१६-३१ असार २०६९ | 30 June-15 July 2012

नामको निर्धो नक्कल

Share:
  
- ऋषिराम कट्टेल
कुनै बेला हिन्दी सिनेमाको कथादेखि नामसम्म फोटोकपी उतार्ने नेपाली फिल्मकर्मीहरू अब घिसीपिटी फिल्ममा अंग्रेजी नाम राखेर रमाउन थालेका छन्।
r1
चलचित्र मायाज् बार को एक दृश्यमा करिश्मा मानन्धर। 

नेपाली फिल्म उद्योगको जीवनको एक समयमा हिन्दी फिल्मको नामदेखि कथासम्म चोर्ने चलन बढेको बेला 'हतियार द वेपन', 'आगो द फायर' टाइपका नामको प्रयोग पनि भएको थियो, तर किन हो ती विचित्रका नामहरूको नक्कलले बजार पिटेन। अहिले आएर अंग्रेजी नामका भरमार नेपाली फिल्म बन्न थालेका छन्, नेपाली चलचित्रहरूले नेपाली नाम पाउने युग नै सकिए जस्तो गरी। नेपाली फिल्मको द लास्ट किस, सिक्स फिट लाइफ, ब्लाक नाइट, थ्री लभर्स, जंगल लभ, आइ लव यु (हे. बक्स) जस्तो अवतार सुहाएको भने कति पनि देखिंदैन।

पछिल्लो एक वर्षमा बनेका र अहिले बन्दै गरेका धेरैजसो नेपाली फिल्मका नाम यस्तै छन्। चलचित्र विकास बोर्डका प्रवक्ता विकास आचार्यका अनुसार ६० प्रतिशत फिल्मका नाम अंग्रेजी छन्। यस्ता नामसँग फिल्मको भाषा त मिल्दैन, मिल्दैन परिवेश, पात्र र कथावस्तुसँग पनि मेल खायो भने अचम्म मान्नुपर्ने हुन्छ। यसको अर्थ, सिर्जनशीलताको अभाव र अर्थ न बर्थको नक्कलका लागि यस्तो फेशन चलाइएको छ। “अंग्रेजी नामका फिल्महरू धेरै चलेको देखेर यसो गरेका होलान्” वरिष्ठ चलचित्रकर्मी यादव खरेल भन्छन्, “तर, नेपाली पहिचान र सिर्जनात्मक हिसाबले यो राम्रो हुँदै होइन।”

अर्थहीन काम
वरिष्ठ चलचित्रकर्मी खरेल सिर्जनात्मक हिसाबले सोच्ने हो भने नामका लागि नेपाली शब्दहरूको कत्ति पनि खाँचो नरहेको बताउँछन्। तर, समस्या भएको छ, नेपाली नाम राख्दै नराख्ने प्रवृत्ति। खुद्रे चिन्तन र थोरै मिहिनेतबाट रातारात पैसा कमाउन चाहनेहरू सिनेमाको भाषा, कथा, विषयवस्तु अनुसार नाम सार्थक हुनुपर्छ भन्ने सोच्दैनन्। परिणाम, फिल्म जति बने पनि उनीहरूको काम अर्थहीन बनेको छ।

भाषाशास्त्री प्राध्यापक हेमाङ्गराज अधिकारी सीमित सन्दर्भमा प्रयोग गर्न सकिने शब्दहरू धमाधम नेपाली सिनेमाको नाम हुन थाल्दा नेपालीपनको उपहास भएको बताउँछन्। उनका विचारमा, नेपालीमै बृहत् शब्दावली हुँदाहुँदै आफ्नै भाषिक संसाधनको प्रयोग नगर्नु मूर्खता शिवाय केही होइन। “अर्थहीन नक्कलको होडबाजीले नेपाली सिनेमाको मौलिकता त खान्छ नै हाम्रो संस्कृतिलाई पनि सकिदिन्छ” उनी भन्छन्, “चलचित्रकर्मीहरू सिर्जनशील बन्नुपर्‍यो, कोरा नक्कल उतारेर आफ्नै भाषा संस्कृतिको हुर्मत लिनु भएन।”

r2

चलचित्र समीक्षक मनोज पण्डित विषयवस्तु र मेकिङको हिसाबले हैन नामैले अरूभन्दा फरक देखिने होडले विकृति ल्याएको ठान्छन्। निर्देशक नवीन सुब्बा कसैले मासु व्यापार गरेर पैसा कमायो भने मासु पसल खोल्नेहरूको ओइरो लाग्ने नेपाली चलनसँग जोड्छन्, फिल्मको अंग्रेजी नाम राख्ने फेशनलाई। “हाम्रा चलचित्रकर्मी रचनात्मक भइदिएनन्”, सुब्बा भन्छन्, “काठमाडौंमा युवा पुस्ताको छटपटी र विदेश पलायनमाथि मैले बनाएको चलचित्रको ठ्याक्क नेपाली नाम नजुर्दा अंग्रेजी नाम राखेको थिएँ, अहिले जस्तो फिल्मको पनि अंग्रेजी नाम हुन थाल्यो।”

