य भने भइसकेको छैन । गाउँघर मात्र नभई छोरीले केही गरोस् भन्ने चाहना राख्ने अधिकांश शहरकै पढेलेखेका परिवारमा पनि शिक्षित बुहारीलाई घरभित्रै सीमित गरिएको पाइन्छ । तर, घर बाहिर काम गर्दा आयआर्जन बढ्ने, फराकिलो सोचाइ हुने, समाजको हेराइ बदलिने र आत्मनिर्भर हुँदै जाने महिलाहरूको अनुभव छ । युनिफेमकी सरु जोशी आत्मनिर्भरताले महिलाहरूको आत्मविश्वास बढ्ने बताउँदै भन्छिन्, “शहरकेन्द्रित शिक्षा र विकास गाउँ–गाउँसम्म पु¥याउन सके दुर्गम क्षेत्रका महिलाको पनि आत्मनिर्भरताको बाटो खुल्ने थियो ।”

महिलालाई घरधन्दामा मात्रै सीमित नराखी आयआर्जन र सीपमूलक काममा लगाउने क्रम शुरु भइसकेकाले उनीहरूको जीवनस्तरमा पनि क्रमशः सुधार आउनेमा अधिकारकर्मीहरू आशावादी छन् । मन्दिरा शर्मा अहिलेसम्म नेपाली महिलाहरूले आ–आफ्ना क्षेत्रमा जे–जति गरेका छन्, यसलाई सुरुआतकै चरण मान्छिन् । उनका भनाइमा सशक्तिकरण बढे पनि यसले सबै वर्गका महिलालाई छुनसकेको छैन । तैपनि महिलाले गरेका नौला र फरक कामले अरूलाई प्रेरणा दिने र समाजको सोचमै परिवर्तन ल्याई भेदभावको अन्त्य गर्ने दिशामा सकारात्मक सन्देश प्रवाह गर्ने काम गरिरहेको छ ।


सेनाः बढ्दो सहभागिता

प्रभा शाह सैनिक
जतिसुकै परम्परावादी भनिए पनि नेपाली सेनामा २०६१ सालमा पहिलो पटक लडाकू पदमा महिलाको भर्ती खुल्यो । परिणाम, प्रभा शाहलगायत ६०५ महिलाले मुलुकको जङ्गी सेवामा आफ्नो क्षमता स्थापित गर्न पाए । भर्ती खुल्नासाथ ‘ढिलै भए पनि राम्रो भएको’ ठान्दै अधिकृत क्यारेडमा आवेदन दिएकी प्रभा अहिले सैनिक मुख्यालयमा सह–सेनानी छिन् । रुकुम, वाफीकोटमा जन्मेर काठमाडौंमा हुर्केकी प्रभा भन्छिन्, “बाहिरबाट हेर्दा महिलालाई सैनिक बर्दीको जिम्मेवारी गाह्रो देखिए पनि त्यस्तो छैन ।”

पाँच वर्षको सैनिक जीवनमा उनले बटुलेको अनुभव अनुसार ‘सजिलो’ र ‘गाह्रो’ सबै पेशामा हुन्छ, तर कसले कहाँ कति अवसर पाउँछन् भन्ने कुरा महŒवपूर्ण हुन्छ । अवसर पाए हरेक काममा पुरुष बराबर क्षमता देखाउन सक्षम छन्, नेपाली महिला । ग्रामीण क्षेत्रमा पनि चेतना बढ्दो छ, तर महिलाले पाउने सीमित अवसर शहरमै केन्द्रित छन् । कठोर मेहनत गर्नुपर्ने इन्फेन्ट्री पल्टनमा पर्याप्त भर्ती खुले आफूलाई खरो उतार्न सक्ने महिला उम्मेद्वारको सङ्ख्या ठूलै हुनेछ ।

