द्रुत गतिमा फैलँदो यो काँडादार घँगारु कुनै पनि चौपायाले खान सक्दैनन्। यसबारे कुनै जानकारी नआएको बताउने जिल्ला वन कार्यालय खोटाङका डीएफओ धीरेन्द्रप्रसाद सिंहले जलवायु परिवर्तन (ग्लोवल वार्मिङ)का कारण पानी–हिउँ कम पर्दा र तापक्रम वृद्धि हुँदा यो वनस्पतिले मिचाहा रूप लिएको हुनसक्ने जनाए। यथासक्य चाँडो त्यस क्षेत्रमा अध्ययन टोली पठाउने बताउँदै डीएफओ सिंहले भने, “चराहरूले यसको फल खाएर फैलाइरहेका हुनसक्छन्।”
वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ भने यसलाई खर्कहरूमा मान्छे नहुँदाको परिणामको रूपमा अर्थ्याउँछन्। उनको भनाइमा, हिजोआज लेकाली खर्कहरूमा गोठाला र वस्तुभाउ कम हुँदा कतिपय वनस्पतिले मिचाहा प्रवृत्ति देखाएका हुनसक्छन्। खेतबारीमा हरेक साल अनावश्यक बोटबिरुवा नियन्त्रण गरिन्छ। खर्कमा पनि पहिला धेरै वस्तुभाउ र गोठालाहरू हुँदा वनमा चाप पर्थ्यो, अनावश्यक वनस्पति नियन्त्रण हुन्थ्यो।
मैयुँ र मेरुङमा घँगारु फैलनुको मिहिन अनुसन्धान नगरी विश्वको त्यो कुनामा विश्वव्यापी जलवायु परिवर्तनको असर देखिएको भन्ने निष्कर्षमा पुग्न नहुने डा. श्रेष्ठले बताए। “बेलैमा खोजबिन गरेर त्यसलाई नियन्त्रण नगरिए भोलि हाम्रा खर्कहरू चरनविहीन बन्न सक्छन्”, डा. श्रेष्ठ भन्छन्, “मूल कुरा त्यहाँ मान्छेको उपस्थिति चाहियो, नेपाली खर्क र हिमालहरू मान्छे र व्यवस्थापनको पर्र्खाइमा छन्।”
आनन्द राई
सेवाका नाममा व्यापार
**१ चैतमा पत्रकार युवराज लिम्बूको शव इटहरीबाट धरान ल्याउँदा एउटा शववाहनले नेपाल रेडक्रस सोसाइटीले तोकेको रु.१ हजारको तेब्बर रु.३ हजार भाडा लियो। मृतकका आफन्त इन्द्रबहादुर लिम्बू झापाको दमकस्थित 'मानबहादुर श्रेष्ठ प्रतिष्ठान' को शववाहनका चालकले शुल्क बुझेको रसिदसमेत नदिएको बताउँछन्।
**२०५९ सालमा सुनसरी बराहक्षेत्रका श्याम श्रेष्ठले बहिनी गोमाको नाममा स्थापना गरेको 'गोमा मेमोरियल ट्रष्ट' ले चलाएको एम्बुलेन्स धरानको 'बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान' को गेट बाहिर बिरामी/पेसेन्जर पर्खिरहेको भेटिन्छ। धरानकी पवित्रा बस्नेत थापाले यो एम्बुलेन्स सञ्चालन गरिरहेकी छिन्, तर अहिले गोमा ट्रष्ट अस्तित्वमै छैन।
**सुनसरी डुम्राहा–३ का सीताराम साहले बुबाको नाममा स्थापना गरेको 'जवाहर साह स्मृति प्रतिष्ठान' को एम्बुलेन्स पनि प्रतिष्ठानकै गेटमा पेसेन्जर पर्खिरहेको हुन्छ। सुनसरीको प्रकाशपुरबाट सञ्चालनको अनुमति पाएको 'राजन अधिकारी फाउण्डेशन' को को१च ४६१९ नम्बरको एम्बुलेन्स धरानकै शिरु मेडिकल हल अगाडि भेटिन्छ।
ग्राहक खोज्न एजेण्ट
