सुरक्षाकर्मीद्वारा माओवादीको आशङ्कामा मारिएका १७ वर्षीय नारायण र १५ वर्षीय टेकबहादुर सिद्धि मावि, आर्यभञ्ज्याङमा क्रमशः ९ र ८ कक्षामा तथा १५ वर्षका दलबहादुर हिमालय निमावि, खानीछापमा ६ कक्षामा पढ्दै थिए । त्यसदिन दिउँसो तीन बजेदेखि नै होली खेल्ने भन्दै धैरेनीमा नाच्दै–गाउँदै गाडीहरूसँग पैसा उठाइरहेका यी युवाको बेलुकी करीब सवा आठ बजे पाल्पाबाट आएको सुरक्षा गस्तीको गोली प्रहारबाट मृत्यु भएको थियो ।
काल बन्न पुग्यो होली
सुरक्षाकर्मीले धैरेनी आइपुग्नुअघि नै गोलीप्रहार र धरपकड शुरु गरिसकेका थिए । रातोमाटोबाट धैरेनीतिर आइरहेका चिंदीपानी–२ का किरण थापा र लालबहादुर घर्तीसहित सातजना विद्यार्थीहरू एक किमी जति वरै बुटवलतिरबाट आएका ट्रक र ट्याङ्कर रोकेर पैसा मागिरहेको बेला पछाडि दुई वटा बसबाट सैनिकहरू झ्रेको देखेर भाग्दा सैनिकहरूले गोली प्रहार गरे, तर त्यहाँ कसैलाई गोली लागेन । ‘प्लस टु’ मा पढ्ने किरण भन्छन्, “डरले नभागेका लाले र मलाई समातेर लात्ताले भकुर्दै बसभित्र हाले ।”
त्यहाँबाट अघि बढेको सेनाको बसबाट धैरेनीमा होली खेलिरहेका विद्यार्थीहरूको भीडमा उत्रिएका एकजना सैनिकले गोली हान्न शुरु गरेको एक प्रत्यक्षदर्शी ड्राइभर बताउँछन्। । “सबै भागाभाग भए । त्यसपछि दुइटै बसबाट सेना झ्रेर लखेट्दै गए । पछि थाहा भयो, दुई जनालाई गोली लागेछ”, उनले भने । प्रत्यक्षदर्शीका अनुसार त्यतिबेला सेनाबाट अन्धाधुन्ध गोलीप्रहार भएको र तिघ्रामा गोली लागेर एक सैनिक जवान समेत घाइते भएका थिए । त्यसरात वरिपरिका डाँडाहरू सबैतिर गोलीको आवाज सुनिएको थियो । “म पल्टेर निदाउनै लागेको थिएँ, एक्कासी ब्रसफायर सुनेँ”, घटनास्थलदेखि दुई घण्टा माथि महछाप बस्ने पूर्व प्रहरी असइ जितबहादुर कनौजे भन्छन्, “सधैँ पल्लो डाँडामा गोली पड्कने, त्यही होला भन्ठानेर सुतेँ । बिहान उठ्दा पो त्यस्तो घटना सुनियो ।”
सेनाले दुवैतर्फबाट आएका गाडीहरूलाई बत्ती निभाउन भन्दै त्यस क्षेत्रमा छरिएर लगभग पौने घण्टा जति ‘सर्च’ गरेको थियो । सिभिल र कम्ब्याट ड्रेसमा आएका सेनालाई कतिले माओवादी ठानेका थिए । “हतियार बोकेका, सडक र डाँडाभरि छापिएका थिए । हामीलाई कहाँ जाने हो ढोका खोल् भने” ना२ ख ९५९८ का ट्रक ड्राइभर विष्णु थापा भन्छन्, “डरले मैले पैसा मोजाभित्र लुकाएँ । पछि उनीहरूले सेना हौँ ढोका थुनेर बस भनेपछि बत्ती निभाएर बस्यौँ । त्यो बेला पनि भटट्ट गोली पड्किएको थियो ।”
सेनाले घटनास्थलमा मारिएका नारायण र दलबहादुरको लाश कल्भर्ट बनाइरहेका कामदारहरूसँग बेल्चा मागेर त्यहीँ तल्लापट्टि खोल्सामा पुरेका थिए । टेकबहादुर गाहाको अलिअलि सास चलिरहेकोले सेनाले बुटवल जोगीकुटीबाट सामान लिएर आएको जनसेवा ट्रेडिङ कन्सर्नको जीपमा हाली तानसेन अस्पतालमा छाड्न लगाएको थियो । चालकका अनुसार, उनी त्यहाँबाट तीन किलोमिटर पर आर्यभञ्ज्याङ पुग्दानपुग्दै मरे । केत्तुकेको आडमा लुकेर यो सबै देखेका दलबहादुरका अत्यन्त मिल्ने साथी १२ वर्षका पुरनबहादुर पल्लीले मानसिक अवस्था खल्बलिएर बाँकी परीक्षा राम्ररी दिन सकेनन् ।
उनको मानसिक अवस्था अझै असामान्य छ । “राति १० बजेतिर बेहोसी अवस्थामा हस्याङफस्याङ गर्दै आइपुगेथ्यो, हेरेको त मेरै भाइ रहेछ”, चिंदीपानी–१ की अनिसरा गाहा भन्छिन्, “खाना खा भन्दा पनि मानेन । दिदी म त सिस्नोघारीमा हाम फालेँ । त्यस्तो बेलामा त सिस्नोले पनि पोल्दोरहेनछ भन्यो । अरू कुरा राम्ररी गरेन । रातभरि नसुती बिहान घर गयो ।”
लाश गाडिसकेपछि सैनिकहरू त्यहाँबाट घटनाको बारेमा कसैलाई केही नबोल्न निर्देशन दिँदै पक्रिएका तीन जनालाई लिएर गल्याङतिर लागेका थिए । सेना पाल्पाबाट लु १ ख ४५६ र लु १ ख २३०७ नम्बरको बस लिई २०–२० लिटर तेल हालेर गस्ती गर्दै आएको थियो ।
लाश तान्दा आफ्नै छोरो !