त्यसो त सेनाको प्राविधिक सेवाअन्तर्गत स्वास्थ्य क्षेत्रमा महिलाको प्रवेश २०१८ सालदेखि नै भएको हो । त्यसको १० वर्षपछि इञ्जिनियरिङ र प्याराफोल्डर कर्मचारीमा पनि महिलाले प्रवेश पाए । अहिले मेडिकल सेवामा डा. गीता बस्नेत र डा. ललिता जोशी सहायक रथी छन् भने डा. राधा शाह सोही पदबाट सेवानिवृत्त भएकी छन् । सैनिक मुख्यालयका अनुसार अहिले प्राविधिक २९५, प्रशासनमा १५५, अन्य सेवामा ६६ र इन्फेण्ट्रीमा गरी १११५ महिला सेनामा छन् । सैनिक प्रवक्ता रमीन्द्र क्षेत्री भन्छन्, “सबै महिला सैनिक दायित्व र नेतृत्वमा कोहीभन्दा कम छैनन् ।”


स्टेयरिङमा हात

नामः भवानी सुनुवार । उमेरः ४०, शिक्षाः स्नातक । पेशाः ड्राइभिङ ।

भवानी सुनुवार, चालक
गाडी हाँक्ने भनेपछि पुरुष नै हुनुपर्छ र पढेकी महिलाले अफिसमै काम गर्नुपर्छ भन्ने धारणा नबदल्ने हो भने भवानी सुनुवारको यो व्यक्तिगत विवरणले मथिङ्गल नघुमाई छाड्दैन । जतिसुकै पुरातन विचार राखे पनि रत्नपार्कबाट बौद्ध, मूलपानी रुटमा चल्ने बा १ ग ६०९५ नम्बरको माइक्रो बस चढेपछि थाहा हुन्छ— पुरुषको परम्परागत वर्चस्वमाथि महिलाले धावा नबोलेको कुनै क्षेत्र बाँकी छैन । भवानीकै कुरा गरौं, उनले सडकमा माइक्रो बसको स्टेयरिङ सम्हालेको ६ वर्ष भइसक्यो ।

स्नातक पढ्दापढ्दै के काम गर्ने भनेर मन डुलाइरहेको बेला पत्रिकामा ‘महिलाहरूका लागि निःशुल्क ड्राइभिङ प्रशिक्षण’ को सूचना देखेकी भवानीले तत्कालै आवेदन दिइन् र ३५ दिने तालिम लिएर चक्रपथमा सफा टेम्पो चलाउन थालिन् । त्यसको चार वर्षपछि उनी अहिले आफ्नै माइक्रो बस हाँकिरहेकी छन् । राजधानीमा मात्र करिब १०० जनाजति महिलाले सार्वजनिक गाडी चलाइरहेको अनुमान छ । भवानीसँग प्रशिक्षण लिएका ३५ जनामध्ये आधाजसो यही पेशामा छन् ।

सार्वजनिक गाडीमा मात्र होइन विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाका सवारी साधनमा समेत महिला चालक देखिन्छन् । राजधानीलगायत शहरमा निजी गाडी गुडाउने महिला पनि प्रशस्तै देखिन्छन् । भवानी भन्छिन्, “ड्राइभिङ पनि महिलाले कुशलतापूर्वक गर्नसक्ने कामभन्दा बाहिर पर्दैन ।” कनकपुर, रौतहटकी स्थायी बासिन्दा अविवाहित भवानी अहिले काठमाडौंको चुच्चेपाटीमा १० जनाको सगोल परिवारमा बस्छिन् । ड्राइभिङबाट उनी आफूमात्र आत्मनिर्भर भएकी छैनन्, परिवारलाई पनि धानिरहेकी छन् ।


भरपर्दो सुरक्षा

ज्ञानकुमारी पुन सुरक्षा गार्ड

“म युनिफेमको कार्यालयमा सुरक्षागार्ड छु ।”

यो उत्तर दिँदैगर्दा शिवमन्दिर, नवलपरासीकी ज्ञानकुमारी पुन (२४) को अनुहारमा आत्मविश्वास र पेशाप्रति विश्वास झ्ल्कन्थ्यो । ६ वर्षअघि एसएलसी अनुत्तीर्ण हुँदा ज्ञानकुमारीलाई मानिसहरूले ‘के काम गछ्र्यौ ?’ भनेर सोध्दा जवाफ दिन नसकेर हीनताबोध हुन्थ्यो । उनी अहिले इमानसाथ काम गरेर स्वाबलम्बी भएकी मात्र छैनन्, परिवार धान्न आमाबाबुलाई सहयोग पनि गरिरहेकी छन् । भनिरहनुपर्दैन, पाँच वर्षअघि ज्ञानकुमारीले तालिम लिएर सुरक्षागार्डको पेशा अँगाल्दा यो क्षेत्रमा पुरुषको एकलौटी थियो ।

