राजनीति
सुप्रभा घिमिरे, नेपाली काङ्ग्रेसः क्षमता नभएर होइन अवसर नपाएर महिलाहरू नेतृत्वमा नपुगेका हुन् । म, आफैँले पनि महिलाका लागि मात्र राजनीति गरेको होइन । समतामूलक समाज बनाउने हो भने महिला राजनीतिज्ञलाई महिलाको नेतृत्वमा मात्र सीमित पार्नुहुँदैन ।
मीना पुन, जनमोर्चा नेपालः राजनीतिमा मात्र होइन सामाजिक क्षेत्रमा पनि महिला नेतृत्व विकसित भएको छ, तर निरन्तर टिकिरहने वातावरण छैन । पारिवारिक, सामाजिक, आर्थिक कारणले बीचैमा निष्क्रिय हुने अवस्था छ । यसतर्फ पार्टीहरूले ध्यान दिनुपर्छ ।
थममाया थापा, नेकपा एमालेः पितृसत्तात्मक नेपाली समाजको संरचनालाई नचिरी सबै क्षेत्रमा समान सहभागिता सम्भव छैन । यहीबेला नेतृृत्व विकास पनि गर्दै लैजानुपर्ने हुन्छ । अनेक समस्या चिर्दै आएकाले नेपाली महिला नेतृत्वका लागि सक्षम हुँदैछन् ।
चन्दन साह, तराई–मधेश लोकतान्त्रिक पार्टीः राजनीतिक, सामाजिक, आर्थिक; सबै हिसाबले पछाडि रहेका तराईका महिलामा मधेश आन्दोलनपछि जागरण आएको छ । आन्दोलन नभएको भए म आफैँ अहिले राजनीतिमा नहुन सक्थेँ । दीर्घकालीन रूपमा महिला नेतृत्व विकासका लागि शिक्षा महŒवपूर्ण हुन्छ । महिला शिक्षित भएपछि आर्थिक, सामाजिक विकाससँगै राजनीतिक नेतृत्वमा पनि पुग्न सक्छन् ।
निलम वर्मा, मधेशी जनअधिकार फोरमः नेपाली राजनीतिमा पुरुष जत्तिकै सबल छन् महिलाहरू, तर शक्ति पुरुषहरूको हातमा छ । मैले १५ वर्ष नेपाल सद्भावना पार्टीको महिला सङ्गठनको केन्द्रीय नेतृत्व गरेँ भने अवसर पाए अब पार्टीको नेतृत्व गर्न किन सक्दिनँ ?
हिसिला यमी, एनेकपा माओवादीः सबै दलहरूमा सामन्ती र पितृसत्तात्मक सोच हाबी छ । महिलालाई महिलाको मात्र नेतृत्व गर्न दिइएको छ । त्यसैले नेपाली महिला राजनीतिज्ञले आ–आफ्नो पार्टीभित्रको सामन्ती संरचनाविरुद्ध लड्नुपर्छ । तर महिलाको नेतृत्व भएर मात्र पनि नहुने रहेछ भन्ने कुरा भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा महिला प्रधानमन्त्री बनेर पनि आधारभूत परिवर्तन नदेखिएबाटै स्पष्ट भएको छ । वैचारिक विकास भएन भने नेतृत्व पाएर मात्र केही हुँदैन । अर्को कुरा, अवसरवाद र पार्टीपद्धति तोड्नेमा पनि पुरुष नै अगाडि छन् । हामी महिला राजनीति र सामाजिक रूपमा पनि ज्यादा अनुशासित छौं ।
सुप्रभाः हामीकहाँ महिला नेतृत्व राम्रो अभ्यासबाट नआएकाले आरोप लाग्ने गरेको हो । तर सँगै सम्पूर्ण महिलाहरूले आ–आफ्नो दलमा सङ्घर्ष गरेर बनाएको सञ्जालमार्फत हामीले ३३ प्रतिशत सहभागितासँगै नागरिकता, सम्पत्तिमा समान हक आदि गरेर १० वटा मागमा सफलता पाएको कुरालाई बिर्सन मिल्दैन ।
अन्य क्षेत्र
हिसिलाः वैदेशिक रोजगारका लागि अधिकांश पुरुष पलायन भएपछि नेपालको ग्रामीण अर्थतन्त्र महिलाले धानेका छन् । तर, उनीहरूको श्रमलाई पूँजीमा बदल्ने पहलकदमी सरकारबाट भएको छैन । यो काम हामी आफैंले गरेर राष्ट्रिय पूँजीवादी क्रान्तिमा जानुपर्छ ।
