२ असार २०७० | 16 June 2013

भारतमा मिथिलाको माग

Share:
  
छिमेकी भारतको बिहारमा शुरु भएको मिथिला राज्यको मागले नेपालको मधेशमा पनि मिथिला प्रदेश बनाउने मागलाई बल पुर्‍याउन सक्छ।

कमल रिमाल
मिथिला राज्य मागको यात्रामा हौसला दिंदै सिनेकर्मी सलिम अन्सारी।
नेपालको सीमा जोडिएको भारतीय राज्य बिहारको उत्तरी क्षेत्रका २४ जिल्ला र झारखण्डका ६ जिल्लालाई मिलाएर बेग्लै 'मिथिला–राज्य' बनाउन मैथलीभाषीले १ जूनमा बिहारको सीतामाडीबाट निकालेको रथयात्रा १० जूनमा सहर्साको महिसी पुगेर समाप्त हुँदैछ। सन् १९४७ मा भारत स्वतन्त्र भएदेखिको मैथलीभाषीको यो माग कहिले सशक्त त कहिल्यै सुषुप्त हुँदै आएको छ। मिनी ट्रकलाई रथको आकार दिएर गरिएको र्‍यालीका आयोजक अखिल भारतीय मिथिला पार्टीका महासचिव रत्नेश्वर झा भन्छन्, “बिहारीको पहिचान बदलेर आफूलाई मैथली भनेर चिनाउन शान्तिपूर्ण आन्दोलन थालेका हौं।”

बुद्धिजीवीहरूले अगुवाई गरेको यो आन्दोलनमा सर्वसाधारणको सक्रिय सहभागिता नदेखिए पनि समर्थन भने आम मानिसले गरेको देखिन्छ। शिवहर जिल्लाको देकुली धाम पंचायतका पूर्व मुखिया राजेन्द्रप्रसाद यादवले हिमाल सँग भने, “मिथिला राज्यको मागलाई हाम्रो समर्थन छ।” यात्रालाई हौसला दिन आएका भारतीय सिनेकर्मी सलिम अन्सारीले अधिकार मागेर मात्र नपाइने बताए।

६६ वर्ष पुरानो माग

सन् १९४७ मा भारतको संविधानसभामा डा. जयपाल सिंहले सात वटा राज्यको माग गर्दा मिथिला राज्य पनि समावेश थियो। उनको मागमा महाराष्ट्र, केरला, आन्ध्रप्रदेश, मिथिला, झारखण्ड, महाकौशल र तमिलनाडु थिए। भाषा, संस्कृति र जनसंख्याको आधारमा उनले त्यो धारणा राखेका थिए।

भारत स्वतन्त्र भएपछि सन् १९५० मा डा. लक्ष्मण झाले सुगौली सन्धि खारेज गरी भारत–नेपालको मिथिला क्षेत्रलाई मिलाएर एउटै राज्य बनाउनुपर्ने माग गर्दै दिल्लीमा आन्दोलन गरेका थिए। तर, सन् १९५६ मा भारत सरकारको राज्य पुनर्गठन आयोगले मैथली भाषा राष्ट्रले मानेको भाषा नभएको भन्दै मिथिला राज्यको मागलाई खारेज गरेपछि त्यो आन्दोलन सेलाएको थियो।

सन् १९८५ मा मिथिला राज्य संघर्ष समिति गठन भएपछि यो माग पुनः बिउँतियो। समितिका संस्थापक एवं हालका महासचिव उदयशंकर मिश्रा हतियारसहितको आन्दोलनलाई महत्व दिइने भारतमा शान्तिपूर्ण आन्दोलनले ध्यान तान्न नसकेको बताउँछन्।

