१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

आजकी छोरीलाई एउटा चिठी

Share:
  
- डा. सरोज धिताल

मेरी छोरी,

“बुबाले मेरै नाममा यो के लेखेको होला !” भनी तिमीलाई अनौठो लाग्ला, असजिलो लाग्ला । यथार्थमा तिम्रो निहुँमा म तिम्रो सिङ्गो पुस्तासँग सार्थक संवाद गर्न खोजिरहेको छु । त्यसैले तिम्रो नाममा जे लेख्दैछु, त्यसलाई चिठ्ठी भनिदिए पनि हुन्छ, डायरीको एउटा पानाको रूपमा पढिदिए पनि हुन्छ, जे भने पनि हुन्छ । मेरो निम्ति यो एउटा स्वीकारोक्ति हो– आफ्ना कमजोरीहरूको र, प्रयत्न पनि हो बाँकी जीवनलाई अझ् सार्थक बनाउने ।

पचास वर्षको उमेर पार गरेपछि म झन्झन् अनुभव गर्दैछु एउटा सत्यलाई— नैतिकता, अनुशासन, संस्कार, परम्परा, शिक्षा वा अरू कुनै पनि निहुँमा जब म तिमीलाई, तिम्रो पुस्तालाई आफ्नो विगतको उदाहरण दिएर ‘शिक्षित पार्न‘ खोज्छु– वास्तवमा म तिमीहरूलाई मेरो मृत विगतमा घिच्याएर लान खोज्दोरहेछु । र, यसरी मेरो अनुभव सुनाएबापत तिमीहरूसँग ज्यादै चर्को मूल्य असुल गर्दोरहेछु– जसबाट न मेरो पुस्तालाई कुनै फाइदा छ, न तिमीहरूको पुस्तालाई । तर जब म आफैँ नै तिमीहरूको जीवित वर्तमानमा पसेर तिमीहरूका रुचि, चाहना, सपना, पीडा र आक्रोशलाई... अर्थात् तिमीहरू स्वयंलाई बुझने प्रयत्न गर्छु, जब आफ्नो जिन्दगीभरको अनुभवको सारलाई उपहारको रूपमा तिम्रा हातमा थमाइदिने प्रयत्न गर्छु, अनि म आफँै नै फेरि जवान हुने मात्र हैन मेरो विगत पनि आफ्ना सुन्दर अंशहरूमा जीवित हुँदोरहेछ, तिमीहरूको जीवनमा कतै सार्थक ठाउँ पाउँदोरहेछ, सुन्दर भएर छाउँदोरहेछ । (यी पंक्तिहरू लेख्दा म तिम्रो दिवंगत हजुरबुबाको हाँसिरहेको तस्बिर हेरिरहेछु । त्यो मुस्कान– केवल त्यो समझ्दारीको मुस्कान– जीवित भएर मेरो जीवनमा, मेरो छेउछाउ, यो कोठाभरि छाइरहेको छ । जब कि उहाँले आफ्नो पुस्ताका मूल्यमान्यताले मलाई शिक्षित गर्न लाख प्रयत्न गर्दा पनि ती कहिल्यै ममा अनुदित हुन सकेनन् ।) हो, त्यसैले म तिम्रो पुस्तासँग सार्थक संवाद गर्न चाहन्छु । तिमीहरूलाई यो मेरो निम्तो भयो । के तिमीहरू पनि सक्छौ मलाई निम्त्याउन ?

