११ चैत्र २०६९ | 24 March 2013

बेलैमा सच्चिनुपर्दछ

Share:
  

हिमाल (४ चैत) मा प्रकाशित 'मैदान खाली छ' शीर्षकको आवरण यथार्थपरक लाग्यो। दिनहुँको राजनीतिक खिचातानीले जनता यति आजित भइसकेका छन् कि उनीहरू कुनै पनि नेताको नाम लिन चाहँदैनन्।

एक दशकको राजनीतिक अस्थिरतामा दल र तिनका नेतालेजनतालाई यो वा त्यो नाममा दुःख दिनुबाहेक केही गरेका छैनन्। केही गर्ला भनेर आशा गरिएका दल र तिनका नेता पनि पूर्ण रूपमा असफल सावित भइसकेका छन्। जिम्मेवार भनिएका नेताहरूले नै दण्डहीनता, अराजकतालाई संरक्षण दिएका छन्। राजनीतिक अस्थिरताकै कारण शान्तिसुरक्षा, बेरोजगारी तथा महङ्गीको समस्या बढेको हो। यस्ता विकृति भित्र्याउने अरू कोही नभएर राजनीतिक दलहरू नै हुन्। दलका नेतामाथि जनताले बेलाबेलामा प्रहार गरेका कुर्सी, झापडबाट बुझन सकिन्छ, आम जनता कति सारो चिढिएका छन्। यो त्यसकै आक्रोश पोखेका हुन् जनताले भन्ने कुरा दलका नेताले मनन् गरेर बेलैमा आफूलाई सच्याउनुपर्छ। होइन भने नेताका लागि नै राजनीति घातक हुन सक्छ।

भूमिराज राई, खोटाङ, हालः कतार

हिमाल सर्वेक्षणमा पुष्पकमल दाहालले ३.४ र कमल थापाले ३.५ प्रतिशत मत पाएको देखाइएको छ। दिनमा तीन पटक कुरा फेर्ने दाहालको बोलीबाट जनता आजित भएर पनि उनको लोकप्रियता घटेको सहजै बुझन सकिन्छ। यसका बाबजूद सर्वेक्षणले राजनीतिकर्मीलाई जनतासामु जिम्मेवार हुन पक्कै मद्दत गर्नेछ।

गोपाल देवकोटा, काठमाडौं–७

परिश्रम गरे सुन फल्छ

हिमाल (२० फागुनमा) प्रकाशित 'कृषिमा होमिंदै' शीर्षकको समाचार सान्दर्भिक लाग्यो। हामी नेपाली धेरै अल्छी भएका छौं। परिश्रम गर्ने हो भने आफ्नै देशमा सुन फल्छ र हामी त्यही सुन फलाउन चाहन्छौं। ज्यान समेत बाजी राखेर विदेशी मरुभूमिमा पसिना बगाउने काम अन्त्य गर्नुपर्दछ। अनि मात्र हुन्छ राष्ट्रको विकास र युवा बेरोजगारीको अन्त्य।

आफ्नै पौरखमा राम्रै आम्दानी गर्नेहरू मुलुकभित्र धेरै छन्। विदेशमा जाने युवाहरूले स्वदेशमा राम्रा काम गरेकाहरूबाट केही पाठ सिक्नुपर्दछ। साप्ताहिक भएकोमा हिमाल लाई शुभकामना।

सुवास संगालो कुलुङ, गुदेल―४ संगमचोक, सोलुखुम्बु

सकारात्मक समाचार

हिमाल (२० फागुन) मा प्रकाशित 'मलाई शिक्षक बन्नु छ' शीर्षकको समाचार पढ्दा खुशी लाग्यो। अल्पसंख्यकको सूचीमा परेका चेपाङ बस्तीमा गाँस, बास र कपासको अभाव झेलिरहेका समुदायका जमुना चेपाङको शिक्षिका बन्ने सपनासँगै आफ्नो समुदायलाई शिक्षाको पहुँच पुर्‍याउने सपना अझ् घत लाग्यो। चेपाङ समुदायमा शिक्षाको उज्यालो छर्ने जमुनाको आशलाग्दो सपना साकार होस्, शुभकामना।

अविरल आँसु, राई, गुदेल―७, सोलुखुम्बु

माओवादीप्रति अनुदार नबन

पाक्षिक हिमाल साप्ताहिक रूपमा पढ्न पाइयो। माओवादीको १० वर्षे 'जनयुद्ध'देखि शान्ति सम्झ्ौतामा आउँदासम्म हिमाल खबरपत्रिकाले सन्तुलित समाचार प्रकाशित गर्दै आएको थियो। तर माओवादी मजदूरसँग झ्डप परेपछि हिमाल खबरपत्रिका एमाओवादीप्रति अनुदार बन्दै आएको देखिन्छ। यसरी कुनै पार्टीविशेषलाई लखेट्नु हिमाल जस्तो व्यावसायिक पत्रिकाका लागि सुहाउने कुरा होइन।

बलबहादुर राई, चापागाउँ, ललितपुर

झालाई कारबाही होस्

हिमाल (१६―२९ माघमा) प्रकाशित 'फर्जी प्रशासक' शीर्षकको समाचार पढ्दा नेपाल कानूनविहीन भएजस्तो लाग्यो। प्रमुख जिल्ला अधिकारी भएको समयमा पदको दुरुपयोग गरेर सबैले यस्तै बदमासी गर्दै जाने हो भने भोलिका दिनमा यहाँ जसले जे गरे पनि हुँदोरहेछ भन्ने कुरा सबैका मनमा पर्न सक्दछ। कानून सबैका लागि बराबर हुनुपर्दछ त्यसैले फर्जी प्रशासक नागेन्द्र झामाथि कारबाही हुनुपर्दछ। झाको वास्तविक रूप बाहिर ल्याइदिएकोमा हिमाल लाई धन्यवाद।

उदय यादव “वियोगी”, हर्दिया―५, सरस्वती टोल, बारा

राई उत्कृष्ट पत्र प्रेषक

हिमाल पाक्षिक साप्ताहिक भएको पहिलो अंक (६ फागुन) देखि चार अंक (४ चैत) सम्मको एक महीनामा प्रकाशित पाठकपत्रमध्ये खोटाङका भूमिराज राईको 'देश र जीवनप्रति सकारात्मक बनायो' शीर्षकको पत्र उत्कृष्ट ठहरिएको छ। हिमाल मा छापिएका सामग्री वा अन्य सार्वजनिक सरोकारको विषयमा पठाइएका स्वस्थ र समाजोपयोगी प्रतिक्रियामध्ये राईको पत्र उत्कृष्ट भएको हो। पाठक पत्रका पहिलो विजयी राईलाई हिमाल प्राप्त गर्न सजिलो हुने ठेगाना पठाउन अनुरोध छ।

comments powered by Disqus

रमझम