२९ बैशाख २०७० | 12 May 2013

चिना नचाहिने मान्छे

Share:
  

चिना हराएको मान्छे

लेखक : हरिवंश आचार्य

प्रकाशक : फाइनप्रिन्ट आइएनसी

पृष्ठः २९४+,

मूल्यः रु.३५०

हरिवंश आचार्यले अभिनय कलाको माध्यमबाट धेरैलाई हँसाए र केहीलाई रुवाए। करीब चार दशकको अभिनययात्रामा सबैलाई मोहित बनाएका हरिवंश खासमा को हुन्, कस्तो जीवनयात्रा गरेर यहाँसम्म आइपुगे भन्ने प्रश्नको एकमुष्ट जवाफ भएर आएको छ– चिना हराएको मान्छे। यो किताब उनको जीवनको अहिलेसम्मको उतारचढावको शब्दचित्र हो।

छोराप्रतिको उत्कट आसक्तिले पिता होमञ्जयले ७३ वर्षको उमेरमा हरिवंश पुराण लगाएपछि जन्मिएका हरिवंश होमञ्जयका तेस्री श्रीमतीबाट पाँच वटी छोरी पछिका एक्ला छोरा हुन्। पण्डित्याईं गर्ने होमञ्जय छोरालाई सकेसम्म धुरन्धर राजपण्डित बनाउन चाहन्थे। त्यसकारण, स्कूलको साटो गुरुकोमा बस्न पुगेका हरिवंशले ६ वर्षको उमेरमा पितालाई गुमाउनुपर्‍यो। त्यसको पाँच वर्षपछि उनले आमा पनि गुमाए। बाल्यावस्थामै आमाबुबा गुमाउँदाको पीडा, संस्कृत पढ्न छाडेर स्कूल जाँदाको खुशी अनि त्यसपछिका जीवनका आरोह–अवरोहमा बगेको छ, चिना हराएको मान्छे।

त्यसबेलाको समाज जातीय छुवाछूत र रुढीमा व्याप्त थियो। हरिवंशका बाबुआमाले एक्लो छोराको आयु बढाउन एकजना दमिनी आमालाई बेचिदिएका थिए। यसरी दमिनी आमा पनि पाएकाले पिताले चाहेजस्तो पण्डितको परीक्षाको साटो २०३४ सालको गाईजात्रा महोत्सवमा आफूले लेखेको 'आधुनिक श्राद्ध'को प्रहसन विशेष प्रदर्शनीको प्रतिस्पर्धामा राखेको रमाइलो बयान हरिवंशले गरेका छन्। भोलिपल्ट गोरखापत्र मा तस्वीर छापिएपछि उनमा कलाकारिताको भूत सवार भइहाल्यो। त्यसलगत्तै रेडियो नेपालमा नाटक खेल्न बोलाइएपछि हरिवंशको कलायात्रा निरन्तर उकालोमा रह्यो। यस्ता अनेक रोचक प्रसंगहरूले भरिएको छ, किताब।

कलामा जम्न थालेकै समयमा नक्सालको सडकमा ओहोर–दोहोर गरिरहने मीराले तरुनो हरिवंशलाई आकर्षित गर्छिन्। उनी मीराको एक झल्को पाउन सडकमै कुर्छन्, थाहा नदिइकन पछ्याउँदै घरसम्मै पुग्छन्। लामो समयको एकतर्फी प्रेमपछि अन्ततः मीरासँग विवाह भएपछि हरिवंशको जीवन खुशीको सागरमा हेलिंदै अगाडि बढ्छ। मीराले हरिवंशको यात्रालाई सफलताको शिखरतिर उचालिरहन्छिन्। तर, कान्छो छोरा मोहित गर्भमा छँदा टाइफाइड र जण्डिसबाट ग्रस्त बन्न पुगेकी मीराको मुटुमा पनि समस्या देखिएपछि २०४६ सालतिर दिल्लीमा पेसमेकर राख्छन्। त्यसपछिका दिनमा हरिवंशले मीरालाई गरेको माया र हेरचाहको प्रसङ्गहरू हृदयस्पर्शी छन्। अन्ततः ४७ वर्षको उमेरमै मीराको स्वर्गवास भएपछि हरिवंशको संसार अन्धकारमय हुन्छ र रोएरै बित्छ एक वर्ष। त्यो अवधिमा मन भुलाउन उनले कोरेका हरफहरूको सँगालो हो, यो किताब। मीराप्रति नै समर्पित किताबमा उनले लेखेका छन्, “मीराले अब कहिल्यै बूढी हुनुपर्दैन, उनी अब सत्चालीस वर्षकी मात्र हुन्छिन्– सधैंसधैं।”

