१–१५ वैशाख २०६२ | 14 - 29 April 2005

सुरक्षित आवास, खानेपानी तथा सरसफाईमा लुमन्ति अभियान

Share:
  
एउटा घर पूर्ण हुन स्वच्छ पानी तथा सरसफाइ, अर्थात् धारा, चर्पी, ढल र सफासुग्घर वातावरण पनि चाहिन्छ । शहरी गरीब एवं सुकुम्वासीहरुको व्यवस्थित आवासको लागि कार्यरत ‘लुमन्ति’ ले यी सुविधा निर्माणमा पनि त्यत्तिकै ध्यान दिएको छ ।

‘लुमन्ति– आवासको लागि सहयोग समूह’ शहरी गरीबहरुको आवास अवस्थामा सुधार ल्याउन प्रतिबद्ध गैरसरकारी संस्था हो । नेवारी शब्द ‘लुमन्ति’ (स्मृति) बाट नामाकरण गरिएको यो संस्था सन् १९९२ को हवाइ दुर्घटनामा दिवङ्गत शहरी योजनाकार रमेश मानन्धरको स्मृतिमा स्थापना भएको हो । काठमाडौँ, ललितपुर, कीर्तिपुर, थिमी, बुटवल र बाँकेका गरीब बस्ती र सुकुम्वासी इलाकामा काम गरिरहेको लुमन्तिले धरान, वीरगञ्ज र भरतपुरमा पनि काम शुरु गर्न लागेको छ ।

लुमन्तिलाई मुख्य रुपमा सुरक्षित आवासको सवालमा काम गर्न एक्सनएड नेपाल र खानेपानी तथा सरसफाइको क्षेत्रमा वाटरएड नेपाल भन्ने अन्तर्राष्ट्रिय संस्थाहरुले सहयोग गर्ने गरेका छन् । कतिपय परियोजनामा एशियाली विकास बैङ्क र ओकेण्डन इण्टरन्याशनल संस्थाले पनि सहयोग गरेका छन् । यसले स्थानीय सरकार र अन्य संघसंस्थाहरुसँग पनि सहकार्य गर्दछ ।

लुमन्तिले समुदायका सदस्यहरुको क्षमता अभिबृद्धि, स्थानीय ज्ञानको प्रबद्र्धन र समस्याको समाधानका लागि तालिम, गोष्ठी, भ्रमण आदान–प्रदान कार्यक्रमहरु गर्ने गरेको छ । महिला, बालबालिका र अन्य सामुदायिक समूहहरु बनाएर यसले समुदायका सदस्यलाई सङ्गठित हुन सहयोग पु¥याएको र उनीहरुलाई साझा सरोकारका विषयमा एक भएर काम गर्न उत्साहित गर्ने गरेको छ । लुमन्तिले नेपाल वसोवास वस्ती संरक्षण समाज, नेपाल महिला एकता समाज, झीगु मंका समाज र वाल विकास युवा सञ्जालहरुको स्थापना गर्न सहयोग गरेको छ, जसले गरीब वस्तीहरुको अवस्थाबारे सूचना सङ्कलन गर्नेदेखि आन्तरिक समस्या समाधान, सरकारी निकायहरुसँग सम्झौता गर्नेसम्मका कामहरु गर्दछन् । शहरी गरिबीबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरुलाई सुविधा र सहयोग पु¥याउन तथा यससम्बन्धी सूचना र जानकारीहरु सङ्कलन एवं वितरण गर्न शहरी स्रोत केन्द्र पनि सञ्चालन गरिएको छ ।

निम्न आय भएका परिवारहरुको आर्थिक अवस्थामा सुधार गर्न लुमन्तिले महिला वचत तथा ऋण समूह स्थापना गर्न सहयोग गरेर तिनलाई वित्तीय एवं प्राविधिक स्रोत उपलब्ध गराउने गरेको छ । समूहमा महिलाहरु आफैँले नियमित वचत गर्छन् र आफूलाई चाहिएको बेला घर मर्मतसम्भार गर्ने, चर्पी बनाउने, धारा राख्ने आदि कामका लागि सापटी लिने गर्दछन् । काठमाडौँ, मण्डिखाटारको सिर्जना वस्तीकी गङ्गा गिरीले समूहबाट सापटी लिएर घर मर्मत गरिन् र शौचालय बनाइन् । मण्डिखाटारकै मनकुमारी आलेमगरलाई अब घरमा आउने पाहुनाले ट्वाइलेट कता छ भनेर सोधेमा अप्ठ्यारो मान्दै खोलातिर देखाउनु नपर्ने भएको छ । सार्वजनिक धाराको पानीले नपुगेर हैरान भएकी काठमाडौँ, खाडीपाखाको सुकुम्वासी वस्तीकी मेनुका तिवारीलाई घरअगाडि हातेपम्प गाडेपछि पानी छेलोखेलो भएको छ ।

