१३ फागुन २०६९ | 24 February 2013

निराशा बाँड्दैनौं

Share:
  

संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई निकास दिन राष्ट्रिय सहमतिको सरकार निर्माणको प्रयासलाई अन्योलग्रस्त बनाइरहेको कुहिरो अझै फाटेको छैन। राष्ट्रलाई मार्गदर्शन दिनुपर्ने राजनीतिक दल, राष्ट्रपति र नागरिक समुदाय कुहिरो हटाउने प्रयासमा लाग्नुको साटो आफैं त्यसभित्र भौंतारिरहेका देखिन्छन्। यस्तो मौकालाई उपयोग गर्दै अनेक नामका देशीविदेशी शक्तिहरू मुलुकलाई अझ् संकट र अन्योलमा राख्न प्रयासरत देखिन्छन्। लोकतान्त्रिक प्रणालीसँग अमिल्दा अनेकौं प्रस्तावहरू विभिन्न बाटोहरूबाट आउनु र लोकतन्त्रका खम्बा राजनीतिक दलहरू त्यसैमा बहकिनुले ती शक्तिहरूलाई प्रोत्साहन गरिरहेको छ।  

मुलुकले राष्ट्रिय सहमतिको सरकार खोजेको छ भन्नुको अर्थ जुनसुकै बाटोबाट आउने एक थान प्रधानमन्त्री खोजेको पक्कै होइन। अहिले मुलुकमा त्यस्तो सरकार चाहिएको छ, जसले भयरहित वातावरणमा छिटोभन्दा छिटो निष्पक्ष निर्वाचन गराओस् र मुलुकलाई संवैधानिक–राजनीतिक संकटबाट बाहिर निकालोस्। यो त्यतिबेला मात्र सम्भव हुन्छ, जब राजनीतिक दलहरूको सहमतिमा जनताप्रति उत्तरदायी सरकार बन्छ। जनताप्रति अनुत्तरदायी सरकार लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन हैन, त्यसलाई निल्न आएको हुन्छ।

संवैधानिक र राजनीतिक संकट हटाउने सर्वमान्य बाटो फेला नपर्दा मुलुकको राजनीतिक अवस्था अहिले सन्तोषजनक नरहेको साँचो हो। आम मानिस राजनीतिप्रति असन्तुष्ट रहेको पनि त्यत्तिकै सत्य हो। राजनीतिप्रति आम मानिस असन्तुष्ट हुनु भनेको मुलुक नै असन्तुष्ट र निराश हुनु हो। संविधान र राजनीतिमा लागेको कुहिरो नफाटेसम्म त्यो निराशा कायम रहनेछ।

तर, हरेक कालो बादलमा चाँदीको घेरा हुन्छ भने झैं हामीसँग आशा गर्ने ठाउँ पनि छ। राजनीतिक दलहरूले जनताको अपेक्षा अनुसार काम नगरेको र अरू जिम्मेवार संस्थाहरू पनि जनअपेक्षाको कसीमा खरो उत्रन नसकेकै हुन्। इतिहासका कठिन क्षणमा पनि संघर्ष गरेर अघि बढिरहेका आम नेपाली यस्तो अवस्थामा समेत जिन्दगीको रथलाई अघि बढाइरहेका छन्। संघर्षका बीचबाट कैयन् उपलब्धि हासिल पनि गरेका छन्। र, आ–आफ्नै प्रयासले मुलुकलाई समृद्धितर्फ धकेलिरहेका छन्।

नेपाललाई कमजोर पार्ने दुष्प्रयासका बीचमा पनि कर्मचारीतन्त्र, मिडिया र लोकतन्त्रप्रति प्रतिबद्ध नागरिकहरूको सामूहिक तथा छुट्टाछुट्टै प्रयत्नबाट मुलुक अघि बढिरहेको छ। यो गतिले हामीलाई के आशा दिलाएको छ भने, राजनीतिक अस्थिरता हट्ने हो भने आगामी दश वर्षमा मुलुक अहिले कल्पना गरेभन्दा धेरै माथि पुग्नेछ। धेरैले गहिरिएर हेरेका छैनन्, राजनीतिक अस्थिरताको बीचमा पनि मुलुकले पूर्वाधार निर्माण र मानव सूचकाङ्कका कैयन् विषयमा धेरै प्रगति गरिसकेको छ। निराशाको बीचमा पनि हामीले चाँदीको घेरा देखेको यही कारण हो। राजनीतिक अस्थिरता हट्ने हो भने आगामी दश वर्षमा नेपाल धेरैअघि बढ्ने निश्चित छ।

त्यो समृद्धि कोरा कल्पना होइन, तथ्यमा आधारित यथार्थ हो भनेर देखाउन साप्ताहिक खबरपत्रिका हिमाल को पहिलो अंकमा दश वर्षपछिको नेपालबारे आवरण रिपोर्ट प्रकाशित गरेका हौं। यो अवसरमा संवैधानिक सर्वोच्चता र कानूनी शासनसहितको विश्वव्यापी रूपमा मान्य लोकतान्त्रिक व्यवस्थाप्रति प्रतिबद्ध हिमाल को तर्फबाट हामी पाठकलाई विश्वास दिलाउँछौं, आउँदा दिनमा हामी मूलतः मुलुकको त्यो प्राप्तियोग्य समृद्धितर्फको यात्रालाई निराशाजनक राजनीतिको छायाँबाट कसरी मुक्त राख्ने भन्नेमा केन्द्रित रहनेछौं।  

सँगसँगै, राजनीतिलाई आशावादी 'ट्रयाक'मा फर्काउनु त छँदैछ जन्मँदै बहुलवादी नेपाली समाज भत्काउन उद्यत प्रवृत्ति विरुद्धको सुरुआती लक्ष्य कायम राख्दै नेपालको समृद्धितर्फको यात्रामा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक पत्रकारिताको नेतृत्व गर्नमा पनि हाम्रो अर्जुनदृष्टि रहनेछ। यो प्रयासमा पाठकको साथ पाउनेमा हामी विश्वस्त छौं

comments powered by Disqus

रमझम