१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

“यसर्थ मैले माओवादी छोडेँ”

Share:
  

बहुदलले पूर्ण प्रजातन्त्र दिन सकेन, जनयुद्धमा मात्र सम्पूर्ण समस्याको निदान छ भनेर १ फागुन, २०५२ बाट नेकपा (माओवादी) ले सशस्त्र युद्ध थालेका थिए । शुरुशुरुमा माओवादी जनयुद्ध आम मानिसको चेतनामा एउटा छाप छोड्न सफल थियो– यो कुनै मूर्खहरूको भीडले मच्चाएको उत्पात होइन, राज्यले अवलम्बन गरेको गलत नीति र व्यवहारको विरुद्ध बौद्धिकहरूको मनमस्तिष्कबाट निस्किएको उपज हो । यसर्थ सानै समूहबाट शुरु भएको भए पनि यो उन्नत र विकसित हुन्छ भनेर यस प्रति एक खालको झुकाव थियो । त्यसैकारण गाउँ–गाउँमा माओवादीको प्रभाव कुनै न कुनै रुपमा बढिरहेको देखिन्थ्यो ।

सात वर्ष अघिको कुरो हो, सोलुस्थित निर्माणाधीन काँगेल डाँडा विमानस्थलमा भएको भ्रष्टाचारको विरोध गरेका कारण माओवादीको आरोप लगाएर मलाई जेल हालियो । जेलबाट छुटेपछि म आफनो अध्ययनमै व्यस्त थिएँ । तर, पनि केही क्षुद्र स्वार्थीहरूले पटकपटक माओवादीको बिल्ला भिराइरहे । आफूमाथि माओवादीेको आरोप लागिरहेको र जनताको मुक्तिका लागि लागेका भनिएकाहरुको कमजोरी यति उँचाइमा आइनसकेकोले मेरो तन्नेरी मष्तिस्कलाई जनयुद्ध ठीकै लाग्यो ।

यिनै परिस्थितिमा नेताहरूसँग भेटघाट भएपछि २०५७ देखि म माओवादीमा पूर्णकालीन कार्यकर्ताको रूपमा समाहित भएँ । दर्जनौँ मोर्चाहरूमा पार्टीको सामूहिक र व्यक्तिगत जिम्मेवारी पूरा गर्दै जिल्ला पार्टी सेक्रेटरियट, जिल्ला जनसरकार पार्टी प्रतिनिधि, इलाका जनसरकार प्रमुख, एरिया सेक्रेटरी, इन्चार्ज र जिल्लाकै सूचना, सञ्चार, अर्थ, शिक्षा, स्वास्थ्यलगायतका विभागीय इन्चार्ज, जिल्लाबाट निस्कने सगरमाथा गर्जन पत्रिकाको सम्पादक, रेडियो जनगणतन्त्र नेपाली पूर्वी प्रसारण शाखाको संस्थापक सदस्य, कार्यक्रम निर्माता र जनादेश को संवाददाताको रूपमा जम्मा १४ सय ६८ दिन काम गरेर अहिले सो पार्टी परित्याग गरेको छु । तर, न म पार्टीमा कुनै लहड र सनकमा प्रवेश गरेको थिएँ, न छोड्दा माओवादीहरूले विगतमा अरु कसैलाई लगाउने जस्तो कुनै आरोप खेपेर निस्किएको हुँ । मैले विकृति सच्चिने छाँट नदेखेपछि स्वेच्छाले माओवादी छाडेर हिँडेको हुँ ।

पार्टीभित्र रहँदा विकृति, विसङ्गति र विचलन विरुद्ध विभिन्न बैठक÷भेलाहरूमा पार्टी शुद्धीकरण गर्ने सवालमा अन्तरसङ्घर्ष तीब्र रूपमा चलाउने काम गरियो । तर त्यसलाई सच्याउनुको सट्टा पार्टी अतितमुखी भासमा डुब्दै गयो । असक्षमताले सिद्धान्त र व्यवाहार दुवैलाई सङ्कटमा पारिदिन्छ भन्ने कुरा पार्टीका ‘छोटे नेताहरू’ ले बुझेनन् । त्यहाँ त पारिवारिक रूपमा बेहाल, राजनीतिक रूपमा दलाल र चिन्तनगत रूपमा कङ्गालको बोलवाला बढ्दै गयो । (यसको अर्थ त्यहाँ सक्षम, योग्य र इमान्दार छदैँ छैनन् भन्ने होइन ।) अहिले माओवादीमा मूलतः राजनीतिक रूपमा अकर्मण्यता र अस्तव्यस्तता, फौजी रूपमा अहङ्कारवाद, जिल्ला र क्षेत्रीय रूपमा ओजस्वी नेतृत्वको अभाव छ । त्यसैगरी राजनीतिक इमान्दारिता र पेशागत योग्यताको कमी, छिद्रान्वेषी प्रवृत्ति र भुतुली खेल्ने चिन्तन, अन्य पार्टीको राजनीतिक विचारमाथि तीब्र घृणा विकास गर्ने प्रवृति मौलाउने मौका पाइरहेको छ । हरेक चिजलाई एकको दुईमा विभाजन गरेर हेर्ने द्वन्द्वात्मक भौतिकवादी चिन्तनको उपेक्षा, सिद्धान्त र व्यवहारबीच तालमेलको समस्या, पार्टी–सेनाबीच तीब्र कलह र अन्तरविरोध, एकता–सङ्घर्ष–रुपान्तरणको प्रक्रियालाई आत्मसात् गर्न नसक्ने र आत्तिने, मात्तिने र पात्तिने प्रवृत्तिले जरो गाडेको छ ।

