तीनदशक लामो अभिनय यात्रामा रहेका रामचन्द्र २०३४÷३५ सालतिर पहिलो पटक बौद्ध युवा क्लबले गरेको नाटक देखेर अभिनयमा लोभिएको सम्झ्न्छन् । तर, उनका लागि काम–दाम छाडेर अभिनय गरिहिँड्नु सम्भव थिएन । कारण काठमाडौं, गोठाटारका यिनलाई मजदुरी गर्नुपर्ने बाध्यता थियो । आर्थिक स्थिति नाजुक भएकैले बाल्यकालमा पढ्न पाएनन् । पहिलो पटक काम खोज्दै हेटौंडा झ्रेका उनी मालिकले खाना पनि तौलेर दिएपछि भागेर बनारस पुगे । तर, ‘बर्मा गयो कर्मसँगै नेपाल गयो कपालसँगै’ भने जस्तो भयो । भन्छन्, “हेटौंडामा भन्दा नराम्रो दुर्गति भएपछि गोठाटारै फर्किएँ ।”
त्यसपछि तत्कालीन दूरसञ्चार समितिमा पियनको जागिर नपाएको भए उनी कतै हानिन्थे होलान् फेरि । जागिरले उनको भरथेग पनि भयो । त्यसपछि बल्ल कलाकारितामा आए । दुःखी पात्रको अभिनय गर्दा पुराना दिन सम्झ्ने रामचन्द्र अहिलेसम्म नेपाल टेलिकममै छन् । ८० पटकसम्म मञ्चन भएका अँध्यारो उज्यालो, सच्चाप्रेम लगायतका नाटकमा उनले गरेको अभिनय नबिर्सने मानिसहरू धेरै छन् ।
उनको अभिनय यात्रा नेपाल टेलिभिजनको पहिलो टेलिफिल्म पृथ्वीनारायण शाह देखि मेरी वास्सै हुँदै हिन्दी सिरियलसम्म पुगेको छ । वासुदेव चेलीबेटी, कोसेली, प्रेम, बादल जस्ता नेपाली फिल्ममा दुखियाका रूपमा देखिएका रामचन्द्रले हिन्दी चलचित्र लभ इन नेपाल र अङ्ग्रेजी यति मा चाहिँ अन्य खालको भूमिका पाएका छन् । रामचन्द्रको जीवनमा थाहै नपाई आनका तान फरक ल्याउने एउटा कुरा चाहिँ सबैले सुन्नै पर्छ । “पहिला गोठाटारमा भएको खान नपुग्ने खेतको भाउ यसरी बढ्यो कि अहिले मलाई करोडपति भन्दा हुन्छ” उनी भन्छन् । त्यसमाथि संंस्थानको जागिर र कलाकारको ख्याति ।
बूढानीलकण्ठका रैथाने सुरवीरको बाल्यकाल रामचन्द्रको भन्दा धेरै सुखी थियो । तर, आफ्नो पूरै जीवनकथा दुःखी रहेको उनको भनाइ छ । यो दुःखको कारण चाहिँ भलिभाँती काम लगाएर पारिश्रमिक दिने बेलामा गायब हुने निर्माताहरू भएको सुरवीरले बताए । भन्छन्, “निर्माताहरूले धेरै कलाकारलाई ठगेका छन् ।” उनको विचारमा कलाकारलाई सधैं एउटै भूमिकामा खुम्च्याउनु निर्देशकहरूको अयोग्यता हो । मेरी वास्सै, तीतोसत्य जस्ता सिरियलले आफू हैरान टाइपको भूमिकाको लागि मात्र योग्य नभएको प्रमाणित गरेको बताउँछन् सुरवीर । पर्दा बाहेक रेडियो नाटक उनको अर्को पहिचान हो ।
७२ वर्षको बुढ्यौलीमा पनि अभिनय कर्ममा दत्तचित्त अर्का दुखिया कलाकार हुन् विष्णुभक्त फुँयाल । २०१९ सालमा कर्मया भोग नामक नेवारी नाटकबाट रङ्गमञ्चमा आएका विष्णुभक्त यसकारण दुखिया हुन् कि उनी पनि रामचन्द्र, सुरवीर जस्तै लगातार पीडित पात्रको अभिनयमा छन् । ५०० भन्दा बढी नाटक खेलेका उनको डायरीमा काचको पर्दाका २००, टेलिचलचित्र र ५० भन्दा बढी कथानक अभिनय गरेको टिपोट छ । २०४६ सालअघि उनी नाटकमार्फत मजदुर हकहितको लागि राजनीतिक सन्देश दिने नाटक खेल्दै हिँड्थे । त्यसपछि चाहिँ देउकी, तपस्या, सौता, महादेवी, रगत, बलिदान, मलामी हँुदै कर्णाली चलचित्रसम्म खेले, एकै प्रकारको भूमिकामा । भन्छन्, “मैले सायद न्याय गर्न सकेकै कारण पनि होला निर्माता निर्देशकले यस्तै भूमिकामा रुचाए ।”
भक्तपुरको वागेश्वरीमा जन्मेका उनी बुबाआमासँग बाल्यकालमै काठमाडौंको महाँकाल सरेका थिए । अरूको खेत कमाएको धानले पुससम्म धान्दैनथ्यो । दामलेहरू पढ्नलाई दरवार हाईस्कूलतिर दौड्दा उनी भने चावहिलबाट डोकोमा ईंटा बोकेर लैनचौर, कमलपोखरी पु¥याउँथे । तर, जति मजदुरी गरेपनि खानै नपुग्ने भएपछि उनी कलकत्ता हानिए ।
त्यहाँका होटलहरूमा काम गर्दा मासिक १५ कम्पनी तलब आउँथ्यो । यसरी तीन वर्ष काम गरेकोे तलब भने चोट्टाहरूले एकै खेपमा झवाम पारिदिए । त्यसपछि रुँदै देश फर्केका विष्णुभक्तले कलकत्ताको अनुभव सुनाएर काठमाडौंमा भर्खरै खुलेको रोयल होटलमा भाँडा माझने काम पाए । त्यसको केही समय पछि बेलायतकी महारानी एलिजाबेथ द्वितीय नेपाल आउने भएपछि होटलले वेटरको अभाव महसुस ग¥यो जुन विष्णुभक्तका लागि बढुवाको अवसर बन्यो ।
त्यसपछि अन्नपूर्णलगायतका होटलमा धेरै वर्ष कुक, हेड कुक भएर काम गरे उनले । होटलमा काम गर्दागर्दै साथीहरूसँग मिलेर नाटक मञ्चन शुरु गरेका विष्णुभक्तले त्यसयता नेपाली दर्शकले कहिल्यै नबिर्सने गरी लगातार दुःखी पात्रको अभिनयलाई निरन्तरता दिएका छन् ।