एक पुस्ता भन्दा २५ वर्षको समय बुझिन्छ । त्यसैले नेपाली समाजभित्र कुनै घरमा एक पुस्ता मात्र र कुनै घरमा ४—५ पुस्तासम्मका सदस्यहरू भेटिन्छन् । यो लेख माथिका पहिलो र दोस्रो विषयमा केन्द्रित भई पुस्ताको महत्व र पुस्तान्तरको चर्चामा सीमित रहनेछ ।
जहाँ युवाहरू बढी हुन्छन् त्यहाँ बढी सामाजिक र राजनीतिक क्रान्ति हुने कतिपय समाजशास्त्रीहरूको मान्यता छ । त्यसैले, नेपालको सन्दर्भमा युवा पुस्ता भनेका को हुन्, तिनीहरूको सङ्ख्या कति छ भनेर बुझनु नितान्त आवश्यक छ । विश्व स्वास्थ्य सङ्गठनले तीन उमेर समूहका व्यक्तिहरूलाई युवा वर्ग (अर्को शब्दमा नयाँ पुस्ता) भनी चित्रण गरेको छः १. तन्नेरी अवस्थातर्फ उन्मुख १०–१९ वर्ष उमेर समूहका किशोर–किशोरी (एडोलस्सेन्टस्), (२) १५—२४ वर्ष उमेर समूहका तन्नेरीहरू (युथ) र (३) १०—२४ वर्ष उमेर समूहका युवा समूह (योङ) । नेपालको झ्ण्डै ७४ लाख जनसङ्ख्या (३२.५%) “युवा समूह” भित्र पर्दछ र यो समूह नै नेपालको नयाँ पुस्ता हो ।
नयाँ पुस्ता र यसअघिको पुस्ता बीच सोचाइ, व्यवहार र मूल्यमान्यताहरूमा के के भिन्नता छन् भन्ने थाहा पाउन सर्वप्रथम, हरेक पुस्तामा बच्चाहरू कसरी हुर्कन्छन् र तिनको शिक्षादीक्षा एवं संस्कार (सामाजिकीकरणको प्रक्रिया) कस्तो छ भन्ने हेरिनुपर्छ । नेपालको हिजोको पुस्ता संयुक्त परिवारमा जन्मिएर हुर्किएको हो । बच्चा जन्माउनु भन्दा पनि कति बच्चाहरू भगवानले दिन्छन् (बाल मृत्युदर बढी भएकोले) भन्ने कुरा त्यसबेला महत्वपूर्ण थियो । छोराबिनाको परिवार पूर्ण मानिँदैनथ्यो । छोराले बूढा बाबुआमाको हेरविचार गर्नु कर्तव्य ठानिन्थ्यो । हिजोको नेपाल कृषिमा आधारित भएकोले बाबुआमाको पेशालाई छोराले निरन्तरता दिने कुरा प्रस्ट थियो । बच्चा हुर्काउने र सामाजिक संस्कार बारे बुझाउने सिकाउने काम घरका बूढापाका र महिलाहरूको जिम्मा (हजुरआमा, हजुरबा, काका, काकी आदि) हुन्थ्यो । घरमा घरमूली र आफूभन्दा मान्यजनहरूलाई मान्नुपर्ने सामाजिक परम्परा कायम थियो ।
खानपिनको सवालमा, हिजोको पुस्ता कृषिमा पूर्णतः आश्रित भएकोले दुई छाक भात खान सक्ने परिवार सम्पन्न मानिन्थ्यो । खानामा खासै छनौट थिएन । खान पाउनु नै ठूलो कुरा थियो । गाउँघरमा शौचालय तथा स्नान घर नभएकाले घर बाहिर नै सबै नित्य कर्म गर्ने चलन सामान्य थियो । यद्यपि कतिपय गाउँघरमा यो चलन अहिले पनि कायमै छ ।
तर आजको पुस्ता हिजोको पुस्ता भन्दा माथिका सबै कुरामा निकै फरक छ । आजका धेरै बच्चाहरू संयुक्त भन्दा एकात्मक वा सानो परिवारमा हुँर्कदै छन् । यो प्रक्रिया शहरी क्षेत्र र काठमाडौँ उपत्यकामा क्रमशः बढ्दै गएको छ । त्यसैले अहिलेको पुस्ताका बच्चाहरूको रेखदेख र हुर्काउने प्रक्रियामा बूढाबूढीको महत्व घट्दै गएको छ । बच्चाहरू पनि क्रमशः कम जन्मिरहेछन् । यस पुस्ताका केटा तथा केटीहरूमा क्रमशः ‘म’, ‘मेरो जीवन’, ‘म पना’ वा ‘मेरो जिन्दगी’ (व्यक्तिवाद) भन्ने प्रवृत्ति हिजोको तुलनामा कता हो कता बढ्दै गइरहेको छ । आजका छोराछोरीहरू धेरै जसो आफ्नै काममा व्यस्त देखिन्छन् । उनीहरू आफ्नै घरका सदस्यहरूसँग पनि राम्ररी बोल्न आवश्यक ठान्दैनन् । घरमा आउने पाहुना, अन्य नातागोतासँग नबोले पनि, वास्ता नगरे पनि चल्छ भन्ने भावले तिनमा जरो गाड्दै गएको छ । हिजोका पुस्तामा धर्म र संस्कार एउटा कर्तव्यको रूपमा थियो भने आज त्यो क्रमशः ‘शोख’को रूपमा बढ्दै गएको पाइन्छ ।
