१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

रत्नपार्कको रातो घर

Share:
  
- ऋतुराज

काठमाडौँमा एउटा भित्ता छ, जसलाई प्रजातन्त्रको भित्ता भन्ने नाम दिइएको छ र त्यही नाम त्यस भित्तामा बलढ्याङ्ग्रे अक्षरमा लेखिएको पनि छ । काठमाडौँबासीलाई पनि त्यस कुराको हेक्का नहुन सक्छ र काठमाडौँबाहिरका असङ्ख्य पाठकहरूलाई त झन् त्यसबारे बिल्कुलै जानकारी नहुन पनि सक्छ । त्यसैले त्यस ठाउँबारे छोटो परिचय दिइहालुँ ।

काठमाडौँको मुटुमा रत्नपार्क छ, जुन ठाउँमा पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशाबाट आउने सडकहरू जोडिन्छन् । त्यहाँबाट पूर्वतर्फ बागबजारतिर जाने सडकको दाहिनेपट्टि मुखैमा बडेमाको भित्तो छ । त्यो भित्तो वास्तवमा नेपाल विद्युत् प्राधिकरणको एउटा अफिस भवनको पिठ्यूँ हो । किन हो कुन्नि प्राधिकरणले त्यसको माथिल्लो भागमा मात्र झ्यालहरू राखेको छ र तल्लो भागलाई सपाट भित्ताका रूपमा त्यसै छाडेको छ ।

त्यस भित्ताका लागि एकपटक त्यही सडकमा एउटा ‘ब्याटल रोयल’ नै चलेको थियो । विभिन्न राजनीतिक पार्टीहरूले त्यहाँ आफ्ना सन्देश र नाराहरू लेख्ने तथा नेता र झण्डाका आकृतिहरू कोर्ने गरेका थिए । त्यस भित्ताको उपयोगमा एउटा वामपन्थी पार्टी आफ्नो एकाधिकार रहेको ठान्थ्यो भने डाक्टर बी.आर. भट्टराईको पार्टीको पनि त्यसमाथि हक दाबी थियो । त्यसैको उपयोगलाई लिएर एउटा वामपन्थी पार्टी र डाक्टर भट्टराईका अनुयायीबीच ठूलो मारामार चल्यो । कैयौँका खप्पर फुटे । बडो सनसनी मच्चायो त्यस घटनाले । त्यो ‘अरण्य काण्ड’ शुरु हुनुभन्दा पहिलेको कुरा थियो ।

अहिले त्यही भित्तोसामुन्ने उत्तरपट्टि रहेको अर्को ‘रातो घर’ विवादमा आएको छ । पञ्चायतकालमा त्यस घरमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको केन्द्रीय कार्यालय थियो । त्यसैले त्यो ठाउँ मण्डले अखाडा भनेर चिनिन्थ्यो । पञ्चायतको अवसानसँगसँगै त्यहाँबाट मण्डलेहरू पनि विस्थापित भए र तिनका ठाउँमा ‘अखिलेहरू’ त्यहाँ स्थापित भए ।

पहिले त्यस घरमाथि अघि कसको स्वामित्व रहेको थियो त्यो थाहा भएन ! अहिले आएर काठमाडौँ महानगरपालिकामा त्यसको स्वामित्व रहेको बताइएको छ र एउटा समाचारअनुसार सरकार त्यो घर खाली गराउन चाहन्छ । अर्थात् ‘अखिलेहरू’लाई सरकार त्यहाँबाट हटाउन चाहन्छ ।

पहिले भएको भित्ताको लडाइँमा सरकार सामेल थिएन । अहिले रातो घर खाली गराउने काममा सरकार नै एउटा पक्ष बन्न गइरहेको छ । भित्ताका लागि त खुनखराबा भयो भने घरका लागि त त्यसभन्दा ठूलो खिचलो हुन सक्छ । त्यो घर त्यहाँ रहुन्जेल कचिङ्गलको गुँड बनिरहने पक्का छ । सरकारको काम जहाँसुकै घर बनाइहिँड्ने र त्यसको बहाल उठाउने अथवा मन परेकालाई सित्तैँमा उपयोग गर्न दिने होइन ।

‘न रहेगी बाँस न बजेगी बाँसुरी ।’ बरु त्यस रातो घरलाई भूमिसात गरेर त्यस ठाउँलाई खुला र फराकिलो किन नपार्ने ?

