गणेशलाई एक सय आठ नाममा पुकार्ने गरिएको थाहा पाएपछि डङ्गोल ती नाम पत्ता लगाउन कस्सिएका थिए । हालसम्म उनले गणेशका चौतीस नाम र स्वरुपलाई चित्रमा उतारिसकेका छन् । सेतो, नीलो, खरानी, पहेँलो र रक्त वर्णका गणेशका वाहन पनि बेग्लाबेग्लै छन् । अध्ययनकै क्रममा उनले भारतको मुम्बईस्थित वार्डेन रोडका बासिन्दा बुद्धिप्रकाश श्रेष्ठसँग स्त्री गणेशको मूर्ति भएको तथ्यसमेत फेला पारेका छन् । भन्छन्, “दक्षिण भारतमा ‘मदर गणेश’का रूपमा पूजा गरेको देखेको छु । यो अध्ययनको विषय हो, यसले मलाई रोमाञ्चित तुल्याएको छ ।”
बम्बईमा जे.जे. स्कूल अफ आटर्सबाट फाइन आर्टसमा डिप्लोमा गरेका गोविन्द ३३ वर्षदेखि काठमाडौँस्थित ललितकला क्याम्पसमा पढाउँदै आएका छन् । उनी हाल सो क्याम्पसका प्रमुख पनि हुन् । तर, प्रकृतिप्रेमी प्रयोगधर्मी चित्रकारका रूपमा उनको बढी ख्याति छ । उनका चित्रमा सिङ्गै प्रकृति टाँसिए जस्तो लाग्छ । धेरै दर्शकले उनका चित्रलाई तस्बिरजस्तै ठान्छन् र नजिकै गएर नियाल्छन् । हवाईजहाजमा उडिरहेको बेलासमेत भू–धरातलमा देखिएको रङलाई धेरैपल्ट उनले चित्रमा उतारेका छन्, त्यो पनि हिमाल, पहाड र तराईको बेग्ला–बेग्लै शृङ्खलामा ।
घना जङ्गलको बीचमा सुतेर आकाशतिर हेर्दा तपाईँ के देख्नुहुन्छ ? कल्पना गर्दा पनि बेग्लै खालका तस्बिर नाच्छन् आँखामा । डङ्गोल तिनै कल्पनालाई क्यान्भासमा उतार्छन् । समुन्द्रमा पानीभित्र देखिने आकृतिलाई उनले चित्रमा उतारेका छन् । रङसँग खेल्ने अद्भुत क्षमता छ उनमा । भन्छन्, “कला समुन्द्र हो । म पनि सिक्दैछु ।”
डङ्गोलले समकालीन नेपाली चित्रकारका माझ्मा बेग्लै पहिचान बनाएका छन् । पौवा, यथार्थवादी, अमूर्त, चारकोल सबै खाले कलामा उनी सिद्धहस्त मानिन्छन् । उनको सिर्जना श्रीयन्त्रको मण्डलालाई एक विदेशीले रु.२० लाख दिँदासमेत उनले बेच्न अस्वीकार गरे । भन्छन्, “यो मेरो जीवनकै महत्वपूर्ण चित्रकला हो । यसको मूल्य राख्नै मन लागेको छैन ।”
चित्र लेख्नुअघि गहिरो अध्ययन गर्ने उनी अहिलेको युवा पुस्ता गहकिलो सिर्जनामा भन्दा प्रदर्शनीमै हतारिएको मूल्याङ्कन गर्छन् । धेरैजसो एक्रेलिक र पानी रङको प्रयोग गर्न रुचाउने डङ्गोल प्रायः ‘वासटेक्निक’ अपनाउँछन् । उनका धेरैजसो चित्रमा रातो रङको प्रभाव पाइन्छ । चित्रकलाका प्रायः सबै विधामा उत्तिकै क्रियाशील थोरै शिल्पीमध्ये एक हुन् उनी । डङ्गोललाई जीवनभरिमा पाँच हजार चित्र पनि बनाउन सकिँदैन कि भन्ने लागिरहन्छ । र, देशविदेशमा छरिएका उनका सिर्जनाहरू हेर्दा लाग्छ, त्यो लक्ष्य धेरै टाढा छैन ।
देवीदेवताका चित्रहरूको त उनीसँग दर्जनौँ शृङ्खला तयार छन् । धार्मिक चित्रहरूमा देखिने पुरानो शैलीभन्दा पृथक् छ उनको शैली । चित्रमा नयाँ विषयबस्तुको खोजी गर्न उनी औधी रुचाउँछन् । गणेश– शृङ्खला पनि उनको त्यस्तै खोजको अभिव्यक्ति हो ।
भोजराज न्यौपाने