१-१५ असार २०५८ | 15-29 June 2001

कर्मको क्रूर खेल

Share:
  
- रुपा जोशी
दुई रातपछि फेरि आर्यघाटमा अर्को चिता बल्यो । तर टुहुरै, एक्लै बल्यो । दीपेन्द्रलाई दागबत्ती दिँदा उनको लागि रुने परिवारजन कोही बाँकी थिएनन् । ती त अघि नै त्यही घाटमा खरानी भइसकेका थिए ।

किरण पाण्डे

आधारातसम्म ड्वाङ–ड्वाङ गरेर मिनेटैपिच्छे पड्केको तोपले मुटुमा नेल गाड्दै गयो । छैनन्, अब तिम्रा राजारानी छैनन्, भन्दै नेल ठोक्दै । २० जेठको दिनभरिको अन्यौल र सन्त्रासलाई साँझ्मा टेलिभिजनको पर्दाको प्रत्यक्ष प्रसारणले छर्लङ्ग पारिदिइसकेको थियो । तर मनले भने आँखालाई टेर्न खोजेकै थिएन । ५६ तोपले उपत्यका थर्काएपछि मन पनि थर्कियो, र यथार्थ स्वीकार्न बाध्य तुल्यायो । तर, यथार्थ स्वीकार्नु कसरी ? कसरी पत्याउने आफ्नै बाबु मार्न छोराको हात तम्सिन्छ भनेर ? कसरी पत्याउने आफ्नै कोखमा ९ महिना पालेको ज्यानले आफैँलाई नै गोली हान्छ भनेर ? कसरी चित्त बुझउने एउटा दाइले आफूसँगै स्नेहपूर्वक हुर्केका बहिनी र भाइलाई गोलीको वर्षाले खत्तम पार्छ भनेर ? अनि आफ्नै फुपू, काका र फुपाजू ? कसरी ? किन ? घटनाबाट अलि टाढा बस्ने हामी आम मानिसलाई त यस्ता प्रश्नले पिरोले र तथ्यको अभावमा ‘अरे’ का भरमा छामछाम छुमछुम गर्न बाध्य तुल्याए भने दरबारभित्र र सैनिक अस्पतालभित्र के हाल भयो होला ? आफूले अति आदर गर्ने राजारानी र शाही परिवारलाई विभत्स मृतअवस्थामा रगतको पोखरीमा आफ्नो सामुन्ने देख्दा ती डाक्टर, ती सैनिक, ती नातेदारले आफूलाई कसरी सम्हाले होलान् ? कसरी स्थिति सम्हाल्ने मनस्थिति र जाँगर आयो होला ?

त्यो रक्ताम्मे रातले कत्तिको आपत र अन्यौल ल्यायो भन्ने कुरा त शाही शवयात्राले नै दर्शायो । सबैको मनमा परेको बज्रपातले उब्जाएको अलमल देखिन्थ्यो त्यहाँ । ध्यानदृष्टिको कमी देखियो, योजनाको कमी । शाही परिवारको मुहार हेरिसक्नु बनाइदिने तर्फ समयमै ध्यान नपुगेको छर्लङ्गै देखियो । राजाको त्यो सदैव मन्द मुस्कान छर्ने ओठ रणभूमिमा प्राण त्याग गरेको सैनिकको जस्तो प्याक्क खुलिरहेको । रानीको त्यो अति सुन्दर नयन अन्यौलमा ट्वाल्ल टोलाइरहेको । त्यो आपतकालीन समयमा डाक्टरहरूले पनि कसलाई हेर्न भ्याए होलान् ? कसलाई ध्यान दिने उनीहरूले ? मरेकाको अनुहार अलि गतिलो तुल्याउने कि बाँचेकालाई उपचार गर्ने ? फेरि एक जना भए पो ! शाही परिवार स्वात्तै मृत, अर्धमृत र घाइते अवस्थामा परेपछि वरपरकाको होस कसरी रहन्थ्यो होला ? आफ्ना प्यारा राजारानीको शवको अगुवाई गर्दै हिँडेका सिपाहीहरूका गोडा निस्तेज भएर लर्बराइरहेका थिए । चालै नमिलेको, तालै नमिलेको । पुलमाथिबाट जाने कि पुल तलबाट जाने भनेर शवयात्रा अल्मलियो । अनि गल्ड्याङगुल्डुङ खेतको आली हुँदै, गन्हाउने विष्णुमतीको पानी तर्दै भिरालो बगर चढाए राजारानीलाई ।

