मदन पुरस्कार दिँदा प्रमाणपत्रलाई पुरस्कारको चिह्न अङ्कित सानो नाङ्लो अर्थात् नाङ्लीमा राखेर दिइन्छ । यसरी २०१३ सालको पुरस्कार (२०१४मा) दिएदेखि यस्ता नाङ्लीहरू जम्माजम्मी ६० ओटा हस्तान्तरण भएछन्, तर ती ५८ घरमामात्र पुगे । अथवा भनौँ पुरस्कार त साठी ओटा ग्रन्थले पाए, तर सम्मानित भए जम्मा ५८ जना श्रष्टामात्र । कसरी ? गाउँखाने कथा जस्तो भएन त ?
तर, गाउँखाने कथा होइन यो, यसमा कुनै रहस्य पनि छैन । पारदर्शी छ कुरो । एकजना व्यक्तिले तीन ओटा नाङ्ली पनि लगे (सत्यमोहन जोशीले) अनि एउटै पुरस्कार पाँच जनाले समेत बोके– पाँचओटा नाङ्लीमा । सबैको जोडघटाउ गर्दा यी ४९ वर्षमा त्यति ओटा पुरस्कार र त्यतिजना व्यक्तिको अङ्क आउँदो रहेछ ।
गाउँखाने नै कुरा गर्दा सोधे हुन्छ, कस्ताकस्ताले थापेछन् ती नाङ्ली ? लैङ्गिक विभेदको आक्षेप लाग्न सक्छ तर त्यो नीतिगत भने होइन । मदन पुरस्कारका नाङ्ली समाउने एकैजना महिला सुश्री पारिजात मात्र हुन् यी ५८ जनामध्ये । बरू हो मदन पुरस्कारको नाङ्ली नबोके पनि गुठीले नै दिने अर्को पुरस्कार जगदम्बा–श्रीको किस्ती अन्य दुई जना नारीहरूले उचालेका छन्– २०५९ मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङका लागि डा. लक्खीदेवी सुन्दास र २०५६ मा नेपाली शिक्षा परिषदका लागि श्रीमती रमा शर्माले ।
पुरस्कारको रकमले अचेल कविलेखकलाई कति सन्तुष्टि दिन्छ, त्यो थाहा छैन तर शुरुशुरुमा त यही पुरस्कारका रकमबाट कतिले घरबार जोडे रे, कतिले बन्धक परेको घरजग्गा निखने रे ! भौतिक कुरा नगरे पनि पुरस्कारले उनीहरूलाई दिएको सन्तोष त वर्णन गरेर साध्य छैन भन्थे उनीहरू । मदन पुरस्कारद्वारा सम्मानित भएपछिको उत्साहले नेपाली वाङ्मयका सेवामा उनीहरू बढी लागिपरेको कुरा त छर्लङ्गै छ, स्पष्ट्याइरहनु परोइन ।
माथि स्वर्णमुद्राको उल्लेखले बल्ल हामीले अङ्कको अलमलबाट उम्किन पायौँ । अब मदन पुरस्कार स्वर्ण वर्षको कुरा गरुँ । अरूहरू स्वर्णजयन्ती भन्छन्, हामीले स्वर्ण वर्ष भन्न मनपरायौँ । किनभने एकदिन एउटा भव्य समारोह गरेर नसक्ने, वर्षैभरि सानातिनै भए पनि क्यै न क्यै गरिराख्ने हामीहरूले निधो गर्यौँ । यसका लागि गुठीले आफ्ना सदस्यहरूको एउटा आयोजक समिति नै गठन गरेको छ । त्यस समितिले बनाएको कार्यक्रम अनुसार स्वर्ण वर्ष मनाइँदैछ । मदन पुरस्कारको नाउँमा हुलाक टिकट र असर्फी त निस्किनै सके, अब यो वैशाख ९ गते दश जना व्यक्ति र दुई संस्थालाई ‘मदन पुरस्कार स्वर्णवर्ष सम्मान’ ले विभूषित गर्नेछ गुठीले । त्यसरी विभूषित हुने संस्था रत्नपुस्तक भण्डार र म्युजिक नेपाल हुन् भनिदिँदा गोप्यता भङ्ग गरेको मानिँदैन होला । अरू कार्यक्रमहरुमा मदन पुरस्कार वितरण अवसरका विद्वत् प्रवचनहरूको सङ्कलन, पुरस्कार–विजयीहरूको परिचय पुस्तक र त्रैमासिक ‘नेपाली’ को स्वर्ण वर्ष विशेषाङ्क प्रकाशन गर्ने छन् ।
मलाई व्यक्तिगत चाहिँ, २६ वर्ष जति सचिव र १४ वर्ष गुठीको अध्यक्ष भएबाट म यति चर्चित भएको छु, त्यसबाट सन्तोष गरेर मात्र पुग्दैन, गर्व नै गर्नुपर्छ । म सबैले चिन्ने लेखक भएँ भनेर होइन, मदन पुरस्कारले नेपाली वाङ्मयको क्षेत्रमा ल्याएको क्रान्तिका लागि गर्व गर्नुपर्छ । ‘क्रान्ति’ भने मैले त्यसलाई अर्को नाम दिन सकिँदैन । भित्र र बाहिरबाट अपहेलित, अनाद्रित नेपाली भाषा लेख्ने कविलेखकहरूका हृदयमा जुन जोश, उमङ्ग र उत्साह ल्याइदियो यसले २०१२/१३ सालमा, त्यो अभूतपूर्व थियो । लैनचौरको आमसभामा कवि भीमनिधि तिवारीले गर्वका साथ भनेको “अब नेपाली कवि टुहुरो छैन, यसले अभिभावक पाएको छ” साधारण उद्धरण होइन । अथवा २०१४ साल नौरथामा प्रथम पटकको पुरस्कार वितरण भएपछि कवि–शिरोमणिले आँशु झर्दै गद्गद् वाणीमा निकालेको उद्गार त्यस्तै ऐतिहासिक थियो । कवि–शिरोमणिले भनेका थिए, “यस्तो दिन पनि देख्न पाइँदोरहेछ ! नेपालीमा लेखेर पनि यत्रो सम्मान पाएको देखेपछि अब म मरे पनि मलाई दुःख लाग्ने छैन !”
