सहलेस महोत्सव–२०६१ को एक प्रस्तुति ।
विक्रम संवत् २०६१ को पुछारमा राजनीतिक मात्र नभई देशको साहित्यिक–सांस्कृतिक क्षेत्रमा पनि चकमन्नता झैँथियो । मधेशमा भने यो चकमन्नताले कतै केही छोएजस्तो देखिएन । मधेशका नियमित र सामान्य गतिविधि पनि राष्ट्रिय सन्दर्भमा अँध्यारोमा जूनकिरी झैँ टाठा देखिए । हिजोको खुकुलो परिवेशमा पनि कुँजिएर बसेका मधेशीको सामान्य हलचलसमेत ठूलो चहलपहल झैँभयो। राष्ट्रले महसूस गरिरहेको निस्सासिँदोपनलाई थोरै मात्र भए पनि यस्ता गतिविधिले अक्सिजन–प्रवाह गरेर सहज तुल्याउने जमर्को गरे ।
यसको सुरुआत ‘नेपाल तराईः सन्दर्भ र सम्भावना’ विषयमा सोसल साइन्स बहाःद्वारा २७–२८ फागुनमा राजधानीमा आयोजित सम्मेलनले गर्यो ।
मधेशीहरूले आफ्ना तीता अनुभवहरूसमेत कलात्मक रूपले प्रस्तुत गर्दै आफ्ना आँसुमा पीडक वर्गका मानिसबाट समेत समर्थन, सहानुभूति र थपडी पाउनु कार्यक्रमको सफल पक्ष थियो । यसबाहेक स्वयं मधेशीहरूले डा. रामावतार यादव, सीके लाल, प्रा. उषा झलगायत आफ्नै माटोका मान्छेको गहिराई थाहा पाउने मौका पाए । बाँकी कसर पूरा गर्यो सम्मेलनको समापनमा यलमाया केन्द्र, पाटनढोकामा आयोजित ‘मधेशी साँझ्’ नामक साङ्गीतिक कार्यक्रमले । केही व्यक्तिले ‘कार्यक्रमले मैथिली सङ्गीतको शिष्टतालाई बिटुल्यायो’ भन्दै तीतो पोखे पनि सुनील मल्लिक, रूपा झ, गोपाल ठाकुर, मधु गुरुङ आदिले प्रस्तुत गरेका मैथिली, भोजपुरी, अवधी भाषाका गीतहरूमा सहभागीहरू मजैसँग झ्ुमेका थिए । मधेशी–पहाडी दुवै समानुपातिक रूपले सहभागी भई दिल खोलेर रमाएको उक्त कार्यक्रमले नेपाली जनता कस्तो समन्वयमा प्रफुल्ल रहन्छन् भन्ने सङ्केत दिएको थियो ।
यलमाया केन्द्रमा मधेशी गुञ्जन ।
लगत्तै २–७ चैतमा मिथिलाको केन्द्र जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली नाट्य–महोत्सवको आयोजना भयो । वैशाख २०५९ मा काठमाडौँमा आयोजना गर्ने भनी चतुर्भुज आशावादी, उदयकान्त झ आदिबाट शुरु भएको महोत्सव अभियान आरम्भमा आशावादीको असामयिक निधनबाट रोकिएको थियो, पछि राष्ट्रको विषम परिस्थितिले कार्यक्रम सर्दै गयो । अन्ततः झ्नै विषम भनिएको वर्तमान परिस्थितिमा जनकपुरधामस्थित रामानन्द युवा क्लवले त्यसलाई आकार दियो । नेपाल र भारतका १० नाट्यसंस्थाको सहभागिता रहेको उक्त महोत्सवले सडकमा धरपकड चलिरहेको बेलामा पनि प्रेक्षालयभित्र मानव–मन र माटो पक्रन राम्रै सफलता प्राप्त गर्यो ।
नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान पनि केही समययता मधेशप्रति अलि बढ्तै संवेदनशील देखिएको छ । उपकुलपति डा. वासुदेव त्रिपाठीसमेत अन्य प्राज्ञहरू मैथिलीका विशिष्टताहरूसँग परिचित भइदिएकाले प्रज्ञाको सकारात्मक नजर देखिएको छ मैथिलीप्रति । नाट्य–महोत्सवमा समेत सक्रिय सहभागिता जनाएको प्रज्ञा–प्रतिष्ठानले १०–११ चैतमा जनकपुरमा त्रि.वि. मैथिली विभागको सहयोगमा काव्यसम्मेलनको आयोजना गर्यो । उपकुलपति डा. त्रिपाठीकै विशेष पहलमा डा. राजेन्द्र विमल संयोजक रहनुभएको मिथिला प्रज्ञा–प्रतिष्ठानको तदर्थ समितिसमेत बनाइयो । यो प्रयासलार्ई स्वागतयोग्य मानिए पनि जनकपुरलाई मात्र मिथिला मान्ने प्रवृत्तिबाट भने मैथिलीप्रेमीहरू केही विक्षुब्ध देखिए ।
जनकपुरमा प्रदर्शित एक मैथिली नाटक ।
विभिन्न सांस्कृतिक गतिविधिबाट गरिने नववर्षको स्वागतमा पनि मिथिलामा नयाँ रौनक देखिने भएको छ । सिरहामा गतवर्ष रामरिझ्न यादवको संयोजकत्वमा भएको सलहेस महोत्सवलाई यसवर्ष तारिणीप्रसाद यादव, उमेशकुमार झ ‘ललन’ आदिको विशेष सक्रियतामा तीनदिने कार्यक्रमका साथ भव्य रूपमा मनाइने भएको छ । दलित चेतनाका प्रतीक सलहेस र हरिसिंहदेवको नाममा सिरहाको सलहेस फूलबारी, मानिक दह, पकडियागढ, पतारिपोखरीलगायतका ठाउँमा १ वैशाखदेखि नै मेला लाग्ने परम्परा छ । अर्कोतिर मिथिलाका हरेक जातिले नववर्षका दिन शीतलता तथा सरसफाई अभियानका रूपमा मनाउने जूडशीतल पर्व (सिरुवा) लाई आधार बनाई सप्तरीका थारूहरूद्वारा सिरुवा महोत्सव मनाउन लागिएको छ । राजधानीमा भने किशोरी महतोको अगुवाईमा विशेष जूडशीतल कार्यक्रम आयोजना हुँदैछ ।
सारा नेपाल जाज्वल्यमान रहँदा मधेशका सांस्कृतिक तथा साहित्यिक गतिविधिहरू प्रायः ‘भ्यापर लाइट’ का अगाडि बलिरहेका टुकी हुने गरे पनि आमजनताले आफ्नो आस्थाको तेल राखेर बाल्दै आएका यस्ता सांस्कृतिक टुकीहरू देश निदाएको बेला भने निकै चम्किला देखिँदा रहेछन् । देशको जस्तोसुकै अवस्थामा पनि मधेशबाट कोही न कोही कुनै न कुनै रूपबाट जागिरहेकै देखिन्छ । यो जागरणलाई सानो क्यानभासमा कैद गरेर नियाल्ने हो भने एउटा रिले–जागरण जस्तो देखिन्छ । आशा गरौँ, मधेश र देशलाई उँभो लाने काममा यो जागरण यसरी नै चलिरहने छ ।
धीरेन्द्र प्रेमर्षि