सन् २००३ मा भारत सरकारले मैथली भाषालाई संविधानको अनुसूचीमा सूचीकृत गरेपछि मैथली भाषीको छुट्टै राज्यको माग केही बलियो बनेको छ। उत्साहित युवाहरूले 'मिथिला राज्य निर्माण सेना' पनि गठन गरेका छन्। दरभंगाका सांसद् कृति झा 'आजाद'ले लोकसभामा बिहार र झारखण्डका केही जिल्ला मिलाएर मिथिला राज्य बनाउने प्रस्ताव पनि दर्ता गराएका छन्।

नेपालमा पनि चासो

बिहारमा चलेको यो आन्दोलनलाई नेपाली मैथली भाषीले चासो दिएर हेरेका छन्। भारतमा मिथिला राज्य बन्दा आफ्नो भाषा र संस्कृतिको संरक्षण हुने भएकाले आन्दोलनलाई नैतिक समर्थन गरेको मैथली सेवा समिति नेपालका महासचिव प्रवीणनारायण चौधरी बताउँछन्।

चौधरी भन्छन्, “भारतमा मिथिला राज्य भयो भने नेपालमा मैथिल प्रदेश बन्ने सम्भावना बलियो हुन्छ।” वि.सं. २०३६ मा डा. लक्ष्मीनारायण झाले नेपालमा गणतन्त्र र मिथिला राज्य स्थापनाको माग गरेका थिए। जसलाई, २०४२ को बमकाण्डपछि बेपत्ता बनाइएको थियो।

माओवादीले पनि द्वन्द्वकालमा मिथिला राज्य बनाउने भनेको थियो। तर, राज्य पुनर्संरचना आयोगमा उसले पेश गरेको प्रस्तावमा मिथिला राज्य थिएन। मधेशवादी दलहरूले पनि मिथिलालाई बेवास्ता गर्र्दै 'समग्र मधेश एक प्रदेश' भने। मिथिला राज्यको माग गर्दै जनकपुरमा भएको धर्नामा गत वर्ष बम विस्फोट हुँदा पाँच जनाको ज्यान लिएको थियो भने करीब दुई दर्जन घाइते भएका थिए।

कमल रिमाल, बिहारबाट फर्केर


माओवादीको युद्धकालीन झझल्को

कमल थापा
एमाओवादीको आक्रमणमा घाइते कांग्रेस कार्यकर्ता गोव्रे खड्का।
१२ जेठमा रुकुमको गरायला गाविसमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा प्रमुख वक्ता रहेको सभामा एमाओवादी कार्यकर्ताले आक्रमण गरी सभा भाँड्ने प्रयास गरेपछि रुकुममा एमाओवादीले गरेका त्यस्तै अराजनीतिक क्रियाकलापको स्मरण गराएको छ। द्वन्द्वकालमा 'आधार इलाका' भनेको रुकुममा एमाओवादीले शान्ति प्रक्रियामा आएपछि पनि विपक्षी दलका कार्यक्रममा धेरै पटक यस्तै आक्रमण गरेको थियो।

१८ फागुन २०६५ मा संविधानसभाका लागि भएको सुझाव संकलन एकपक्षीय भएको भन्दै कांग्रेस, एमाले, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाले खलंगामा गरेको संयुक्त सभामा माओवादीले आक्रमण गरेको थियो। सो घटनामा जनमोर्चाका जिल्ला अध्यक्ष रामप्रकाश पुरी, राप्रपा अध्यक्ष मुकुन्द शाह गम्भीर घाइते भएका थिए। ३० चैत २०६५ मा एमालेको जिल्ला अधिवेशनका लागि मञ्च तयार गर्दा माओवादीले आक्रमण गरी एमाले जिल्ला सचिव नन्दलाल शर्मालाई घाइते बनाएको थियो। ७ जेठ २०६६ मा एमालेले बाँफिकोटमा आयोजना गरेको आमसभामा पनि माओवादीले आक्रमण गर्‍यो। त्यो घटनामा एमालेका तीन कार्यकर्ता घाइते भएका थिए।

