नारायणहिटी राजदरबारमा भएको अकल्पनीय र विभत्स हत्याकाण्डको विवरण सहित जाँचबुझ् प्रतिवेदन आउने नै छ । १९ जेठको रातदेखि चलेको हल्ला, सञ्चारमाध्यमले दिएका समाचार र केही प्रत्यक्षदर्शीहरूको भनाइबाट त्यो जघन्य हत्याकाण्ड स्वयं तत्कालीन युवराज तथा स्वर्गीय राजा श्री ५ दीपेन्द्रबाट भएको थियो भन्ने बुझ्न्छि । राजगद्दीका स्वाभाविक उत्तराधिकारी एवं सार्वजनिक जीवनमा भावी राजाका रूपमा देखिन थालिसकेको एउटा सुशिक्षित मानिसले आफ्नो पूरै परिवार तथा नातेदारहरूको यस्तो विभत्स हत्या गर्न र आफैँलाई समेत समाप्त पार्न सक्छन् भन्ने कुरा सामान्यतया कसैले कल्पनासम्म पनि गर्न सक्तैन । यस्तो परिस्थितिमा जनताका आशङ्का र आक्रोश सडकमा उत्रिनु स्वाभाविक थियो । मुलुकमा प्रजातान्त्रिक शासनव्यवस्था छ । राजतन्त्रको स्वरुप संवैधानिक बनेको छ । बहुमत प्राप्त जननिर्वाचित सरकारले शासन सम्हालेको छ । तर उक्त घटनाका बारेमा सरकार र राज्य संरचनाको जुन हालत देखियो त्यसले जनतामा गम्भीर असर पारेको छ । जनताले राज्यव्यवस्था र सरकारको क्रियाशील एवं प्रभावकारी उपस्थिति खोजेका छन् । विशेष गरेर यस्तो घटनाका सन्दर्भमा त्यो अपेक्षा अझ् बढी हुनु स्वाभाविक थियो । अहिलेको युग भनेको तीव्र सूचना प्रवाहको युग हो । सूचना प्रविधि र सञ्चार संरचनाको जालोले हामीलाई यति खुला बनाएको छ कि अबको दुनियाँमा कसैले केही लुकाउन र रोक्न सक्तैन । ढिलो हुनेले पश्चाताप मात्र गर्नुपर्ने हुन्छ । १९ गते रातभर टेलिफोनबाट शहरभरिे हल्ला भएको घटनालाई बिहान उज्यालो हुन नपाउँदै विदेशी सञ्चारमाध्यमले सार्वजनिक गरिसकेका थिए । तर, मुलुकको सञ्चारमाध्यम बोल्दैन । नियमित समाचार समेत प्रसारण हुँदैन । रेडियो, टिभीबाट शोक धुन मात्र बजिरहन्छ ।
हाम्रो राजपरम्परा अनुसार गद्दीनसिन राजाको निधन र नयाँ राजाको राज्यारोहणको औपचारिक जानकारी एकै साथ दिने प्रचलन छ । तर यो स्वाभाविक निधनको घटना थिएन । स्वदेशी सञ्चारमाध्यमले राजाको निधनका बारेमा मौन रहेर पनि उक्त दुःखद घटनाको संक्षिप्त जानकारी दिन सक्तथ्यो । मन्त्रिपरिषदको तत्काल बैठक गरेर परिस्थिति विश्लेषण गरी आम जनतालाई आश्वस्त र संयमित रहन आह्वान गर्न सकिन्थ्यो । प्रधानमन्त्रीले विभिन्न राजनीतिक दलका नेताहरूसँग सम्पर्क गरेको र परिस्थितिको मूल्याङ्कन गरिरहेको कुरा जनताले सुन्न पाएका भए बढी आश्वस्त हुन सक्थे । अचानक राजसंस्थामा उत्पन्न त्यत्रो ठूलो रिक्तताको सन्दर्भमा प्रजातान्त्रिक सरकारबाट नागरिकले अपेक्षा गर्ने कुराहरू कम्तीमा पनि यिनै थिए । हाम्रो देशमा प्रजातान्त्रिक संवैधानिक संरचना र संयन्त्रले काम गरेको एघार वर्ष भइसक्यो । तर