९–१५ चैत २०७६ | 22-28 Mar 2020

दाताकै सहयोग, दाताकै हस्तक्षेप

Share:
  

विकास परियोजना सम्बन्धी रिपोर्ट ‘दाताकै दखल’ (२–८ चैत) ले नेपालमा सञ्चालन भइरहेका विकास निर्माण सम्बन्धी ठूला परियोजना ढिलो हुने र खर्चभार बढ्ने कारण औंल्याइदिएको छ । एक–दुई परियोजना सकिएको भए कुन्नि नभए अधिकांश परियोजना समयमा सकिएको थाहा छैन । यसले देशको राजनीतिक नेतृत्वदेखि विद्यमान जनशक्तिको समेत क्षमता उजागर गर्छ ।

निर्माणाधीन परियोजना समयमा नसकिंदा ठेकेदार नै परिवर्तन गर्नुपरेको अवस्था पनि हामीकहाँ छ । त्यस्तै दाताको स्वार्थले पनि काम गर्दोरहेछ । दाताले दुईपक्षीय सम्झौता गर्दै ठेकेदार, परामर्शदाता, निर्माण सामग्री आफ्नो स्वार्थ अनुकूलको हुनुपर्ने शर्त राख्दा रहेछन् । यी सबै ठीक ढङ्गले ‘नेगोसिएसन’ गर्न नसक्दाका परिणाम हुन् । यस्ता कुरा बुझ्ने पहिलो जिम्मेवारी भनेको राजनीतिक नेतृत्वको हो तर उनीहरूलाई कसले बुझाओस् । हाम्रो नेतृत्व न आफू जान्दछ न विज्ञले भनेको मान्दछ भने झैं भएको छ ।

खेमराज रेग्मी, सखुवागाछी, सुनसरी

बिचौलियासामु निरीह सरकार

पाँच प्रश्न ‘कालोबजारी गर्नेले सन्त्रास फैलाए’ (२–८ चैत) ले कोरोना भाइरसको प्रभावले बजारमा देखिए भन्दा फरक अवस्थाको बयान गरेको रहेछ । बजारमा आम नागरिक ग्याँस नपाएर कुदिरहेका छन् । सरकारी प्रतिनिधि भने त्यस्तो अवस्था छैन भन्दै फोस्रा गफ गरिरहेका छन् । बजार अनुगमन गर्ने कर्मचारीको अभाव देखाइरहेका छन् । सरकार स्वयं बिचौलियालाई देखाएर आफू पानीमाथिको ओभानो बन्न खोजिरहेको जस्तो लाग्यो । बिचौलियालाई त खोजेर कारबाही गरिहाल्नु पर्‍यो नि ! कर्मचारी नभए राख्नुपर्‍यो तर नागरिकलाई समस्या पर्न दिनुभएन । सरकारी अक्षमता लुकाएर समस्या समाधान नहुने भएकाले यथाशीघ्र्र प्रभावकारी कदम चालियोस् ।

मोतिलाल चौधरी, मोरङ

नदीजन्य पदार्थको सही व्यवस्थापन

नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी टिप्पणी ‘समाधानका सूत्र’ (२–८ चैत) ले नदीजन्य पदार्थ उत्खनन् र सड्ढलनमा बन्देज लगाउनु समाधानको उपाय होइन बरु व्यवस्थित तवरले सड्ढलन गर्ने प्रबन्ध गर्नु उचित हुन्छ भनेर सुझाएको रहेछ । आर्थिक रुपमा लाभप्रद भएकाले नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी र बालुवा) सम्बन्धी व्यवसायमा धेरैको आकर्षण बढेको देखिन्छ तर यसलाई अरु व्यापार जस्तै गरी लिइएको पाइँदैन । यो व्यवसायप्रति धेरैको धारणा सकारात्मक छैन । खोलानालालाई सभ्यता मान्ने समुदाय, संरक्षणकर्मी र त्यही सभ्यतामा आश्रितहरूले विरोध गर्दै आएका छन् । ढुवानी गर्ने टिप्परको जगजगी त झनै उग्र छ । यो व्यवसाय चाहेर पनि बन्द गर्न सकिंदैन किनभने सडकदेखि घर र पुलपुलेसा निर्माणसम्ममा नदीजन्य पदार्थ आवश्यक पर्छ । त्यसैले यो नदीजन्य पदार्थ जथाभावी झिक्ने र ढुवानी गर्ने कार्य आपत्तिजनक छ । तर व्यवस्थापन कसरी गर्ने ? साझा चासो यहीं केन्द्रित हुनुपर्छ । यो टिप्पणीले समाधानका केही विषय सुझाएको छ । त्यसबारे सरकारको ध्यान जान सके समस्या सहजै व्यवस्थापन गर्न सकिने रहेछ भन्ने लागेको छ ।

रामचन्द्र अधिकारी, क्षेत्रपुर, चितवन

के यो महामारीको शुरूआत मात्र हो ?

कोभिड–१९ ‘महामारीको उत्कर्ष वा शुरुआत ?’ टिप्पणीले जलवायु परिवर्तनका कारण धेरै खालका महामारी आउन सक्छन् भन्ने जानकारी दिएको छ । अहिलेको महामारीलाई संभावित धेरै खालका महामारीबाट जोगिन पूर्वतयारी गर्ने अवसरका रुपमा बुझ्न पनि सुझाएको छ । लेखले बढ्दो गर्मीले पृथ्वीमुनि जमेर बसेको बरफ पग्लिंदा नयाँ–नयाँ महामारी देखिने रहेछन् । लेखकले पृथ्वीमुनि जमेर बसेको माटो, पर्माफ्रोस्ट (स्थायी तुषारो) मा सामान्यतः प्रतिग्राम एक अर्ब ब्याक्टेरिया (पाथोजेन) हुन्छन् केही गरी त्यो पाथोजेन निष्कासन भयो भने घातक महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यसबारे सरकार, नीतिनिर्माता र विज्ञहरु समयमै सचेत हुनुपर्छ ।

शैलेन्द्र काफ्ले, दोलखा

टुटल र पठाओ नै ठीक

ट्याक्सी अब सामान्यजनले चढ्न सक्दैनन् । अस्पताल जान समेत आनाकानी गर्छन् । यतिविघ्न गैरव्यावसायिक ट्याक्सी व्यवसायीलाई ठीक ठाउँमा राख्नै पर्छ । टुटल र पठाओले सेवा दिइरहेका छन् । यिनलाई नियमकानून बनाएर त्यसका अधीनमा रही निर्विवाद चल्ने अवस्था सिर्जना गर्नुपर्छ ।

Shree Krish

•••

ट्याक्सीको मनपरी हटाउने अचूक उपाय टुटल र पठाओ नै हुन् यसलाई बन्द गर्नुहुँदैन ।

Harif Karmacharya

comments powered by Disqus

रमझम