९–१५ चैत २०७६ | 22-28 Mar 2020

अदालत दुई साता बन्द

Share:
  

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि ९ देखि २२ चैतसम्म देशभरिका अदालत बन्द गरिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा ७ चैतमा बसेको पूर्ण इजलासको बैठकले अदालत बन्द गर्ने निर्णय गरेको हो ।

सर्वोच्चसहित देशभरका अदालतमा कोरोना सङ्क्रमणको जोखिम रहेको भन्दै वकिलहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि पूर्ण इजलासको बैठक बसेको थियो । यसअघि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले पनि पत्र लेखेर प्रधानन्यायाधीश राणालाई सुनुवाइ तत्काल स्थगित गर्न माग गरेका थिए ।


प्रदेश–२ सभा नामराख्न असफल

प्रदेश २ सभा प्रदेशको नाम राख्न असफल भएको छ । प्रदेश सभाको ४ चैतको बैठकले नामकरण गर्ने सम्बन्धी चारवटै प्रस्ताव अस्वीकृत गरेको छ । उक्त बैठकले राजधानी तोक्ने सम्बन्धी प्रस्ताव पनि अस्वीकृत गरेको छ ।

मतदानमा सत्तारुढ नेकपाले प्रस्ताव गरेको जानकी नामका पक्षमा ३७ मत खसेको थियो । नाम र राजधानी प्रदेश सभाको दुई तिहाइ मतले पारित गर्नुपर्छ । १०७ सदस्यीय प्रदेश सभामा नाम र राजधानी तोक्न ७२ मत आवश्यक हुन्छ । नेपाली कांग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुरा नामको पक्षमा २८ मत परेको थियो । नेपाली कांग्रेसकै सांसद् राजेश्वरप्रसाद साहले प्रस्ताव गरेको मध्य मधेशको पक्षमा ४२ मत परेको थियो । राजपा र समाजवादी दलको संयुक्त प्रस्ताव मधेशको पक्षमा ६० मत परेको थियो ।

यसैगरी जनकपुरलाई स्थायी राजधानी तोक्न समाजवादी पार्टी, राजपा, नेकपा र नेपाली कांग्रेसको संयुक्त प्रस्ताव समेत अस्वीकृत भएको छ । प्रमुख चार दलको प्रस्तावका पक्षमा ५२ मत परेको थियो ।


उपत्यकामा सुपथ मूल्य पसल

सरकारले दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौंका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ । त्यस्ता पसल थापाथली, जावलाखेल, रामशाहपथ, नक्खु र सूर्यविनायकमा सञ्चालन भएका छन् । यी पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले संयुक्त रुपमा उपलब्ध गराएका सामग्री राखिएका छन् ।

गएको ६ चैतको सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति सहज भएको सन्देश दिन सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताए ।


बलात्कारीलाई सात वर्षपछि फाँसी

भारतको राजधानी नयाँदिल्लीमा सात वर्षअघि भएको सामूहिक बलात्कार काण्डका दोषी चार जनालाई ७ चैत बिहान साढे ५ बजे तिहाड जेलमा फाँसी दिइएको छ । बलात्कारपछि हत्या गरेको प्रमाणित भएपछि पवन गुप्ता, विनय शर्मा, मुकेश सिंह र अक्षय कुमारलाई तिहाड जेलमा झुण्ड्याइएको हो । उनीहरुले सन् २०१२ मा सार्वजनिक बसमा सवार २३ वर्षीया ‘निर्भया’ को सामूहिक बलात्कारपछि हत्या गरेका थिए ।

दोषीलाई फाँसी दिइएपछि पीडित निर्भयाका अभिभावकले छोरीले न्याय पाएको प्रतिक्रिया दिएका छन् । घटनामा ६ जनाको संलग्नताको आशंका गरिएको थियो । तीमध्ये एक जना अभियुक्तले हिरासतमै आत्महत्या गरेका थिए भने अर्का नाबालिगलाई तीन वर्ष सुधारगृहमा राखेर रिहा गरिएको छ ।


भारतका पूर्व प्रधानन्यायाधीश गोगोई राज्यसभामा

भारतका पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईले ६ चैतमा राज्यसभा सदस्यको शपथ लिएका छन् । उनलाई राष्ट्रपति रामनाथ कोविदले १६ मार्चमा राज्यसभा सदस्य नियुक्त गरेका थिए ।

गोगोई ३ अक्टोबर २०१८ देखि १७ नोभेम्बर २०१९ सम्म भारतको ४६औं प्रधानन्यायाधीश थिए । राज्यसभामा गोगोईको शपथ ग्रहण शुरु भएपछि विपक्षी दलका सदस्य भने हलबाट बाहिरिएका थिए ।


संघीय संसद् बैठक स्थगित

संघीय संसद्का दुवै सदनको बैठक स्थगित भएका छन् । संसद् सचिवालयले ७ चैतमा सूचना टाँसेर राष्ट्रिय सभाको बैठक स्थगित गरेको थियो । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुँयालले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । ६ चैतमा बसेको बैठकले ७ चैतका लागि बैठक तोकेको थियो । प्रतिनिधिसभाको अर्को बैठक भने १३ चैतसम्मका लागि स्थागित गरिसकिएको छ ।

comments powered by Disqus

रमझम