आजको पुस्ताको सबैभन्दा ठूलो चासोको विषय शिक्षा र रोजगारी हो । खासगरी शहरी क्षेत्रका बच्चाहरूलाई के पढ्ने र कहाँ पढ्न जाने भन्ने बारे बढी खुल्दुली छ । हिजो सरकारी विद्यालय पढाइको एउटा मात्र निकाय थियो भने आज हजारौँका सङ्ख्यामा निजी तथा आवासीय विद्यालयहरू खुलेका छन् । त्यसैले आफ्नो आर्थिक अवस्था हेरी नयाँ पुस्ताका विद्यार्थीहरू छानीछानी विद्यालयहरूमा पढ्न जान्छन् । यहाँ बुझ्नुपर्ने कुरा के छ भने, हिजोका बाबुआमा घरजग्गामा बढी लगानी गर्थे तर आजका बाबुआमाहरू छोराछोरीको शिक्षामा बढी भन्दा बढी लगानी गरिरहेका छन् ।
आजका पुस्ताका विद्यार्थीहरूले पढ्ने विषयमा विविधता छ– विद्यार्थी आफ्नो रुचि अनुसार विषयहरू पढ्छन् । सम्पन्न र सक्नेले विज्ञान, डक्टरी, इञ्जिनियरिङ नै पढ्नुपर्छ भन्ने मान्यता बिस्तारै टुट्दै गएको छ ।
सूचनाप्रविधि, पत्रकारिता, वातावरण विज्ञान, समाजशास्त्र पनि आज त्यत्तिकै चाख र आकर्षणका विषय बन्न थालेका छन् । आज विद्यार्थीहरूको शिक्षाको गुणस्तर पनि बढ्दै गएको छ । विद्यार्थीहरू आज खुलेर कुन शिक्षकले कस्तो पढायो टिप्पणी गर्न चुक्तैनन् । नयाँ पुस्ताका “बच्चाहरू” आफ्नै बाबुआमालाई “तपाईँहरूलाई केही आउँदैन” भन्न समेत हिच्किचाउँदैनन् । तिनमा विदेश जाने र अमेरिका प्रतिको “क्रेज” बुझिनसक्नु छ ।
नयाँ पुस्ताका धेरै बच्चाहरूलाई, खासगरी शहरमा रहेकालाई नेपालको राष्ट्रिय यथार्थ र गरीबी बारे राम्रो ज्ञान छैन । आजका पुस्तामा खानापिना विविधता छ, राम्रो होटलमा गएर खाना खानु सामान्य कुरो भएको छ । शहरका कतिपय घरमा दुवै छाक भात खानु गरीबीको लक्षण हुन थालेको छ । हिजोको पुस्तामा ‘यौन’ एउटा सामाजिक विषय थिएन तर यौन आज सामाजिक विषयको साथै यसप्रतिको धारणा पनि दिनहुँ खुकुलो हुँदै गएको छ । माथिका धेरै कुराहरू शहरी पृष्ठभूमिमा आधारित छन् । निश्चय नै गाउँ र शहरका युवायुवतीमा लक्ष्य र जीवनशैलीमा फरक छ । ग्रामीण क्षेत्रमा जनसङ्ख्याका बढ्दो चापले गर्दा जग्गाको स्वामित्व कम भएर गएको छ । त्यसमा पनि माओवादी प्रकोपले गाउँले युवायुवतीहरू गाउँमा काम गर्ने र पढ्ने वातावरण नभएकाले विदेशमा पलायन भइरहेका छन् । देश भित्र राम्रो रोजगारीको अवसर नपाएर विदेश जानु आजको पुस्ताको निम्ति बाध्यता भइसकेको छ । झण्डै १० लाख नेपाली युवायुवतीहरू कामको खोजीमा विदेश गइसकेको विभिन्न अध्ययनले देखाएका छन् ।
विदेश जाँदा हिजोको गन्तव्य भारत थियो भने आज विभिन्न खाडी मुलुकहरू, मलेशिया साथै युरोप र अमेरिका पनि थपिएका छन् । यी विदेशमा गएका युवा–युवतीहरूले वर्षेनी ७० अरबदेखि १०० अरबसम्म “रेमिटान्स” पठाउँछन् भन्ने विभिन्न श्रोतहरूको दाबी छ । यहाँ चाखलाग्दो कुरा के छ भने अहिलेका युवाहरू विदेशमा जे काम गर्न पनि तत्पर छन् । यस प्रकारको कामले भविष्यमा उनीहरूलाई स्वावलम्बी मात्र बनाउँदैन, देशको अर्थतन्त्र बलियो र काम गरिखाने परम्पराको वृद्धि हुने कुरा पनि निश्चित छ ।
संक्षेपमा भन्नुपर्दा हिजो हाम्रा पुस्तामा बिजुली, टेलिफोन, टेलिभिजन, निजी शौचालय आदि शोखका साधनहरू थिए । नयाँ पुस्ताका लागि यी सबै साधनहरू दैनिक आवश्यकताका रूपमा प्रस्तुत भएका छन् । इन्टरनेट र इमेलले युवा पुस्ताको संसार साँघुरो बनाएको छ । आजको पुस्ताले जन्मँदै वा कम उमेरमै आफ्नो देशको मात्रै होइन अन्य देशको प्रजातन्त्रको मज्जा र अनुभव भोगेका र चाखेका छन् । त्यसैले आज र हिजोको पुस्ताका व्यक्तिहरूलाई एउटै “लेन्स” लगाएर हेर्न मिल्दैन । हिजो र आजका आवश्यकताहरू पनि फरक छन् । यसर्थ आउँदो पुस्ताहरू बीच सोच र मूल्यमान्यताहरू सम्बन्धमा झन् द्वन्द्व बढ्ने कुरामा कुनै विवाद छैन ।
(प्रा. दाहाल ने.ए.अ. केन्द्र, त्रि.वि., कीर्तिपुरमा कार्यरत हुनुहुन्छ ।)