मंसीर २०६८ मा एमाले कोटजहारी गाउँ कमिटीको बैठकमा आक्रमण गरी जिल्ला कमिटी उपाध्यक्ष ऋषिप्रसाद शर्मा, शशिराम खत्री र इन्द्रबहादुर शाहीलाई गम्भीर घाइते बनाइयो। १७ भदौ २०६९ मा मुसीकोट–खलंगा बहुमुखी क्याम्पसमा एमाले सम्बद्ध अनेरास्ववियुले कमिटी निर्माण गर्दा माओवादी कार्यकर्ताहरूले आक्रमण गर्दा भएको झ्डपमा ६ जना विद्यार्थी घाइते भए। २१ पुस २०६९ मा कांग्रेसका दुली गाउँ इकाई सभापति कविराम खत्रीको हत्याको विरोधमा कांग्रेसले आयोजना गरेको जिल्ला बन्दको अवज्ञा गर्दै माओवादीले कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका थिए।

एमाओवादीले विद्यालय व्यवस्थापन समिति, विकास आयोजना जस्ता समिति गठन हुँदा पनि अरू पार्टीका नेता–कार्यकर्तालाई आक्रमण गर्दै आएका छन्। एमाओवादीले आक्रमण गरेको पछिल्लो घटनाभन्दा एक साताअघि सिम्ली गाविसदेखि गरायलासम्म वाईसिएलले मार्च पास गरेको बताउँदै कांग्रेस जिल्ला सभापति मानबहादुर नेपाली भन्छन्, “हाम्रो कार्यक्रम बिथोल्ने एक मात्र उद्देश्य उनीहरूको देखियो।” एमाले अध्यक्ष विमलकुमार पुन पार्टीका आन्तरिक बैठकमा आक्रमण गर्नुले माओवादीको युद्धकालीन व्यवहार पुनरावृत्ति भएको बताउँछन्।

कमल थापा, रुकुम


शरीर दानको लहर

गोपाल गड्तौला
शरीर दान गरेका गणेशप्रसाद बस्नेतको शव जिम्मा लिएपछि आँखामा औषधि राख्दै चिकित्सक।
मधुमेह, उच्च रक्तचाप र दमबाट ग्रस्त झापाका अगुवा सहकारीकर्मी, सहकारी बैंकका सञ्चालक गणेशप्रसाद बस्नेत (६२) को १२ जेठमा मृत्यु भएको १२ घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई शव जिम्मा लगाइयो। जीवित छँदै आफ्नो शव दान गर्ने उनको इच्छा बमोजिम अपराह्न ५ बजे उनी अध्यक्ष रहेको झापाको दमक–११ स्थित मेची सहकारी संस्था नजिकै श्रद्धाञ्जली सभा सकिएपछि चिकित्सकहरूले शवलाई जतनसाथ एम्बुलेन्समा धरान लगेका थिए।

मरेपछि डढाएर वा गाडेर नष्ट गरिने शव चिकित्सा विज्ञान पढ्ने विद्यार्थीलाई काम लागोस् भनेर शरीर दानको घोषणा गर्ने अभियानका पूर्वी क्षेत्रमा अग्रणी बस्नेतले आँखा दान पनि गरेका थिए। मेची सहकारी संस्थाले आफ्नो वार्षिकोत्सव १२ भदौमा शरीर र आँखा दान गर्नेहरूको नाम घोषणा गर्ने योजना बनाएको छ। त्यो दिन ४५ जनाले शरीर दान र ८५ जनाले आँखादानको घोषणा गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

आँखादान घोषणा गरेका दमक–१५ निवासी इन्द्रबहादुर बस्नेत पनि असार २०६८ मा निधन भएलगत्तै प्रतिष्ठानले अर्को व्यक्तिमा प्रत्यारोपण गर्न चाहिने उनका आँखाको भाग लगेको थियो। ५ भदौ २०६८ मा दमक–१२ का सेवा निवृत्त शिक्षक देवेन्द्र बरालको शव पनि प्रतिष्ठानले लगेको थियो। शरीर दान गरेका पूर्वी झापाको काँकडभिट्टाका छत्रबहादुर बस्नेतको शव पनि चार वर्षअघि प्रतिष्ठानले नै लगेको थियो।