निको मेडिकल अगाडि भेटिने 'सृष्टि मेमोरियल ट्रष्ट', 'मानबहादुर श्रेष्ठ प्रतिष्ठान' र 'पूर्णबहादुर स्मृति प्रतिष्ठान'का एम्बुलेन्सले ग्राहक खोज्न अस्पतालको आकस्मिक कक्षमा एजेण्ट नै खटाएका छन्। त्यस्ता एजेण्टलाई ग्राहक खोजिदिएबापत दैनिक रु.५०० देखि रु.१ हजारसम्म दिइन्छ। भारतको सिलगुडी जाने बिरामी मिलाइदिनेलाई एम्बुलेन्सले रु.२ हजारसम्म दिने गरेको र एम्बुलेन्सलाई ग्राहक मिलाइदिने यो सञ्जालमा अस्पतालका कर्मचारी र सुरक्षा गार्डसमेत रहेको स्रोत बताउँछ। बिरामी पुर्याएबापत एम्बुलेन्सहरूले सिलगुडीका डा. सिद्धिराज शर्माको अस्पताल र पारामाउन्ट अस्पतालबाट समेत कमिसन पाउँछन्।
नेपाल रेडक्रस सोसाइटीका अनुसार सुनसरीमा ५३ वटा एम्बुलेन्स र चार शववाहन सञ्चालनमा छन्। एक वर्षअघि एम्बुलेन्स र शववाहन अनुगमन गर्न बनेको समितिका संयोजक रहेका तत्कालीन प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा एम्बुलेन्सहरू सेवामुखी नभई व्यापारिक रूपमा चलाइएको बताउँछन्। समितिले एम्बुलेन्सहरूलाई दर्ता रहेको ठाउँमै कार्यालय राख्न र सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। तर, रेडक्रस सुनसरीका संयोजक उमेश थापा एम्बुलेन्सहरूले ती निर्देशन पालना नगरेको बताउँछन्। एम्बुलेन्स सञ्चालन नीति–२०६० मा तोकिएको प्रावधान विपरीत भएमा वा सेवा दुरुपयोग गरेको पाइएमा सञ्चालन स्वीकृति स्थगन वा खारेज नै गर्न सकिने प्रावधान छ।
सीता मादेम्बा, धरान
कठिन छ उपचार
त्यसअघि मंसीरको अन्तिम साता लफ्याङ–१ की देवकुमारी खड्का (४०)लाई पनि जिल्ला अस्पतालले काठमाडौं रेफर गरेपछि हेलिकप्टरमा सिनामङ्गलको नोबेल अस्पताल पुर्याइयो, तर धेरै ढिलो भइसकेको थियो। जायजन्मको खुशी पर्खिरहेको परिवार शोकमा डुब्यो, लाखौं ऋणको भारले थिचिंदै। भरपर्दाे यातायातको विकास नभएको खोटाङको जिल्ला अस्पतालमा शल्यक्रिया सेवा नहुँदा जिल्लावासीका लागि यस्ता घटना नियति बन्न पुगेको छ। हरेक आमाले प्रसूतिका बेला ज्यान हत्केलामा राख्नुपर्ने स्थिति छ। जिल्ला अस्पतालले गत साउनदेखि पुससम्म २०० बिरामीलाई काठमाडौं रेफर गरेको तथ्याङ्कमा देखिन्छ। अस्पतालका सिनियर अहेव योगेन्द्र सेठ दैनिक जसो बिरामी रेफर हुने गरेको बताउँछन्।
