सन् १९९० को दशकमा अमेरिका र स्क्यान्डिनेभियन देशहरूबाट शुरु भएको मोबाइल फोन त्यसको झ्ण्डै एक दशकपछि १९९९ (वि.सं. २०५६) मा नेपाल भित्रियो । र, त्यसपछिको १० वर्षमै, मङ्सिर २०६६ सम्ममा साढे ६६ लाख नेपालीको हातमा मोबाइल फोन पुगिसकेको छ । भर्खरै आएको तन्नेरी मोबाइलले सय वर्ष बूढो तारवाला ‘ल्याण्डलाइन’ फोनको भन्दा पाँच गुणा ग्राहक बढाइसकेको र माग नै ठप्प पारिदिएको छ । ल्याण्डलाइन फोनको बजार विस्तार २.९८ प्रतिशतमा खुम्चिएको बेला मोबाइलको २३.८६ प्रतिशतले बढेको छ । शुरुमा सरकारी स्वामित्वको नेपाल टेलिकमको मात्र एकलौटी भएको मोबाइल सेवामा २०६० पछि युनाइटेड टेलिकम लिमिटेड, स्पाइस नेपाल, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम पनि प्रतिस्पर्धा गरिरहेका छन् । ६५ प्रतिशत बजार ओगटेको टेलिकमबाट उपभोक्ता खोस्न राजधानीदेखि जिल्ला र गाउँ–गाउँ ताकेर अगाडि बढेका उनीहरूले पनि करिब २५ लाख ग्राहक बनाइसकेका छन् ।
नेपालीहरूले मोबाइललाई यति पछ्याउनुको कारण विश्वव्यापी प्रविधिको उपयोग गर्ने लालसा नै हो । इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आईटीयु) का अनुसार १० वर्षअघि विश्वभर करिब ५० करोड मोबाइल प्रयोगकर्ता थिए भने अहिले ४ अर्ब ६० करोड पुगेका छन् । कतिपय धनी देशमा त जनसङ्ख्याभन्दा बढी मोबाइल भइसके भने गरिब मुलुकमा पनि आधा जनसङ्ख्याले प्रयोग गर्न थालिसके । नेपालमै करिब चौथाइ जनसङ्ख्यासँग मोबाइल भइसक्यो । नेपाल दूरसञ्चार प्राधिकरणको एक अध्ययनअनुसार नेपाली उपभोक्ताले मोबाइलमा वर्षको रु.१८८० खर्च गर्छन् । अर्थात् हरेक नेपाली प्रयोगकर्ताले वर्षमा औसत ९२० मिनेट मोबाइलमा कुराकानी गर्छ ।
मोबाइल फोन उद्योगीहरूको समूह जीएसएम एसोसिएसन (जीएसएमए) को एक अध्ययनअनुसार विश्वभर मानिसहरूले मोबाइलमा कुरा गरेको समय हिसाब गर्ने हो भने महिनामा १० खर्ब मिनेट पुग्दो रहेछ । यसको अर्थ, संसारका मानिसहरू महिनामा करिब २० लाख वर्ष मोबाइल वार्तामा हुन्छन् । संसारभर नै शुल्क र सेटहरू सस्तो हुँदै गएकाले आम मानिसले मोबाइल धेरै प्रयोग गरेका हुन् । जीएसएमएका अनुसार सन् २००० को शुरुमा मोबाइल प्रयोगकर्ताले औसत मासिक १७४ मिनेट कुरा गर्थे भने २००९ मा २६१ मिनेट । अझ् कुराकानी भन्दा बढी मोबाइल उपयोग हुने एसएमएस, इन्टरनेट, गेम आदिमा बित्ने समयको त हिसाबै छैन ।
संस्कृति र जीवनशैली
नेपालमा ‘मोबाइल’ भनिने यो फोनलाई कसै कसैले ‘सेलफोन’ भनेको पनि सुनिन्छ । विभिन्न देश र ठाउँमा आ–आफ्नो संस्कृति र जीवनशैलीका आधारमा यो भाँडोले थरीथरीको नाम पाएको छ । कुनैबेला संसारका धेरै देशमा साम्राज्य फैलाउन सफल घुमन्ते बेलायती र स्पेनीहरू यसलाई ‘मोबाइल’ वा ‘मोबिल्स्’, भन्छन् भने अति प्राविधिक अमेरिकीहरू यसको तारविहीन सञ्जाल जनाउने ‘सेलुलर’ शब्दको संयोजनबाट ‘सेलफोन’ । एउटै हातमा अट्ने हुनाले जर्मनहरू ‘ह्याण्डी’ भन्छन् भने फिनल्याण्डवासीहरू ‘क्यानीक्याट’ । हार्डवेयर यन्त्र–उपकरणमा विशेष ख्याति कमाएका चिनियाँहरू ‘शो जी’ अर्थात् हाते मेसिन भन्छन् भने प्रविधिलाई संस्कृति बनाउने जापानीहरू सधैं सँगै बोक्न मिल्ने ‘खेइताइ’ भन्छन् ।
