बेलुकी साढे पाँच बजे फर्किने बेलामा त्यो टोलीले दक्षिणतिरको खोला किनारमा झण्डै एकहजारको माओवादी फौज हिँडिरहेको देख्यो । उनीहरू खारा आक्रमण गर्न आएको अनुमान लगाउन कठिन थिएन । गस्ती टोलीले बेसक्याम्पलाई सूचना दियो । सम्भावित आक्रमणको जानकारी पाएपछि बेसक्याम्पमा खाना खाने तयारीमा रहेका सैनिकहरू खाना छाडेर “स्ट्यान्ड वाइ” भए । केहीछिनमै गस्ती टोली पनि क्याम्पमा पुग्यो ।
साँझको ७ नबज्दै दक्षिण–पश्चिमतिरको खम्चरी डाँडाको जङ्गलबाट माओवादीले ८१ मिलिमिटरको तोपबाट बम फाल्न थाले । १०–१० मिनेटको अन्तरमा दुई घण्टासम्म यसरी बम हान्ने काम भयो । यसबाट सेनाको ध्यान एकातिर केन्द्रित गराएर अर्कोतर्फबाट आक्रमण गर्ने माओवादीको रणनीति भएको अनुमान लगाउन सकिन्छ । नभन्दै दुई घण्टा भित्र बेसक्याम्प नजिकैको हेलिप्याडमै पुगे माओवादी ।
रातभरको लडाइँमा सेनाको नेतृत्व गर्ने उप–सेनानी हरिबहादुर विक भन्छन्, “राति साढे आठ बजेदेखि चाहिँ वास्तविक भिडन्त शुरु भयो । यतिबेलासम्म माओवादीले चारैतिरबाट बेसक्याम्पलाई घेरा हालिसकेका थिए ।”
राति १० बजे मूलगेटको सेन्ट्रीपोष्ट नजिकै आइपुगेका माओवादी क्याम्पको तार काट्न नसकी तलबाट ट्रेन्च (खाडल) खन्दै भित्र छिर्न थाले । भिडन्त भइरहँदा राति सवा १२ बजे पहिलो पटक नेपालगन्जबाट आएको सैनिक हेलिकप्टरले माओवादीलाई लक्षित गरेर बम खसाल्यो । उपसेनानी विक भन्छन्, “तर हेलिकप्टर फर्किनेवित्तिकै उनीहरूले फेरि भित्र छिरेर आक्रमण गर्न थालिहाले ।” एक बजे फेरि हेलिकप्टर आयो र पश्चिमतर्फको मूलगेटमा बम खसाल्यो । माओवादी पूर्वी गेटतिर लागे । यतिबेलासम्म केही माओवादी ट्रेन्च खनेर भित्र पसिसकेका थिए भने केही बाहिरैबाट आक्रमण गरिरहेका थिए । पूर्वतर्फको पोष्टको नेतृत्व गरेका सेनाका एकजना लेफ्टिनेन्ट भन्छन्, “माओवादीहरू ट्रेन्च खनेर पोष्टको १५ गज भित्र आइसकेपछि हामीले बढीभन्दा बढी फायर गर्यौँ र उनीहरूलाई त्यहीँ सिध्यायौँ ।” यसरी भित्र पसेर मारिएका १४ माओवादीका लाश भोलिपल्टसम्म त्यहीँ थिए । ठूलो भिडन्त चलिरहँदा अन्तिमपल्ट पौने चार बजे पनि हेलिकप्टरले आएर बम खसालेको थियो ।
झन् गुम्यो मनोबल
