२७ माघ - ४ फागुन २०७५ | 10-16 February 2019

ओली सरकारको अर्थ

Share:
  

वामगठबन्धन मार्फत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्ड बहुमत हासिल गरी राजनीतिक अंकगणितका हिसाबले निर्विकल्प जस्तै सरकार चलाइरहेका प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबार प्रवेश गरेको यो साता एक वर्ष पुग्दैछ । संविधानसभाबाट संविधान निर्माण र त्यसलगत्तैको सरकारको नेतृत्व गर्दा मुलुकको भूराजनीतिक उँचाइ बढाउन प्राप्त सफलताको पृष्ठभूमिमा दोस्रोपटक प्रधानमन्त्री बनेपछि चुनावी गठबन्धनलाई पार्टी एकतामा पदार्पण गराएका ओलीलाई यो उपलब्धिले इतिहासकै मजबूत प्रधानमन्त्रीको पंक्तिमा स्थापित गर्‍यो । बलियो सरकारको स्थापनाले नागरिक तहमा आम जीवन सबल र सहज हुने अपेक्षा चुलियो भने ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा मार्फत प्रम ओली स्वयम्ले आम अपेक्षाको पारो चढाइदिए ।

हिंसा र संक्रमणबाट लामो समय पिल्सिएको समाजमा यो हदसम्मको अपेक्षा बढ्नुको के–कति सकारात्मक/नकारात्मक प्रभाव पार्‍यो भन्ने समाजशास्त्रीय अध्ययनको विषय हुन सक्छ । तर, प्रम ओलीको आर्थिक विकासको नारासँगै रेल, पानीजहाज जस्ता तत्कालका निम्ति कल्पना बाहिर रहेको पूर्वाधार निर्माणको घोषणाले समाजलाई ‘सकिन्छ–सकिंदैन’ भन्ने धारमा विभाजित गरिदियो । परिणाम– सरकारले एक वर्षको यात्रा पार गर्दै गर्दा समाज भने प्रम ओली स्वयंलाई ‘कुशल राजनेता या सामान्य शासक’ को रूपमा बुझनुपर्ने अवस्थामा पुगेको छ ।

यो बुझइको अन्तर्यमा छ– बलियो सरकारको स्थापनासँगै राजनीतिक स्थायित्व, आर्थिक समृद्धि, कूटनीतिक उँचाइ, सुशासन, समाजमा अमनचैन लगायतका विषयमा ह्वात्तै बढेको आमअपेक्षा र सिंहदरबारको प्रस्तुतिबीच सामञ्जस्य नमिल्नु । एकातिर प्रम ओलीले एकपछि अर्को महŒवाकांक्षी योजना सार्वजनिक गर्दै गए, अर्कोतिर सिंहदरबार आम नागरिकलाई अपेक्षित सुशासन र समृद्धिको अनुभूति दिलाउन चुक्दै गयो । समाजको कुनै पनि तप्कामा देखिने र महसूस हुने गरिको परिवर्तन पेश गर्न सकेन, सिंहदरबारले । र, यही नै सरकारको पहिलो वर्षबारे आम निष्कर्ष बन्न पुग्यो ।

सरकारबारे पहिलो वर्षको वस्तुनिष्ठ मूल्यांकन यही नै हो त ? हिमाल सँगको अन्तर्वार्तामा प्रम ओलीले आफ्नो कार्यकालको पहिलो वर्षलाई ‘आधार वर्ष’ का रूपमा चित्रित गर्दै परिवर्तनलाई संस्थागत गर्ने क्रममा कानून निर्माणदेखि योजनाबद्ध विकासको ढाँचा तयार पारिएको र छिटै नै महसूस हुने गरिको परिवर्तन देखिने बताएका छन् । ठूला आयोजनाको घोषणा लोक रिझउने उपक्रम नभएर देशलाई समृद्धितर्फ डोर्‍याउने सही बाटो भएको दाबी प्रधानमन्त्रीको छ ।

