२०-२६ जेठ २०७५ | 3-9 June 2018

न आस, न विश्वास

Share:
  

हिमाल खबरपत्रिकाको (१३–१९ जेठ) आवरण रिपोर्टको शीर्षक ‘सरकारका १०० दिनः जाग्यो आस, बढेन विश्वास’ ले अहिलेको यथार्थ उजागर गरिदिएको छ । दुईतिहाइ बहुमतसाथ बनेको अहिलेको सरकारले मधुमास अवधिमै सुशासन र विकासको जग बसाउने अभूतपूर्व अवसर पाए पनि जनतामा उत्साह जगाउन भने नसकेको निश्चित हो । अझ् १०० दिनकै हाराहारीमा आएको बजेटले त जनतालाई निराशा नै हात लागेको छ । पार्टी घोषणापत्र र निर्वाचनका बेला गरिएका बाचा ‘अहिले घोषणा गरिदिने पछि देखाजाएगा’ जस्तो मात्र भयो । सरकारका अधिकांश कार्य पुरानै निरन्तरता भन्दा बढी केही भएनन् ।

सरकारको १०० दिने मूल्यांकनमा पनि पुरुष मात्रै हुँदा आवरण नै असहज देखियो । त्यति धेरै पुरुष हुँदा कम्तीमा एक जना महिलाको पनि विचार राख्न सकिएको भए उचित हुन्थ्यो । बहुलवाद र सामेलीको नारा लगाइरहने हिमाल कै आवरणमा महिलालाई स्थान नदिइनु उदेकलाग्दो भयो ।

सोमबहादुर कार्की, अनलाइनबाट

जस्तो सरकार उस्तै विज्ञ !

‘सरकारका १०० दिनः जाग्यो आस, बढेन विश्वास’ (हिमाल १३—१९ जेठ) मा नेपालका विभिन्न क्षेत्रका विज्ञहरूले के.पी. ओली सरकारलाई १० पूर्णाङ्कमा ४ देखि ९ सम्म प्राप्ताङ्क दिएर मूल्याङ्कन गर्नुभएछ । के के गरे पूर्णाङ्क हुन्थ्यो भन्ने वस्तुगत विवरण नभई मनोगत रूपमा अंक दिएकालाई पाठकले कसरी बुझने ? सूत्र, विधि, आधार र प्रश्न नभई अंक दिनुहुँदैन भनेर अरूलाई पढाउनेहरूले आफैं विधि मिचेर मूल्यांकन गरेपछि ‘जस्तो सरकार, उस्तै विज्ञ’ भनेर त बुझने होला नि !

खेमराज नेपाल, इमेलबाट

जनता सधैंका आसे

‘दमदार शुरूआत, सुस्त गति’ (१३—१९ जेठ) रिपोर्ट सरकारपक्षीय लाग्यो । रिपोर्ट पढ्दा पनि दुई वामदलको एकीकरण बाहेक सरकारले गरेको राम्रो शुरूआत केही पाइएन । सधैं विपक्षीको भूमिकामा रहनुपर्ने मिडिया सत्तापक्षीय भयो भने लोकतन्त्र कमजोर हुँदैन र ? बालकृष्ण ढुंगेललाई आचरण सुध्रिएको नाममा माफी र गंगामाया अधिकारी जस्ता न्याय खोज्नेलाई आमरण अनशनमा धकेलेको सरकारका बारेमा कसरी सकारात्मक हुन सकिएला । शक्तिशाली र ठूलो वाम दलको सरकारबाट राखिएको आशा अब कायम रहेन । जनता भनेको सधैंको आसे न भयो !

हरिश न्यौपाने, अनलाइनबाट

बाहिरी जिल्लाका झनै पीडित

पुनर्निर्माण सम्बन्धी ‘दोस्रो किस्तामै समस्या’ (१३–१९ जेठ) रिपोर्टले राजधानीको नाकै मुनिका भूकम्पपीडितको पीडा उजागर गरिदिएको छ । भूकम्पले घर भत्काएपछि ऋण–सापटी गरी मापदण्ड पुगेका घर बनाइसक्दा पनि दोस्रो किस्ताकै रकम नपाएका पीडितको कथाव्यथा त झ्नै पीडाजनक छ । घर भत्केर गोठ मात्र सद्दे भएकाहरू भूकम्पपीडितको सूचीमा नपरेको त कति छन् कति ! जनताको सरकार हो भने चाँडोभन्दा चाँडो भूकम्पपीडितको छिनोफानो गरेर राहतको प्याकेजमा समाहित गर्नुपर्छ ।

