१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

उपत्यकाको वायु प्रदूषणमा सुधार

Share:
  

धूलो, धुवाँ र ध्वनि प्रदूषणमा रङमङ्गिएर कष्टकर जीवन बिताइरहेका राजधानीबासीका लागि उपत्यकाको हावा यता आएर बढी स्वच्छ भएको अथवा वायु प्रदूषणको मात्रा घट्न थालेको समाचार झ्ट्ट सुन्दा अपत्यारिलो पनि लाग्न सक्छ । तर प्रदूषणको सूचकाङ्कले दुई वर्षयता यहाँको वायु प्रदूषणमा सुधार आएको स्पष्ट देखाउँछ ।

२०५९ सालको तुलनामा २०६० सालमा उपत्यकाको वायु प्रदूषणको औसत मात्रा करीब ६ प्रतिशत कम रहेको विभिन्न ६ स्थानमा राखिएका वायु प्रदूषण मापन केन्द्रका तथ्याङ्कले देखाएका छन् । हुन त यो सुधार त्यति ठूलो होइन । अहिले पनि काठमाडौँको शहरी क्षेत्रमा वायु प्रदूषणको मात्रा राष्ट्रिय/अन्तर्राष्ट्रिय मापदण्ड भन्दा निकै माथि छ । तर वर्षौँदेखि बिगिँरंदै आएको वातावरणमा सुधारका सङ्केत देखिनु सबैका लागि खुशी र उत्साहको कुरा हो ।

काठमाडौँको वायु प्रदूषणको मूल समस्या यहाँको हावामा अत्यधिक मात्रामा रहने धूलाका मसिना कण हुन्, जसलाई वैज्ञानिक भाषामा पिएम्–१० भनिन्छ । विशेष गरेर कुनै पनि इन्धन बाल्दा उत्पन्न हुने हानिकारक रसायनमा यस्ता कणहरू टाँसिएर रहने र मानिसले सास फेर्दा शरीर भित्र प्रवेश गरी दम, खोकीजस्ता श्वासप्रश्वास सम्बन्धी समस्याका साथै क्यान्सरसम्म हुन सक्छ । २०५९ सालमा काठमाडौँस्थित पुतलीसडकमा पिएम्–१० को मात्रा २११ माईक्रोग्राम प्रति घनमिटर थियो, जुन राष्ट्रिय मापदण्डभन्दा झण्डै दुई गुणा बढी र युरोपेली तथा अमेरिकी मापदण्डभन्दा करीब चार गुणा बढी हो । त्यसको पछिल्लो वर्ष, २०६० मा पुतलीसडक वरपर पिएम्–१० को उक्त औसत मात्रा चार प्रतिशतले घटेर २०२ मा झ्¥यो । यस अवधिमा भक्तपुरको हावामा पिएम्–१० को मात्रा १५ प्रतिशतले कमी आई उल्लेखनीय सुधार भएको छ ।

सुधारको कारण

२०५९–२०६० र २०६०–२०६१ साल मङ्सिर, पुस, माघ र फागुन चार महिनाका तथ्याङ्क तुलना गर्दा भक्तपुरको हावामा पिएम्–१० को औसत मात्रा क्रमशः २० प्रतिशत र २४ प्रतिशतले कमी आएको देखिन्छ । यसो हुनुको कारण गत दुई वर्षयता भक्तपुरमा पुराना प्रविधिका इँटाभट्टा (चिम्नीभट्टा) हरूको ठाउँमा नयाँ प्रविधिका, कम प्रदूषण गर्ने भट्टाहरू प्रयोगमा आउनु नै हो । उपत्यकाका अधिकांश इँटाभट्टाहरू दक्षिण–पूर्व ललितपुर र भक्तपुरमा भएपनि केही काठमाडौँ वरपर थानकोट र कीर्तिपुरमा पनि छन् । यस अवधिमा पुतलीसडकमा पीएम्–१० को मात्रा ५ प्रतिशतले घटेको पाइन्छ ।

इँटाभट्टाको प्रदूषणबाट पीडित स्थानीय बासिन्दा र वातावरण क्षेत्रमा कार्यरत केही संस्थाहरूले सशक्त आवाज उठाएपछि श्री ५ को सरकारले पुराना प्रविधिका चिम्नीभट्टा सञ्चालनमा रोक लगाएर यसका सञ्चालकहरूलाई कम प्रदूषण गर्ने प्रविधितर्फ जान बाध्य गराएको थियो । दातृ संस्थाहरूको प्राविधिक सहयोग र स्थानीय उद्यमीहरूको लगानीमा हाल ‘फिक्स्ड चिम्नी’ र ‘भर्टिकल शाफ्ट’ जस्ता प्रविधियुक्त इँटाभट्टाहरू सञ्चालनमा आएपछि उपत्यकाको वातावरण सफा देखिन थालेको छ । यसका अतिरिक्त विगत दुई वर्षमा टू–स्ट्रोक टेम्पो र केही पुराना गाडीहरू काठमाडौँबाट हटाइएकाले पनि वायु प्रदूषणमा सुधारका सङ्केतहरू देखिएको हो ।

सुधारको प्रभाव

स्वच्छ हावाका कारण उपत्यकाबासीको स्वास्थ्यमा सुधारका सङ्केतहरू देखिन थालेका छन् । यहाँका प्रमुख अस्पतालहरूमा श्वासप्रश्वास सम्बन्धी रोगका बिरामीहरूको चाप घटेको छ । उपत्यकाबासीको स्वास्थ्य सुधार सम्बन्धी आधिकारिक तथ्याङ्क तयार नभइसकेको भएपनि विश्व स्वास्थ्य सङ्गठन लगायतका संस्थाहरूले विकास गरेका मापदण्डहरू–लाई आधार मान्दा अहिले करीब दुई सय जना अस्पताल भर्ना हुन र करीब १ हजार २ सय बालबालिका ‘ब्रोन्काइटिस’ बाट बच्न सफल भएका छन् ।

यताका दुई वर्षको तुलनामा, २०५३ सालदेखि २०५७ सम्म पाटन अस्पतालमा भर्ना हुने फोक्सोका बिरामीको सङ्ख्या दोब्बरले वृद्धि भएको थियो । तर, अहिले यसमा राम्रै सुधार आएको अनुमान गर्न सकिन्छ । विगत दुई वर्षमा काठमाडौँ उपत्यकाको हावामा आएको सुधारले मानिसहरूको आयु लम्बिएको छ । प्रदूषणका कारण अकालमै मृत्यु हुनेहरूको सङ्ख्यामा करीब ०.६४ प्रतिशतले कमी आएको छ ।

भूषण तुलाधर

comments powered by Disqus

रमझम