१५ शैच्चयाको जिल्ला अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई काठमाडौं रेफर गरेपछि पैसा जुटाउन सक्नेहरू हेलिकप्टर बोलाउने तयारीमा लाग्छन्, नहुनेहरू भगवान भरोसामा। दिक्तेललाई पाँच वर्षअघि कच्ची सडकले जोडे पनि सुनकोशी र दूधकोशीमा पुल नबन्दा यातायात भरपर्दो छैन। खानीडाँडा, लामीडाँडा र थामखर्क विमानस्थल छन्, तर विमान सेवा पनि भरपर्दो छैन। “खोटाङमा उपचार सहज छैन”, नागरिक समाजका नारायणप्रसाद जोशी भन्छन्, “कति बिरामी जिल्ला अस्पताल आइनपुग्दै मर्न बाध्य हुन्छन् भने कोही काठमाडौं नपुग्दै।”
सइन्द्र राई, दिक्तेल
नाइके पक्राउ
सात वर्षदेखि चोरीका गाडी ल्याएर बेच्ने गरेको प्रहरीसँग स्वीकारेका शाहीले त्यो गिरोहका धेरैको नाम पोलेका छन्। तर, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी राजकुमार बैदवार अनुसन्धान प्रभावित हुने भएकाले ती नाम तत्काल सार्वजनिक नगरिने बताउँछन्।
शाहीले नक्कली गाडीलाई सक्कली जस्तो बनाउन भारतीय मेकानिक्स राखेको पनि खुलेको छ। ग्यारेजमा भेटिएका प्रमाण र शाहीको बयानका आधारमा तस्करीका गाडी कुन नाकाबाट ल्याइन्थ्यो, तिनलाई कसरी सक्कली बनाउँदै बजारमा पुर्याइन्थ्यो, त्यो गिरोहमा को–को संलग्न छन् र तिनलाई कसको संरक्षण छ जस्ता विषयमा अनुसन्धान गरिरहेको प्रहरी बताउँछ। तर, प्रहरीका कैयौं अधिकारीले चोरीका गाडी विगतमा प्रयोग गरेको देखिएकाले यो प्रकरणमा सही रूपमा अनुसन्धान हुने र दोषी कारबाहीमा पर्नेमा शंका व्यक्त गरिए पनि डीएसपी बैदवार यो पटक कुनै दबाबले अनुसन्धान प्रभावित नहुने दाबी गर्छन्।
दीपक ज्ञवाली, बुटवल
मारिएर बाँचेकाहरू
हिंसात्मक द्वन्द्वकालमा माओवादीले घाइते बनाएका र 'क्रस फायर'मा परेकाहरूलाई सरकारी बेवास्ताले झ्ान् आहत बनाएको छ।
गोपाल गडतौला, झापा
“मेरा आँखै अगाडि उनीहरूले शम्भुको टाउको र शरीर भीरबाट फ्याँके” १० दिनमा होस खुलेका नगेन सुनुवार (३९) ले कम्मरको घाउ छोप्दै भने, “मर्यो भनेर मलाई पनि भीरबाट हुत्याइदिएको सम्झ्ना छ, बिउँझ्दा अस्पतालको बेडमा थिएँ।”
घटना २३ जेठ २०५९ बिहान १० बजेको हो। झापा धरमपुर–५ का नगेन र छिमेकी शम्भु तोपगाछी गाविसको केरखा बजार गएका थिए। उनीहरूलाई माओवादीले 'केही गफ गर्नुछ' भन्दै बजारमाथिको नर्सरीमा लगे, जहाँ थप माओवादी भेटिए। उनीहरूले केही कुरै नगरी लाठा नभाँच्चिउन्जेल पिटेर हलचल गर्न नसक्ने बनाएपछि नगेन र शम्भुलाई साइकलमा हालेर त्यसको चार घण्टामा दक्षिण इलामको मैनाचुली डाँडा पुर्याए। सुराकीको बात लगाउँदै दुवै हात डोरीले कसिएका उनीहरूलाई त्यसपछि भीरबाट हाम फाल्न भनियो। “तर, हाम फाल्न नसकेपछि शम्भुलाई खुकुरी दिंदै मलाई काट्न भने, तर उसले मानेन”, नगेन भन्छन्, “अनि २५ वर्ष जतिको युवकले शम्भुलाई निहुरिन लगाएर घाँटी छिनायो।”