तिमीसँग गर्नुपर्ने यति धेरै कुरा छन् कि कुरा कहाँबाट थाल्ने भनेरै म अल्मलिइरहेको छु । तर हाम्रो यो संवादले निरन्तरता पाउला भन्ने विश्वासमा म आज केही कुरा कोट्याउँछु मात्र– आफ्नो सम्झनाको अलिकति बिर्को पनि उघार्नेछु । तिम्रो मनको ढोकालाई पनि यस्सो ढक्ढक्याउनेछु म । तिमी बोल्न थालेदेखि अहिलेसम्म मलाई कति हजार प्रश्न गरी सक्यौँ होली– न मसँग यसको कुनै लेखा छ, न तिमीलाई नै सम्झ्ना होला । तर मलाई थाहा छ– तिम्रा थोरै प्रश्नहरूलाई मात्र मैले गम्भीरतापूर्वक सुनेर सही जवाफ दिएको छु । थुप्रै प्रश्नलाई कि मैले तिम्रो कलिलो उमेरको निहुँमा आलटाल गरेँ, कि जानीजानी गलत उत्तर दिएँ । आफूले नबुझेको कुरा तिमीले सोध्दा “मलाई थाह छैन छोरी” भनेर खुलस्तसँग भन्ने आँट पनि मैले शायदै गरेँ होला । किन यसो गरेँ मैले ? के तिमी पनि त्यसै गछ्र्यौ होली मेरो उमेरमा पुगेपछि ? यसबारे हामी पछि नै कुरा गरौँला । तर मैले त्यसो गर्नु गलत थियो भन्ने कुरामा आज मलाई शङ्का छैन ।

केटाकेटीका प्रश्नहरू अमूल्य हुन्छन् । तिनले मानिसलाई सत्यको खोज गर्न सघाउँछन् । म झन्झन् यो कुरा बुझन थालेको छु । तर तिम्रा ती सबै अमूल्य प्रश्नहरू यतिबेला मसँग छैनन् । तर सम्झनासँग जोडिएका केही प्रश्न अझै पनि आउँछन् मेरो मनमा । थोरै भए पनि तीबारे आज म इमान्दारीपूर्वक तिमीसँग छलफल गर्न चाहन्छु । म बुझ्छु– तिम्रो जीवित वर्तमानको अपरिपक्वता मेरोे विगतको परिपक्वताभन्दा कता हो कता महत्वपूर्ण छ । त्यसैले मेरा धारणाहरू तिमीमाथि थोपर्न चाहेको हैन । तिमीसँग खुला छलफल मात्र गर्न चाहन्छु यी विषयहरूमा । र, अझ् खुलेरै भन्ने हो भने मैले सुल्झउन नसकेका समस्याहरूको समाधान तिम्रो फक्रँदो सृजनशीलतामा खोज्न चाहन्छु । यो युग त मेरो भन्दा बढी तिम्रै न हो ! एउटा कुनै सिलसिलामा तिमीले एउटा ज्यादै महत्वपूर्ण तर अप्ठेरो कुरा सोधेकी थियौ— “जीवन के हो ?”

त्यतिबेला मैले के भनेको थिएँ, अहिले मलाई याद छैन । तर विगत केही वर्षहरूमा मैले आफैसँग खूब सोधेँ यो प्रश्न । बेस्सरी खायो मलाई यो प्रश्नले जन्माएका छटपटीले । र आखिर म एउटा निर्णयमा पुगेँ– जीवनलाई हजार किसिमले परिभाषित गर्न खोजे पनि यसको पूर्ण अर्थलाई स्पष्ट पार्न सकिँदो रहेनछ । र पनि मेरो व्यक्तिगत प्रयोजनको निमित्त भने मैले जीवनको दुइटा अर्थ समातेको छु–

एक, मानिसको जीवन यति सुन्दर छ, यति अर्थपूर्ण छ कि मानिस भएर बाँच्न पाउनु मात्रै पनि एउटा महान् सुखद् कुरा हो । आध्यात्मिक भाषामा भन्ने हो भने यो ठूलो पुरस्कार हो, एउटा ‘डिभाइन रिवार्ड’ ! त्यसैले जीवनलाई यथाशक्य बाँच्नुपर्छ, बाँच्नुको त्यो आनन्दानुभूति गर्न सक्नुपर्छ । जीवनलाई साँच्चै माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ ।

दुई, यति सुन्दर जीवन पाएको छु मैले भने यसको अर्थ पनि हुनुपर्छ । त्यसैले बाँच्नुको स्पष्ट ‘मिसन’ पनि हुनुपर्दोरहेछ । मानिसले मर्ने बेलामा आफैँसँग “के गरेँ त मैले जीवनमा” भनी सोध्दा त्यसको स्पष्ट उत्तर त हुनु पर्यो नि, हैन ?