प्रतिष्ठानमा एमबीबीएस पढ्ने १०० र दन्त चिकित्सा बीडीएस पढ्ने ४० गरी १४० जना विद्यार्थीका लागि वार्षिक एकदर्जन शव चाहिन्छ। “प्रयोगात्मक अध्ययनका लागि शव धेरै हुँदा झ्नै राम्रो” प्रतिष्ठानका सूचना अधिकृत सुरेन्द्र तामाङ भन्छन्, “छिटफुट आउने दान र भेटिएका बेवारिसे शवले नपुग्दा काठमाडौंको शिक्षण अस्पतालबाट पनि ल्याउने गरिएको छ।”

गोपाल गड्तौला, झापा


गाउँले मिलेर विकास

दमन राई
स्थानीयवासीको प्रयासमा निर्मित सडक।
एकजुट भए विकास गाह्रो छैन भन्ने कुरा पूर्वी पहाडी जिल्ला खोटाङको दुर्छिम गाविसवासीले प्रमाणित गरेका छन्। उनीहरूले चन्दा र श्रमदानकै भरमा मध्यपहाडी लोकमार्ग अन्तर्गतको दुर्छिम–१ छापडाँडाको बरभञ्ज्याङदेखि दुर्छिम–३ र ४ हुँदै सुनकोशीको बतासेघाट जोड्ने १३ किलोमिटर लामो 'होलेसुङ जनकमार्ग' निर्माण गरेका छन्। सडकको नाम हलेसी क्षेत्रका प्रथम कविला प्रमुख होलेसुङ किराती र प्रमुख चन्दादाता जनकराज राईको नामबाट जुराइएको हो।

डेढ करोड रुपैयाँ लागत अनुमान गरिएको यो सडक स्थानीयवासीले श्रमदान बाहेक रु.३५ लाखमै पूरा गरेका हुन्। यसमा स्थानीय जनकराजबाट रु.६ लाख २४ हजार २३७, दलस्वर राईबाट रु.३ लाख र बाँकी ३०० घरपरिवारबाट गच्छेअनुसार रकम जम्मा भएको उपभोक्ता समितिका अध्यक्ष केवलनारायण राईले बताए। उनका अनुसार, सडकका लागि स्वदेश–विदेशमा कार्यरत दुर्छिमका युवाले एक–एक महीनाको तलब दिएका छन्।

यो सडकले खोटाङ र उदयपुरलाई जोडेको छ। गाईघाटबाट सुनकोशीको बतासेघाटसम्म अर्को प्रस्तावित सडक बनेपछि 'होलेसुङ जनकमार्ग' ले पूर्वी तराईलाई हलेसी धाम र सगरमाथा क्षेत्रसँग जोड्नेछ।

दमन राई, खोटाङ


संघर्षबाट प्रगति

बरकुलपुर–७ मटैहवाकी सोना खटिक (२४) को आवाज कपिलवस्तु जिल्लाको रेडियोबाट गुञ्जिएको पहिलो महिला आवाज हो। यहाँसम्म आइपुग्न कथित दलित समुदायकी सोनाले गरेको संघर्षले उनको आवाजलाई महत्वपूर्ण बनायो।

यसै त जात, क्षेत्र, लिंग र वर्गले भाउ पाएको नेपाल, त्यसमाथि मधेशको कपिलवस्तु। एउटा विपन्न दलित परिवारमा जन्मेकी सोनाको संघर्ष अनुमान लगाउन सकिन्छ। कृषि मजदूरीबाट जीविका गर्ने आफ्नो परिवारबारे सोना भन्छिन्, “बुबा र दाजु मेरो विवाह गराउन चाहन्थे, म चाहिं पढेर आत्मनिर्भर हुन।”

