१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

उस्तै छ हाल !

Share:
  
- किशोर नेपाल

बजारका ब्यापारी र निवासीहरूलाई खुला सडकमा तीन लहरमा उभ्याएर गरिएको कारबाहीले सुरक्षाकर्मीको मनोबल बढाए पनि जनताको मनोबल हदैसम्म खस्काएको छ ।
अलग्गै पहिचान, अलग्गै संस्कार, अलग्गै संस्कृति, अलग्गै भाषा, अलग्गै लिपि र अलग्गै साहित्य— कुनैवेला लिम्बूवान् भनेर चिनिने पूर्वको पहाडी भूभाग विविध जाति र जनजातिका सामाजिक परिदृश्यहरूको संयोगले राष्ट्रका रूपमा नेपालको निर्माण भएको तथ्यहरूको शृङ्खला हो । धेरै पहिलेदेखि तेह्रथुम यो शृङ्खलाको केन्द्रमा थियो । जिल्ला विभाजनपछि लिम्बूवानका तेह्र वटा थुम अर्थात् इलाकाहरूको प्रशासनिक केन्द्रका रूपमा विकसित तेह्रथुमको प्रशासनिक महत्व कम भएपनि छैठौँ शताव्दीदेखि स्थापित यसको राजनीतिक, सामाजिक र सांस्कृतिक महत्वमा आँच आएको छैन । जिल्लाको एकलाख चौध हजार जनसङ्ख्यामध्ये चालीस प्रतिशत लिम्बूहरूको संस्कृतिको केन्द्रका रूपमा आठराई स्थापित छ भने सदरमुकामका रूपमा म्याङलुङले सम्पूर्ण जिल्लालाई सन्तुलनमा राखेको छ ।

कुनै समयमा स्कूलका पाठ्यपुस्तकहरूमा समावेश थियो म्याङलुङ उत्पत्तिको किम्वदन्ती । कसरी डाँडाको चौतारीमा बास बसेका भरियाहरूले ढिँडो पकाउन बनाएको चुल्होको ढुङ्गो आगोको आँच बढ्दै जाँदा हल्लिन थाल्यो, ढुङ्गो हल्लिएको देखेर आक्रोशित भएको भोको भरियाले ढुङ्गोमा खुकुरी प्रहार गर्दा कसरी रगतको भुल्को छुटेको थियो अनि कसरी नेपथ्यबाट बिरालोको म्याउको आवाज आएको थियो र कसरी सिंहवाहिनी देवी साक्षात् भएकी थिइन् । त्यस बेलादेखि अहिलेसम्म अनेकौँ पटक म्याङलुङको रुपान्तरण भइसकेको छ । पछिल्लो पटक २२ मङ्सिर २०५९ सालको आगलागीमा परेर ८६ घर नष्ट भएपछि विस्थापित भएका २११ परिवार पुनः स्थापित भइसकेका छन् । म्याङलुङ बजार अब आधुनिक हुने तरखरमा नगरपालिका घोषित हुने प्रतीक्षामा छ ।

धेरै हिसाबले तेह्रथुम रोचक छ । यहाँको तीनजुरे, जलजले र मिल्केका पर्वत शृङ्खलामा नेपालमा पाइने ३२ मध्ये २८ प्रकारका लालीगुराँस फुल्छन् । राजनीतिक हिसाबले ९ चैत २०६१ को बिहान तेह्रथुमका जनताका लागि जिल्लाकै इतिहासमा सबभन्दा रोचक रह्यो । उनीहरूले पहिलो पटक माओवादी समूहका नेता डा.बाबुराम भट्टराईका पक्षमा म्याङलुङ बजारका घरहरूमा ताजा भित्तेलेखन देखेर छक्क परे । पाँच किलोमिटर परको जिरीखिम्ती बजारमा यस्तो भएको भए त्यति आश्चर्य लाग्ने थिएन । तर, रातभरि निषेधाज्ञा लागू भएको सदरमुकाममा माओवादी कार्यकर्ता आएर खुलेआम भित्तेलेखन गरेको यो पहिलो पटक थियो । स्थानीय पत्रकारहरूसँग अनौपचारिक कुराकानीको क्रममा सुरक्षाफौजका मेजरले भन्नुभएछ, “बिहान चार बजेतिर लेखेछन् क्यारे मोराहरूले !”

लिम्बूहरूको जिब्रोले जोर घुम्ती शब्द उच्चारण गर्दा चोर घुम्ती सुनिने र त्यसबाट बजारकै बेइज्जती हुने ठानेर जिरीखिम्ती भन्न थालिएको तेह्रथुमको बजार सुरक्षाका दृष्टिले निकै संवेदनशील मानिन्छ । यही १९ फागुनका दिन माओवादी खोज्दै गस्तीमा जिरीखिम्ती पुगेका सुरक्षाकर्मीहरूको व्यवहार मानवोचित नभएको उल्लेख गर्दा पक्कै पनि सुरक्षाकर्मीको मनोबल गिराएको आरोप लाग्ने छैन । बजारका ब्यापारी र निवासीहरूलाई खुला सडकमा तीन लहरमा उभ्याएर गरिएको उक्त दिनको कारबाहीले सुरक्षाकर्मीको मनोबल बढाए पनि जनताको मनोबल हदैसम्म खस्काएको छ । त्यसमा पिप्ले गाउँका वृद्ध बलबहादुर दमाईले मात्र होइन, धेरै अरू व्यवसायीले चित्त दुखाएका छन् । बजारभन्दा केहीपर हामीलाई रोकेर परिचय खोज्ने क्रममा माओवादीका स्थानीय कार्यकर्ता योक्तबहादुर लिम्बू ‘मानव’ ले बताए, “हामीलाई त आतङ्कवादी भन्दछन् । तर, तपाईँ पत्रकारहरू हो भने जिल्लाको कुरा राम्ररी बुझेर जानुहोला ।”