माओवादीहरूले पच्चीस ठाउँमा काटेर मर्यो भनी भीरबाट खसालिदिएका नगेनलाई भने तीन दिनपछि सामुदायिक वन हेरालुहरूले पहराको फेदमा भेट्टाए। त्यसपछिको दुई वर्ष उनले धरान, झ्ापा, मोरङ, सुनसरी, काठमाडौं र सिलगुडीका अस्पतालमा बिताए। यसक्रममा धरमपुरको १६ कट्ठा जमिन र बजारछेउको घर सकियो। शरीर अपाङ्ग भएको छ, हिंडडुल गर्न सहारा चाहिन्छ। दुखाइ कम गर्ने औषधि खान पैसाले पुग्दैन। नगेनको घुच्चुकमा खुकुरीले काटेका दाग छन्। पेटमा आठइञ्च लामो खत छ। घाँटी, कम्मर, तिघ्रा, पिंडुला, हातपाखुरा जहींतहीं चोटैचोट छन्। कम्मरको घाउ ११ वर्षमा पनि निको भएको छैन। उनी अहिले मेचीनगरपालिका–१० को पालिया खोलाको सुकुम्बासी बस्तीमा बस्छन्। दुई छोराछोरीको पढाइ ससुरालीले हेरिदिएका छन्। चामल र नुनभुटुन इष्टमित्र–आफन्तहरूले जुटाइदिइरहेका छन्। रकम चेम्जोङ शान्ति मन्त्री हुँदा मन्त्रालयबाट पाएको रु.१ लाख ८० हजार ऋण तिर्दैमा सकियो। “मैले न न्याय पाएँ न त उपचारमा सहयोग”, नगेन भन्छन्। राजगढ–४ मा अर्का घाइते मोहम्मद अपुताली (४५) शनिबारे हाटमा खसी काटेर जेनतेन १३ जनाको परिवार पालिरहेका छन्। उनको दायाँ कञ्चटमा माओवादीको दुइटा गोली अझ्ै छ। “तेस्रो गोली छातीमै हानेका थिए, तर कोखामा लागेर बाहिरिएछ”, अपुताली भन्छन्, “बाँच्न त बाँचें, तर तीन महीना अस्पताल बस्दा दुई लाख ऋणमा डुबेको छु।”
सुराकीको आरोपमा ९ माघ २०६० को बिहान अपुतालीसँगै लगिएका उनका छिमेकी खिरन राजवंशीले भने माओवादीको गोली थेग्न सकेनन्। खिरनलाई मारेपछि आफूलाई लगालग गोली हानेर माओवादीहरू भागेको अपुताली सम्झ्न्छन्। त्यसपछि पनि माओवादीले गाउँमा बस्न नदिंदा उनी दुई वर्ष बिहारको दिघलबैंक गएर पेट पाले। जीउभित्र गोली भएकाले जाडोमा शरीर दुख्छ, गर्मीमा पोल्छ। “बाबुआमा र जहान छोराछोरी पाल्न रुँदै बाँचेको छु”, अपुताली भन्छन्, “कमसेकम सरकारले उपचार त गरिदिए हुन्थ्यो!”
जिल्ला शान्ति समिति झापासँग जिल्लामा ३३ जना द्वन्द्वकालीन अपाङ्ग र १६ जना घाइते भएको विवरण छ। उनीहरूमध्ये माओवादी केन्द्रीय सदस्य धर्मशिला चापागाई, कोचिला राज्य समिति सदस्य छत्र तिम्सिनासहित ९ जनाले राज्यबाट राहत बुझेका छन्। बाँकी घाइते र अपाङ्गले कहिले राहत पाउने हुन्, समितिलाई नै थाहा छैन।
शरणार्थीलाई राहत दिन मिल्दैन!
