१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

गरिबमुखी, लैङ्गिक संवेदनशील सरसफाइ र खानेपानी व्यवस्थापन

Share:
  

बैतडी जिल्लाको न्वाली गाविसका धोरे भट्टले ६ वर्ष अघि आफ्नै गाउँका ५२ वर्षीय एक पुरुषलाई न्वाला (कुवा) मा पालो मिचिदिएको झोंकमा गाग्रीले हिर्काएर ठहरै पारे । खानेपानीकै निहुँमा ज्यानै लिनेसम्मका यस्ता घटना अन्ततिर भएको नसुनिए पनि धारामा छिमेकी–छिमेकीबीच गाग्री फालाफाल हुनु र बोलचाल बन्द हुन सामान्य कुरा नै हुन् ।

तर आजभोलि न्वाली गाविसमा पानीका निहुँमा झगडा हुँदैन । गाउँभन्दा २० किमि टाढाबाट ल्याइएको पानी गाउँका २५ वटा धाराबाट सबैलाई पुग्नेगरी खस्छ । यहाँका बासिन्दाले पाएको सुखको अनुभूति यस्ता खानेपानी आयोजना सम्पन्न भएका पर्वतको डिमुवा होस् वा इलामको माइपोखरी क्षेत्रका बासिन्दा, सबैले करिव करिव उस्तै प्रकारले गरिरहेका छन् । उनीहरूको घरआँगन छेउको धाराले खानेपानीको सुविधा त थपिदिएको छ नै, बढी भएको पानीले तरकारी उब्जनी पनि बढाएको छ ।

कहिलो रात पर्ला र मैदान जान पाइएला भनेर दिसा च्यापेर अँध्यारोको पखाईमा बस्ने धनुषा, ठाडिझिँझाका महिलाहरूले आजभोलि सो कष्टबाट मुक्ति पाएका छन् । ‘स्वास्नी मर्दा किन रुने, रोटा खान हात किन धुने’ भन्ने दैलेखका रूपलाल खड्काको महिला वर्ग र सरसफाइप्रतिको असंवेदनशीलता हटेको छ । उचित आनीबानी बसाउनु, सरसफाइको दिगो व्यवस्था गर्नु, लैङ्गिक संवेदनशीलता जगाउनु – खानेपानी तथा सरसफाइ सुविधा पु¥याउने क्रममा आजभोलि नेपालमा गरिने प्रयास हुन् ।

श्री ५ को सरकारले २०७३ सम्ममा सबैलाई खानेपानी र सरसफाइको सुविधा पु¥याउने लक्ष्य लिएको छ । तर २०५८ सालको जनगणनाले केवल ७१ प्रतिशत नेपालीले खानेपानी र ४६ प्रतिशतले सरसफाइको सुविधा पाएको देखाउँछ । यो स्थितिमा अबका १२ वर्षभित्रमा त्यतिखेर थपिने जनसंख्यासमेतलाई खानेपानीको सुविधा पुर्याउने लक्ष्य चुनौतीपूर्ण छ । सरसफाइको लक्ष्यप्राप्ति त अझ धेरै चुनौतीपूर्ण छ । विश्वव्यापी रूपमा सञ्चालित सबैका लागि खानेपानी, स्वास्थ्य र सरसफाइ (वास) अभियान अन्तर्गत नेपालमा सरसफाइसम्बन्धी सार्वजनिक संवाद तथा सञ्चार अभियान आयोजना गर्ने सरसफाइसम्बन्धी समाचार बुलेटिन लगायतका अन्य प्रकाशनहरू निकाल्ने काम सुरु भएको छ । ‘पूर्ण सरसफाइयुक्त समुदाय’ को अवधारणालाई मूर्त रूप दिन थालिएको छ ।

