१–१५ चैत २०६६ | 14-28 March 2010

सुडानबाट नेपाली गुहार

Share:
  

एक महिनाअघि वैदेशिक रोजगारका लागि सुडान पुगेका स्याङ्जा, पर्वत, बागलुङ, नवलपरासी, सिन्धुपाल्चोक, सुर्खेत र खोटाङ जिल्लाका २२ नेपाली युवा अलपत्र परेका छन् । एक साबुन उद्योगमा बन्दीसरह काम गरिरहेका उनीहरूले गोप्य रूपमा मोबाइलबाट सन्देश पठाउँदै सरकारलाई गुहारेका छन् । पर्वतका सञ्जीव परियारले पठाएको ‘एसएमएस’ मा भनिएको छ, “हाम्रो हालत पनि केही वर्षअघि इराकमा १२ नेपालीको जस्तो नहोला भन्न सकिन्न, त्यसैले बचाइदिनुहोस् र नेपाल फर्काउन पहल गरिदिनुहोस् ।”

उनीहरूलाई काठमाडौं, गोङ्गबुस्थित बिएन ओभरसिजका शेरबहादुर विश्वकर्माले रु.२–२ लाख लिएर सुडान पु¥याई अलपत्र पारेको पीडितले टेलिफोनमा जानकारी दिएका छन् । मासिक पाँच सय अमेरिकी डलरमा विदेशी कम्पनीमा काम लगाइदिने आश देखाएर त्यहाँ एउटा सामान्य साबुुन कम्पनीमा काममा लगाइएको र महिनामा रु.५ हजार पनि नपाइने थाहा भएपछि स्वदेशमै फर्किन चाहँदा शारीरिक÷मानसिक तनाव दिएर बन्दी जस्तै बनाइएको सञ्जीव बताउँछन् ।

पीडितहरूले आफूहरूलाई नेपाल फर्किने वातावरण मिलाइदिन र शर्तअनुसार काममा नलगाई अलपत्र पार्ने बिएन ओभरसिज तथा त्यसका सञ्चालकलाई कारबाही गर्न नेपाल सरकार, कूटनीतिक नियोग, अधिकारवादी संघसंस्थालाई आग्रह गरेका छन् । उनीहरूले उपलब्ध गराएको म्यानपावर सञ्चालक शेरबहादुर विकलाई मोबाइल नम्बर ९८४१४७६५२७ मा सम्पर्क गर्दा उनले सुडानमा आफूले पठाएका युवाहरू अलपत्र परेकाले उद्धार गर्न आफैंले पनि पहल गर्ने बताएका थिए । तर, त्यसपछि उनको मोबाइल ‘स्विचअफ’ छ । उता अलपत्र नेपाली युवाहरू आफ्नो सम्पर्क नम्बर ०९२८८३६४२६ कम्पनीको हाकिमले खोसिदिएकाले अर्को नम्बरबाट गुहार मागिरहेका छन् ।

पोखराका सञ्चारकर्मी आरजु विष्टको मोबाइलमा आएको सो ‘एसएमएस’ सहित ‘सुडानमा उद्धारको पहल गराउन सकिन्छ कि ?’ भनेर उनले दिएको जानकारीका आधारमा तत्कालै हिमाल ले प्रधानमन्त्री कार्यालय र सैनिक मुख्यालयमा जानकारी दिएको थियो । हिमाल बाट प्राप्त सूचनाको आधारमा प्रधानमन्त्रीको कार्यालयले सुडानमा संयुक्त राष्ट्र संघको फोर्स कमाण्डरका रूपमा कार्यरत रथी पवनजङ्ग थापामार्फत ती २२ युवासँग सम्पर्क स्थापित गरिसकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले बताएका छन् । रिजाल भन्छन्, “कबोल गरिएको भन्दा न्यून रकम दिइएको पाइयो, रथी थापाले पीडितहरूको नेपालस्थित ठेगाना र राहदानी नम्बरसहितका सम्पूर्ण विवरण प्रधानमन्त्री कार्यालयमा पठाइसक्नुभएको छ ।” सुडानस्थित कम्पनीले १२ घण्टा काममा लगाउने र न्यून तलब दिने सम्झैता गर पनि बिएन ओभरसिजका सञ्चालक विश्वकर्माले उनीहरूलाई ढाँटेर पठाएको पाइएको छ । उद्धारका लागि छलफल गर्न परराष्ट्र, श्रम मन्त्रालय र सेनाका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको बताउँदै रिजालले भने “चैत १ गते प्रधानमन्त्री कार्यालयमा बैठक बस्दैछ त्यसपछि उनीहरूलाई फर्काउने काम शुरु गरिने छ ।”


सुडानबाट आएको एसएमएस

‘नमस्ते म सञ्जीव सुडानबाट । मेरो मोबाइल बोसले खोसेर लगिदियो त्यसैले यो अर्को नम्बरमा सम्पर्क गर्नुहोला । पहिले १२ जना इराकमा मारिए । हाम्रो पनि यहाँ त्यही अवस्था नहोला भन्न सकिँदैन । हाम्रो बाबा–आमा, घरपरिवार निमुखा छन्, उनीहरूलाई केही थाहा छैन । हाम्रो लागि आवाज उठाइदिने पनि कोही छैनन् । त्यसैले सञ्चारमाध्यमलाई सम्झ्ेर २२ जनाको जीवनको भीख मागिरहेका छौं । तपाईंहरूको बोली बिक्छ, प्लिज हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काउने प्रयास गरिदिनुस् । बन्दी जीवन आँसुको सागरमा बिताइरहेका छौँ । दलालहरू दिनहुँ कुरा फेर्छन् । हामी जस्ताको लागि संविधान बनेको छ भने सरकारले केही गर्न सक्छ होला नि ! हाम्रो बाबा–आमाको आँसु पुछिदिनुस् । हामी यहाँ अनाथ, असहाय भएर बसिरहेका छौँ । वी होप ।’


अलपत्र युवा

बागलुङः रामबहादुर क्षेत्री, श्रीप्रसाद सापकोटा, नरबहादुर परियार, दुर्गाबहादुर सुनार, पदमबहादुर सुनार ।

पर्वतः सञ्जीव परियार, अछुत विक ।

धादिङः कृष्ण दवाडी, लक्ष्मण सुवेदी, दलबहादुर रानामगर, झंकबहादुर आले, भीमबहादुर रानामगर । स्याङ्जाः दिनेश क्षेत्री, बोधबहादुर गुरुङ ।

नवलपरासीः टीकाप्रसाद चौधरी, डम्बर बहादुर पञ्जियार, हरि चमार, शम्भु भार । खोटाङः एगुमान गिरी

सुर्खेतः हरिसिंह सुनार, मानबहादुर राना ।

सिन्धुपाल्चोकः शुक्रबहादुर तामाङ ।

comments powered by Disqus

रमझम