आधुनिक विकल्प

Share:
  
- रमेश कुमार
विरोधले काम रोकिएन भने डेढ वर्षमा आर्यघाटमा विद्युतीय चिता तयार हुनेछ र त्यसबाट दैनिक हजारौं रुपैयाँको दाउरा, मासिक सयौं रूख र अन्ततः वातावरण संरक्षणमा सहयोग पुग्नेछ।
p14

निर्माणाधीन विद्युतीय शवदाह गृह। तस्बिर: ऋषिराम कट्टेल

हिन्दू संस्कार अनुसार दाउराले शवदहन गर्ने परम्परालाई विद्युतीय शवदाह गृह (इलेक्ट्रिकल क्रिमेटोरियम) को विकल्प दिने काम थालिएको छ। “दाउराले लाश जलाउने चलनलाई क्रमशः विस्थापित गर्ने आधुनिक विकल्प अघि सारिएको हो”, पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुशील नाहटा भन्छन्, “तीन दशक पुरानो यो योजना अब पूरा हुने भएको छ।”

पशुपति क्षेत्रमा जमिन, जल र वायु प्रदूषण जटिल र गम्भीर बन्दै आएको छ, जसको एउटा प्रमुख कारण खुला रूपमा घण्टौं लगाएर लाश जलाउनु पनि हो। यी कुरालाई ध्यानमा राखेर कोषले आर्यघाट दक्षिणतिरको खाली ठाउँमा विद्युतीय शवदाह गृहको जग हालेको छ। विद्युतीय शवदहन शुरू भएपछि जमिन, जल र वायु प्रदूषण क्रमशः घट्दै जाने कोषको विश्वास छ। यसका लागि रु.२ करोड ५९ लाखमा दुई वटा मेसिन ल्याउन कोलकाताको इन्डोम्यान इन्जिनियरिङ लिमिटेडसँग सम्झ्ौता गरिएको जानकारी नाहटाले दिए। वातावरणकर्मीहरूले कोषको प्रयासको सराहना गरेका छन् (हे. बक्स)।

बाध्यता होइन विकल्प
आर्यघाटमा 'अति विशिष्ट' हरूका लागि छुट्याइएको एकसहित दाउराका १० वटा चिता छन्। विद्युतीय शवदाह गृह बनेपछि पनि तिनलाई बन्द नगरिने सदस्यसचिव नाहटाले बताए। यसको अर्थ आर्यघाटमा विद्युतीय शवदहन बाध्यता नभएर विकल्प मात्र हुनेछ। नाहटा भन्छन्, “सर्वसाधारणमा विश्वास जगाएर मात्र परम्परागत तरिका विस्थापित गर्ने हो।” मृतकको शव नभेटिए कुश भए पनि जलाउनुपर्ने मान्यता रहेको समाजमा विद्युतीय शवदाह स्वीकृत हुन केही समय लाग्नसक्ने कोषका कोषाध्यक्ष नरोत्तम वैद्य बताउँछन्।

शुरूमा दुई विद्युतीय चिता रहने शवदाह गृह आवश्यक परे अर्को एउटा थप्न मिल्ने गरी बनाईंदैछ। दुइटा विद्युतीय चितामा दैनिक ४८ शव जलाउन सकिन्छ। आर्यघाटमा अहिले दैनिक ३० वटा लाशको अन्त्येष्टि हुँदै आएको छ। नाहटाका अनुसार, विद्युतीय चितामा १२०० डिग्री सेन्टिग्रेडसम्मको तापक्रम उत्पन्न भएर सामान्यतयाः ५५ मिनेटमा शव जलिसक्छर अस्तु संकलन गर्न सकिन्छ। विद्युतीय शवदहनमा अधिकतम रु.२५०० लाग्ने नाहटाको अनुमान छ। परम्परागत तरिकाबाट शव जलाउँदा कम्तीमा रु.५००० लाग्ने गरेको छ।