यसरी मीराको वियोगले कलाकार हरिवंशलाई लेखक बनायो। आखिर रोएर बित्ने चिजको नाम हैन जीवन। रमिला पाठकसँग दोस्रो विवाह गरेका हरिवंशको जीवनले फेरि लय समातेको छ। मह जोडीको रूपमा मदनकृष्ण श्रेष्ठसँग मिलेर ३३ वर्षदेखि अभिनयमार्फत सिंगो नेपाली समाजलाई प्रभावित पारिरहेका हरिवंशले २०४६ र २०६२/६३ को जनआन्दोलनको सेरोफेरोमा निर्वाह गरेको राजनीतिक भूमिकाको प्रसंग निकै जानकारीमूलक छन्।

अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिएर गरेको लोकतान्त्रिक संघर्ष, 'जनआन्दोलन उपचार कोष' स्थापना, त्यसपछिका दिनमा जातीय–क्षेत्रीय तनाव कम गर्न कलामार्फत गरेको प्रयास, पद्मोदय स्कूल पढ्दा जयनेपाल हलमा फिल्म हेरेको देखि आफैं प्रमुख पात्र भएर फिल्म खेल्दासम्मका प्रसंगहरू पठनीय छन्। 'राजनीतिक यात्राका जूनकिरी' शीर्षकमा उनले लेखेका छन्, “हास्यव्यंग्यको भूमिका राजनीतिमा प्रतिपक्षकै जस्तो हुँदोरहेछ। हामी पञ्चायती व्यवस्थामाथि व्यंग्य गर्थ्यौं। त्यसो गर्दागर्दै हामी बहुदलवादी भयौं।”

मीठो लाग्दालाग्दै टुंगिइहाल्ने ५३ शीर्षकका छोटाछरिता लेखको भाषा सुललित छ। हरिवंश लेखनमा पनि कलामा जत्तिकै जमेका छन्।

रामेश्वर बोहरा


आग्रहपूर्ण प्राज्ञिक कर्म

हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध

लेखकः अर्जुनबाबु माबुहाङ र भरत तुङघुङ

प्रकाशकः विश्व याक्थुङ मुन्धुम समाज, धरान

पृष्ठः २०८+८,

मूल्यः रु.३२०

सन् १८२० पछिको साढे दुई दशक काठमाडौंमा बेलायती रेजिडेन्ट (राजदूत) रहेका ब्रायन हटन हज्सनले संकलन गरेका पूर्वी नेपालको युद्ध सम्बन्धी दस्तावेजको व्याख्यात्मक विवरण हो, हज्सन पाण्डुलिपिमा गोर्खा–खम्बुवान–लिम्बुवान युद्ध। पुस्तकमा शिरिजङ्गा लिपिको मूल पाण्डुलिपिलाई देवनागरीकरण, अनुवाद र व्याख्या गरिएको छ। पाण्डुलिपिमा उल्लिखित स्थान, घटना र पात्रहरू सही भएको पुष्टि गर्न लेखकद्वयले भोजपुरको हतुवादेखि पाँचथरको च्याङथापुसम्म पुगेर लोकोक्ति, तस्वीर तथा अडियो संकलन गरेका छन्।

पुस्तकमा वि.सं. १८३० देखि १८५२ सम्म पृथ्वीनारायण शाहका गोर्खाली फौज, लिम्बुवान, खम्बुवान र भोटबीच भएका विभिन्न युद्धको रोचक चर्चा छन्। गोर्खालीले शत्रु पक्षका बालबालिकालाई ओखलमा किचाएर मारेको, गर्भको बच्चा समेत बाँकी नराखेको, तीन–चार दिनसम्म तड्पाएर मारेको दर्दनाक प्रसंग छन्। हज्सन पाण्डुलिपिको पृष्ठ १३२, १३३ र १३४ लाई उद्धृत गरिएको इतिहासमा बाह्रबिसेको सभाखोला दोभानको लडाइँमा गोर्खालीले छलपूर्वक लिम्बुमाथि विजय प्राप्त गरेको उल्लेख छ।

लेखकद्वयमा रहेको आग्रहका कारण हुनसक्छ, यो ऐतिहासिक प्रसंगलाई त्यसको बयानले केही हलुका बनाएको महसूस हुन्छ। जस्तो, सभाखोला दोभानमा भएको युद्वमा गोर्खाली सरदार रघु रानालाई खत्तम पार्ने लिम्बु फौजतर्फका सरदार काङ्शरे (राय) दैवी शक्तियुक्त हुन्छन्। तर, तिनै दैवी शक्तिका स्वामी काङ्शरे रघु रानाका मातहत सामान्य सिपाहीहरू लखेट्न अक्षम हुन्छन् र आफैं धोखापूर्वक मारिन्छन्। पुस्तकमा एकातिर 'क्षेत्री सरदारले जिते गोर्खाको जित हुने' भनिएको छ भने अर्कोतिर गोर्खाको प्रतिनिधित्व गरेर रघु राना मगर लडेको भनिएको छ।

