९ मंसिर २०७० | 17 November 2013

मतदानबाट बञ्चित बन्दीहरू

Share:
  

तनहूँको जिल्ला कारागारका थुनुवाहरू रमेश श्रेष्ठ र राजु नेपाली आफ्नै निर्वाचन क्षेत्रमा रहँदा पनि संविधानसभा निर्वाचनमा मत हाल्न नपाउने भएपछि निराश छन्। श्रेष्ठ कारागार रहेको वडाको र नेपाली त्यही क्षेत्रका बासिन्दा हुन्। जिल्ला कारागार रहेको व्यास नगरपालिका तनहूँ क्षेत्र नं. २ मा पर्छ।

अघिल्लो पटक जस्तै यो संविधानसभा निर्वाचनमा पनि कारागारका बन्दीलाई समानुपातिकतर्फ मात्रै मताधिकार दिने सरकारले निर्णय गरेकाले उनीहरूले मत दिन नपाउने भएका हुन्। थुनुवा तथा निर्वाचनमा खटिने सरकारी कर्मचारी र सुरक्षाकर्मीले समानुपातिकतर्फ मात्र मत दिन पाउने सरकारको निर्णय छ। तर, आफू मतदाता रहेको क्षेत्रमा रहेका सरकारी कर्मचारी र सुरक्षाकर्मीले प्रत्यक्षतर्फ मतदान गर्न पाउने भए पनि थुनुवाको हकमा भने सरकारले यो नियम बनाएको छैन। श्रेष्ठ र नेपालीले मतदान गर्न नपाउनुको कारण त्यही हो।

तनहूँ कारागारमै कैदी जीवन बिताइरहेका प्रेम परियारलाई कैदीहरूमध्ये राम्रो आचरण भएकाले जेलरले चौकीदार बनाएका छन्। राजनीतिक नेतासँग उनको गुनासो छ, “हाम्रा देशका धेरै नेतासँग कारागार जीवनको राम्रो अनुभव भए पनि यो विषयमा उनीहरूले सोचेनन्।” कारागारमा त्यही वडाका तीन जना, नगरपालिकाका १० जना, क्षेत्र नं. २ का २४ जना थुनुवा र कैदी छन्।

आफ्नै क्षेत्रमा रहेका थुनुवा र कैदीले मत दिन नपाएकोमा जेलर तीर्थ खनाल पनि आश्चर्य मान्छन्। उनी भन्छन्, “२०४३ को राष्ट्रिय पञ्चायत निर्वाचन र २०४६ सालपछिका आम निर्वाचनमा थुनुवाले मत दिन पाएका थिए, गणतन्त्र आएपछि त्यो व्यवस्था हटेको हो।”

जिल्ला निर्वाचन कार्यालय तनहुँका निर्वाचन अधिकृत कीर्तनराज पौडेल कारागारका थुनुवा कैदीहरूले समानुपातिकतर्फ मात्र मतदान गर्ने व्यवस्था केन्द्रीय नीति अनुसार भएकाले कार्यालयले केही गर्न नसक्ने बताए।

पूर्व नायव महान्यायाधिवक्ता नरेन्द्र पाठकले बन्दीहरूले प्रत्यक्षतर्फ मतदान गर्न नपाउने व्यवस्था हुनु न्यायिक नभएको बताए। विदेशमा रहेका नेपालीले समेत मत दिन पाउनुपर्ने आवाज उठिरहेका वेला क्षेत्रमै रहेका व्यक्तिले मत दिन नपाउनु मौलिक हकको उल्लंघन भएको बताउँदै पाठकले भने “थुनुवा, कैदी सबैले मत दिन पाउनुपर्छ।” सरकार र निर्वाचन आयोगले गल्ती सच्याएर उनीहरूलाई मत दिने व्यवस्था मिलाउनुपर्ने उनी बताउँछन्।

कारागार विभागका निर्देशक हरिकृष्ण उपाध्यायले निर्वाचनसँग सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी र अधिकार निर्वाचन आयोगको भएको बताए भने निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले थुनुवा, कैदी र बन्दीले समानुपातिकतर्फ मत दिन पाउने निर्णय भइसकेकाले सच्याउन नमिल्ने बताए। उनी यस विषयमा अर्काे पटक सोच्न सकिने बताउँछन्।

