बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि सार्वजनिक मुद्दाहरूमा विचार निर्माणका लागि हिमालको विशेष योगदान छ । यसमा प्रकाशित हुने खोजमूलक फिचर, विश्लेषणात्मक लेख र संवादहरूले नेपाली पाठकलाई टिपनटापन सूचनाभन्दा थप गहिराइमा समझदारी निर्माण गर्न उल्लेखनीय सहयोग गरेका छन् । द्वन्द्वकालमा हिमालका पत्रकारहरूले जोखिम मोलेर युद्धसिर्जित कठिनाइ र मानवअधिकार हननका घटनाहरूको रिपोर्टिङ गरे जसले पत्रकार र हिमाल दुवैलाई स्थापित गरिदियो ।
राजनीति पत्रकारिताको सबैभन्दा प्राथमिकताको विषय हो । तथापि, हिमालले आफ्नो नजर फराकिलो पारेको छ । हिमालका कभर स्टोरीहरू नितान्त राजनीतिक घटनामा सीमित छैनन् । ‘औषधि र उपचार जीवन–मरणको व्यापार’, ‘नेपाली आधुनिक गायनको नयाँ आयाम’, ‘प्रेम, विवाह र यौन’, ‘तेलमा मिसावटको खेल’, ‘बढ्दो सम्बन्ध विच्छेद’, ‘पुस्तान्तरण’, ‘ज्यानमारा पुस्तैनी रोग’, ‘सय वर्षको विराटनगर’ आदि जस्ता कभर स्टोरीहरूले हिमालको पत्रकारिता समाजको विविध आयामको उद्घाटनमा अभ्यासरत रहेको इंगित गर्छ ।
स्वास्थ्य, बजार, कला–साहित्य, इतिहास, विज्ञान प्रविधि, सामाजिक संस्थाहरूको रूपान्तरण, शहरी जीवन र शहरीकरण, सामाजिक मनोविज्ञानमा बदलाव जस्ता सामाजिक विषयहरू खासै चर्चा नगरिने, गरे पनि दैनिक अखबारका एकाध कोलममा सीमित हुने खबर मात्र बन्छन् । जस्तै, आत्महत्या, लागूपदार्थ दुव्र्यसन वा अपराध खबर मात्र होइनन् । आत्महत्याको दर र समाजका विविध पक्षसँगको यसको सम्बन्ध, लागूपदार्थ दुव्र्यसनी वा अपराधको सामाजिक र अर्थराजनीतिक कारकहरूको खोतलखातल पनि पत्रकारिताको विषय हो । यी विषय हिमालका रुचिमा छन् भन्ने वेलाबखत प्रकाशित हुने लामो फिचर, विश्लेषणात्मक लेखहरूले पुष्टि गर्छन् ।
राजनीतिक तथा सामाजिक परिवर्तनको महत्वपूर्ण चरणमा आमसञ्चारको भूमिका पनि उल्लेखनीय हुन्छ । सामाजिक परिवर्तन निरन्तर हुन्छ । राजनीतिक परिवर्तनका केही ऐतिहासिक घडीहरू हुन्छन् । लोकतन्त्रको पुनर्बहाली, गणतन्त्रको स्थापना, संविधानसभाको निर्वाचन, माओवादी द्वन्द्वको शान्तिपूर्ण अवतरण, नयाँ संविधानको निर्माण र घोषणा निकट विगतका महत्वपूर्ण राजनीतिक परिवर्तन हुन् । यी परिवर्तनका लागि नेपाली जनताले अमूल्य समय र जीवनको योगदान गरेका छन् । राजनीतिक संक्रमणको महत्वपूर्ण यी घडीमा मानवअधिकार, समावेशिता, संवैधानिक सर्वोच्चता र बहुदलीय लोकतन्त्रको पक्षमा उभियो । यो हिमालको अविस्मरणीय योगदान पनि हो ।
निष्पक्षता सम्भवतः अमूर्त र असम्भवप्रायः हुन्छ । तर, आमसञ्चार कुनै न कुनै तहमा प्रतिपक्षी हुनु जरुरी छ । बहुदलीय राजनीतिक अभ्यासमा दलहरूप्रति खबरदारी गरिरहन, सत्तालाई नागरिक अधिकारको रक्षार्थ जिम्मेवार गराइरहन र नागरिकलाई लोकतन्त्रको अभ्यास, विकास र उन्नतिका लागि उत्प्रेरित गरिरहन आमसञ्चारले प्रतिपक्षी भूमिका निर्वाह गर्नु जरुरी हुन्छ । समयक्रममा मिडिया हाउसका लगानीकर्ता र सम्पादकीय विचारघेराले आमसञ्चारलाई कतै न कतै परिधिको निर्माण गर्ने पनि साँचो हो । यस अर्थमा निरपेक्ष निष्पक्षताको आग्रह असम्भव नै हुन्छ । तथापि, एउटा जिम्मेवार मिडियाले कोहीप्रति खरो र कोहीप्रति नरम नीति अंगीकार गर्नु पनि प्रश्नरहित हुन सक्ला र ?