जीवनबारे सोच्दा मलाई आज यस्तै लाग्छ– जीवन पुरस्कार हो, जीवन मिसन पनि हो ।

तिमीहरू पनि जीवनको अर्थबारे पक्कै चिन्तन गर्छौ होला । मलाई भन त एकचोटि– आफ्नो जीवनको त्यो मिसनलाई तिमीहरू कसरी परिभाषित गर्छौ ? मलाई त एकदम एकदम गाह्रो भयो मेरो आफ्नो मिसनलाई परिभाषित गर्न । र नढाँटी भन्ने हो भने अझै पनि अल्मलिइरहेको छु । यो अल्मलकै बीच, मानिसको जीवनमा समयको भूमिकालाई देख्न थालेको छु । आजकल बल्ल बुझ्े जस्तो लाग्न थालेको छ– समयलाई किन महाकाल पनि भनिँदोरहेछ । समयको, महाकालको त कामै रहेछ वर्तमानलाई विगतमा परिणत गर्ने । तिम्रो यो सुन्दर वर्तमान पनि निरन्तर विगतमा बदलिइरहेछ । यसो नभए त फेरि जीवन नै रहँदैन । यसको अर्थ के पनि हो भने यथास्थितिलाई समाई राखेर जीवन अघि बढ्दैन, चल्दै चल्दैन ।

अरू धेरै मानिसहरूले जस्तै मैले पनि मेरो जीवनको ठूलो हिस्सा गुनासो गर्दै बिताएको छु । मलाई यो मन परेन, मलाई यो चाहिएन, यो खराब छ, यो यस्तो सडेको छ, त्यो किन यति बदमास... आदि गुनासाहरूमै मेरो धेरै समय बितेको छ । यस्तो गुनासो गर्न केही यत्न गर्नुपर्दोरहेनछ, मेहनत गर्नुपर्दोरहेनछ । तर आफूले खोजेको के हो ? सृजना गर्न चाहेको के हो ? यो कुरा बुझन र बुझउन भने प्रशस्त मेहनत गर्नुपर्नेरहेछ । वर्तमानका नराम्रा कुरालाई त समय/महाकालले नै बढारेर विगतको खाल्डोमा पुरिदिन्छ । तर भोलिको सृजना, भविष्यको ‘डिजाइन’ आफैँ गर्नुपर्छ । आफ्नो जीवनको उद्देश्य/मिसन निर्धारण गर्न जति ढिलो गर्यो उति गाह्रो हुँदोरहेछ यो काम ।
छोरी ! तिम्रो रुचि र मेरो रुचिबीच धेरै फरक हुनसक्छ । तिम्रा र मेरा प्राथमिकताहरू फरक हुन सक्छन् । त्यसैले अहिले योभन्दा बढी लेख्दिनँ ।

यी पंक्तिहरूमा कतै तिम्रो रुचिसँग मिल्ने कुरा छन् र यस्तो संवादको सार्थकता छ भने म यसलाई जारी राखेर अहिलेको युवापुस्ताको जीवनका आयामहरू बुझन चाहन्छु । मसँग भएका सबै कुरा तिम्रो पुस्तालाई हस्तान्तरण गर्न चाहन्छु । तिमीले मलाई केही नभनेसम्म अधैर्य भएर पर्खिरहनेछु । म पर्खिरहेछु ।
– बुवा

comments powered by Disqus

रमझम