सुप्रभाः राजनीति प्रमुख क्षेत्र भएकाले महिलाहरू यसमा अघि नआउञ्जेल अरू क्षेत्रमा अगाडि बढ्न सक्दैनन् । त्यसो त महिलाले सञ्चालन गरेका सहकारीहरू राम्रै चलेका छन् । नेपालमा अहिले रेमिट्यान्समा महिलाको योगदान दिनदिनै बढेको छ । ग्रामीण पर्यटनमा आमा समूहहरूको सङ्गठित उदय भएको छ । तर, पुरुष सत्ता अर्थतन्त्रको यो वास्तविकतालाई मान्न हिच्किचाउँछ ।
थममायाः चेतनास्तर उठ्नुका साथै महिलाले धेरै ठाउँमा नेतृत्व पनि पाएका छन् । तर, पुरुष सत्ताले त्यसलाई पचाउन सकेको छैन । यस्तो अवस्था हटाउने दायित्व राज्य र दलहरूको हो ।
मीनाः नेपाली महिला शिक्षा र अवसरको अभावले व्यापार व्यवसायमा पनि पछिपरेका हुन् । त्यसमाथि महिलाले केही गर्न सक्दैनन् भन्ने धारणाले पनि काम गरेको छ । शिक्षित र सक्षम महिला राजनीतिमै आउनुपर्छ भन्ने छैन ।
समाधान
थममायाः दलहरूबाट महिलाबारे स्पष्ट नीति घोषणा र कार्यान्वयन हुनुपर्छ । महिलाबीचमै सकारात्मक चिन्तनको विकास हुनुपर्छ । एक महिलाको प्रगतिमा अरू महिलाले खुसी हुन सक्नुपर्छ । कमजोरी भए सुधार्न सहयोग गर्नुपर्छ, खुइल्याउने काम गर्नुहुन्न ।
मीनाः सामाजिक चिन्तनमा परिवर्तन जरुरी छ । जस्तो कि, पुरुष राजनीतिकर्मीहरू बिहानै पत्रपत्रिका, टेलिभिजन र रेडियो छिचोलेर बाहिर निस्कन्छन् तर, महिलाले घरधन्दा सकेर मात्र राजनीतिमा निस्कनुपर्ने अवस्था छ । त्यसलाई हटाउनुपर्छ । क्षमता बढाउने कुरामा पनि महिला पछि नै छन् । यसमा सुधार आए महिलालाई पार्टी र देशको नेतृत्व गर्न समय लाग्दैन ।
सुप्रभाः संसद्मा ३३ प्रतिशत, नागरिकता, सम्पत्तिमा अधिकार आइसकेको बेला पत्नीले पनि पतिलाई चिया खाने भए मलाई पनि पकाएर दिनुस् भन्न सक्नुपर्छ । पार्टीका नेताहरूमा महिलालाई ठाउँ दिए आफू बाहिर परिने डर छ । तर महिलाहरू भयरहित हुनुपर्छ, विरोध गर्दा नेताले अवसर नदेलान् भनेर डरायो भने पछि नै परिन्छ । म अधिकार र विचार सम्प्रेषणकै लागि पार्टी लाइनविरुद्ध नेपाली काङ्ग्रेस संसदीय दलको नेतामा उठेकी थिएँ, तर नेतृत्व रिसाउला भनेर महिलाले नै भोट दिएनन् !
व्यवधान
निलमः हामीकहाँ चाकडी गर्नेलाई मात्र ठाउँ दिने गरिन्छ । ठाडै प्रतिवाद गर्दा पछि पारिन्छ, नगर्दा पनि त्यही हुन्छ । सजिलो छैन, पुरुषसत्ता तोड्न ।
सुप्रभाः म चुनाव जितेर आएँ, तर कुनै पदीय जिम्मेवारीमा राखिएको छैन । अधिकांश महिला राजनीतिकर्मी मौकामा पुरुष नेतृत्वले साथ नदेला भनेर बोल्न डराउँछन् । मचाहिँ सीधै कुरा राख्छु । महिलाको आवाज नेताले नसुने मिडियामार्फत सुनाउँछु । यसैले म ‘पावर गेम’ मा पछि परेकी छु । फेरि महिलाहरूमै आफ्नो शक्तिप्रति आत्मविश्वासको कमी पनि छ ।
मीनाः मेरो पार्टीमा त जुनसुकै मुद्दा उठाउने अधिकार छ । महिला सहभागिता बढाउने आवाज उठाउँदा पछि पर्छु भन्ने डर र नेतृत्वको लडाइँ छैन । बरु, नेतृत्व पाइयो भने जिम्मेवारी पूरा गर्न अक्षम भइएला कि भन्ने डर छ ।
हिसिलाः राज्यप्रणालीको संरचना नमिलेसम्म महिला अघि बढ्न सक्दैनन् । महिलाले घरदेखि घाटसम्म सङ्घर्ष गर्नुपर्छ । राजनीतिक नेतृत्वका लागि महिलाको क्षमता बनाउन सकिएको छैन । म आफैं पनि आफ्नै क्षमताले माथिल्लो तहमा पुग्न नसकेको आत्ममूल्याङ्कन छ । समानताको नाममा विना क्षमता नेतृत्व देऊ भन्न सकिन्न । त्यसकारण हामीले क्षमता विकासमा जोड दिनुपरेको छ ।