नरबहादुर मगर (४९) भुटानी शरणार्थी हुन्। १ वैशाख २०६३ को दिउँसो १ बजे उनी बेलडाँगी शिविरछेउको आफ्नै छाप्रे होटलमा थिए। त्यहीबेला सशस्त्र प्रहरीका एकजना घुमुवा जवानलाई माओवादीले बेलडाँगी बजारमा गोली हाने। त्यसपछि दोहोरो गोली चल्यो। केटाकेटीलाई खाटमुनि लुकाउँदा लुकाउँदै नरबहादुरको दायाँ छातीमा पनि गोली लाग्यो, जुन उनले अझै बोकिरहेका छन्।
कलेजो र फोक्सोको बीचमा रहेको गोली झिक्ने सघन शल्यक्रिया गर्दा रु.१० लाख खर्च हुने चिकित्सकले बताएका छन्। राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसीआरले तौलेर दिएको अन्नपानीमा निर्भर नरबहादुर त्यत्रो पैसा जुटाउने अवस्थामै छैनन्। दुखाइ कम गर्न दैनिक रु.७५ को औषधि चाहिने उनी त्यति पैसा नभएको दिन लोकल रक्सी पिएर गोलीको डाह भुल्ने कोशिश गर्छन्। उनी भन्छन्, “नेपाल सरकारले शरणार्थीलाई राहत दिन नमिल्ने बतायो, युएनएचसीआर गोलीको उपचार गर्ने म्याण्डेट छैन भन्छ।”
व्यवसायसँगै संस्कृति प्रवर्द्धन
प्वाँलो, खुर्मी, वाबु (चिन्डो), बिनायो, मुर्चुङ्गा, खुकुरी, कठुवा, चमर, कम्पनी रेजीको हारी, पेजुरी, कुची, सुनाखरीलाछा, शिरफूल, कल्ली, बुलाकी, छिटको गुन्यु, ढाका सल, फेटा, अल्लोको कोट आदि अनेक किरात चिजबिज। यी सब बिक्रीका 'आइटम' हुन् ललितपुरको ताल्छीखेलस्थित 'सुम्निमा कलेक्सन' का। कलेक्सनका सञ्चालक कपिल राई भन्छन्, “सिक्किम, दार्जीलिङ, ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, भोजपुर, खोटाङ र सोलुखुम्बुका कुना–कुनासम्म पुगेर नमूना संकलन गरेका चिज हुन्, यी।”
कटुञ्जे–४, भोजपुरका राईले सात वर्षको खोज, अनुसन्धान र संकलनपछि असोज २०६८ बाट यो 'स्टोर' खोलेको बताए। एकै थलोमा किरात सरसामान पाइँदा किन्ने र हेर्ने दुवैलाई सजिलो भएको छ। गायिका जानुका राई शहरमा हुर्केकाहरूलाई आफ्नो मौलिकता बुझाउन 'कलेक्सन' संग्रहालय जस्तो भएको बताउँछिन्। व्यावसायिकतासँगै जातीय मौलिकताको प्रवर्द्धन गरिरहेका राईले धजुरा (फुर्की) देखाउँदै भने, “पहिला आफैं बनाएर साथीहरूको कोटमा सिउँरिदिन्थें, आजभोलि यसको माग धेरै बढेको छ।”
उनले विदेशबाट धनुकाँधको धेरै माग भएको तर, यसको नमूना दिंदा पनि कसैले बनाउन नसकेको बताए। यो 'कलेक्सन'बाट सबभन्दा बढी सामान हङकङ जान्छ, त्यसपछि अष्ट्रेलिया, अमेरिका र जापान। मिस लिम्बू, मिस राई जस्ता सौन्दर्य प्रतियोगिता र किरात पर्वहरूमा यी सामानको माग पूरा गर्नै गाह्रो हुन्छ।
*तिलक राई, काठमाडौं *