तीन वर्षदेखि लगातार थापाथलीस्थित संयुक्त राष्ट्रसंघको युनिफेम कार्यालयमा कार्यरत ज्ञानकुमारीले चिनेजानेकै २० जनाभन्दा बढी महिला काठमाडौंस्थित विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, अस्पताल, होटल–रेस्टुरेन्ट, अन्य कार्यालय र व्यावसायिक प्रतिष्ठानमा सुरक्षागार्ड छन् । उनीहरू पुरुष सहकर्मीसरह दैनिक ८–१० घण्टा काम गर्छन् र बराबर कमाउँछन् । नेपालमा निजी सुरक्षाकर्मीको पेशामा महिलाको सङ्ख्या बाक्लिँदै गएको छ । देशभरका करिब दुई लाख सुरक्षागार्डमध्ये महिलाको सङ्ख्या दुई हजार काटिसकेको अनुमान सम्बद्धहरूको छ । राजधानी बाहिरका शहरमा पनि महिला सुरक्षागार्ड राख्ने चलन बढेको छ । पारिवारिक जिम्मेवारीका कारण पुरुष जस्तै दिनरात काम गर्ने अवस्था नभए पनि पछिल्लो समयमा महिला सुरक्षागार्डको माग बढिरहेको नेपाल सुरक्षा श्रमिक ट्रेड युनियन संघका अध्यक्ष गणेश श्रेष्ठ बताउँछन् ।

भारतीय सेनाका पूर्वसैनिक कृष्णबहादुर पुनकी छोरी ज्ञानकुमारीलाई प्रहरी वा सेनामा जागिर खान मन थियो । तर, एसएलसी पास गर्न नसकेपछि त्यता भर्ना हुन क्षमताले नपुग्ने ठानेर सुरक्षागार्डमा लागेको उनले बताइन् । ज्ञानकुमारी भन्छिन्, “महिलाले आत्मनिर्भर बन्न पुरुषले गर्ने जुनसुकै काम गर्न अघि सर्नुपर्छ ।”


अब्बल छन् एकल

सविता राई, विष्णुमाया पाण्डे, लिली थापा, प्रमिला तझ्या, नन्दा श्रेष्ठ र कमला शर्मा ।
श्रीमान्को मृत्यु वा सम्बन्धबिच्छेदपछि एकल जीवन बिताउँदै आएका महिलाप्रतिको सामाजिक दृष्टिकोणमा पहिले र अहिले आकाश–जमिन फरक छ । समाजमा शिक्षित सदस्यहरूको वृद्धिबाट मात्र नभई पुरातन सामाजिक सोचबाट पीडित एकल महिलाहरूमा आएको जागरण र उनीहरूकै डेढ दशक लामो सङ्गठित प्रयासमा तिनले शिर ठाडो पारेर हिँड्नसक्ने वातावरण बनाएका छन्, आफूहरूलाई ।

समाजमा अपहेलित जीवन बिताइरहेका एकल महिलाहरूलाई गत १५ वर्षदेखि सङ्गठित गर्दै आएकी लिली थापा आफ्नो सङ्गठनको शोक र वेदनालाई शक्तिमा बदल्ने नीति सफल बन्दै गएको बताउँछिन् । देशका ६४ जिल्लामा विस्तार भएको उनको मानवअधिकारका लागि महिला, एकल महिला समूह मा ४५ वर्षमुनिका झ्ण्डै ८० हजार महिला आवद्ध छन् । पाँच विकास क्षेत्रमा क्षेत्रीय कार्यालय खोलेर काम गरिरहेको सङ्गठनले एकल महिलालाई सङ्गठित गर्ने, आत्मनिर्भर बनाउने, नेतृत्व विकास तथा क्षमता वृद्धि गर्ने काम गरिरहेको छ । लिलीका अनुसार सती प्रथाबाट गुज्रेको समाजले एकल महिलालाई पहिला घरभित्रै सीमित पारेर सिध्याउँथ्यो, तर अब त्यो जमाना रहेन । उनी भन्छिन्, “अहिले त संविधानसभामा रहेका १९७ महिलामध्ये ५१ जना एकल महिला छन् ।”