पुस्तकको पृष्ठ ८७ मा गाउँ प्रमुखलाई भनिएको 'राय' शब्द नै कालान्तरमा 'राई' बनेको र पृष्ठ ८८ मा सेनहरूले स्थानीय लिम्बुहरूलाई 'राय' भन्थे भनिएको छ। यो किताबले पाठकलाई 'राय', 'रे' र 'राई' शब्दको सम्बन्ध अर्थ्याउन सक्षम बनाउँदैन। पुस्तकमा मिक (आँखा), हाङ (राजा), ल्हुङ (ढुंगा) जस्ता शब्दका अर्थलाई लिम्बुवानको ऐतिहासिकता पुष्टि गर्ने सन्दर्भमा प्रयोग गरिएको छ। जबकि, खम्बु (राई) र मगर भाषामा पनि ठ्याक्क त्यही अर्थमा यी शब्दहरू प्रचलनमा छन्। यसमा भाषाशास्त्रीको थप व्याख्या चाहिने देखिन्छ।

लेखक द्वयले लिम्बुवानको सन्दर्भमा जति जाँगर खम्बुवानको विषयमा देखाएका छैनन्। हतुवागढीमा सुनाहाङ र उनका भाइ कर्माहाङले शासन गरेको बताउन सक्ने हसनपुरका लालबहादुर राईको उमेर खुलाउन अन्दाजको भर परेका छन्, लेखकद्वय। सुनाहाङलाई समातेर काठमाडौं लगेको लोकोक्ति भोजपुर खैराङका कुन व्यक्तिले सुनाएका हुन्, त्यो पनि छैन पुस्तकमा। यो पुस्तकलाई एक्टिभिष्टहरूले गरेको सराहनीय प्राज्ञिक काम भन्न सकिन्छ, जसले राज्यपुनर्संरचनाको चालु बहसलाई यथार्थको एउटा आधार दिनेमा सन्देह छैन।

सन्त गाहा मगर


असामान्यब आरोहण

कर्म

लेखकः कमलप्रसाद ज्ञवाली

सम्पादकः लक्ष्मण वियोगी

पृष्ठः २०८+२०,

मूल्यः रु.२७५

प्रकाशकः बुद्ध एकेडेमिक पब्लिसर्स एण्ड डिष्ट्रिब्युटर्स प्रा.लि.

किष्ट ब्याङ्कका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवाली आज जुन ठाउँमा छन्, उनको पृष्ठभूमि हेर्दा साधारणतया असम्भव जस्तो लाग्छ। १२ सन्तानमध्ये पाँच छोरा गुमाइसकेका अभिभावकलाई उनको पनि उस्तो भर थिएन, तर सौभाग्यवश उनी दाजुहरू जस्तो अल्पायुका रहेनछन्। २०२४ मा गुल्मीको थोर्मामा जन्मिएका ज्ञवाली रिडीबाट तेस्रो श्रेणीमा एसएलसी पास गरेर आईकम पढ्न पाल्पा झर्छन् र ट्युसन पढाएर अध्ययन खर्च जुटाउँछन्। एसएलसी दिएलगत्तै पारिवारिक दबाबमा गरिएको विवाह यसबीचमा टुटिसक्छ।

बाल्य र किशोरकालमा अभावमा परेर पढाइ गतिलो नहुँदा पनि मिहिनेतको सूत्र समातेर सफल हुँदै गए, ज्ञवाली। अपत्यारिलो लाग्ने उनका तमाम भोगाइहरू हालै प्रकाशित पुस्तक कर्म मा समेटिएको छ। काठमाडौं इन्जिनियरिङ कलेजको फाइनान्सियल कन्सल्टेन्ट बन्दा पाएको मोबाइल र गाडी सुविधा जीवनको ठट्टा जस्तो लागेको पुस्तकको एक ठाउँमा उल्लेख छ। बीकम सकेर दोस्रो विवाह गरेका ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट (सिए) पढ्न भारत पुग्छन्। सीए दोस्रो सेमेष्टरको परीक्षा दिएर फर्केका बखत २०५१ मा एउटा फाइनान्समा जागिर पाउँछन्, जसले पढाइ रोकिन्छ र जीवनले नयाँ मोड लिन्छ। जागिरे भएको ६ वर्षमा उनले आफैं कार्यकारी प्रमुख भएर किष्ट मर्चेन्ट ब्याङ्किङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र ब्याङ्कमा दर्ता गराउँछन्।

त्यसपछि लगातार पूँजी वृद्धि गरेको किष्ट २०६४ मा वाणिज्य ब्याङ्क बन्यो।
संघर्ष र सफलताको उकालो देखाउने किताब निकै रोचक छ। आफू 'कर्म'कै लागि जन्मिएको भन्ने ज्ञवालीको दाबी पनि प्रेरक लाग्छ। सम्पादक लक्ष्मण वियोगीले भाषाको निरसता, छरपस्ट विषयवस्तु र व्याकरणात्मक त्रुटि पहिल्याउन सकेको भए सुनमा सुगन्ध हुनेथियो।

प्रभात भट्टराई

comments powered by Disqus

रमझम