हतारहतारमा तयार पारिएको चिताले पनि निकै समस्या उब्जायो । घुम्ने ठाउँको कमीले गर्दा फूलको थुङ्गा जस्तो गरेर स्याहारिएका कोमल शाही शरीरहरूलाई ब्राह्मणहरूले च्याकुलझयाइँ पारेर चिताको परिक्रमा गराए । त्यो लरबरमा शाही सलामीमा फुर्तिसाथ ठडिने राजाको नाङ्गो हात कात्रोभित्रबाट फुत्त–फुत्त तल झ्थ्र्याे । त्यो सुकोमल तर निर्जीव हातमा रातो चुरा कत्ति खुलेको रानीको ! तर कसैले पनि हात लगाउन नमिल्ने बडामहारानीको गोरो सुकोमल पाखुरी ब्राह्मणहरूले च्याप्प समाएर, तुर्लुङ्ग झ्ुण्ड्याएर चिता परिक्रमा गराए । त्यत्रो सम्मानसाथ हुर्केका राजाको चिता दन्काउन असनबाट भर्खरै किनेर ल्याइएको जस्तै मामुली टिनबाट घ्यू खन्याइयो । कस्तो विडम्बना, कर्मको कस्तो क्रूर खेल । यति जनाको ज्यान गएको कि आर्यघाटमा जलाउनलाई राजपरिवारले पनि पालो कुर्नु परेको । भाइ निराजन भस्म भएपछि मात्र दिदी श्रुतिलाई जलाउने ठाउँ भएको । एकएक गरी राजारानी र अरूको चिताको आगो दन्कियो । सैनिकहरूले हतारहतारमा सङ्लो पार्न सफल भएको बागमतीको पानीमा चिताहरू प्रतिबिम्बित हुन थाले । आत्माले त्यागेका शाही शरीरहरू क्रमैसँग भस्म हुँदैगए । त्यसको दुई रातपछि फेरि आर्यघाटमा अर्को चिता बल्यो । तर टुहुरै, एक्लै बल्यो । आफ्नो परिवारको भन्दा व्यवस्थित थियो दीपेन्द्रको चिता । सजावट अझ्ै राम्रो थियो । चिता अझ्ै शोभनीय र परिक्रमा गर्न सजिलो बनाइएको थियो । तर दागबत्ती दिँदा उनका लागि रुने परिवारजन कोही बाँकी थिएनन् । ती त अघि नै त्यही घाटमा खरानी भएर बागमतीमा बगिसकेका थिए ।

नवघोषित राजा ज्ञानेन्द्रको राजगद्दी आरोहण गर्दाको मुहारमा शाही परिवारले खेपेको आलो बज्रपात झ्ल्कन्थ्यो । श्रीपेचले थिचिएको शिर, मलिन मुहार, गडेका, थाकेका नयन, छिनछिनमा तानेको लामो सास । एक्लै छन् हाम्रा नयाँ राजा । आफ्ना अग्रज–अनुज सब गए । दाजु गए, दिदीहरू गए, भाउजू गइन् र भाइ पनि गए । दुःख, सुख, हाँसो, आँशु बाँड्ने आफन्तहरू एकै पलको पागलपनमा अमर्यादित मृत्युको मुखमा होमिए । न उनीहरूको मृत्युमा शोक मनाउन पाएका छन्, न घाइते श्रीमती र बहिनीसँग बस्न पाउँछन् । न सुत्न पाउनु, न थकाइ मार्न पाउनु, न त डाँको छोडेर आम मानिसले जस्तो मनको भक्कानोलाई हलुका पार्न पाउनु । शाही औपचारिकताको च्यापमा परेका हाम्रा राजा आफ्नो व्यक्तिगत समस्यालाई थान्को लगाएर जनता सामु खडा हुन बाध्य भएका छन् । नयाँ आयामको बोध गराउँदै उपत्यका फेरि थर्कियो १०१ तोपको गर्जनले ।

comments powered by Disqus

रमझम