यहाँ चाडपर्वमा पूजाआजा गर्न तथा शनिबारका दिन घुइँचो लाग्न थालेपछि फूलपाती, फलफूल र खाजाका व्यापारीले अस्थायी टहरा बनाए । व्यापार फस्टाउन थालेपछि कोटीहोम क्षेत्र अतिक्रमणमा परेको छ । कनकाई धाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष गंगाराम दाहाल भन्छन्, “कोटीहोमको साढे तीन बिघामध्ये दुई बिघा जमीन अतिक्रमण भएको छ ।”
लालपुर्जाको बहाना
२०५२ मा सुकुम्बासी समस्या समाधान आयोग बनेपछि कनकाई नगरपालिका–४ को कोटीहोम क्षेत्रलाई कनकाई धाम धार्मिक विकास संस्थाको नाममा नापी गरियो । तर, जग्गाधनी प्रमाणपत्र जारी नभएपछि भने सबैले आँखा लगाए । यो क्षेत्रभित्र २४ वटा बन्धु र गोत्र समाजले भवन र मन्दिर बनाएका छन् भने ३७ परिवार घरै बनाएर बसेका छन् । वर्षेनि घरको आकार र क्षेत्र बढाउँदै लगेका छन् ।
अतिक्रमणले बिहे तथा ब्रतबन्ध गर्दा बस्न ठाउँ अभाव हुँदै गएको छ भने मुक्तिघाटमा लाश दहन गर्दा मलामीलाई बस्नका लागि चौतारो बनाउने ठाउँ पनि बाँकी रहेको छैन । कनकाई धाम धार्मिक विकास संस्थाका वरिष्ठ उपाध्यक्ष दाहाल भन्छन्, “शुरूमा बुद्धि नपुग्दा यो समस्या आयो, अहिले धाम क्षेत्र साँघुरो भइसक्यो ।” उनी पनि घर बनाएर २०५२ देखि कोटीहोममै बस्दै आएका छन् ।
२०५१ मै तत्कालीन कनकाई गाविस अध्यक्ष भीम अधिकारीले अतिक्रमण हटाउने कोशिश गरेका थिए । पटक–पटक सर्वपक्षीय भेला बोलाए पनि अतिक्रमण खाली गराउने निर्णयबाट पछि हट्नु परेको बताउँदै अधिकारी भन्छन्, “भोटको राजनीतिका कारण अतिक्रमणकारीलाई हटाउन सकिएन ।”
अलपत्र गुरुयोजना
२०५७ मा कनकाई धाम धार्मिक विकास संस्थाले रु.३० करोडको लागत अनुमान गरी गुरुयोजना तयार गरेको थियो । कनकाई सामुदायिक वनको २० बिघा जमीन भोगाधिकार लिई तपोवन बनाउने लक्ष्यसहितको गुरुयोजनामा बाल उद्यान, पौडीपोखरी, अतिथिगृह, बगैंचालगायत धार्मिक महाविद्यालय बनाउने उल्लेख छ । तर, कोटीहोम गुरुयोजना १३ वर्षदेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमै थन्किएको छ । “हरेक पटक नयाँ मन्त्रीलाई भेटेर आग्रह गर्दै आएका छौं तर, केही हुनसकेको छैन” दाहाल भन्छन् ।
संस्कृत महाविद्यालयका रूपमा विस्तार गरिने वैदिक पाठशाला जेनतेन सञ्चालन भइरहेको छ । संस्कृत कर्मकाण्ड र व्याकरणमा पूर्वमध्यमासम्मको पढाइ हुने पाठशालामा २४ जना विद्यार्थी अध्ययनरत छन् । शिक्षकका लागि महर्षि फाउण्डेसनले मासिक रु.५१ हजार सहयोग गर्दै आए पनि बाँकी खर्च चन्दा, भेटी र दानबाटै जुटाउनु परिरहेको बताइन्छ ।
गोपाल गडतौला, झापा
झापाको दमकमा रु.९ करोड ५० लाखको लागतमा अपाङ्गतामैत्री नयाँ बस टर्मिनल बनेको छ । एक पटकमा २५ वटा बसले ओहोरदोहोर गर्न सक्ने दुईतले टर्मिनल भवनमा चमेनागृह, विश्राम कक्ष, बसको रुटसम्बन्धी जानकारी दिने डिजिटल डिस्प्ले रहेका छन् ।
दमक बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकर बस्नेतका अनुसार, शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयको रु.९ करोड, दमक नगरपालिकाको रु.२५ लाख, सडक डिभिजन कार्यालयको रु.१० लाख, सर्वसाधारणको सहयोग रु.३ लाख ५० हजार र बाँकी अन्य स्रोतबाट जुटाइएको हो । तीन वर्ष लगाएर निर्माण गरिएको टर्मिनलका हरेक ठाउँमा ह्वीलचेयर पुग्ने व्यवस्था गरिएको छ भने पानीको सहज निकासका लागि भूमिगत पाइपिङ गरिएको छ ।
दुई बिघा एक कट्ठा क्षेत्रमा रहेको टर्मिनलबाट दैनिक ५५० बस ओहोरदोहोर गर्दै आएको बताइन्छ ।