१६ वर्षकै उमेरमा विधवा भएकी कैलालीकी कमला शर्मा चार वर्षअघिसम्म हरियो र सेतो पहिरन मात्रै लगाउन बाध्य थिइन् । तर अब उनलाई मनपर्दो रङको कपडा लगाउन समाजसँग डराउनुपर्दैन । एकल महिला समूहमा लागेपछि मानवअधिकारबारे थाहा पाएर आत्मबल बढेको बताउने उनी अहिले समूहको कैलाली जिल्ला उपाध्यक्ष पनि हुन् । समाजमा एकल महिलाहरू कसरी जागरुक भएका छन् भन्ने एक उदाहरण हुन्, कमला । समूहमा आवद्ध भएपछि उनीहरूमा हामी एक्लो छैनौं भन्ने भावनाको विकास भएको छ । समूहको पूर्वाञ्चल अध्यक्ष सविता राई भन्छिन्, “मृत अवस्थाको प्रतीक बनेको सेतो पहिरनको बाध्यता हट्यो नै, व्यक्तिगत क्षमता पनि बढ्दै गएको छ ।”


हीनताबोधको उद्दण्ड अभिव्यक्ति

– ठेकेदारलाई रकम मिनाहा गर्ने निर्णयको विरोधमा सहायक मन्त्री पासवानद्वारा १८ माघमा बाराका स्थानीय विकास अधिकारी श्यामसुन्दर मिश्रमाथि कार्यालयमै दुव्र्यवहार ।

– एयरपोर्टमा लिन थोत्रो गाडी पठाएको भन्दै राज्यमन्त्री वेगमद्वारा २४ कात्तिकमा पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीमाथि हातपात ।

– आफू चढेको झ्ण्डावाल गाडी थापाथली पुगेर बिग्रिएपछि सहायक मन्त्री चौधरीद्वारा ११ कात्तिकमा सिसा फुट्ने गरी गाडीमा मुड्की प्रहार ।

बोलीमा वजन र व्यवहारमा संंयम नभएको व्यक्तिले गर्ने जस्तो व्यवहार गरेका यी मन्त्रीले पदीय अहङ्कारको माध्यमबाट आफूमा व्याप्त लघुताभास र आक्रोश पोखेका हुन् । उनीहरूको चर्तिकलाबाट बुझ्निे चुरो कुरा यही हो । तर, यो बुझइ सिक्काको एउटा पाटो मात्र हो । उनीहरूलाई तत्काल यस्तो काम गर्न उक्साउने मनोविज्ञान र त्यसपछि उनीहरूले गरेको अनुभूति सिक्काको अर्को पाटो हो । त्रिभुवन विश्वविद्यालय केन्द्रीय मनोविज्ञान विभाग प्रमुख प्रा.डा. शिशिर सुब्बाको भनाइमा जनस्तरमा जतिसुकै आलोचना भए पनि यस्ता कामबाट उनीहरूले भित्री रूपमा आत्मसन्तुष्टि लिएका हुन्छन् ।

आफ्नै क्षमता, योग्यता र परिश्रममा अघि बढेकाहरूबाट हत्तपत्त यस्तो व्यवहार हँुदैन । नेपालका यी तीन मन्त्री हिजोसम्म जनताको जानकारीमा थिएनन् र अचानक ठूलो जिम्मेवारी पाउँदा नराम्रो कामबाट चर्चामा आए । यी कर्तुतबाट उनीहरूको सामाजिक पहिचानसँगै राजनीतिक जीवन नै सङ्कटमा परेको छ ।