बुझदै नबुझी प्रचण्डपथको हुइयाँ मच्चाउनु, कार्यकर्ता बन्ने ल्याकत नभएकाहरु नेतृत्वमा पुगेर नोकरशाही बन्नु र सांस्कृतिक रुपान्तरणको गतिलाई बुझ्न नसक्नु माओवादीभित्र अहिलेको ठूलो समस्या हो । हाम्रो समाजमा यौनका तीन पक्ष छन्ः (१) प्रेम, विवाह र यौन (२) विवाह, यौन र प्रेम (३) प्रेम, यौन र विवाह । त्यसमा माक्र्सवादले अङ्गीकार गर्ने प्रेम, विवाह र यौन नै हो । तर माओवादीभित्र यसलाई आफ्नै स्वार्थ अनुकूल तोडमोड गरिएको छ । कुनै पुरुष कार्यकर्ताले महिला कार्यकर्तासँग प्रेम गरेको छ, तर त्यो महिलालाई कुनै नेताले मन पराएको छ भने कार्यकर्तासँग भएको प्रेमलाई भाँडेर सम्झाइफकाइ जसरी पनि नेतासँग विवाह गराउने । यदि अस्वीकार गरेर नेतृत्वले गरेका कमजोरी औँल्याउँदा संशोधनवादी, अवसरवादी, अराजकतावादी, पदलोलुपको बिल्ला लगाएर कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने गरिएको छ । अझ उदेक लाग्दो त के छ भने विज्ञान गतिशील छ पनि भन्ने, तर त्यसको गतिलाई इन्कार गर्ने, त्यसलाई जीवन, जगत र व्यवहारमा लागू गर्न हिच्किचाउने जडसूत्रवाद माओवादीभित्र हावी छ ।

२० औँ शताब्दीको मध्यतिर भएको चिनियाँ क्रान्तिमा पनि माओले पार्टी छोडेर हिँड्नेलाई मृत्युदण्ड दिएनन् । तर २१ औँ शताब्दीको उन्नत क्रान्ति र ‘माओको असल उत्तराधिकारी’ दावा गर्ने नेपालका माओवादीले पार्टीबाट विद्रोह गर्ने र सामान्य गल्ती गर्नेलाई पनि ‘रातो आतङ्कको राज’ भन्दै सुराकी... आदि आरोप लगाएर वास्तविकता नै नबुझी मृत्युदण्डको वारेण्ट काटिरहेका छन् । माओको नाउँमा माओकै खिल्ली उडाउने यो कस्तो क्रान्ति हो ?

यसैगरी असत्यलाई बेलुनीकरण गर्दै जाने हो भने माओवादी राजनीतिक, वैचारिक भविष्यको विजय अनिश्चित छ । राजनीतिक, वैचारिक विजय बिना फौजी विजयबाट कथंकदाचित सत्ता प्राप्त भए पनि त्यो संस्थागत गर्न सकिँदैन । किनकि सत्ता प्राप्त गर्न भन्दा संस्थागत गर्न धेरै अप्ठ्यारो हुन्छ ।

माओवादीले पूर्ण प्रजातन्त्रको लडाइँमा लागेका राजनीतिक दलहरूले समेत उनीहरूसँग एकता र विश्वास गर्न नसक्नु र हिच्किचाउनुको कारण पत्ता लगाएर त्यसलाई सच्याउन सक्नुपर्दछ । ‘मेरो गोरुको बाह्रै टक्का’ ले न त जनताको जीवनस्तर उठ्न सक्छ, न त राष्ट्रियता जोगिन । न यसको संरक्षण र संवद्र्धन नै हुनसक्छ । निशस्त्र र निरीह नागरिक बस्तीमा उत्पात मच्चाएर मात्र अब ठूलो उपलब्धि लिन सक्ने अवस्था छैन । नेपालीले विदेशी हस्तक्षेपलाई सहनुपर्ने अवस्था आयो भने क्रान्तिकारी दाबी गर्ने माओवादीलाई जनताले सबभन्दा बढी धिक्कार्ने छन् । यसर्थ, राष्ट्रिय/अन्तर्राष्ट्रिय घटनाहरुको विश्लेषण गर्दा, सेना निर्माण गर्नु गौरव भए पनि दुई चार वटा युद्ध जित्नु मात्र सम्पूर्ण विजय भने होइन । त्यसैले वार्ता नै युद्ध समाधानको सबभन्दा ठोस र उपयुक्त बाटो हो भन्ने ठानेर मैले माओवादी परित्याग गरेँ ।

माधव बस्नेत

comments powered by Disqus

रमझम