कमजोर आर्थिक अवस्था र छोरीलाई पढाउनुपर्छ भन्ने मान्यताको साटो बालविवाह व्याप्त रहेको सामाजिक परिवेशमा आमाले भने आफ्नो इच्छालाई साथ दिएको उनले बताइन्।

कक्षा ७ मा पढ्दै विवाहको लागि आफन्तबाट आएको दबाबलाई उनले आमाको आडमा टारिन्। कक्षा ८ मा पुगेपछि ट्युसनबाट पढाइ खर्चसँगै परिवारलाई पनि थोरबहुत सहयोग जुटाएर उनले पढाइलाई निरन्तरता दिइन्। “२०६२ मा एसएलसी गरेपछि ट्युसनबाट कक्षा ११/१२ पढ्न र घरमा खर्च जुटाउन अलि सजिलो भयो”, सोना भन्छिन्।

यही क्रममा सोनाले २०६५ मा रेडियो पत्रकारिता प्रशिक्षणमा सहभागी हुने मौका पाइन्। साथीको दाजुसँग रु.२ हजार सापटी लिएर तालीम शुल्क तिरेकी उनले घरदेखि धनकौलीस्थित रेडियो कपिलवस्तुसम्मको १७ किलोमिटरको दूरी दैनिक हिंडेरै वारपार गरिन्। तालीमपछि समाचारवाचकका लागि छानिएका चार जनामध्ये सोना एक थिइन्।
समाचार लेखन र वाचनबाट शुरू भएको उनको संचारयात्रा कार्यक्रम उत्पादन र प्रसारणसम्म विस्तार भएको छ।

विद्यालयमा सधैं दोस्रो हुँदा पनि दलित भएका कारण शिक्षकहरूबाट सहज व्यवहार नपाएको अनुभव सँगालेकी सोनालाई महिला हिंसाका घटनाहरूको समाचार र कार्यक्रमसँगै पीडितहरूलाई दिने परामर्शले समाजमा स्थापित गर्दैछ। बालविवाहको परम्पराबाट उम्किएकी, आफैं केही गर्छु भन्ने प्रण गरेकी मिहिनेती सोनालाई अहिले रेडियोले प्रशासनिक कामहरूमा समेत सक्रिय बनाउन थालेको छ। यसबीचमा उनले पाएको काठमाडौं, दिल्ली आदि ठाउँको भ्रमण र तालीमले आफ्नो दृष्टिकोणलाई व्यापक बनाएको उनको अनुभव छ।

घर बाहिरको यो प्रगतिसँगै उनी वृद्ध बाबु, मुटु रोगी आमा र एकल जीवन बिताइरहेकी दिदीको समेत आडभरोसा बनेकी छन्। “आजकल कतिपय बाबुआमाले मलाई हेरेर पनि आफ्ना छोरी स्कूल पठाउन थालेका छन्”, सोना भन्छिन्।

दुर्गा लामिछाने


गाउँको शिक्षालाई लाभ

एनसेलले शौचालय, फर्निचर निर्माणसहित रंगरोगन गरिदिएको कास्कीको रत्नशोभा उच्च मावि।
स्याङ्जाको राष्ट्रिय उच्च माविमा निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कक्षाकोठा, फर्निचर, पुस्तकालय निर्माण गरेर भवनमा रङ समेत लगाइदिएपछि विद्यार्थी, शिक्षक र अभिभावक खुशी छन्। ४५९ विद्यार्थी पढ्ने विद्यालयको रु.११ लाख ५४ हजारको यो नयाँ संरचनामा एनसेलले सेभ द चिल्ड्रेन र कमिटेड नेपालको सहकार्यमा रु.८ लाख ७५ हजार सहयोग गरेको प्रधानाध्यापक युक्तबहादुर बोगटी बताउँछन्।