डा. सुब्बाका अनुसार चर्चामा आउन चाहने तर राम्रो काम गर्न नसक्ने मानिसहरू एकप्रकारको मानसिक तनावमा हुन्छन्, जसले उनीहरूलाई अस्वाभाविक काममा उद्यत बनाउँछ र त्यो काम स्वाभाविक रूपमा निर्माण भन्दा ध्वंसमा केन्द्रित हुन्छ । प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई पिट्ने अनि आफैं चढेको गाडी फोर्ने अवस्थामा मन्त्रीहरूलाई पु¥याउन त्यस्तै तनावले काम गरेको छ । डा. सुब्बा भन्छन्, “जनताको सेवा गरेर आदर्श नेता बन्न धेरै समय लाग्छ, त्यस्तो धैर्य नहुँदाको दिग्दारीबाट मुक्त हुन उनीहरूले सहज बाटो रोजेका हुन् । यस्तो कामबाट समाजमा पर्ने असरबारे उनीहरूले सोचेका हँुदैनन् ।”

अर्का मनोविद् डा. गङ्गा पाठकको विचारमा यस्ता अस्वाभाविक गतिविधिमा उत्रनु असन्तुलनको चरमावस्था हो । यही कारणले गर्दा पदीय मर्यादा विपरीत उद्दण्डता मच्चाउँदा पनि पासवान, चौधरी र वेगमले ‘गल्ती भयो कि’ भन्ने सामान्य पछुतो समेत गरेनन् । मन्त्री वेगम त यस्ता कामबाट महिला सशक्तिकरणमै बल मिलेको दाबी गर्छिन् । डा. सुब्बा भने योग्यता, सीप र व्यवस्थापन क्षमता नभएकाहरूलाई बोक्नै नसक्ने गरी भारी बोकाउँदा यस्ता समस्या आएको बताउँछन् ।

तीनै जना मन्त्री तराईवासी र त्यसमाथि पनि जातीय, क्षेत्रीय, भाषिक आधारमा वर्षौंदेखि समाजमा दबाइएका महिलाहरूको प्रतिनिधि पात्र हुन् । डा. सुब्बाका अनुसार उनीहरू अकस्मात् र अनपेक्षित रूपमा मन्त्री बने, जसले तिनले उहिल्यैदेखि थुप्रिएका आक्रोश पोख्ने स्थानका रूपमा चिने । शक्तिमा पुगेपछि कतिपय मानिसमा अस्वाभाविक परिवर्तन देखिन्छ । यसमा व्यक्तिगत संस्कार, आकाङ्क्षा र आफूलाई बिर्सने प्रवृत्तिले पनि काम गर्छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका मनोरोग विभाग प्रमुख डा. सरोज ओझ अराजक राजनीतिक वातावरणले पनि मानिसलाई उद्दण्डतातर्फ धकेलेको बताउँछन् । उनका अनुसार अराजक वातावरणले मानिसको सहने क्षमतामा ह्रास ल्याएको छ ।

यसबाहेक, यी तीन मन्त्रीले देखाएको व्यवहारमा एकै पटक ठूलो पदमा पुग्दा अभाव भएको आत्मविश्वास र पुरुषप्रधान परिवेश पनि जिम्मेवार छन् । उनीहरू आफूमा कम क्षमता भएको हीनताबोध र मन्त्री भएर आफूले पाउनुपर्ने सम्मानप्रति आवश्यकताभन्दा बढी संवेदनशील भएको परिणाम पनि हो, प्रस्तुत उद्दण्डता । जस्तो, कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले ‘अरूलाई भए नयाँ गाडी लिएर सिडिओ आफैं विमानस्थलमा स्वागत गर्न आउँथे’ भन्ने हीनताबोधलाई जण्ड रूपमा अभिव्यक्त गरिन् ।

त्यसैगरी, सहायक मन्त्री कलावती देवी पासवानले आफू कम पढेकी सोझ्ी महिला भएकाले एलडिओले नटेरेको भन्ने शङ्काको गलत उपचार गर्न खोजेकी हुन् भने शिक्षा तथा खेलकुद सहायक मन्त्री चन्दा चौधरीले पनि ‘अरूलाई भए नबिग्रने गाडी दिने थिए’ भन्ने हीनताबोधलाई झयालको सिसामा मुड्की बजारेर पोखेको लख काट्न गाह्रो पर्दैन ।

रामजी दाहाल

comments powered by Disqus

रमझम