२५ जना थुन्ने क्षमता रहेको जिल्ला कारागार तनहूँमा अहिले ६४ जना थुनुवा र ६४ कैदी गरी १२८ जना छन्। तीमध्ये ८७ जनाको मतदाता नामावलीमा नाम छ।

विष्णुकान्त घिमिरे, तनहूँ


बेल्जियममा गोर्खालीको सम्झना

प्रथम विश्वयुद्ध अन्त्य भएको बेल्जियमको इपर शहरमा मारिएका सैनिकहरूको सम्झ्नामा बनाइएको शहीदगेटमा त्यहाँ मारिएका गोर्खाली सैनिकहरूको नाम पनि राखिएको छ। अंग्रेजहरूको तर्फबाट गोर्खाली सेना लडेको त्यहाँको लडाइँमा जर्मनी सेनाले पहिलो पटक विषालु ग्याँस प्रयोग गरेको थियो। जर्मनी सेनाबाट बेल्जियमलाई बचाउन लाग्दा मृत्यु भएका अरू देशका सेनाको पनि नाम रहेको त्यहाँको गेटमा बेल्जियन सेनाले हरेक साँझ् ८ बजे शोक धुन बजाउँछ।

स्मारक बन्दै

प्रथम विश्वयुद्धमा मृत्यु भएका गोर्खाली सैनिकहरूको सम्झ्नामा बेल्जियमको इपर शहरमा गोर्खाली स्मारक पनि बन्ने भएको छ। बेल्जियमका लागि नेपालका पूर्व राजदूत प्रमेशकुमार हमालका अनुसार नेपाल सरकारको तर्फबाट इपर शहरका मेयरसँग स्मारक निर्माणका लागि मागेको जमीन पाएपछि स्मारक बन्ने निश्चित भएको हो।

मृतक गोर्खाली सैनिकको सम्झ्ना नेपाली दूतावास र एनआरएन बेल्जियमको संयुक्त पहलमा इपर अध्ययन समिति पनि बनेको थियो। सो समितिले कमन वेल्थ ग्रेव कमिसनका निर्देशक इयान हुसेनसँग उनीहरूको वेबसाइटमा गोर्खालीहरूको राष्ट्रियता भारतीय भनेर राखिएकोमा सच्याउन अनुरोध गरेपछि कमिसनले सच्याइसकेको छ। कमिसनले युद्धमा वीरगति पाएका कमन वेल्थ राष्ट्रका सैनिकहरूको चिहान लगायत डाटा सुरक्षित राख्ने काम गर्छ।

बेल्जियममा बस्ने नेपालीहरूले इपर युद्धमा मारिएका गोर्खालीहरूको सम्झ्नामा हरेक वर्ष स्मृति कार्यक्रम गर्दै आएका छन्।

सन्तोष न्यौपाने, बेल्जियम


फिल्ड मार्सल नीरशमशेर राणा

(११ पुस १९७०–१० कात्तिक २०७०)
हिटलरको तयारीले दोस्रो विश्वयुद्वलाई अवश्यंभावी बनाउँदै ल्याउँदा नेपालका श्री ३ महाराज जुद्धशमशेरलाई विदेशी पदकको ओइरो लाग्यो। ब्रिटेनबाट भारतस्थित गोर्खा फौजका लेफ्टिनेन्ट जनरलको सम्मान पाइसकेका उनलाई 'एक्सिस' का जर्मनी र इटालीले काठमाडौंमै प्रतिनिधि पठाएर विभूषित गर्न थाल्दा 'एल्लिज' (गठबन्धन) का बेलायत, फ्रान्स, बेल्जियम, फिनल्याण्ड, नेदरल्याण्ड र चीनसम्मले उनलाई मानमाथि मान थप्न थाले।

तर, १६ भदौ १९९६ मा जर्मनीले पोल्याण्डमाथि हमला गर्नासाथ नेपालले जर्मनी विरुद्ध (ब्रिटेन र फ्रान्ससँगै) युद्धको घोषणा गरेर आठ हजार जवानको दुई वटा पायोनियर ब्रिगेड र १६ बटालियन सेनालाई मोर्चामा पठायो। महायुद्धमा नेपालले ठूलो परिमाणमा जूटका सामग्री, चिनी, चिया, काठ र अरू बन्दोबस्तीका सामग्री पनि सहयोग गरेको फिल्ड मार्सल नीरशमशेर राणाको संस्मरण 'मेरो एक शताब्दी' मा उल्लेख छ। दोस्रो महायुद्धमा सहभागी भएका अन्तिम नेपाली अफिसर थिए, १०० वर्ष र १० महीना बाँचेका नीरशमशेर।