भाडा घटाउने खेल राजधानी भनिने यो काठमाडौँ खाल्डो अचेलभरि पूरै बलेको छ, भाउ बेसाहाको हिसाबले । केही कुरा छोइसक्नु छैन । कोठा बहाल चर्केको चर्केकै छ । घडेरी जग्गाको त कुरै छैन । त्यसले त धरहराको टुप्पो नै छुन लागेजस्तो छ । कुनाकाप्चा र काँठका पाखोप्याङ्खरको मोल पनि आनाको लाखाँैँलाख रुपियाँ पुगेको छ । बजारभाउ हेर्यो दिन दुना रात चौगुना छ । हरेक वस्तुको भाउ शुक्लपक्षको चन्द्रमा सरह बढिरहेछ । नाथे गोलभेडाको त किलाको ६५ रुपियाँ पुग्यो, अरू थोकको के कुरा गर्ने ?

सबैथोकको मोल भाउ यसरी उकालो चढिरहेको यस बेला उता एयरलायन कम्पनीहरूमा चाहिँ हवाई टिकटको मूल्य घटाउने होडबाजी चलिरहेको छ । हवाईजहाजको मोल घटेको पनि होइन । हवाई इन्धन सस्तो भएको पनि होइन । तैपनि एकअर्कामा सेखासेख छ टिकटको मोल घटाउन । सन्दर्भ काठमाडौँ–दिल्लीको हवाई भाडाको हो । भारतका दुई ओटा निजी कम्पनी र भारत सरकारको स्वामित्वको इन्डियन एयरलायन्सबाहेक हाम्रो आफ्नै शाही वायुसेवा र अर्को नेपाली निजी कम्पनीका जहाजहरू उड्छन् त्यस रुटमा । अनि यिनीहरूबीच चलेको छ भाडा घटाउने प्रतिस्पर्धा ।

त्यही रुटमा एक ताका आतेजाते तेह्र हजार रुपियाँभन्दा बढी रकम तिर्नुपथ्र्यो । अहिले त्यो रकम एकाएक स्वात्त घटेको छ र एउटा एयरलायन्सले त पाँच हजारभन्दा कम रकममा आतेजाते टिकट दिने भएको छ । त्योभन्दा बढी रकम त काठमाडौँबाट विराटनगर आउन–जानलाई नै पर्छ । कहाँ जेट विमानलाई एक घण्टा १५ मिनेट लाग्ने ठाउँ दिल्ली र कहाँ एभ्रोमा नै ४५ मिनेटमा पुग्न सकिने विराटनगर !

केही समयअघि नेपालका निजी विमानसेवाहरूले आन्तरिक उडानमा भाडा घटाघटको यस्तै होड चलाएका थिए । अहिले त्यो होड काठमाडौँ–दिल्ली रुटमा चलेको छ ।

यति थोरै भाडादरमा पनि सेवा दिन सक्छन् भने यसअघि उनीहरूले बढी रकम असुली रहेका थिए अथवा ग्राहकहरूलाई ‘ओभर चार्ज’ गरिरहेका थिए भनी बुझ्नुपर्यो । आखिर यो खेल के हो ?

उल्टो काम

काठमाडौँकी सुष्मिता मास्के यतिबेला सगरमाथाको आधारशिविरमा क्याम्प खडा गरेर खुम्बु आइसफल उक्लने अभ्यास गर्दै होलिन् । सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो नेवार महिला बन्ने उनको उम्मेद छ । काठमाडौँकी यी नेवार कन्या हिमालतिर लाग्नुअघि उनलाई ‘नेपाल भाषा मीसा खलः’ नामक संस्थाले एउटा समारोहमा अभिनन्दन गरेको थियो । साह्रै खतरनाक र जोखिमपूर्ण छ हिमाल चढ्ने काम, त्यसमा पनि सगरमाथा । ज्यानै पनि जान सक्छ यस काममा ।

त्यसैले सुष्मिताको सगरमाथा चढ्ने आँट र अठोट आफैँमा सराहनीय छ । उनको त्यो अठोट पूर्ण होस् भनेर शुभेच्छा, शुभकामना र आशीर्वाद दिनु तथा सरसहयोग जुटाउनु एउटा कुरा हो, अभिनन्दन नै गरिहाल्नु अर्को कुरा हो । अभिनन्दन भन्ने कुरा त्यस्तो सम्मान हो जो कुनै कार्यको सफलतापछि कसैलाई दिइन्छ । कामै फत्ते नगरी दिइने सम्मानले त्यो पाउनेमाथि अतिरिक्त दबाब पर्छ त्यसबाहेक त्यो काम छोरो पाउनअघि सिएको भोटोजस्तो पनि ठहरिन्छ । नजानेर भने बेग्लै हो, नत्र यस्तो उल्टो काम गर्ने किन ?

comments powered by Disqus

रमझम