नेताहरू बैठक वा मञ्चमा बसेका बेलासमेत सेटलाई हातले छोपीछोपी कुरा गरिरहेका, माइक्रोबसमा कोचिएका यात्रुहरू समेत ठूल्ठूलो स्वरमा व्यक्तिगतदेखि घरायसी, व्यापारिक र राजनीतिक कुराकानी गरिरहेका दृश्य सामान्य नै हुन् । सिनेमा हलमा समेत मोबाइल ‘अफ’ वा ‘साइलेन्ट’ राख्ने नेपाली कमै हुन्छन् । प्रहरीहरूसमेत ठाउँ कुठाउँ मोबाइलमा अल्मलिइरहेका देखिन्छन् । निर्देशन दिनेले नै सञ्चार सेटभन्दा मोबाइल रोज्न थालेपछि फिल्डमा खटिने प्रहरीहरूलाई पनि यसमा गफिन सजिलो भएको एक अधिकृत बताउँछन् । यसले प्रहरीको उपलब्धतालाई बढाएको पनि छ । मोबाइल फोन नभएको भए प्रहरी प्रवक्ता कार्यालय समयबाहेक अरू बेला फेला पर्दैनथे होलान् ।
नेपालमा अरूलाई त के कुरा, मुलुकका प्रधानमन्त्री र मन्त्रीहरूलाई मोबाइलले यति मोहनी जालमा पारेको छ, उनीहरूले राष्ट्रिय महŒवका बैठक र महŒवपूर्ण कूटनीतिक भेटवार्तामा पनि मोबाइल उठाउन नछाडेपछि मन्त्रिपरिषद् सचिवालयले प्रम माधवकुमार नेपालको स्वीकृति लिएर उनको कार्यकक्षका तीन कोठालाई मोबाइल ‘कभरेज’ बाहिर पार्ने काम शुरु गरेको छ ।
मोबाइल फोनमा नेपालका कर्मचारीहरूको पनि आफ्नै खालको उदात्त भावना देखिन्छ । उनीहरू कार्यालय समयमा सेवाग्राहीलाई कुराएर भए पनि पारिवारिकदेखि ‘साइड बिजनेस’ सम्मका कुरा गर्न सहज ढङ्गले उपलब्ध भइरहेका हुन्छन् । कर्मचारीहरूको बाहिरी फोन सम्पर्क वा सन्देश आदान–प्रदानमा सहयोग पु¥याउन सबै सरकारी कार्यालयमा आवश्यक कर्मचारीसहित ‘रिसेप्सन’ को व्यवस्था हुन्छ । तर, मोबाइलको प्रचलनले रिसेप्सनको औचित्य घट्दै गइरहेको प्रतीत हुन्छ ।
मोबाइलमा ठूल्ठूलो स्वरले व्यक्तिगत कुराकानी गर्दा जर्मनीमा जस्तो अप्ठ्यारो बेलायतमा मानिँदैन । बेलायतीहरू सडकमा मोबाइलमा कुरा गर्नेहरू आफैँ छेउतिर लागिदिन्छन् भने जर्मनीमा जहाँ पायो त्यहीँ कुरा गर्नेसँग अरूको झ्गडै हुन सक्छ । सन् १९९९ मा फोन प्रयोगकै निहुँलाई लिएर जर्मनीमा भएको झ्गडामा एक युवकको ज्यान गएको खबरले निकै सनसनी मच्चाएको थियो । आफ्नो फोन वार्तामा अरूलाई सहभागी गराउन समेत पछि नपर्ने स्पेनीहरू प्रायः कुनै कल खाली जान दिँदैनन् ।
जापानीहरूका सम्बन्धमा एउटा भनाइ नै छ— मोबाइलमा जापानका स्कूले केटाकेटीले आज जे गर्छन्, संसारले भोलि त्यही पछ्याउँछ । भीड र नियमको देश जापानमा सार्वजनिक ठाउँमा निजी फोनवार्ता त्यति राम्रो मानिँदैन । रेलमा मोबाइल कुराकानी निषेधको सङ्केत सँगसँगै छिनछिनमा सूचना प्रसारण भइरहन्छ । त्यही भएर जापानी यात्रीहरू आफ्नो मोबाइलमा मेसेज टाइप गरिरहेका, इन्टरनेट हेरिरहेका या किताबै पढिरहेका हुन्छन् । फोन रे तर गफ थोरै, लेखपढ धेरै— कस्तो अचम्म !