जुद्धशमशेरका सात रानीमध्ये माहिली कृष्णकुमारीपट्टिका जेठा छोरा नीरले वि.सं. १९८८ मा मेजर दर्जाबाट सैनिक सेवा शुरू गरेका थिए। कालीबहादुर गणको नेतृत्व गर्दै दोस्रो महायुद्धका लागि पेसावर पुगेका उनी जापानले सिंगापुरमा चढाइ गरेपछि बर्मा फ्रन्टमा खटिने पहिलो डफ्फा नेपाली सेना लिएर १६ मंसीर १९९७ मा मनिपुर पुगेका थिए। नेपाली फौजले जापानी बमबारीका बीच आठ महीनामा १९ माइल बाटो खनेर बर्माका शरणार्थी र 'मिलिटरी एड्भान्स' लाई सजिलो बनाएको थियो। त्यहीबीचमा बिरामी भएका नीरलाई कलकत्तामा उपचारपछि नेपाल बोलाई अगस्त १९४३ मा मेजर जनरलमा बढुवा गरेर रावलपिण्डी पठाइयो, नर्थवेष्ट फ्रन्टियरमा लियाजो अफिसरको जिम्मेवारी दिएर। २६ वैशाख २००२ मा हिटलरको आत्महत्या र ३१ साउन २००२ सालमा जापानको आत्मसमर्पणपछि गठबन्धन विजयी भयो। पुरानो गोरख, भैरवनाथ र श्रीनाथ गणलाई कमाण्ड गरिरहेका जनरल नीर त्यसको एक वर्षपछि ३ मंसीर २००३ मा नेपाल आए।

भारतीय ब्रिटिश–गोर्खा र नेपाली सैनिकका परिवार बाहेकका आम नेपालीले खासै अनुभव गर्न नपरेको दोस्रो विश्वयुद्धमा ३० देशका १० करोड सैनिक लडेका थिए। मानव इतिहासको सबभन्दा ठूलो त्यो महायुद्धमा सक्रिय सहभागितापछि नीर जर्सापले वृत्ति–विकासमा कहिल्यै पछाडि पर्नु परेन। राणाशाहीको अन्त्यपछि पनि उनको 'करिअर'मा पदक र प्रमोसनको कमि भएन। अवकाशलगत्तै २०२२ साल जेठबाट आजीवन फिल्ड मार्सल (अतिरथी) भएका उनी नेपालका प्रथम श्रेणीका सबै र विदेशका १० वटा अलंकार–पदकबाट सुशोभित भए। उनी २०१७ वैशाखदेखि २०२२ वैशाखसम्म शाही सेनाका प्रधान सेनापति रहे। हेडक्वार्टर र स्वयम्भूमा व्यवस्थित छाउनी बनाएका प्रधानसेनापति नीरले नै शाहीसेनाको नाममा नेपाली शब्द थपेका थिए। नेपाली सेनाका लागि फिल्ड मार्सल नीर किन पनि अविस्मरणीय छन् भने उनले अवकाशप्राप्त सैनिकहरूका लागि साढे तीन करोड रुपैयाँ (अहिले रु.५ करोड) को दैवी प्रकोप उद्धार कोष स्थापना गरिदिएका छन्। उनले स्थापना गरेको खेलकुद पुरस्कार कोषमा पनि अहिले रु.५ लाख सञ्चिति छ।

साहित्यमा रुचि भएका राणाका 'मरेर बाँचूँ देशका निम्ति' (राष्ट्रिय गीत), 'वैशाखी वनमा' (गीत) र 'हरे, मैले बुझे अहिले' (भजन) गरी तीन वटा संग्रह प्रकाशित छन्। २०४५ सालमा जेठा छोरा दिवाकर गुमाएका फिल्ड मार्सल नीरका कान्छा छोरा प्रभात, छोरी हजुरी, ६ नातिनातिना र ३ पनातिपनातिना छन्।

comments powered by Disqus

रमझम