जस्तै, पुष्पकमल दाहाललाई आवरणमा नै ‘डेमागग्’ घोषित गर्न ‘हिम्मत’ गर्ने हिमाल संविधानको हुर्मत लिएर नेपाली जनताको स्थिर सरकारको आकांक्षामा ठेस पुर्याउने केपी ओलीप्रति किन तुलनात्मक हिसाबले नरम देखिन पुग्यो ? अर्को उदाहरण हेरौं, हिमालले सहिष्णुताको नेपाली दर्शनको खोजी गर्यो । हरेक समाजमा हुने द्वन्द्वको अनिवार्यतासँगै ऐक्यबद्धताका कारक पनि हुन्छन् । नेपाली समाजमा रहेको एकता र सहिष्णुताको परम्पराको उद्घाटन समाजलाई स्थिरता र शान्तितर्फ अभिप्रेरित गर्ने हिमालको त्यो भरभग्दुर कोशिश थियो । यति महत्वपूर्ण विषयको सम्प्रेषण गरिरहँदा हिमालले चुनेका ‘नेपाली चेतनप्रवाहका अनुहार’हरूमा भने किन ‘एकथरी’ विचार राख्ने मानिसहरू समेटिन सकेनन् ? के नेपाली समाजमा तिनका विचारले पारेको प्रभाव ठाडै अस्वीकार गर्न सकिन्छ र ? अबको हिमाल यस्ता विरोधाभासबाट मुक्त हुन जरुरी छ ।
आशा गरौं, हिमालले समाजको बृहत् आयामलाई समेट्ने जमर्को यथावत् राख्नेछ, नियमित गर्नेछ र थप विस्तृत गराउनेछ । साथै, विचारको परिधिलाई थप फराकिलो पनि पार्नेछ । स्क्रीन स्क्रोल गर्दा पठन सरल र रोमाञ्चक होला । तर, स्क्रोल गरेका अक्षरहरू हावामा उडिभ्याउँछन् । छापामा फर्काइएका पाना अर्को हातमा हुन्छ । छापा म्यागजिन टेबलमा सजिन सक्छ । अभिलेखमा सुरक्षित हुन सक्छ । त्यसैले कोरोना सिर्जित विषम परिस्थितिलाई सामना गर्दै हिमाल फेरि छापा अवतारमा आउने खबर साँच्चै सुखद छ ।
निरन्तरताको कामना ।
रामचन्द्र श्रेष्ठ
बुटवल
(पाठक समीक्षा स्तम्भमा हिमाल पढेर पाठकले पठाएका पत्रहरू समावेश गर्नेछौं । हरेक अंक एक उत्कृष्ट पत्रलाई पुरस्कृत समेत गर्नेछौं । तपाईंले [email protected] मा इमेल वा पोष्ट बक्स नम्बर ७२५१, काठमाडौंमा पत्राचार गर्न सक्नुहुनेछ ।)