आईटीयूका अनुसार सन् २००२ मा जापानी मोबाइल प्रयोगकर्ताले महिनामा औसत १८१ मिनेट कुरा गर्दथे भने २००९ मा १३३ मिनेटमा झरे । मोबाइलको खर्च घटाउन प्रतिमहिना सरदर एक हजार मेसेज पठाउने इन्डोनेसियालीलाई समेत पछाडि पारिसकेका छन् जापानीहरूले । यसो गर्दागर्दै जापानी युवा पुस्ताले भविष्यमा मोबाइल फोनमा बोल्नै छाड्ने हुन् कि भन्ने प्रश्न द इकनमिष्ट पत्रिकाले उठाएको छ । जर्मनहरू त मोबाइलमा जापानीभन्दा पनि कम, महिनामा औसत ८९ मिनेट मात्रै कुरा गर्छन् । मोबाइल कम्पनीहरूले नै छोटो कुराकानीमा जोड दिएकाले यति मितव्ययी बनेका जर्मनहरू लामो कुराकानीका लागि ल्याण्डलाइन रोज्छन् ।
मोबाइल फोनमा सबभन्दा बढी गफिनेमा पोर्टोरिकोका मानिसहरू पर्छन् जो मासिक औसत १८७५ मिनेट कुराकानी गर्छन् । त्यसपछि आउँछन्, अमेरिकीहरू । मोबाइल गफका लागि अमेरिकीहरूलाई सबभन्दा उपयुक्त थलो हुने गरेको छ, आफ्नै कार । रोमिङ चार्जबाट मुक्त उनीहरू इन्कमिङ महसुल तिरेरै पनि औसतमा मासिक ७८८ मिनेट कुराकानी गर्छन् मोबाइलमा ।
पैसा, सोख र रहर
मोबाइल सेट बोक्ने, ग्राहक बन्ने र गफ गर्ने रहरलाई मानिसहरूको आर्थिक अवस्था र सोखले पनि प्रभाव पारेको हुन्छ । जस्तै, इटालियनहरू कुराकानीमा धेरै खर्च गर्दैनन् तर महँगा सेट मन पराउँछन् । ‘सेकेण्ड ह्याण्ड’ सेटहरू यत्रतत्र फालिने जापानका युवाहरूबीच हरेक साताजसो आउने पछिल्लो ‘जेनेरेशन’ को मोबाइल चलाउन होडबाजी हुन्छ । चिनियाँहरू ताइवानी चिप्स र सफ्टवेयर राखिएका नक्कली, तर सबै सुविधा भएका ‘सोफिस्टिकेटेड’ सेट प्रयोग गर्छन् । नेपालीहरू भने बिग्रिएको सेटको समेत मूल्यको ४० प्रतिशतसम्म खर्च गरेर मर्मत गर्छन् ।
नेपालीहरूको मोबाइलको बढ्दो चाहना पूरा गरिदिने पनि चिनियाँहरू नै भएका छन्, जसले नेपाली बजारमा ‘मल्टिमिडिया सिस्टम’ भएका रु.३ हजारदेखि रु.