१–१५ चैत २०६६ | 14-28 March 2010

शरणार्थी स्वतन्त्रता सेनानी

Share:
  

भरत राई
बेलडाँगी–२ स्थित भुटानी शरणार्थी शिविरको बीचतिर पर्छ— सेक्टर आई–१ । त्यहीं छ एउटा १३ सदस्यीय शरणार्थी परिवार, जसको मूली हुन्— भरत राई । जीवनका ८३ हिँउद–बर्खा खेपेका उनको परिवारको गुजारा अन्य साढे १८ हजार शरणार्थी परिवारको जस्तै विश्व खाद्य कार्यक्रमले प्रत्येक दुई सातामा दिने दाल, चामलबाट चलेको छ । सबैलाई थाहा छ— भरत राई नेपाली मूलका एक वयोवृद्ध भुटानी शरणार्थी हुन्, जसको हातपाउ बस्न लागेको छ, बलबर्कत निख्रिँदै छ र आँखाले ज्योति गुमाउँदैछ । तर, थोरैलाई मात्र थाहा होला— उनी २००७ सालको राणाशाही विरोधी क्रान्तिमा जनमुक्ति सेनाका एक कुशल कमाण्डर थिए भन्ने ।

३ असार १९८३ मा भोजपुरको रिमचिम गाउँमा जन्मिएका भरत राईको किशोरकाल धोत्रेखर्कमा गाईभैंसीलाई पुग्दो खस्रुको घाँस जोहो गरेपछि भ्याकुरको सिकार र गिर खेलेर बित्थ्यो । त्यही बेला आएछ भागेर गोर्खा पल्टनमा जाने समय— १६ वर्षको उमेरमा तत्कालीन ब्रिटिस–भारतमा लाहुरे बने, दोस्रो विश्व युद्धको सुदूरपूर्वी मोर्चामा लड्दै जापानी धपाउन ऐरावती नदी तरेर बर्मासम्म पुगे । युद्धमा हजारौं दुस्मन र सहयोद्धाको लाशबीच आफूलाई जीवित राखेका भरतले अगस्त १९४५ मा जापानले हात उठाएपछि त्यही सालको हिउँदमा एक सर्को बिदा मनाउन घर फर्कन पाए ।

सन् १९४७ मा पल्टन बाँडिदा ब्रिटिसहरूको भागमा परेका भरत मलायाको जङ्गल युद्धतिर पुगे । मलायामा सोल्टिनीको सम्झ्नाले सताएको बेला कसोकसो छोटो छुट्टी पाएर मनभरि बिहेको योजना बुन्दै २००६ सालमा जोगबनी आइपुगेका उनको जीवन अन्तैतिर मोडियो । राई भन्छन्, “त्यहाँ आइपुगेपछि काङ्ग्रेसी कार्यकर्ताहरूसँग भेट भयो, उनीहरूले बीपी कोइरालाको अगाडि पो पु¥याए ।”

भरत राईलाई ३ असार २०५० मा नेपाली काङ्ग्रेसले दिएको शरणार्थी स्वतन्त्रता सेनानी प्रमाण–पत्र ।
बीपीले देशको खाँचो बुझएपछि डेढ वर्ष जनमुक्ति सेनाको कप्तान भएका भरतले विराटनगर गोश्वारा अड्डाका बडाहाकिम उत्तमविक्रम राणाको परिवारलाई नियन्त्रणमा लिने अपरेशनको नेतृत्व गरे, जनमुक्ति सेनाको सङ्गठन र तालिममा योगदान दिए, कोशीको कुशाहाघाट मोर्चा सम्हालेर राणाको फौजलाई पूर्व पस्नबाट रोके । तर, जब प्रजातन्त्र आयो, नेताहरू टाढिए । सोल्टिनीको माया क्रान्तिमै हराइसकेको थियो । उनी घर न घाटका भए— पल्टन फर्कौं कोर्टमार्सलमा परिने, गाउँ जाऊँ नाक कटुवा लाहुरेमा दरिने । यस्तै मानसिक द्वन्द्वमा फँसेको अवस्थामा पूर्वाेत्तर भारतको सिलोङ पुगे । भरत सम्झ्न्छन्, “यसरी म योद्धाबाट प्रवासी भएँ ।”

२०१० सालमा सिलोङबाट भुटानको सर्भाङ छिरेपछि उनको घरबार जु¥यो । मलेरिया उन्मूलन विभागमा नोकरी पाए । छोराछोरी हुर्किन थाले । यसरी जीवन व्यवस्थित भएको ३० वर्ष पुग्दानपुग्दै खेदिनुपर्ने समय पनि आयो । २०५० सालमा भुटानी शरणार्थी बनेर आफ्नै मातृभूमि आइपुगे । नेपाल आइपुगेको केही महिनामै गिरिजाप्रसाद कोइराला झपा झ्रे प्रधानमन्त्रीको रूपमा । भरत भेट्न जाँदा गिरिजाले आफ्ना कार्यकर्तालाई कहिल्यै नबिर्सने खुबी देखाए, एकै नजरमा । पुराना नेता–कार्यकर्ता भेटको परिणाम, त्यसको केही समयमै भरतको हातमा नेपाली नागरिकताको प्रमाणपत्र आयो । भन्छन्, “म नेपाली हुँ भन्ने प्रमाणपत्र पाउँदा जीवन एउटा लामो ठट्टा हो भन्ने लाग्यो ।”

गिरिजाप्रसादले सम्मान गरेर दिएको नेपाली नागरिकताको प्रमाणपत्र भरतका लागि आत्मगौरवको एउटा चिनो मात्र भएको छ, उनको जीवन त भुटानी शरणार्थीको प्रमाणपत्रबाट धानिएको छ । नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष विश्वप्रकाश शर्माका विचारमा ६ दशकअघि प्रजातन्त्रको लागि ज्यानको बाजी थापेका स्वतन्त्रता सेनानी भरत राईको हालको अवस्था उनका लागि जे भए पनि नेपाली काङ्ग्रेसका लागि लज्जाको विषय भएको छ । उनी भन्छन्, “काङ्ग्रेसले चाहेको बेला बेलायती सेनाको कमाउ जागिर र घरबार छोडेर युद्धमा होमिएको योद्धालाई सम्झ्नि नसक्नु धिक्कारको विषय हो ।”

गोपाल गड्तौला, दमक

comments powered by Disqus

रमझम