पुस्तकालयका लागि पुस्तक किन्न कमिटेड नेपालले रु.१ लाख दिएको र विद्यालयले रु.५० हजार खर्च गरेको बताउँदै प्रधानाध्यापक बोगटी भन्छन्, “४६ फुट लम्बाइ र २० फुट चौडाइको पुस्तकालय स्थापना भएपछि अब हाम्रा विद्यार्थी मात्र होइन स्थानीयलाई पनि पढ्न सजिलो हुनेछ।”

सामाजिक उत्तरदायित्वका लागि

बहुराष्ट्रिय कम्पनी एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सन् २०१० देखि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था 'सेभ द चिल्ड्रेन' सँगको सहकार्यमा विद्यालयलाई सहयोग गर्दै आएको छ। सेभ द चिल्ड्रेनकी 'प्राइभेट एण्ड कर्पोरेट फण्ड रेजिङ' एकाइ प्रमुख शारदा बस्नेतका अनुसार सन् २०१० मा बर्दियाको विकास प्राविको भवन निर्माणबाट शुरू भएको दुई संस्थाबीचको सहकार्यमा २०११ मा ६ वटा र २०१२ मा १७ स्कूललाई सहयोग गरिएको छ। कम्पनीले २०११ र २०१२ मा १२ जिल्लाका १३ विद्यालयमा डिजिटल पुस्तकालय स्थापना गरी १० हजार विद्यार्थीलाई लाभ पुर्‍याएको छ। २०१३ मा सेभ द चिल्ड्रेनको कार्यक्षेत्र बाहिरका जिल्लामा समेत एनसेलले सहयोग गर्न खोजेपछि स्थानीय एनजिओहरूसँग समन्वय बढाउन आफ्नो संस्थाले सहयोग गरेको बस्नेत बताउँछिन्। सेभ द चिल्ड्रेनसँगको सहकार्यमा नबिल ब्याङ्क, ब्याङ्क अफ काठमाडौं, यती एयरलाइन्स, स्ट्याण्डर्ड चार्टर्ड ब्याङ्क, हिम इलेक्ट्रोनिक्सले पनि विद्यालयहरूलाई सहयोग गरेका छन्।

एनसेलले निर्माण गरिदिएको बाग्लुङस्थित मुन्द्रीदेवी निमाविको भवन।
सन् २०१३ मा एनसेलको रु.१२ लाख ७५ हजार सहयोगले कक्षाकोठा निर्माण, शिक्षण सिकाइ र खेलकुद सामग्री खरीद, कक्षाकोठा व्यवस्थापन, पुस्तकालय निर्माण र भवनमा रङ लगाएको पर्वतको पशुपति निमाविका प्रधानाध्यापक तारापति तिमल्सिना बताउँछन्। एनसेलको सहयोगले दुई कोठाको नयाँ भवन बनाएको त्यो विद्यालयका प्रधानाध्यापक तिमल्सिना भन्छन्, “कोठा नहुँदा १ र २ कक्षाका बालबालिका एउटै कोठामा पढ्नुपर्ने बाध्यतामा थिए, अब पढाइमा उत्प्रेरणा पनि थपिनेछ।”

एनसेलले 'विद्यालयको अभिभावकत्व' कार्यक्रममार्फत यो वर्ष १९ वटा सामुदायिक विद्यालयलाई भवन, कक्षाकोठा, पर्खाल, शौचालय, खानेपानी, फर्निचर, शैक्षिक तथा खेलकुद सामग्रीमा सहयोग गरेको छ। जसमा कम्पनीले रु.२ करोड ८० लाख खर्च भएको कर्पोरेट कम्युनिकेशन निर्देशक सञ्जु कोइराला बताउँछिन्। कोइराला भन्छिन्, “यो सहयोगले पूर्वाधार र शैक्षिक सामग्रीको अभाव हटाएर विद्यालयलाई राम्रो शैक्षिक वातावरण सिर्जना गर्न सहयोग गर्नेछ।” एनसेलले अहिलेसम्म ४२ विद्यालयलाई रु.५ करोडभन्दा बढी सहयोग गरिसकेको छ।

