पानी व्यवस्थापन प्राविधिक विषय मात्र होइन, न यो राजनैतिक वा प्रसाशनिक विषय मात्रै हो । सामाजिक, आर्थिक, सांस्कृतीक विषय पनि हो यो । इन्जिनियरिङ विधाको ज्ञानबाट हुर्किएको प्रचलित पानी व्यवस्थापनले मात्र आगामी दिनका चुनौतीहरुको सामना गर्न सक्ने देखिँदैन । किनभने यसले समाजमा विद्यमान अन्य मान्यतालाई कुनै स्थान दिएको छैन । उदाहरणको लागि हाम्रा रितीरिवाज र संस्कृतिको रुपमा मानिदै आएका नाग पुजा र सिठी नखः जस्ता परम्परागत ब्यबस्थापकिय मुल्यमान्यतालाई नियन्त्रणमुखी सरकारी कार्यालयहरुको कार्यप्रक्रियाले कुनै स्थान दिएका छैनन् । यो स्थितिमा परम्परागत स्थानिय दक्षता, मुल्य र मान्यताले अहिलेको ब्यबस्थापनलाई सहयोग पुर्याउन सक्दैनन् ।
पानी वा पानीको स्रोतवरपर फोहर गरे पाप लाग्छ, पानीका सार्वजनिक स्रोतहरु दुषित गर्नु हुँदैन, पानीको स्रोतको संरक्षणमा सबैले योगदान गर्नुपर्छ, पानी सबैले खान पाउनु पर्छ, पानी दिएमा पुण्य कमाइन्छ भन्ने मान्यताका आधारमा चलेका ढुङ्गेधाराजस्ता हाम्रा परम्परागत सार्वजनिक स्रोतहरुले अहिलेसम्म पनि धेरै ठाउँमा पानी खुवाइरहेका छन् । पानी व्यवस्थापनमा यस्ता मान्यता अति जरुरी हुन्छन् । कैयौँ जुझारु संगठनले यस्ता विषयहरु उठाइरहेका पनि छन् । हो, अहिलेको जनसङ्ख्या बृद्धि, वस्तीहरुको विस्तारले बढाएको पानीको मागलाई पूरा गर्न पानी व्यवस्थापनको आधुनिक पद्धति पनि आवश्यक हुन्छ, तर त्यससँगसँगै नितीनिर्माताहरु स्थानीय सामाजिक मान्यता र परम्पराप्रति पनि सम्वेदनशिल नरहेसम्म पानीको ब्यबस्थापन लङ्गडो नै हुनेछ ।
ज्ञानका धेरै विषयहरु जेलिएको वस्तु हो पानी । नयाँ पुस्ताले पानी ब्यबस्थापनसँग गाँसिएका सबै विषयहरुको विश्लेषण गरी यसको दिगो व्यवस्थापनतिर उन्मुख हुनु पर्दछ । किनभने पानीको सही व्यवस्थापनको बाटो बनाउन यसको समग्र शासन व्यवस्था हेर्नुपर्छ । कानुन, अर्थशास्त्र, समाजशास्त्र, इतिहास, राजनितीशास्त्र, साहित्य, संस्कृती सबै पक्षबाट गरिने अध्ययनले नै पानीबारे अन्तरविधागत ज्ञानको अभिबृद्घि गर्दछ । नयाँ पुस्ताको अन्तरविधागत दक्षता बढाउन प्राज्ञिक अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । त्यसैले अध्ययन र विश्लेषण निरन्तर भइरहनु पर्छ ।
यस्तै अध्ययन नभएर होला हाम्रो आधिकारीक पानी ब्यबस्थापनमा नाग पुजा र सिठी नखःले कुनै स्थान नपाएका !
नाग पुजा
जनस्रुतीअनुसार काठमाडौंबासीले गोरखनाथलाई राम्रो आतिथ्य नगरेपछि उनि रिसाएर भएभरका नागहरुलाई बटुली मृगस्थलीमा गएर सुतेका र उपत्यकामा पानी नपरेर अनिकाल लागेको थियो । समस्या समाधानका लागि काठमाडौबासीले माच्छिन्द्रनाथलाई झिकाएपछि मात्र नागहरु स्वतन्त्र भए र पानी पर्न थाल्यो, बालीनाली सप्रियो । यसको स्मृतिमा मच्छिन्द्रनाथको जात्रा गर्ने चलन छ ।
सिठी नखः
बर्षा लाग्नु अगाडी टोलछिमेकमा रहेका इनार, कुवा, ढुङ्गेधारा आदी पानीका स्रोतहरु सफा गरी दुरुस्त राख्ने चाड सिठी नखः काठमाण्डौं उपत्यकामा मनाउने गरिएको प्रसिद्ध चाड हो । जेठ शुक्ल पष्ठीका दिन मनाउने सिठि नखःलाई रोपाइका लागि चाहिने आपसी सदभाव बृद्घि र सामुहिक कार्यको रुपमा पनि लिइन्छ ।
पानी पर्नु अगावै स्रोतहरु सफागरी रोपाइको तयारीमा लाग्ने यो दिनले समुदायका हरेक पुस्तालाई पानीको महत्व बुझाउने र यसको व्यवस्थापनमा सवैको सहभागीता जुटाउने अवसर प्रदान गर्दछ । सिठी नखःले हामीलाई पानीको स्रोत दिगो राख्नु पर्छ, त्यसको मर्मतसम्भारमा सबैले सहयोग पुर्याउनु पर्छ र पानीका लागि समुदायका सवैले आपसी सद्भाव बढाउनु पर्छ भन्ने सन्देश दिएको छ ।
परम्परागत पानी ब्यबस्थापनसंग गाँसिएको सिठी नखःलाई नेपालको पानी दिवसकै रुपमा किन नमनाउने ?
मधुकर उपाध्या