खानेपानीमा आर्सेनिकलगायतका प्रदूषण समाधानका लागि गुणस्तर जाँच्ने र प्रशोधनलगायतका विकल्प दिने कार्य पानी व्यवस्थापनका थप चुनौती हुन् । गुणस्तर राम्रो पार्नुका साथै पानी आपूर्तिका अन्य पक्ष – समता र समान पहुँचको सुनिश्चितता हो । सामुदायिक खानेपानीको वितरण प्रणाली र व्यवस्थापनसम्बन्धी निर्णयहरू गाउँघरका हुनेखाने परिवारका पुरुषहरूले लिने गर्दछन् । महिला, विपन्न वर्ग वा अल्पसङ्ख्यक घरपरिवारसँग परामर्श गरिएको उदाहरण पाउन गाह्रो छ । यो स्थितिको अन्त्य गरी खानेपानी प्रणाली र सरसफाइका सुविधासम्बन्धी निर्णय प्रक्रियामा महिला, विपन्न र स्थान नपाएकाहरूको समान पहुँच गराउने एउटा खुट्किलो हो, गरिबमुखी तथा लैङ्गिक संवेदनशील पद्धति । समुदायले अति विपन्नहरूलाई आयोजनामा रोजगारी दिने, चर्पी निर्माणमा सहुलियत दिने यस्ता केही तरिका हुन् ।

महिलाहरूलाई आयोजना चक्रका सबै चरणमा अर्थपूर्ण रूपले सहभागी गराई लैङ्गिक समानताका आधारमा व्यवहारिक उद्देश्य हासिल गरिन्छ । सम्पन्न भइसकेका आयोजनाहरू के–कस्तो अवस्थामा छन्, तिनीहरूबाट समुदाय लाभान्वित छन् कि छैनन् भन्ने अनुगमन गर्ने चलन नेपालमा छैन । फलस्वरूप आयोजनाहरू बिग्रिन्छन् र केही वर्षपछि कागजमा मात्र सीमित हुन्छन् । सम्पन्न भएका खानेपानी प्रणालीको अवस्था, चर्पीको अवस्था र प्रयोगसम्बन्धी आनीबानी आदि कुराको सिंहावलोकन गर्न साझेदारीमा सम्पन्न भएका आयोजना हेर्नु र तिनीहरूको दिगोपन सुनिश्चित गर्नु आवश्यक हुन्छ । ‘फर्केर हेरौं’ कार्यक्रमले यस कार्यक्रमलाई मूर्त रूप दिएको छ ।


कुहिरो लाग्यो, तिर्खा मेटियो

घाम लाग्लाजस्तो बिहान भए पनि बिस्तारै कुहिरो बाक्लिंदैछ । चन्द्रमाया लिम्बू खुशी छिन्, “यत्तिकै कुहिरो तीन घण्टाजति लाग्ने हो भने त आज पानी बोक्न आधा दिन बिताउनु पर्ने थिएन !” उनी थप्छिन्, “अचेल त मलाई जतिबेला पनि कुहिरो नै लागोस् भन्ने लाग्छ ।”

चन्द्रमायाको घरदेखि माथिको भञ्ज्याङमा पोलिप्रोपलिनका जाली भलिबलको नेट जसरी टाँगिएका छन् । जमिनभन्दा केही माथि टाँगिएका सामान्यतया आठदेखि दश मिटर लामा र चार मिटर चौडा यस्ता जालीमा ठोक्किएको कुहिरो पानीको थोपा बन्दै जालीको तल्लो किनारामा राखिएको डुँडबाट ट्याङ्कीमा जम्मा हुन्छ । ध्वजेडाँडाका एघार घर त्यही पानी प्रयोग गर्छन् ।

कुहिरोको पानी जम्मा गर्न यहाँ २० हजार लिटर क्षमताको टयाङ्की बनाइएको छ । “कुहिरोकै पानीले यत्रो ट्याङ्की भरिन्छ त ?” ध्वजेडाँडा खानेपानी समितिका अध्यक्ष मान बहादुर लिम्बू भन्छन् “यो ट्याङ्की त सानो भएछ नि, एकहप्ता कुहिरो राम्ररी लाग्यो भने भरिएर पोखिइहाल्छ ।” राम्ररी कुहिरो लाग्ने पहाडी क्षेत्रमा यस प्रविधिले धेरै हदसम्म खानेपानी आपूर्ति गरेको नेवाका फग वाटर सुपरभाइजर प्रदीप रेग्मी बताउँछन् ।

गत वर्षको चैते हुरीले ध्वजेडाँडामा टाँगेका छ वटामध्ये पाँच वटा जाली ढालिदियो । समस्या दोहोरिन नदिन मोटा फलामे तारले जाली बाँध्ने तथा ठूलै हावाको बेगसमेत थाम्न सकोस् भनेर इलामेको मेग्मा र ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा जडान गरिएका जालीका आकार केही घटाइएको कुरा रेग्मीले बताए ।

भरत अधिकारी

comments powered by Disqus

रमझम