एनसेलले यो वर्ष १५ बालिकालाई उच्च शिक्षा हासिल गर्न रु.९ लाखको छात्रवृत्ति पनि प्रदान गर्दैछ। कर्णालीका ५ जिल्ला र अरू १० जिल्लाका १/१ छात्राले यो छात्रवृत्ति पाएका छन्।

प्रभात भट्टराई


वातावरणीय स्वच्छताप्रति बढ्दो जागरूकता

बिक्रम राई
वातावरण सुहाउँदो वस्तु तथा सेवाबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा आयोजित तीनदिने नेपाली टाइम्स इको–फेयर २४ जेठमा सम्पन्न भएको छ। प्रदर्शनीबाट हजारौंले वातावरण मैत्री उत्पादन, सेवा र विचारबारे प्रत्यक्ष जानकारी पाएको फेयरका संयोजक कर्म लामाले बताए। दोस्रो पटक आयोजित इको–फेयरबाट लगानीकर्ता, सरकारी अधिकारी र हरियाली क्षेत्रमा कार्यरतहरूको साझ मञ्च बनेको अनुभव उनको छ।

लक्ष्मी ब्याङ्क मुख्य प्रायोजक रहेको इको–फेयरमा ५५ स्टल थिए। प्रदर्शनीका अवलोकनकर्ताले आकाशे पानी संकलन, प्राङ्गारिक मल, बायोग्याँस, ग्रीन होम्स, अल्लोको कपडा, विद्युतीय गाडी/साइकल आदिका स्टलमा बढी चासो देखाएका थिए। विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय र हिमाल मिडिया प्रालिले आयोजना गरेको प्रदर्शनी हाम्रै वरिपरि पाइने सामानबाट वातावरण मैत्री वस्तु बनाउन सकिन्छ भन्ने सन्देश दिन सफल भएको आयोजकहरूको दाबी छ।

विश्व वातावरण दिवसको अवसरमा आयोजित फेयरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, बृहत् इन्भेष्टमेन्ट, त्रिवेणी ग्रुप, ग्रीन ग्रुप, नेशनल कलेज, स्मार्ट पानी, सेन्टर फर इन्टिग्रेटेड डेभलपमेन्ट, क्लिन इनर्जी, गजबको टी, चोयाली, हिमालयन नेचुरल्स, ई–सेवा, हिमालयन क्लाइमेट इनिसियटिभ, करुणा नेचुरल वेयरर्स, अल्का अस्पताल, सांग्रिला अग्रो वर्ल्ड, नमूना गाउँ, सोलार सोलुसन, फ्युचर ग्रीन इनर्जी, नेपाल ननक्राफ्ट सेन्टर, काठमाडौं महानगरपालिका, ग्लोबल पिस एसोसिएसन नेपाल, नेपाल नट क्राफ्ट आदि सहभागी थिए।

२२ जेठमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्री उमाकान्त झा र हिमाल मिडियाकी अध्यक्ष अम्बिका श्रेष्ठले फेयरको संयुक्त रूपमा उद्घाटन गरेका थिए। फेयरमा स्टल राखेका आर्किटेक्ट इञ्जिनियर रवीन्द्र पुरीले अघिल्ला वर्षहरूमा भन्दा यसपटक वातावरणीय स्वच्छताप्रति जनचासो बढेको अनुभव सुनाए। “हामी पनि वातावरण सुहाउँदो घर बनाउन सकिन्छ भन्ने जानकारी गराउन धेरै हदसम्म सफल भयौं”, पुरी भन्छन्।

comments powered by Disqus

रमझम