खारा आक्रमण सफल बनाउन माओवादीले सक्दो प्रयास गरेका थिए । उनीहरूले छेउछाउका डाँडाबाट लामो दूरीका हतियार प्रयोग गरे । बेसक्याम्प जाने पानीको पाइप काटिदिए । ट्रेन्च खनेर बेसक्याम्प छिर्ने प्रयास गरे । आसपासका सबै डाँडा आफ्नो नियन्त्रणमा राखेर सेनालाई हवाई सपोर्ट हुन नसक्ने परिस्थिति बनाए । र, १५ घण्टासम्म निरन्तर भिडिरहे । माओवादीले २५ चैतको साँझदेखि रातिसम्म खारा आक्रमण गरिरहँदा अन्य चार जिल्लाका सुरक्षा केन्द्रहरू– सल्यान सदरमुकामको सवुज गण, सिमखर्क ब्यारेक, रोल्पाको लिवाङ र सातदोबाटो ब्यारेक, प्यूठान सदरमुकाम ब्यारेक तथा रुकुम सदरमुकाम ब्यारेकमा पनि बिस्फोट गराउने र गोली हान्ने काम गरेका थिए ।
माओवादीले आक्रमण गर्दैछन् भन्ने पूर्वसूचना, तयारी, संयम र हेलिकप्टर उडानका कारण प्राप्त ढाढसले सेनालाई यति ठूलो सफलता हात लाग्न सकेको देखिन्छ । खाराको स्थलगत अवलोकनपछि सेनाको मध्यपश्चिम पृतनापति उपरथी दीपकविक्रम राणाले हिमाल सँग भने, “सेनाले देखाएको यो साहस प्रशंसनीय छ । इतिहास बोकेको सेनासँग भिड्न खोज्नु भँगेरोले आफ्नो चुच्चो बढ्यो भन्दैमा पहरो फोड्ने गल्ती गर्नु जस्तै हो ।”
खारामा रुकुमस्थित भैरवी दल गणबाट खटिएको सेनानी तहको नेतृत्वमा दुई सय हाराहारीको संयुक्त सुरक्षाफौजको एउटा गुल्म थियो । तर सैनिक सूत्रको भनाइमा, माओवादीले खारा आक्रमणका लागि आफ्नो ठूलो शक्ति, पश्चिम र मध्य डिभिजनलाई नै प्रयोग गरेका थिए । सैन्य सूत्रको भनाइमा, खारा आक्रमणको प्रत्यक्ष नेतृत्व माओवादी पोलिटब्यूरो सदस्य प्रभाकर र सैन्य कमाण्डर पासाङले गरेका थिए । तर, माओवादी स्रोतबाट भने त्यसको पुष्टि भइसकेको छैन ।
बर्दिया र खाराका घटनाले सेनासँग आमनेसामने भिडन्त गर्न माओवादीलाई कठिन पर्ने अड्कल सत्य सावित गरेका छन् ।
“गढ र आधार इलाका कहीँ छैनन्”
खारामा माओवादीले अकल्पनीय क्षति व्यहोरेका छन् । सुरक्षाफौजले उत्कृष्ट साहस प्रदर्शन गरेको छ । यसमा हामी सन्तुष्ट छौँ । हामीले आफ्नै दाजुभाइसँगको लडाइँ झगडामा सबै रणनीति प्रयोग गर्ने कुरा पनि भएन, गरेका पनि थिएनौँ । तर, ब्यारेक हान्नै आएपछि बचाउ त गर्नै प¥यो । त्यही गर्यौँ पनि ।
माओवादीले आफ्नो गढ बताउँदै आएको क्षेत्रमा सफलता पाउँदा तपाईँहरूको हौसला अरू बढ्यो होला नि !
हामी बारम्बार भन्दै आएका छौँ, उनीहरूका तथाकथित गढ र आधार इलाका कहीँ छैनन् । त्यो सब भ्रम मात्र हो । शाही नेपाली सेनाले चाह्यो भने जान नसक्ने ठाउँ कहीँ छैन । ढिलोचाँडोको कुरा मात्रै हो । नेपाली सेना इतिहास बोकेको फौज हो, ऊसँग त्याग र प्रतिबद्धता छ । कुनै एउटा समूहले जित्छु भनेर ऊ हार्ने होइन ।
माओवादीको सैन्यशक्तिलाई कसरी हेर्नुभएको छ ?
देखिहाल्नुभो नि खारा र बर्दियामा । उनीहरूको शक्ति भनेको त्रास मात्रै हो । सेनासँग टक्कर लिने क्षमता आतङ्कवादीसँग छैन । उनीहरूको त्यो सपना कहिल्यै पूरा हुँदैन ।