लाशहरू गोली लागेर क्षतविक्षत थिए । नारायणको दायाँ कोखा, साँप्रा, कुम र बायाँ छातीमा गोली लागेको तथा तिघ्रामा छर्रा र टाउकोमा गोलीका खोका अड्किएको थियो । अगाडिका दुइटा दाँत झ्रेका र ६–७ वटा हल्लिएका थिए । सात गोली लागेका दलबहादुरको जीउमा एउटा गोली आँखा छेडेर पछाडिबाट निस्केको र खोका आँखामै अड्केको थियो । उनलाई देब्रे कुम, पेटको दायाँ–बायाँ, देब्रे तिघ्रा र दायाँ साँप्रामा पनि गोली लागेको थियो । टेकबहादुरको शरीरमा एउटा गोली घुच्चुकबाट निधार छेड्दै निस्केको र अर्को देबे्र साप्रामा लागेको थियो भने एउटा चाहिँ पछाडि ढाडबाट छिरेर पेटबाट निस्केको थियो । प्रत्यक्षदर्शीले सेनाले गोली प्रहार गर्दै लखेटेको भने पनि मृतकहरूमा एउटा बाहेक पछाडिबाट हानिएको गोली लागेको थिएन । “अधिकांश गोलीको स्थिति हेर्दा तिनैजना मृतकलाई भागेको बेलामा हानेको जस्तो देखिँदैन”, पूर्व असई जीतबहादुर कनौजे भन्छन्, “भागेको भए गोली पछाडिबाट लाग्नुपर्ने थियो ।”
थरीथरीका कागज
लाशको पोष्टमार्टमपछि १० चैत, बेलुकी पाँच बजे प्रहरीले ‘पाल्पाबाट गस्ती गर्दै जाने क्रममा धैरेनीमा आतङ्ककारीहरूले चन्दा उठाइरहेको अवस्थामा डाँडामाथिबाट सकेट बम प्रहार गरेकोले कारबाहीमा तपाईँको छोरा नारायण कनौजे नामको आतङ्ककारी मारिएको हुनाले जातीय संस्कार अनुसार सद्गत गर्न हुन तपाईँलाई यो लाश बुझाइएको छ’ भनी लेखिएको कागज थमाइदिएपछि मनबहादुर कनौजेले लाश बुझेनन् । पत्रकार राजेश अर्यालका अनुसार, त्यसमा ‘राति ११.४५ बजे दोहोरो भिडन्तमा मृत्यु भएको’ समेत लेखिएको थियो । “मेरो छोरो त्यस्तो काममा लागेको हुँदै होइन भने मैले झूठो कुरा किन स्वीका गरुँ ?” कनौजे भन्छन् । उनले नबुझेपछि अरू दुई जनाले पनि कागज बुझ्न मानेनन् ।
तीमध्ये एक, कम्ब्याट ड्रेस लगाउने किरण थापा पनि माओवादी थिएनन् । ब्रिटिस सैनिक परिवारका किरणले बुबाको कम्ब्याट ड्रेस लगाएर आएको बताएका थिए । सेनाले उनीसहित तीन जनालाई पाल्पा ब्यारेकमा राखी २३ चैतसम्म ‘अनुसन्धान’ गरेर ‘निर्दोष’ ठहर्याई छाडेको हुनाले पनि कम्ब्याट ड्रेस लगाउँदैमा कोही माओवादी हुँदैन भन्ने स्पष्ट भएको छ । सेनाले यस घटनाको अध्ययन गर्न एक जाँचबुझ टोली गठन गरेको जनाएको छ । पीडितहरू न्यायिक छानबिनको माग गरिरहेका छन् ।
शाही सेनाको पश्चिम पृतना पोखराका प्रवक्ता नवजित शमशेर जबराले निर्दोष मारिएका भए क्षतिपूर्ति दिइने, जिल्लाबाट गएको सिफारिस बमोजिम केन्द्रमा क्षतिपूर्तिको प्रक्रिया अघि बढिरहेको सुनेको, तर जाँचबुझ टोलीले अन्तिम रिपोर्ट बुझाए पछि मात्र अन्तिम निर्णय हुने बताएका छन् । “इन्टेन्सनल्ली हामी त्यस्तो गर्दैनौँ”, उनी भन्छन्, “विगतमा पनि निर्दोष मारिँदा क्षतिपूर्ति दिइएको हो, अहिले पनि निर्दोष भए क्षतिपूर्ति पाउँछन् ।”