राष्ट्रले अकस्मात् भोग्नु परेको यस दुःखद र त्रासदीपूर्ण घटनाका सन्दर्भमा राज्य संयन्त्र र सरकार अपेक्षित मात्रामा क्रियाशील देखिएन । हामीले विचार पु¥याउनुपर्ने र अद्यावधिक गर्नुपर्ने धेरै कुरा बाँकी नै रहेछन् । प्रजातान्त्रिक एवं उत्तरदायी शासनको विकास गर्न यी कुराहरूमा ध्यान दिनु अति जरुरी छ । १९ जेठ राति ९ बजेको आसपासमा घटेको उक्त घटनाको जानकारी प्रधानमन्त्रीलाई कुन बेला भयो ? राजदरबार सम्बन्धी विषय समेत हेर्ने जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री सैनिक अस्पताल पुग्दा घटनाले शहर जगाइसकेको बुझ्न्छि । उत्तरदायी शासनको मान्यता अनुसार यस्तो घटनाको तत्काल जानकारी पाउनुपर्ने पहिलो अधिकारी प्रधानमन्त्री हो । यसको पालना कसरी गरियो ? प्रधानमन्त्रीले त्यसै रात घटनास्थलको निरीक्षण गर्नुभयो कि भएन ? राजपरिषदले घोषणा गर्दा गद्दीनसिन राजाको ‘स्वर्गारोहण’को सूचना प्राप्त गर्ने प्रक्रिया कस्तो छ ? चिकित्सकको प्रतिवेदनसहित राजदरबार सचिवालयको लिखित वा अन्य मौखिक सूचनाको आधारमा ‘स्वर्गारोहण’को घोषणा गर्दा त्यतिखेर भन्न मिल्ने शब्दावलीमा के राजाको निधनको संक्षिप्त कारण बताउन सकिँदैनथ्यो ?
राजपरिवारको परम्परा र राजदरबारमा व्यवस्था गरिएको शाही सेनाको सुरक्षा संरचना एवं पहराका बीच यी प्रश्नहरू त्यति सान्दर्भिक नमानिएलान् । तर अहिले हामी एक्काइसौँ शताब्दीको विश्व समुदायका माझ्मा छौँ । हाम्रो देशमा घट्ने घटना हामीले नभन्दैमा विश्व समुदायबाट छिप्ने अवस्था छैन । विश्व समुदायले हाम्रो राज्यव्यवस्थालाई खुला र प्रजातान्त्रिक मानेको छ । हामीले जस्तोसुकै परिस्थितिमा राजसंस्था, राजदरबार लगायत सरकारको व्यवहारले खुलापन र प्रजातान्त्रिक पद्धतिको मर्यादालाई उच्च राख्न सक्नुपर्छ । माथिका प्रश्नहरू हाम्रो पद्धति र खुलापनको मूल्यसँग गाँसिएका छन् । राजपरिवार हत्याकाण्डको घटनाले दरबारको सुरक्षा प्रबन्ध भित्रभित्रै खोक्रो र फितलो रहेको तथ्य उजागर गरेको छ । जनताले बुझ्ेको कुरा के हो भने राजदरबार र राजपरिवारको सुरक्षाको जिम्मा सेनाको हो । यसका लागि आवश्यक स्रोत साधन सहितको संरचना र प्रबन्ध छ । हामीले बाहिरबाट हेर्दा दरबारको सुरक्षार्थ सेनाको चौबीसै घण्टा कडा पहरा छ । १९ जेठको घटना र प्रत्यक्षदर्शी भनिनेहरूले सञ्चारमाध्यमलाई दिएको बयानका आधारमा हेर्दा दरबारभित्र राजपरिवारको सुरक्षा संरचना त दरबार र निमुखा जनताका बीच बारको रूपमा मात्र सीमित रहेछ । अहिले प्रकाशमा आएका भनाइहरू सत्य हुन् भने दरबारभित्र राजपरिवारको खासै सुरक्षा प्रबन्ध रहेनछ भन्न सकिन्छ । श्री ५ को सरकारले सेनासँग राजपरिवारको सुरक्षा व्यवस्थामा देखिएको यत्रो गम्भीर कमीको बारेमा स्पष्टीकरण माग गर्नुपर्छ । राजाप्रतिको निष्ठालाई आफ्नो विशिष्ट पहिचान भनी गौरव गर्ने शाही सेनाले यसको यथार्थ उत्तर श्री ५ को सरकार मार्फत नेपाली जनतालाई दिनु जरुरी छ । सेनाका प्रति जनताको विश्वास जोगाइराख्ने यो अत्यन्त महŒवपूर्ण आधार हो ।
