१–१५ चैत २०६६ | 14-28 March 2010

सन्देश छर्दै सङोर

Share:
  

रेडियो नाटकमा स्वरदिने मधेशी कलाकारहरूले १८ फागुनमा संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङ अतिथि भएको नेपाल पर्यटन बोर्डको कार्यक्रममा नाटक मञ्चन गरे । मधेश आन्दोलनअघि र पछि युवाहरूलाई राजनीतिक दल र विभिन्न सशस्त्र समूहहरूले कुनै न कुनै हिसाबले प्रयोग गर्दै आएको र एकता खल्बलिएको प्रसङ्गको छोटो प्रस्तुति हेरेपछि सभामुख नेम्वाङले भने “यस्ता सन्देशमूलक नाटकले समुदायमा सकारात्मक सन्देश दिन्छ ।”

पूर्वी मधेश—तराईका युवाहरूलाई केन्द्रित गरी निर्माण र प्रसारण भइरहेको मैथिली भाषाको धारावाहिक रेडियो नाटक शृङ्खला सङोर ले अहिंसात्मक समाज विकास, अग्रजबाट शिक्षा र अभिभावकहरूसँग सरसल्लाह लिन प्रेरित गरेको छ । विभिन्न जाति, वर्ग र समुदायका युवाहरूलाई सामाजिक कामका लागि सङ्गठित गर्दै लैजाने नाटकको उद्देश्य छ । वीरगञ्जदेखि धरानसम्मका ९ वटा एफएम रेडियोले प्रसारण गरिरहेको सङोर काठमाडौंको हेडलाइन्स एण्ड म्युजिक एफएमले पनि २२ फागुनबाट बजाउन थालेको छ ।

४० भागसम्म निर्माण हुने नाटक लेखन जनकपुरका रवीन्द्र झ, सुनिल यादव र सिरहाकी अनिता चौधरीले गरेका छन् । मिथिलाञ्चलमा ख्याति कमाएका कलाकारहरू सहभागी सर्च फर कमन ग्राउण्डका लागि नयाँ संसार समूहले निर्माण गरेको यो नाटक जनकपुरमै रेकर्ड गरिन्छ । अर्जुन उप्रेती र माइकल सिप्लरको परिकल्पना रहेको यो नाटकको निर्देशक प्रेम बास्तोला हुन् ।


मोफसलबाटै चलचित्र

चलचित्र निर्माणका लागि राजधानी काठमाडौंमाथिको निर्भरता केही वर्ष यता बुटवलतिर पनि बाँडिन थालेको छ । बुटवलमा एकपछि अर्को कथानक चलचित्र निर्माण हुनथालेबाट यसो भन्न सकिएको हो । यसलाई चलचित्र उत्पादनमा मोफसलले मारेको फड्को मानिएको छ । बुटवलमै चलचित्र निर्देशन र निर्माणमा जमेका गोपाल सुवेदी अब राजधानीको मुख ताक्ने परम्पराको अन्त्य भएको बताउँछन् ।

२०५८ सालमा घरसंसार निर्माण गरेर सफलता हासिल गरेका सुवेदीले त्यसयता आधा दर्जनभन्दा बढी चलचित्रमा निर्देशन गरेका छन् । सुवेदी संलग्न चलचित्र के नाता होला, औंठा छाप र मेरो साथी मोफसलमा सफल सिनेमा मानिन्छन् । घरसंसार पनि ५१ दिन मनाउन सफल चलचित्रमा दरिएको थियो । यसले लगानीभन्दा दोब्बर कमाएको सुनाउँदा सुवेदीको अनुहारमा राम्रै चमक देखिन्छ ।

मनोज श्रेष्ठको मुख्य लगानीमा बुटवलमै बनेका रिक्सावाला र न्यायदाता ले पनि लगानी नडुबाएको निर्माण पक्षको भनाइ छ । यहीँ बनेका नारीप्रधान चलचित्र जिन्दगानी, दर्पण छायाँ र मार्सल आर्टस्मा आधारित अन्तिम चुनौती देशभर प्रदर्शनको तयारीमा छन् । श्रीनगर फिल्मस् प्रा.लि. र बाणगङ्गा डोजोले निर्माण गरेका दुवै चलचित्रको निर्देशक मनिष पन्त हुन् । यी बाहेक यस क्षेत्रमा साना पर्दाका एक दर्जन चलचित्र बनेका छन् ।

स्थानीयस्तरमा बनेका यी सिनेमाका लागि मुख्य कलाकार भने काठमाडौंबाटै तानिएको छ । यसो गर्दा केही महँगो परेपनि चलेका कलाकारलाई नयाँ लोकेशनमा प्रस्तुत गर्दा देशव्यापी व्यापार हुने निर्माता सुवेदी सुनाउँछन् । बुटवलका मानिसले बनाएका अधिकांश चलचित्रको छायाङ्कन नवलपरासीको त्रिवेणी, दाउन्ने, लुम्बिनी र पाल्पामा गरिएका छन् । मोफसलमा यसरी चलचित्र बन्दा स्थानीय कलाकार र प्राविधिकहरूको प्रबद्र्धन पनि भएको निर्देशक पन्त बताउँछन् ।

मुकेश पोखरेल, भैरहवामा


महिलाका पीडा

एउटा अँध्यारो मञ्चमा पाँच महिलाले पालैपालो जेल पर्नुको कारण र महिला भएकैले पुरुषबाट भोग्नु परेको शारीरिक, मानसिक यातनाका पीडा पोखिरहेका थिए । उत्साह मिश्रित स्वरमा पीडा पोख्न उनीहरूले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर २३ फागुनलाई रोजेका थिए । प्रज्ञा–प्रतिष्ठानको रङ्गमञ्चमा आयोजना गरिएको ‘भजाइना मोनोलग’ नाटकमा अङ्ग्रेजी शब्द ‘वुमन’को पाँचवटा अक्षरलाई प्रतिबिम्वित गर्दै मिस नेपाल २००९ की फस्ट रनर अप ऋचा थापामगर, मीता होसाली, रश्मि केसी, आकाङ्क्षा कार्की र दीपिका श्रेष्ठ मञ्चमा प्रस्तुत थिए ।

भी–डे नेपालले आयोजना गरिएको नाटकमा विना कारण जेलमा बन्दी बनाइएका महिलाहरूको कथालाई समेटिएको थियो । पात्रमध्येकी एक ऋचाले नाटकमा जेलभित्रबाट महिलाले पुरुषबाट पाएको पीडाको प्रमुख विषयवस्तु रहेको बताउँदै भनिन्, “नाटकले जनचेतना फैलाउने कुरामा विश्वस्त छु ।” अङ्ग्रेजी र नेपाली मिश्रित संवादमा पात्रहरूले ‘भी’ आकारमा बसेर महिलाका पीडा सुनाएका थिए । इलम दीक्षित निर्देशित नाटक ‘भजाइना मोनोलग’ महिलाले बाल्यकालदेखि भोग्ने हिंसामा केन्द्रित छ । कार्यक्रममा नाटक बाहेक महिला हिंसासम्बन्धी वृत्तचित्र, गीत र डिजिटल चित्रकार जया शर्माका कला प्रस्तुत गरिए ।

comments powered by Disqus

रमझम