लुमन्तिले गरीब र सुकुम्वासी वस्तीका वासिन्दाहरुको आवास स्तर माथि उठाउन उनीहरुका लागि घर, खानेपानी, चर्पी, ढल, बाटोघाटो र अन्य भौतिक पूर्वाधार निर्माण एवं सुधारमा सहयोग गर्ने गरेको छ । कीर्तिपुर नगरपालिका–६, पालिफलमा विष्णुमती लिङ्करोड बनाउँदा विस्थापित भएका परिवारहरुका लागि व्यवस्थित आवास क्षेत्र बन्दैछ । फोहोर पानी प्रशोधन, वर्षातको पानी सङ्कलन, भूमिगत पानी रिचार्जिङ, सामुदायिक कम्पोष्टिङ जस्ता योजनाहरु समेत भएको यो आवास क्षेत्रमा बन्ने घर र अन्य सुविधाको लागि यहाँ बस्ने वासिन्दाले १५–२० वर्षको किस्तावन्दीमा तिर्न सकिने सरल ऋण सहयोग पाएका छन् ।

लुमन्तिको सक्रियतामा गएको एक वर्षमा खानेपानी तथा सरसफाइमा मात्रै काठमाडौँ, ललितपुर, रुपन्देही र बाँकेमा समुदाय, नगरपालिका र वडा समितिहरुको योगदान समेत गरी करीब रु.१ करोड १० लाखका १६ वटा आयोजना सम्पन्न भएका छन्, जसबाट साढे आठ हजार मानिस लाभान्वीत भएका छन् । ललितपुर, ठेचोकी कान्छी महर्जन र उनका छोरीहरुलाई अब पहिले जस्तो डराई–डराई बाहिर दिसा–पिसाब गर्न जानु पर्दैन । ललितपुरकै बुङ्मतीमा मछिन्द्रनाथले नुहाएको प्रसिद्ध पोखरी दे पुखुलाई वरिपरिका घरबाट निस्केको फोहोर पानीबाट प्रदुषित हुन नदिन सतह ढल बनाउने र ढुङ्गा छाप्ने काम भएको छ ।

लुमन्तिले मुख्यतःगरीब सुकुम्वासीहरुको आवास अधिकारको लागि आवाज उठाउने काम गर्दछ । यस क्रममा विभिन्न शहरी तथा ग्रामीण इलाकाहरुमा जवर्जस्ती हटाइन लागेका सुकुम्वासी वस्तीहरुको लेखाजोखा राख्ने र उनीहरुको उचित आवास प्रबन्धको लागि आवाज उठाउने गरिएको छ । सुकुम्वासी वस्ती राख्न दिनै हुँदैन भन्ने कतिपय सरकारी निकाय र अधिकारीहरुको नकारात्मक धारणाबारे टिप्पणी गर्दै लुमन्तिकी निर्देशक लजना मानन्धर भन्नुहुन्छ, “गरिबी निवारणमा प्रतिबद्धता जनाउने सरकारले हेर्नुपर्नेमध्ये सुकुम्वासीहरु पनि हुन् । सरकारले नै सञ्चालन गरेको कैयौँ विकास निर्माण आयोजनाहरुमा उचित पुनस्र्थापनको कार्यक्रम नहुनाले पनि सुकुम्वासी समस्या थपिने गरेको छ । विकास भनेको ठूला–ठूला निर्माणको काम मात्र होइन, गरीब, सुकुम्वासी र पिछडिएका महिला, पुरुष तथा बालबालिकाहरुको मानवीय समस्याको समाधान पनि हो भनेर सबैले बुझनु पर्दछ ।”

comments powered by Disqus

रमझम