यी त भावनाका कुरा भए । व्यावहारिक कुरा गरूँ भने पनि नेपाली भाषाले, साहित्यले यो आधाशताव्दीमा जुन फड्को मारेको छ, त्यो सङ्ख्यामा समेत गन्न सकिन्छ । हो, यो फड्को मार्नेमा मदन पुरस्कारका ठूलो हात रहेन होला, समयको आफ्नै गतिमा पनि केही प्रगति त हुन्थ्यो नै, तर त्यो गतिलाई गतिशील बनाउन मदन पुरस्कार एउटा कारक अवश्य हो भन्छन् जान्नेहरू ।
मलाई व्यक्तिगत रूपमा त मदन पुरस्कार वरदानै सिद्ध भएको छ । मदन पुरस्कार नभएको भए कमलमणि आचार्य दीक्षित कमल दीक्षित भएर चम्कने थिएन । बढीमा ऊ एउटा जागिरदार कर्मचारी भएर टुङ्गिसकेको हुन्थ्यो । २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार स्थापना नगरेको भए मेरो ‘कमलको नेपाली सङ्ग्रह’ मदन पुरस्कार पुस्तकालय भएर अवतार लिने थिएन, अनि त्यो पुस्तकालय नभएको भए २००० सालतिर अलिअलि कविता लेखेर थन्किएको कमल दीक्षित, अन्वेषक, समालोचक निबन्धकार इत्यादि के के भएर पुनः प्रकट हुने थिएन । यति कुरा पक्का !
नेपालमा सामाजिक, सांस्कृतिक संस्थाहरू भनेका महाकवि देवकोटाका भाकामा, ‘आइसल्याण्डका सर्प’ जस्ता थिए । ती जन्मँदै जन्मन्नथे, अनि जन्मिहाले पनि तुरुन्तै मरिहाल्थे । तर धार्मिक र पारिवारिक गुठी भने नेपालमा निकै फस्टाएका थिए, रैथाने भएर । यस्तो परिवेशमा ‘अचम्मको बच्चा’ जस्तो मदन पुरस्कार गुठी जन्माउनुभयो रानी जगदम्बाले २०१२ साल मङ्सिर २८ गते पाटनढोकाको श्रीदरबारमा । त्यसलाई चिरञ्जीवी बनाउनुपर्छ, स्थायित्व दिनुपर्छ भन्ने बुद्धि पलायो संस्थापकहरूमा । त्यस्तो स्थायित्वका लागि प्रथमतः कानुनन् छैटी–न्वारन गरिनुपर्छ, हुनुपर्छ भन्ने सोचियो ।
तर यस्ता संस्थाहरूलाई कानूनी रूप दिने प्रावधानै रहेनछ त्यसबेलासम्म नेपालमा । अनि गुठीका सल्लाहकार–सदस्य शम्भुप्रसाद ज्ञवालीले यसलाई पोता रजिष्ट्रेशन कार्यालयमा लगेर दर्ता गराउने सुझाव दिनुभयो । उता ललितपुर पोता रजिष्ट्रेशन अड्डाका हाकिमलाई पसिना आयो– जग्गाजमिनको दानदातव्य हुँदैनभएको यस्तो लिखत कसरी रजिष्ट्रेशन हुन्छ भनेर । कानून मन्त्रालयका पनि अधिकृत भएका सुब्बा शम्भुप्रसाद ज्ञवालीले सम्झाए–बुझाएपछि बल्ल उनले त्यस लिखतलाई ‘रजिष्ट्रेशन’ गरिदिए– २०१२ साल पुसको १ गते ।
२०१६ सालमा संस्था दर्ता गर्ने ऐन आएपछि दानपत्रहरूका भाका फेरफार गरी गुठी त्यही बमोजिम पुनः रजिष्ट्रेशन भई कानूनी भई बसेको छ । पचास वर्ष भयो यो चलिरहेछ, अझ बढिरहेछ । २०४५ सालमा आफ्नो संस्थापक रानी जगदम्बाको स्वर्गवास भएपछि गुठीले उहाँको सम्मानमा मदन पुरस्कारकै गुण र गरिमाको पुरस्कार ‘जगदम्बा–श्री’ को स्थापना गर्यो । मदन पुरस्कारको हाराहारी ऐले त्यो पनि प्रत्येक वर्ष नेपाली भाषासेवीहरूको सेवा गर्दै बढिरहेको छ । यही सबै देखेर होला श्री ५ को सरकारले पनि मदन पुरस्कार गुठीलाई सम्मान गर्यो यस वर्ष । पहिले संस्मरण हुलाक टिकट (हे. सँगै) निकालेर अनि मदन पुरस्कार चिह्न अङ्कित स्वर्णमुद्रा (असर्फी) निष्कासित गरिदिएर । एउटा गैरसरकारी, सांस्कृतिक संस्थाको यति सम्मान हुनु नेपालमा अभूतपूर्व कुरा नै मानिएको छ । मदन पुरस्कारसँग सम्बन्धित सबै यसबाट गौरवान्वित भएका छौँ । यसैगरी मनाइँदै छ ऐले ‘मदन पुरस्कारको स्वर्ण वर्ष’ ।