२९ बैशाख २०७० | 12 May 2013

छुट्टै कानूनको खाँचो

Share:
  
- तारा भट्टराई
मुलुकी ऐनको दण्डसजाय सम्बन्धी फितलो व्यवस्थामा सुधार गरी बलात्कारीलाई सजाय सम्बन्धी नयाँ कानून नबनाएसम्म महिला हिंसामा कमी आउने देखिंदैन।

***बलात्कार हुनुमा मान्छेको कुलत, लागू एवं मादक पदार्थ सेवन तथा सञ्चारको गलत प्रयोगको पनि ठूलो हात छ।

***महिला हिंसा न्यूनीकरणका लागि विश्वमा अनेकौं नीति, नियम र कानून बनिसके पनि हामीकहाँ भने बलात्कार जस्तो जघन्य अपराधको पनि अझैसम्म कानून बन्न सकेको छैन।

***ऐनको जबर्जस्ती करणीको महलमा १० वर्षमुनिका बालिका बलात्कृत भएमा १० देखि १५ वर्षसम्म र १० देखि १४ वर्षसम्मका बालबालिका बलात्कृत भएमा ८ देखि १२ वर्षसम्मको कैद सजाय छ।

दिल्लीमा १७ अप्रिलमा फेरि अर्को पाशविक बलात्कारको घटना भयो, जसको शिकार भइन् पाँच वर्षीया बालिका। घटनालगत्तै उपचारमा संलग्न अस्पतालका सुपरीटेन्डेन्टले सञ्चारमाध्यमसँग कुरा गर्दै आफूले पहिलो पटक यस्तो पाशविक घटना देखेको प्रतिक्रिया दिएका थिए। बालिकाको ओठ, गाला र पाखुरामा मात्र होइन, मलद्वार वरिपरि थुप्रै चोट थियो। अपराधीले बालिकाको गुप्ताङ्गभित्र २०० मिलिको ८ इञ्चको बोतल र मैनबत्ती घुसाएका थिए।

दिल्लीमा बलात्कृत बालिका अस्पतालको शैच्चयामा मृत्युसँग जुझिरहेकै बेला २९ अप्रिलमा नागपुरको एउटा अस्पतालमा चिकित्सकहरूको अथक् प्रयासका बाबजुद अर्की चार वर्षीया बालिकाको मृत्यु भयो, बलात्कारको कारण। मध्यप्रदेशको सिवनी जिल्लाको एउटा गाउँमा ३५ वर्षीय व्यक्तिले मुख थुनेर बलात्कार गरी खेतमा फालेको भोलिपल्ट बिहान बालिकालाई बेहोस अवस्थामा फेला पारिएको थियो। जबर्जस्ती गर्ने क्रममा मुख थुन्दा अक्सिजन पुग्न नसकेर मस्तिष्कमा गम्भीर क्षति पुगेको थियो। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट नागपुरस्थित अस्पतालमा ल्याइएको थियो।

यस्ता कहालिलाग्दा घटना भारतमा मात्र होइन, नेपालकै राजधानी लगायत पहाड र तराईमा पनि बढेका छन्। भर्खरै सप्तरीको कञ्चनपुर गाविसमा ३० वर्षीय अहेवले साँझ् आफ्नो पसलमा सामान किन्न आएकी १० वर्षीया बालिकालाई पसलभित्रै बलात्कार गरेको घटना जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। गएको पुसमा नुवाकोटका एक बाबुले तीन वर्षीया छोरीलाई राजधानीमै बलात्कार गरेका थिए। पछिल्लो चार महीनामा नेपालमा ३ देखि १२ वर्षका बालिका बलात्कृत भएका यस्ता दर्जनौं घटना सार्वजनिक भएका छन्।

अबोध बालिकामाथि किन यस्ता दुष्कर्म भइरहेका छन्? कुन त्यस्तो कारण छ जसले मान्छेलाई यस्तो कुकर्म र अपराध गर्न अग्रसर गराइरहेको छ? यौनिकताको कुनै अंकुरसम्म नपलाएका यस्ता बालिका देखेर मान्छेमा यौन चाहना कसरी जागृत भइरहेको छ? यो मान्छेभित्रको यौनविकृति हो या मानसिक रोग? मैले पढेकी थिएँ, परपीडकहरू अरूलाई दुःख, पीडा, यातना दिएपछि पीडितको चिच्याहट, रुवाइ र डरबाट आनन्द लिन्छन्। यस्ता कुनै पनि कारणबाट बालिकाहरू बलात्कार भइरहेका हुन् भने सम्बन्धित विज्ञहरू यस सम्बन्धी अध्ययन–अनुसन्धान गरी समस्या न्यूनीकरणको उपाय खोज्न जुट्नुपर्दछ।

हुनत मानिसभित्रको आपराधिक मनोवृत्तिको एउटा रूप हो यो। जसको रोकथामका लागि कानूनी उपचार बलियो हुनु आवश्यक छ। जबकि हामीकहाँ यो पक्ष ज्यादै कमजोर र फितलो छ। महिला हिंसा न्यूनीकरण तथा महिला सशक्तिकरणका लागि विश्वमा अनेकौं नीति, नियम र कानून बनिसकेका छन्। तर हामीकहाँ भने अझैसम्म पनि बलात्कार जस्तो जघन्य अपराधको लागि छुट्टै कानून बनाइएको छैन। मुलुकी ऐनको जबर्जस्ती करणीको महलमा १० वर्षमुनिका बालिका बलात्कृत भएमा १० देखि १५ वर्षसम्म र १० देखि १४ वर्षसम्मका बालबालिका बलात्कृत भएमा ८ देखि १२ वर्षसम्मको कैद सजायको व्यवस्थामै अल्झेर बसेका छौं, हामी। बलात्कारीलाई सजाय सम्बन्धी नयाँ कानून नबनेसम्म महिला हिंसामा कमी आउने देखिंदैन।

यो अपराध हुनुमा मान्छेको कुलत, लागू एवं मादक पदार्थ सेवन तथा सञ्चारको गलत प्रयोगको पनि ठूलो हात छ। दिल्लीमा पाँच वर्षीया बालिकाको बलात्कार गर्ने अपराधीले पनि बलात्कार गर्नुपूर्व रक्सी सेवन गरी साथीको मोबाइलमा अश्लील सिनेमा हेरेर अपार्टमेन्टमा फर्कंदा कोठा बाहिर खेलिरहेकी बालिकालाई चकलेट दिएर कोठामा लगी बलात्कार गरेको बयान दिएका छन्। यस्तै नेपालमा पनि अधिकांश बलात्कार, अपराध तथा हत्याको घटनामा दोषी तथा अपराधीले यिनै कुराहरूको सेवन तथा प्रयोग गरेेको पाइएको छ। यीमध्ये कारण जे सुकै भए पनि एउटा कुरा सत्य छ– बलात्कार जस्ता दुष्कर्मले पीडित बालिकाको जीवन, उनको भविष्य, उनको खुशी लगायत पीडक र उनीसित सम्बन्धित र आश्रित सबैको भविष्य तहसनहस हुन पुग्छ।

अन्त्यमा, राजनेतासित निवेदन गर्न चाहन्छु कि बलात्कारीलाई सजाय सम्बन्धी कानून बनाउन धेरै ढिला भइसकेको छ। आशा गरौं, चुनावपछि बन्ने सरकारले महिला हिंसा न्यूनीकरण सम्बन्धी कानून बनाउनेछ।

comments powered by Disqus

रमझम