१० हजारसम्मका मोबाइल सेट उपलब्ध गराइरहेका छन् । आइफोन जस्ता धेरै सुविधा र उपयोगिता भएका महङ्गा ‘स्मार्ट’ सेट बोक्न नसक्ने आम नेपालीहरूको आर्थिक अवस्था, मोबाइल कम्पनीहरूको सीमित र भर पर्न नसकिने सेवा अनि नेपालको भौगोलिक अवस्थालाई समेत ख्याल राखेर चिनियाँ उत्पादकहरूले दुइटा नम्बर प्रयोग गर्न सकिने, टर्च, म्युजिक, एफएम आदि सुविधा भएका किफायती मोडलहरू उत्पादन गरेका छन् । महँगा ब्राण्डका प्रायः सबै सुविधा हुने सस्ता चिनियाँ सेटबाट मध्यम वर्गका नेपाली र तन्नेरी पुस्ता मात्र होइन, दक्षिणएसियाकै प्रयोगकर्ता लाभान्वित छन् । तर तिमध्ये चाँडै नबिग्रने वा काम गर्न नछाड्ने सेट हात पार्नु चाहिँ चिठ्ठा पार्नु जस्तै ठानिन्छ ।
हुन त मोबाइल फोन गफगाफ, खबर आदान–प्रदान र सोखको विषय मात्र पनि छैन । धनी देशहरूमा मोबाइलको बढ्दो प्रयोगसँगै यसको हानिकारक चुम्बकीय तरङ्गको चिन्ता पनि बढेको छ । त्यसैले इटालीलगायत कतिपय युरोपेली देशमा मोबाइल टावरलाई चर्चको क्रस वा झडीहरूले छोप्ने गरिन्छ । तर, नेपालमा भने अझ्ै संसार र समृद्धिसँग जोडिने रहर नपुगिसकेकाले होला फोनको टावर ठड्याइँदा भोजभतेरै हुन्छ ।
‘मिसकल’ संस्कृति
मुलुकपिच्छे मोबाइलको प्रयोग शैली भिन्न हुनुको एउटा प्रमुख कारण आर्थिक नै हो । एसिया र अफ्रिकामा प्रायः सबै फोन सेवा ‘प्रिपेड’ छन् । नेपालमा पनि एक लाखको हाराहारी मात्र ‘पोष्टपेड’ हुन् भने अरू सबै प्रिपेड नै । यही कारण हो, अन्य विकासोन्मुख मुलुकहरूमा जस्तै नेपालमा पनि ‘विपिङ्ग’ अर्थात् ‘मिस्ड कल’ दिएर ‘कलब्याक’ पर्खिने चलन छ । विकसित मुलुकमा यसको अर्थ नै नबुझ्नि सक्छ ।
नेपालमा ल्याण्डलाइनबाट फोन गर्न सस्तो भएकाले मोबाइलबाट बढी मिस्ड कल दिने गरिन्छ । सँगै मोबाइलमा राम्ररी नसुनिने भएकाले ल्याण्डलाइनबाट गरुन् भनेर पनि यसो गरिन्छ । नेपाल दूरसञ्चार प्राधिकरणको उपभोक्ता तथा आर्थिक विश्लेषण शाखाका डेपुटी निर्देशक अर्जुन घिमिरे भन्छन्, “तर शुल्कसँगै यो समस्या पनि क्रमिक रूपमा घट्दै गएको छ ।”
नेपालीहरूमा मोबाइल फोनको लत जति गढ्दैछ, त्यति मोबाइल अपरेटरहरूबीच प्रतिस्पर्धा चर्किदै गएको तथा थरीथरीका सेटहरू पनि सस्तो र सहज हँुदै गएको छ । ग्राहकलाई मनग्गे छनोट दिने विभिन्न कम्पनीका ती सेटहरू नेपालीको क्रयशक्तिभित्रै पर्ने खालका पनि छन् । यसले धनी मुलुकका नागरिक जस्तै नेपालीहरूलाई पनि ‘मिस कल’ को हैरानीबाट मुक्त गराउने आशा गर्न सकिन्छ ।