स्वर्गीय राजा श्री ५ वीरेन्द्रको सकल परिवार समाप्त भएको यस दर्दनाक एवं विभत्स हत्याकाण्डले हामी सबैलाई बढी पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्ने पाठ सिकाएको छ । राजसंस्था र राजपरिवारको व्यवहार पनि मर्यादित सीमाभित्र रहेर युगानुकूल रूपले पारदर्शी हुनुपर्ने बेला आएको छ । सार्वभौम जनताको निर्वाचित प्रतिनिधिको हैसियत राख्ने सरकार जस्तोसुकै परिस्थिति, परम्परा एवं व्यवहारका बीच पनि हतप्रभ र निरीह होइन जागरुक मनस्थितिमा जिम्मेवार र क्रियाशील हुनु प¥यो । १९ जेठ घटेको घटनाको सन्दर्भमा त्यस्तो देख्न सकिएन । सरकारको मौनता र निरीहता सबैलाई खट्केको छ । अहिले जनता सरकारको अपील र कार्वाहीले भन्दा आफ्नै चेतनाले सम्हालिएका छन् । तर परिस्थितिको सही मूल्याङ्कन र तदनुरुपको व्यवहार जिम्मेवार निकायहरूले देखाउन नसके जनताको आन्दोलित मनस्थिति कुनै पनि बेला उग्रतातर्फ उन्मुख हुनसक्छ । त्यो अवस्था प्रजातन्त्र र राजा दुवैका लागि हितकारी नहुनसक्छ । यो घटनाले राजा र सरकार दुवैका अगाडि कतिपय समान तर गम्भीर चुनौतीहरू प्रस्तुत गरेको छ । यसले राजपरिवारको गरिमा र परम्परालाई गम्भीर रूपमा चोट पु¥याएको छ । समाजले यस्तो हत्याकाण्डको कल्पना गर्न सकेको थिएन । राजपरिवार भित्रैबाट भएको यस नृशंस हत्याकाण्डले राजसंस्थाका प्रति समाजमा उत्पन्न हुनसक्ने नकारात्मक प्रभावलाई राजसंस्थाले पनि राम्ररी बुझनु आवश्यक छ । २० जेठ बिहानैदेखि नेपालभर भएका प्रदर्शनहरू र त्यसमा संलग्न उमेर समूहलाई राम्ररी बुझन सके संवैधानिक राजतन्त्र सहितको हाम्रो प्रजातान्त्रिक पद्धतिले थप विकास र सुदृढीकरणको बाटो लिन सक्नेछ । यी दिनहरूमा एकातिर स्वर्गीय राजाका प्रति जनताको अपार श्रद्धा र आदर अभूतपूर्व रूपमा देखा परेको छ भने अर्कातर्फ आक्रोश र आशङ्काको एउटा कोण स्वयं वर्तमान राजालाई नै तान्न समेत उद्यत देखिएको छ । जनतामा आशङ्काको ठूलो खाडल बाँकी नै छ ।
