१२-१८ फागुन २०७५ | 24 Feb - 2 March 2019

घातक असमानता

Share:
  

‘बढ्दो असमानता, द्वन्द्वलाई निम्ता’ (५–११ फागुन) आवरण रिपोर्टले चिन्तित तुल्यायो । सीमित व्यक्तिको मुट्ठीमा सम्पत्ति केन्द्रित हुँदा बढिरहेको असमानता समाजको विकासमा बाधक बनिरहेको यथार्थ टिठलाग्दो छ । यसले संसार धनीको मात्र रहेछ भन्ने चित्र देखाएको छ । धनी र गरीबबीच आयको खाडल थप फराकिलो हुँदै जाँदा यसले निम्त्याउने संकट विचारणीय बनेको छ । यो आर्थिक विषमताका कारण असन्तुष्टि चुलिंदै जाँदा सामाजिक द्वन्द्व र विग्रह निम्तिने खतरा बढ्न सक्छ । उपभोग गर्ने क्षमता र आयमा रहेको असमानताले दशकौंदेखि एउटै समाजमा दुई फरक वर्ग उत्पादनलाई मलजल गरिरहनु सामाजिक न्यायको दृष्टिले विडम्बना हो । सामाजिक विकास र स्थिरताको तगारो बनेको असमानता घटाउने काम सरकारको प्राथमिकतामा पर्नुपर्छ । असमानताको जड मानिएको भूमिको असमान वितरणलाई पनि समाधान गरियोस् ।

आभा घिमिरे, इमेलबाट

बर्बादीतर्फ समाज

‘बढ्दो बाल बिजाइँ’ (५–११ फागुन) रिपोर्टले समाज कतातिर जाँदैछ भन्ने तस्वीर उजागर गरेको छ । गम्भीर किसिमका अपराधमा बाल संलग्नताको यो तस्वीर डरलाग्दो छ । किशोर उमेरसँगै बदलिने आनीबानी र गतिविधि नियन्त्रण गर्ने उपाय उनीहरूको निगरानी र होशियारी नै हो । तर, कलिला बालबालिकाको हुर्काइमा संवेदनशील बनेर समय दिने फुर्सद आजका व्यस्त अभिभावकमा कहाँ छ र ! शारीरिक र मानसिक परिवर्तन आउने बेलामा सजग भए मात्रै बालबालिकाको भविष्य उज्यालोतिर डोरिने हो, अन्यथा समाजले बर्बादीको सामना गर्नुपर्ने हुन्छ । यसबारे बेलैमा संवेदनशील बनौं ।

विकासकृष्ण राणा, इमेलबाट

ढुक्क कसरी हुने ?

‘सकारात्मक पहलको परीक्षा’ (५–११ फागुन) रिपोर्टले चरम बेरोजगारीको समस्या रहेको मुलुकमा आशा जगाए पनि ढुक्क हुन सकिएन । प्रधानमन्त्री रोजगार कार्यक्रमले आन्तरिक श्रम बजारमा रोजगारी खोज्ने र नयाँ रोजगारी सृजना गर्ने उद्देश्य राखे पनि यसको कार्यान्वयनमा शंका छ । हाम्रो विडम्बना नै हो, जतिसुकै राम्रा नीति र योजना बने पनि प्रभावकारी रूपमा कार्यान्वयन हुँदैनन् । भनाइ नै छ, कागजको बाघले शिकार गर्दैन । यो चुनौती विचार गरेर सरकारी संयन्त्रले सम्पूर्ण शक्ति रोजगार कार्यक्रममा लगायो भने बेरोजगारले त काम पाउने नै छन्, श्रमको तागतले समृद्धि पनि सम्भव हुनेछ ।

अनुषा मगर, इमेलबाट

गुणस्तरीय उपचारको सपना

‘अचाक्ली छ अपारदर्शी व्यापार’ (५–११ फागुन) रिपोर्टले मानव स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र पनि अनियमितताबाट अछुतो नरहेको उदाङ्गो पारेको छ । दैनिक उपभोग गरिने तरकारीमा महँगीदेखि मानव जनजीवनसँग गाँसिएको स्वास्थ्य सामग्रीमा लुट मच्चिरहँदा आर्थिक भारले जनता आहत छन्, सरकार मूकदर्शक । ‘स्वास्थ्य सेवा सबैको पहुँचमा’ भन्ने आकर्षक नारा जस्तै सुलभ दरमा गुणस्तरीय उपचार कहिले पाइएला ?

काशी यादव, इमेलबाट

वाह अर्गानिक भाइ !

‘अर्गानिक भाइ’ (५–११ फागुन) रिपोर्टमा सफल कृषकको बारेमा थाहा पाउँदा खुशी तुल्यायो । फरक सोच लिएर व्यवस्थित रूपमा खेती कर्म गरे व्यावसायिक सफलता पाइने मात्र होइन, कृष्ण राई जस्तै उदाहरणीय बन्न सकिने रहेछ । राई जस्ता उदाहरणीय युवा समाजमा धेरैका लागि प्रेरणा हुन सक्छन् । अन्य क्षेत्रका सफलताका रिपोर्ट पनि हिमाल ले पस्कियोस्, जसले विदेशको सपनाले आँखा सेकाइरहेका युवालाई देशभित्रै केही गर्न सकिन्छ भन्ने आशा सञ्चार गर्नेछ ।

सन्तोष कठायत, इमेलबाट

comments powered by Disqus

रमझम