हाम्रो बुझइमा पहिलो वर्ष सरकार संघीयता सञ्चालनका आधार तय गर्ने, संविधान अनुसारका कानून र आर्थिक–सामाजिक नीति बनाउने, आर्थिक वृद्धिको निरन्तरतासँगै उत्तर र दक्षिणबाट संकुचित भूराजनीतिलाई फुकाउने कूटनीतिक प्रयासको चटारोमा रह्यो । विवादास्पद प्रस्तुति र अलोकप्रिय कार्यशैलीका बाबजुद सरकार धेरै हदसम्म यी विषयमा सफल पनि रह्यो । सरकारको सबभन्दा ठूलो सफलता संविधान अनुसारका कानून निर्माण र संघीयताको कार्यान्वयन–सञ्चालनलाई मान्न सकिन्छ । न्यून समयसीमामा बाँधिएको कानून निर्माणको शैली र प्रस्तुति आलोचनारहित हुन नसके पनि समयसीमाभित्रै कानून बनाएर सरकारले संविधानमाथि यसको कार्यान्वयनबारे उठाइएका प्रश्नहरू मेटाइदियो । संघीयता सञ्चालनबारे विवाद र असन्तुष्टि कायमै छन्, तर तिनै विवाद र असन्तुष्टिमाथि विमर्श हुने गरी तीन तहका सरकारहरू चलायमान छन् । संघीयतामाथिको प्रश्न हटिनसकेको अवस्थामा यो क्रियाशीलताले संघीय राज्यप्रणालीको स्थायित्वलाई मजबूत तुल्याएको छ ।

सरकारको अर्को सफलता संविधानसँग सामञ्जस्य हुने गरिको सामाजिक–आर्थिक नीतिगत सुधारको प्रयास थालनी हो । सामाजिक सुरक्षा योजना कार्यान्वयनको तहमा पुर्‍याइसकेको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम यही साता शुरू गर्दैछ ।

मौसमी अनुकूलताका कारण अघिल्लो वर्षको आर्थिक वृद्धिलाई निरन्तरता दिन पाएको सरकारको आर्थिक नीति भने अझै परीक्षणमै छ । सरकारकै शब्दमा ‘योजनाबद्ध विकासको आधारशिला बन्ने गरी’ ल्याइएको आर्थिक नीतिले विगत २५ वर्षदेखि नियमन र अनुगमनविहीनताको ‘इन्जोय’ गरिरहेको आन्तरिक बजारलाई प्रभावित पार्न र अत्यावश्यक बाह्य लगानीलाई प्रोत्साहित गर्न सकिरहेको छैन । नियमन र अनुगमन मार्फत शुरू गरिएको कडाइले आन्तरिक बजारलाई थितिमा चल्न बाध्य तुल्याउँछ वा बजार नै छिन्नभिन्न हुन्छ भन्ने हेर्न बाँकी नै छ । बजारको यो अन्योल नियालिरहेका वैदेशिक लगानीकर्ता त्यतिबेला मात्र भित्रिन्छन्, जब उनीहरू यो परिस्थितिको उपज ‘नियमन’ भएकोमा निश्चिन्त हुन्छन् । बजारमा अहिले धेरथोर ‘नियन्त्रण’ भएको सन्देश जानु बाह्य विश्वास खल्बलिनु हो, जसले सरकारका लागि चुनौती थपेको छ ।

हिंसा र राजनीतिक संक्रमणका बेला छिमेकमा खुम्चिएको कूटनीतिक पहुँचलाई पुराना हितैषीसम्म पुनर्जागृत गर्न सरकार धेरै हदसम्म सफल देखिन्छ, तर त्यहीबेला विशेषगरी पश्चिमा दातृराष्ट्रहरूका नागरिक समुदायसम्म विस्तारित मुद्दा र पहुँचबारे सरकार स्पष्ट देखिंदैन । सरकार बाहिर बनेका कतिपय सम्बन्ध र पुगेका मुद्दाबारे दातृराष्ट्रका स्वार्थ र नागरिक चाहनाबीचमा सिंहदरबारले आफ्नो चासो कसरी सम्बोधन गर्छ भन्नेमै उसको कूटनीतिक सफलता मापन हुनेछ । दुई दशकमा बढेको छिमेकको चासो र नेपालको पुनः सक्रिय कूटनीतिक सम्बन्धबीचको तादाम्यले पनि ओली सरकारको कूटनीतिक क्षमता परीक्षण हुनेछ ।

आम नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन नसके पनि कार्यकालको एक वर्ष पार गरेको आजको ओली सरकारको अर्थ–राजनीतिक स्थायित्व र समृद्धिप्रतिको आम अपेक्षा टुट्न नदिने त्यस्तो कडी हो, जसको निरन्तरताको विकल्प छैन । मुलुकलाई पुनः राजनीतिक संक्रमण र समाजलाई निराशाबाट जोगाउन पनि आलोचना र विमर्शकै धारमा हिंडाउनुपर्ने खाँचो छ, यो सरकारलाई ।

comments powered by Disqus

रमझम