नेताहरूलाई तलब खान र सुविधा लिन जति पनि रकम हुने भूकम्पपीडितले चाहिं सधैं खुला आकाश मुनि रहिरहनुपर्ने यो कस्तो अवस्था हो ? अहिले स्थानीय सरकार पनि गठन भइसकेको अवस्थामा भूकम्पपीडितलाई महत्व दिएर शीघ्र समाधान निकालोस् । भूकम्पपीडित हो भन्ने प्रमाणित भइसकेको र भूकम्प प्रतिरोधी घर निर्माण गरेको छ भने अन्य बहानामा अनुदान दिन आनाकानी गर्नु बदमासी मात्रै हो । दोलखाको आरोङ गाउँले साँच्चैको सराहनीय कार्य गरेर जनताको मन जितेको छ । भूकम्पपीडितको पीडामा इमानदार रूपमा उभिनेहरूको जय होस् !

रमाकुमारी निरौला, अनलाइनबाट

विद्यार्थीलाई काम लाग्ने रिपोर्ट

शिक्षा सम्बन्धी रिपोर्ट ‘एसीसीएः अन्तर्राष्ट्रिय अवसर’ (१३–१९ जेठ) ले विद्यार्थी र अभिभावक दुवैलाई सजिलो बनाइदिएको छ । विश्वबजारमा रोजगारीको अवसर र स्वदेशमै पनि बढ्दो मागका कारण एसीसीए विद्यार्थीलाई त सुनमा सुगन्ध भएकै छ, अभिभावकको पनि टाउकोदुखाइ हटेको छ । विद्यार्थी, युवा, बेरोजगारहरूलाई फाइदा पुग्ने खालका यस्तै रिपोर्टहरू बारम्बार हिमाल मा आइरहनुपर्छ ।

रितेश दाहाल, अनलाइनबाट

मन छुने सामयिक

सामयिक ‘उन्नयन र अनुशासनका दोभान’ (१३–१९ जेठ) ले साँच्चै नै भावुक बनायो । राष्ट्रकवि माधव घिमिरेको यसै वर्ष (उनको जन्म दिन ७ असोज) सार्वजनिक गर्ने लक्ष्य राखिएको महाकाव्य ‘ऋतम्भरा’ ले पूर्णता पाओस् । शीघ्र स्वास्थ्य लाभको कामना ।

अरुण अधिकारी, अनलाइनबाट

अटेरीलाई दण्ड

ब्यांकिङ सेवा सम्बन्धी खोज रिपोर्ट ‘ब्यांक बेगरको संघीयता चल्दैन’ (१३–१९ जेठ) ले अहिलेको जल्दोबल्दो समस्या उजागर गरिदिएको छ । स्थानीय तहमा नजाने ब्यांकहरूलाई राष्ट्र ब्यांकले शीघ्र कारबाही गर्नुपर्छ । साथै संघीयताको कार्यान्वयनका लागि सहयोग पुर्‍याउने ब्यांकलाई पुरस्कृत पनि । मुलुकको विकासमा वित्तीय मध्यस्थकर्ता बन्नुपर्ने ब्यांकहरूले आफैं मात्र धन कमाउने सुदखोर साहूको झ्ल्को दिनु कदापि राम्रो होइन ।

विसुराज पोखरेल, अनलाइनबाट

आँपको आयाम

देहात संवाद ‘आँपको अर्थतन्त्र’ (१३–१९ जेठ) रोचक लाग्यो । आँपको अर्थतन्त्रसँगै किसानका पीडा र संस्कृतिका रमाइला पक्ष पनि समेटिएका छन्, लेखमा । आँपका परिकार, उपहार आदानप्रदानको संस्कृतिका बारेमा लेखिए पनि त्यो भने अपुरो नै लाग्यो । तराईका अम्राई वरपर लामै समय बिताएका लेखकले आँप र आँप संस्कृतिका विविध आयाम समेटिएका अझै रोचक पक्ष फेरि फेरि लेख्नुहुने विश्वास भने गर्न सकिन्छ ।

राजन चौधरी, इमेलबाट

comments powered by Disqus

रमझम