तेह्रथुम जिल्लामा हिंसाको स्थिति अन्यत्रको भन्दा फरक छैन । सदरमुकाम म्याङलुङमा हिंसाको प्रभाव त्यति सारो नदेखिए पनि जिल्लाका धेरै क्षेत्रहरू हिंसाबाट आक्रान्त छन् । खाम्लालुङ, म्याङलुङ, तम्फुला, हमरजुंग र आङदिम बाहेक अन्यत्र सबै गाउँका गाविस भवनहरू भत्काइएका छन् । खकुलेमा निर्मित तमोर नदीको पुल काटिएको छ । पछिल्लो स्थानीय निर्वाचनपछि खाम्लालुङका ४७ जना निर्वाचित जनप्रतिनिधिहरू सबै एकमुष्ट माओवादीमा समाहित भएको घटनाले तेह्रथुमको राजनीतिक संरचनामा साङ्केतिक महत्व राख्दछ । विगत चार वर्षको अवधिमा द्वन्द्वका कारण ६२ जना मारिएका छन् भने २०६१ को माघ महिनासम्म द्वन्द्वका ८० वटा घटना भइसकेका छन् । चन्दा आतङ्कले जनता आजित भएर वितृष्णाको स्थितिमा पुगेको थाहा पाएर माओवादीको जिल्लास्तरीय नेतृत्वले हालै कार्यकर्ताहरूलाई जनतालाई दुःख नदिने निर्देशन जारी गरेको छ । यसबाट चन्दा आतङ्क मत्थर भएको छ । तर, नेतृत्वको निर्देशनले भोका माओवादीको पेट नभरिने हुँदा उनीहरूले गाउँलेको भान्सामा सित्तैँ खान छाडेका छैनन् ।

हिंसाका कारण आन्तरिक विस्थापन तेह्रथुमको प्रमुख समस्या बन्दै गएको छ । ओख्रे गाउँ अहिले युवा जनशक्तिविहीन बनेको छ । अखिल क्रान्तिकारीको सदस्यता लिनै पर्ने अनिवार्यताका कारण भयग्रस्त युवायुवतीहरू घर छाडेर हिँड्न थालेका छन् । जिल्लाका राजनीतिक नेताहरू मारिने डरले सबै विस्थापित भइसकेका छन् । बजारका प्रतिष्ठित काङ्ग्रेसी गोविन्द ढुङ्गाना भन्नुहुन्छ, “नेपाली काङ्ग्रेसका सबै नेताहरू विस्थापित भइसक्नुभएको छ । हामी केही साथीहरू जेनतेन बसिरहेका छौँ । एमालेका साथीहरू पार्टीको पुनर्संरचनामा लाग्नुभएको छ । हामी काङ्ग्रेसहरू पार्टी एकता पर्खिरहेका छौँ ।”

व्यवसायीहरू पनि उत्तिकै दयनीय अवस्थामा छन् । जिल्लामा कृषि र अन्य उद्यमहरूको प्रचूर सम्भावना नभएको होइन । तेह्रथुम ढाका कपडाका लागि प्रसिद्ध भएपनि उद्योग मौलाउन सकेको छैन । लोक्ता र अलैंचीले ल्याउन लागेको सम्मृद्धिमा पनि द्वन्द्वले असर पारेको छ । सामुदायिक वनबाट जनताले फाइदा पाउन लागेकै वेला माओवादीले प्रतिशतको भागवण्डा खोजेका छन् । उद्यमीहरू प्रश्न गर्दछन्, “कसका लागि गर्ने काम हामीले ?”

लिम्बू र दलितहरूमा माओवादीको प्रभाव बढी विस्तार भएको बताइए पनि कानून व्यवसायी र शिक्षकका रूपमा परिचित भक्तराज कन्दङ्वा बाहेक नाम उल्लेख गर्न सकिने स्तरका नेता बनेका छैनन् । शिक्षा र संस्कृतिका हिसाबले निकै अगाडि बढेको आठराईमा हिंसाको प्रभाव तुलनात्मक रूपमा निकै बढी मानिन्छ । तर, म्याङलुङ र आठराईको बाटै फरक छ । आठराई छिर्न पाँचथरको बाटो सजिलो छ भने म्याङलुङ धनकुटाको हिलेसँग मोटर बाटोले जोडिएको छ ।

comments powered by Disqus

रमझम