९-१५ वैशाख २०७५ | 22-28 April 2018

समृद्घिको सुअवसर खेर नफालौं

Share:
  

‘नयाँ वर्ष २०७५: आशा र हताशा’ (२–८ वैशाख) आवरण रिपोर्टले हताशा होइन, आशा जगाएको छ । एक दशकको हिंसात्मक विद्रोह र त्यसपछिको संक्रमणकालले देशलाई थिलथिलो बनाएकोले समृद्धि केवल चाहनामै सीमित थियो ।

आशंका, अन्योल र निराशाकै बीच २०७४ सालमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । अत्यधिक बहुमतको सरकार बनेको छ । यसले नयाँ वर्ष २०७५ लाई समृद्धि स्वागत गर्ने वर्षका रूपमा उभ्याएको छ । नयाँ आशा र उमङ्ग संचार गरिदिएको छ ।

राजनीतिक संक्रमण सकिएर समृद्धि हासिल गर्ने र देश बनाउने बेला आएको छ । लोकरिझयाईंका लागि सपना बाँडेर आत्मरतिमा रमाउनुभन्दा भौतिक पूर्वाधार विकास, खानेपानी, स्वास्थ्य, पर्यटन, शिक्षा, कृषिलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्नुपर्छ । अवसर फेरि फेरि नआउन सक्छ ।

ईश्वर नगरकोटी, अनलाइनबाट

बेलैमा सचेत रहौं

‘दोहोरिने इतिहास’ (२–८ वैशाख) टिप्पणीमार्फत नेपाल–भारत सम्बन्धमा भूराजनीतिले पार्ने असरलाई गहन रूपमा देखाइदिएको छ । नेपालको लागि अहिले समय अनुकूल रहे पनि भारतले सधैं नै शंकाको नजरले हेर्ने प्रष्ट छ । नेपालले अहिलेको समयको सदुपयोग गर्दै भारतलाई विश्वासमा लिएर अगाडि बढ्नुको विकल्प छैन । भारत जहिले पनि विश्व रङ्गमञ्चमा उदाउँदो चीनलाई हिमालपारि नै रोक्ने रणनीतिमा हरदम लागेको साँचो हो । त्यसैले नै ओलीको भारत भ्रमणले असाधारण महŒव पाएको हो । तर यतिमै फुरुङ्ग पर्ने हो भने भूराजनीतिको चेपुवा कसिंदै जाने पक्का हुन्छ । त्यसैले बेलैमा सचेत रहौं ।

सागर शर्मा, अनलाइनबाट

आशा जगाउने लेख

‘आशा २०७५’ (२–८ वैशाख) टिप्पणी सटिक छ । आशाको त्यान्द्रोमा बाँच्न सिकेका हामी नेपाली पक्कै पनि निराशाको भड्खालोमा पस्ने छैनौं, स्वराजको अनुभूतिमा रमाउन चाहन्छौं । यसका लागि सरकारले जनतामा भरोशा जोगाइराख्न जरूरी छ । नेता त्यो हो, जसले सपनालाई विपनामा परिणत गर्छ । नयाँ वर्षमा नयाँ सरकार र नेताहरूबाट यस्तै आशा गरिएको छ ।

विकास शर्मा अनलाइनबाट

लेखिन बाँकी इतिहास

‘वीरताको गाथा, पीडाको व्यथा’ (२–८ वैशाख) ले आँखा खोलिदिएको छ । इतिहास जस्ताको तस्तै लेखिनुपर्छ, चाहे त्यो राम्रो होस् या नराम्रो । नराम्रोलाई ढाकछोप गरेर राम्रो मात्र पस्कनु इतिहास लेखनी होइन, स्तुति हो । त्यसैले इतिहास जितको मात्र होइन, व्यथाको पनि लेखिनुपर्छ । लेखकले चुमिक सेन्को र जलियाँवाला बागको उदाहरणमार्फत इतिहासका विद्यार्थीको ध्यानाकर्षण गराएका छन् ।

होमराज काफ्ले, अनलाइनबाट

लथालिङ्ग लुम्बिनी

‘असुरक्षित लुम्बिनी’ (२–८ वैशाख) लेखले बुद्ध जन्मस्थल लुम्बिनीको लथालिङ्ग चाला प्रष्ट पारेको छ । सुरक्षा अवस्था चिन्ताजनक छ । कतिपय पर्यटकका हर्कत पनि निन्दनीय छन् ।

धार्मिक र पर्यटकीय क्षेत्र लुम्बिनीको दुरवस्था र त्यहाँभित्रका अवाञ्छित क्रियाकलापले चिन्तित तुल्यायो । यसतर्फ सरकारले समयमै ध्यान पु¥याउनुपर्छ । होइन भने लुम्बिनीको नाउँमा गर्व गर्ने दिन सकिन बेर छैन ।  

सुलोचना घिमिरे, अनलाइनबाट

‘राम्रो’ साता

हिमाल ले ‘यो साता÷गत साता’ (२–८ वैशाख) भन्ने नयाँ सामग्री शुरू गरेछ । साता दिनभरिका महŒवपूर्ण घटना समेटिएकाले यो पठनीय र संग्रहणीय बनेको छ । यसलाई नियमित गर्दा राम्रो होला ।

विवेक श्रेष्ठ, अनलाइनबाट

जैविक विविधता संरक्षण गरौं

विज्ञान विचार स्तम्भमा छापिएको ‘संघीयतामा संरक्षित क्षेत्र’ (२–८ वैशाख) लेखले नयाँ बहस छेडिदिएको छ । जैविक विविधतामा नेपाल असाध्यै धनी छ । तर, संघीयता वा केन्द्रीयता नाममा यस्ता प्राकृतिक सम्पदालाई असर पार्ने काम गर्नुहुन्न । समृद्ध नेपालको सपना साकार पार्न यस्ता सम्पदा संरक्षण गर्नुको विकल्प छैन ।

पुनम बुढाथोकी, अनलाइनबाट

comments powered by Disqus

रमझम