सुब्बाले भने जस्तै नेपाली सिने क्षेत्रमा कुनै नयाँ कुरा भएको फिल्म चल्यो भने सबका सब चलचित्रकर्मी त्यही कुरा देखाउन थाल्छन्। यस क्रममा ढंग पुग्यो/पुगेन भनेर टाउको दुखाइरहँदैनन्, उनीहरू। अश्लील सम्वाद भएको लूट र नग्नता भएको चपली हाइट ले राम्रो व्यापार गरेको देखेपछि अझ् बढी गाली र नग्नता भएका सिनेमाहरूको बाढी नै आयो। काठमाडौंका मल्टिप्लेक्सहरूमा मिस यू, आइ एम सरी नामका नेपाली चलचित्रहरू चलेको देखेपछि सिनेमेटिक सोच नभएकाहरू अंग्रेजी नाममा ताई न तुईका फिल्म बनाइरहेका छन्।

निर्देशक सुरेश दर्पण पोखरेल अंग्रेजी नाम राखेर बनाइएका एक–दुई वटा चलचित्र मल्टिप्लेक्समा युवा पुस्ताका दर्शकबीच राम्ररी चलेको देखेर त्यस्तै नाममा बेढंगका फिल्म भटाभट बन्न थालेको बताउँछन्। थ्री लभर्स, मिस यू जस्ता अंग्रेजी नामका चलचित्र बनाएका उनी त्यो गलत प्रवृत्ति भएको स्वीकार्छन्। “अंग्रेजी नाम राख्नै हुँदैन भन्ने हैन, तर त्यो विषयवस्तु सुहाउँदो हुनुपर्छ” चलचित्र निर्माता संघका सचिव समेत रहेका पोखरेल भन्छन्, “अंग्रेजी नाम राख्दैमा हलिउडको सिनेमा बन्ने हैन, बरु हलिउडको सोच राखेर नेपाली सिनेमा बनायो भने राम्रो चलचित्र बन्छ।”

अर्का सिनेकर्मी मोहन निरौला नेपालको फिल्म उद्योगमा भाषा, साहित्य, संस्कृति र नेपालीपनको अर्थ नबुझनेले गरिरहेको अर्थहीन कामको मूल्य समाजले चुक्ता गर्नुपर्ने अवस्था आउन सक्ने बताउँछन्। “चलचित्र निर्माण हैन, धमाधम बौद्धिक दरिद्रता प्रदर्शन भइरहेका” निरौला भन्छन्, “यस्ता हानिकारक उत्पादनलाई राज्यले नेपाली चलचित्र भन्दै कर छुट दिनुहुँदैन।”

अंग्रेजी नामका केही फिल्म
सो सिम्पल, द लास्ट किस, ब्लाकमेल
सिक्स फिट लाइफ, एटीएम, ब्लाक नाइट
वार, फुल स्टप, मिस यू, थ्री लभर्स, प्लान
भिजा गर्ल, आइ एम सरी, माइ ब्रदर
ए फर अमेरिका, नाइट क्वीन, लक, प्ले गर्ल, कर्ल गर्ल, मायाज् बार, एलेवेन्थ स्ट्रिट, नाइन ओक्लक, रेड मार्केट, हाइवे, थ्री एक्स्स, भ्यालेन्टाइन, प्रमिस, मिसन लव इन सिक्किम, डन द अन्डरवर्ल्ड, मिस्टर डन, च्यालेन्ज, टार्जन, ग्याङस्टार, लव स्टोरी, द्दण्टट द्यक्, बार डान्सर, वान डे, जंगल क्वीन, जंगल लभ, आई लव यू, टार्गेट, लव इन जापान, द मस्ट वान्टेड, इकु द जंगल म्यान, जष्ट फर यू, लव इन चाइना बोर्डर।

comments powered by Disqus

रमझम