दुई वर्षअघि 'कलेज अफ एप्लाइड साइन्स' (सिएएस) ले गरेको एउटा सर्वेक्षणका सहभागीमध्ये ८० प्रतिशत हिन्दू र ७७ प्रतिशत बौद्ध धर्मावलम्बीले विद्युतीय दाहसंस्कार उपयुक्त हुने राय दिएका थिए। भारतको कोलकाता, मुम्बई लगायतका ठूला शहरमा विद्युतीय दाहसंस्कारको चलन बढिरहेको कोषका सदस्यसचिव नाहटा बताउँछन्। कोषले सनातन संस्कारको पनि ख्याल राखेर विद्युतीय शवदाह गृहको तयारी थालेको छ, जहाँ शवको अन्तिम संस्कार गर्ने कोठा र हल पनि हुनेछन्। शवदाह गृहसँगै करीब रु.९ करोडको लागतमा पार्किङ, किरियापुत्री भवन र भोजन–प्रसादी गृह पनि बनाइने नाहटाले बताए।

परम्पराअनुसार दागबत्ती दिइसकेपछि विद्युतीय दाहसंस्कार हुने र अस्तु निकाल्न मिल्ने हुनाले हिन्दू धर्म–संस्कारको ज्ञान भएकाहरू यो विधिलाई सामान्य मान्दछन्। वाल्मीकि क्याम्पसका प्राध्यापक भवानी खतिवडा तेजको अर्को रूप विद्युत् पनि भएकाले यसलाई अवैदिक भन्न नमिल्ने बताउँछन्। “अग्नि, विद्युत्, सूर्य, चन्द्र आदि वेदमै उल्लेख भएका तेजहरू हुन्”, प्रा. खतिवडा भन्छन्, “त्यसकारण, विद्युतीय शवदाहलाई धार्मिक विधिविधानका दृष्टिले शास्त्र विरोधी भन्न मिल्दैन।”

तीन दशकको प्रयास
निष्प्राण शरीर नष्ट गर्न परम्परागत चिताको सट्टा विद्युतीय चिता प्रयोग गर्ने परिकल्पना करीब तीन दशकअघि तत्कालीन काठमाडौं नगरपञ्चायतले गरेको थियो, कमल चित्रकार प्रधानपञ्च हुँदा। विष्णुमती किनारको टेकुमा विद्युतीय शवदाह गृह बनाइएको पनि थियो, तर ठूलो आकारको मेसिन ल्याइएकोले योजना नै असफल भएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष वैद्य बताउँछन्।

२० वर्षअघि स्थापना भएको कोषले पनि विद्युतीय शवदाह गृहको पहल गरेको हो। पशुपति क्षेत्र विकास गुरुयोजना २०५६ ले प्राथमिकतामा राखेपछि कार्यान्वयनमा आएको यस योजनाका लागि २०६२ मा 'इलेक्ट्रिक क्रिमेटोरियम' मेसिनको बोलपत्र आह्वान र दुई वर्षअघि भारतीय कम्पनीसँग सम्झ्ौता भएको थियो। विद्युत प्राधिकरणले शवदाह गृह सञ्चालन गर्न चाहिने २५० केभीए विद्युत् दिन सहमति जनाएको र त्यसबाहेक दुई वटा जेनेरेटरको प्रबन्ध गरिने सदस्यसचिव नाहटाले बताए।

काठमाडौंमा दाउराको अभावका कारण पनि कोषले विद्युतीय शवदाह गृहमा जोड दिएको हो। कोहीकोही बेला आर्यघाटमा दाउराको निकै कठिनाई पर्छ। कोषलाई दाउरा उपलब्ध गराउँदै आएको नेपाल टिम्बर कर्पोरेसनमा हड्ताल हुँदा त्यसको सीधा असर आर्यघाटमा पर्न थालेपछि कोषले अहिले निजी व्यवसायीबाट दाउरा किनिरहेको छ।