विगत केही वर्षदेखि चिनियाँ साँस्कृतिक क्रान्तिकालीन साम्यवादी शासनको सपना देख्दै जनयुद्धका नाममा हिंसात्मक आन्दोलनमा उत्रिएका माओवादीहरूको केन्द्रीय नेतृत्व स्वर्गीय राजालाई आफ्नो सहकर्मी बताउँदै नयाँ राजालाई षडयन्त्रको गोटीका आँखाले हेर्ने र परिस्थितिलाई अरू भड्काउने चालमा देखिन्छ । १९ जेठको घटनालाई उनीहरूले ‘देशी, विदेशी षडयन्त्र’ जे भने पनि स्वर्गीय राजाको शोक मनाइरहेका जनताका प्रति उनीहरूको व्यवहार दोहोरो देखा परेको छ । हुन त वर्तमान राजासँग उनीहरूको सम्पर्क रहेको कुरा पहिले नै सञ्चारमाध्यममा चर्चा नभएको होइन । यदि उक्त चर्चा सत्य हो भने श्री ५ को सल्लाह र सहयोगमा सरकारले समस्या समाधानको नयाँ पहल गर्न सक्ने अवस्था पनि छ । यस्ता कुराहरू प्रजातान्त्रिक पद्धतिको मर्यादाभित्र जनताले पनि थाहा पाउन सक्ने गरी हुनु जरुरी छ । अन्यथा आशङ्काको घेराले सबैलाई प्रभावित गर्नेछ र समाधान अझ् कठिन हुनेछ । १९ जेठको घटना जतिसुकै अकल्पनीय र विभत्स भए पनि त्यसबाट सिर्जित रिक्तताको संस्थागत पूर्ति संवैधानिक मान्यता र ऐन कानून एवं परम्पराबाट भइसकेको छ । तथापि विभिन्न अनुमान र आशङ्काका भरमा नेपाली राजनीतिको अन्यौलग्रस्त र अनिश्चित भविष्यको लख काट्नेहरूको यहाँ कमी छैन । विश्व अत्यन्त तेज गतिले अगाडि बढेको छ । अनुमान र आशङ्काको आफ्नै ठाउँ छ । तर नेपाली जनताको सचेतता पनि त्यत्तिकै जागरुक देखा पर्दैछ । नेपालको राजगद्दी उत्तराधिकारको श्रृङ्खलाले स्वर्गीय श्री ५ वीरेन्द्रको सन्तानबाट एउटा फड्को लियो । तर यो सबै स्थापित परम्परा र विधिसम्मत प्रक्रियाबाटै सम्पन्न भयो । राजाका रूपमा श्री ५ ज्ञानेन्द्रका नयाँ उत्तरदायित्वहरू बढेका छन् । अत्यन्त शोकको घडी र नयाँ उत्तरदायित्वका बीच मौसुफबाट मुलुकले संवैधानिक राजतन्त्रप्रति उच्चतम मर्यादाको अपेक्षा गरेको छ । यस सन्दर्भमा श्री ५ बाट अभिव्यक्त वचनबद्धताप्रति हामी आश्वस्त हुन सक्छौँ ।
नेपालमा संवैधानिक राजतन्त्रको परम्परा लामो छैन । २००७ सालपछि एक दशकको अनुभवले सकारात्मक निरन्तरता लिन सकेन । २०४६ पछि पुनः संवैधानिक राजतन्त्रको अभ्यास भएको छ । संविधानले धेरै कुरा लिखित रूपमै स्पष्ट पारेको छ । तथापि नलेखिएका उपक्रमहरू पनि विकसित भएका छन् । यस अवधिमा मुलुकको राजनीति र राजाको भूमिकाबीच टड्कारो द्वन्द्व भएन । यो हाम्रा लागि अत्यन्त सकारात्मक पक्ष हो । स्व. श्री ५ वीरेन्द्रको लोकप्रियतालाई यसले हदैसम्मको उँचाइमा पु¥याउन सक्यो । संस्था एउटा परिधि र प्रक्रिया हो । व्यक्तिको लगाव, दृष्टिकोण र क्रियाशीलताले संस्थालाई गतिशील बनाउँछ । नयाँ राजाको व्यक्तित्व, लगाव र दृष्टिकोणले संवैधानिक राजतन्त्रलाई अरू उँचाइमा पु¥याउने छ भन्ने आशा गर्न सकिन्छ । यत्रो विषम परिस्थितिमा मुलुकले जुन प्रकार संवैधानिक व्यवस्था र राजपरम्पराको परिधिभित्र संवैधानिक राजतन्त्रको उत्तराधिकारको संक्रमण पार गरेको छ त्यसबाट स्पष्ट हुन्छ कि हाम्रो प्रजातान्त्रिक व्यवस्था उपस्थित चुनौतीहरू पार गर्दै अगाडि बढ्न सक्षम छ ।