१–१५ चैत २०६६ | 14-28 March 2010

क्रान्तिकारी ग्रहदशा !

Share:
  

हिमाल (१६–२९ फागुन) मा छापिएको पुष्पकमल दाहालको आवरण तस्बिर रोचक लाग्यो । नेपालीको पारिवारिक सद्भावको पर्व दशैंमा समेत टीका नलगाउने, आफूलाई क्रान्तिकारी नेताको रूपमा उभ्याउन खोज्ने दाहाल जस्तो नेताले सत्ताप्राप्तिका लागि ग्रहदशा हटाउन तन्त्रमन्त्र गर्ने पण्डितहरूको सहारा लिएको पटक्कै सुहाएन ।

हिंसा र दण्डहीनताले आक्रान्त समाजलाई कसरी मुक्त गर्ने भन्नेतर्फ कुनै दलले सोचेको देखिँदैन । हिंसाको बदला प्रेम, सद्भाव र विश्वासले लिनुपर्दछ । यस्तो वातावरण सिर्जना गर्ने प्रमुख जिम्मेवारी पनि हिंसाको राजनीति छोडेर शान्तिको बाटोमा आएको एनेकपा माओवादीको नै हुनुपर्दछ । दण्डहीनता अन्त्यका लागि दलहरूबीच सहमति हुन आवश्यक छ अनि मात्र नयाँ संविधान र दिगो शान्ति सम्भव हुन्छ । नेपालीहरूको पहिलो चाहना पनि शान्ति नै हो । जुनसुकै उद्देश्य राखेर जसले गरे पनि अन्ततः हिंसाले हिंसा गर्नेलाई पनि बाँकी राख्दैन ।

भवानीप्रसाद पौडेल भरतपुर–९, चितवन

जनविद्रोहः माओवादीलाई नै खतरा

हिमाल (१६–२९ फागुन) मा प्रकाशित ‘लिक छाडेर भीरतिर’ समाचारमा अध्यक्ष दाहालले माओवादी नेतृत्वको सरकार नबने जनविद्रोहमा उत्रने उल्लेख गर्नुभएको छ । तर, मधेशमा माओवादीले गरेका अत्याचारको बदला लिन तम्सिएका मधेशी जनताबाट माओवादी कार्यकर्ताको ज्यान खतरामा परेको देखिएको छ । माओवादीले फेरि जनविद्रोह गरे त्यस्ता कार्य नगर्लान् भन्न सकिँदैन । यसबाट झ्न् मधेशी जनतामा आक्रोश बढ्ने सम्भावना छ ।

सिर्जना सुनुवार मन्थली–२, रामेछाप

माओवादी उपलब्धि !

हिमाल (१६–२९ माघ) को ‘खेर गए सपना’ आवरण रिपोर्ट मार्मिक लाग्यो । शान्ति कँडेल, सीता तामाङ र आशा लोप्चनको यथार्थता पढ्दा जो–कोहीलाई पनि माओवादीप्रति घृणा पलाउँछ । वास्तवमा माओवादीले भन्ने गरेको जनयुद्ध भनेको त नेताहरूलाई सत्ताप्राप्तिको लागि रहेछ । उनीहरूले शान्ति, सीता र आशा जस्तालाई प्रयोग गरेर अधमरो बनाइरहेका छन् । उनीहरूका यस्ता क्रियाकलापबारे कसैले चर्चा ग¥यो भने त्यसलाई उनीहरूले आन्तरिक मामला र मौलिक हकसँग जोडेर कारबाही गर्न अघि सर्छन् ।

इन्द्रकुमार श्रेष्ठ कमलाजुञ्ज, ओखलढुङ्गा

कारबाही हुनु पर्यो

हिमाल मा प्रकाशित ‘थाहै नपाई ठगी’ समाचारले म पनि ठगिनबाट जोगिएको छु । स्वास्थ्य जस्तो संवेदनशील विषयमा सर्वसाधारणलाई ठगी गर्नेहरूलाई किन कारबाही गरिँदैन ? यस बारेमा हिमाल ले आगामी दिनमा समाचार प्रकाशित गरोस् भन्ने अनुरोध छ ।

सविन महर्जन सानोठिमी, भक्तपुर

comments powered by Disqus

रमझम