विरोध पनि शुरू
विद्युतीय शवदाह गृहको निर्माणसँगै विरोध पनि शुरू भइसकेको छ। शवदाह गृहको चिम्नीबाट निस्कने धुवाँ स्थानीयवासीको घरसम्म पुग्ने भएकोले विरोध गरेको पिङ्गलास्थानका नवराज लामिछानेले बताए। उनले वागमती पुल नजिकै पर्ने शवदाह गृह पर्यटकीय र व्यवस्थापकीय दृष्टिले पनि उपयुक्त नहुने तर्क गरे। भारतीय शहरका शवदाह गृहहरूको स्थलगत अध्ययन भ्रमण गरेका कोषका सदस्यसचिव नाहटा भने मूल सडकबाट ८० मिटर टाढा रहने शवदाह गृहको चिम्नीबाट गन्धरहित सेतो धुवाँ मात्र निस्कने बताउँछन्। “त्यसमाथि चिम्नीमा जडान हुने प्रदूषण मापन यन्त्रमा प्रदूषणको संकेत देखिनासाथ नियन्त्रण गरिनेछ”, नाहटा भन्छन्। उनले भवन वातावरणीय प्रभाव मूल्यांकन नगरी बनाउन लागेको र यसको नक्सापास पनि नगरेको भन्ने आरोपको पनि खण्डन गरे।

तर, स्थानीयवासीको विरोध साम्य भएको छैन। दुई साताअघि राष्ट्रिय योजना आयोगमा भएको छलफलपछि उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले प्रभाव न्यूनीकरण गरेर निर्माण अघि बढाउन दिएको सुझावमा पनि स्थानीयवासी सन्तुष्ट छैनन्। नवराज लामिछाने भन्छन्, “स्थानीयलाई असर पर्ने संरचना बनाउन कुनै हालतमा दिंदैनौं।”

 



स्वच्छ हुन्छ वागमती ! 

कोषका इन्जिनियर अक्रुरसिंह महत विद्युतीय दाहसंस्कारलाई वागमती नदी र स्थानीय वायुमण्डल प्रदूषण रोक्ने दीर्घकालीन उपाय ठान्छन्। वातावरणविद् भूषण तुलाधर पनि वायुमण्डल र नदी प्रदूषण नियन्त्रणमा आधुनिक विद्युतीय शवदाहको ठूलो सहयोग हुने बताउँछन्। तुलाधरका अनुसार, आर्यघाटमा निरन्तर जल्ने चिता जल, जमिन र वायुमण्डल प्रदूषणको ठूलै स्रोत बन्न पुगेको अध्ययनहरूले देखाएका छन्। आर्यघाटमा वार्षिक औसत ८६०० शवको अन्त्येष्टिबाट १२ लाख ४५ हजार ७५० टन कार्बन उत्सर्जन हुने सीएएसको अध्ययनले देखाएको थियो।

एउटा शव जलाउन २५० देखि ३०० केजी दाउरा चाहिन्छ। आर्यघाटबाट वार्षिक २९ हजार ६१६ टन भौतिक वस्तु, १०८१ टन सल्फर डाइअक्साइड, १० हजार ८०९ टन नाइट्रोजन अक्साइड, २१६२ टन हाइड्रो कार्बन र कार्बन मोनोअक्साइड निस्कने गरेको अध्ययनले देखाएको छ। आर्यघाटबाट दैनिक निस्कने कोइला, खरानी र काठका टुक्राले वागमतीलाई कुरुप र यसको पानीलाई विषाक्त बनाएको इन्जिनियर महत बताउँछन्। “शवलाई विद्युतीय चितामा जलाउँदा मेसिनमा रहने विभिन्न तहका फिल्टरका कारण प्रदूषण आफैं शून्यको हाराहारीमा र्झ्छ”, इन्जिनियर महत भन्छन्, “एउटा शव जलेपछि बाँकी रहने दुई केजी जति खरानी प्रदूषण नहुने गरी व्यवस्थापन गर्न सकिन्छ।”

comments powered by Disqus

रमझम