‘हे आमा !’ कविताको यो अंश २०४५ सालमा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदबाट प्रकाशित ‘उपकार’ त्रैमासिकबाट लिइएको हो र उक्त कविताका रचयिता हुन्, त्यसबेलाका १७ वर्षीय कवि दीपेन्द्र शाह । दीपेन्द्र शाहको नाम कवि लेखकको रूपमा कमैले मात्र सुनेका र पढेका होलान् । तर उनका कतिपय रचना पत्रपत्रिकामा छापिएका छन् ।
२०५६ सालमा प्रकाशित घटराज भट्टराईको ‘नेपाली लेखककोष’मा कवि दीपेन्द्र शाहको पनि परिचय छ । त्यसमा लेखिएको छ, “‘दीपेन्द्र शाह’का शुभनाउँमा साहित्यिक रचना प्रकाशित छन् । शाहका कविता गोरखापत्र, उपकार र निबन्धहरू भन्ज्याङ पत्रिकामा प्रकाशित छन् । शाहका रचना राष्ट्र, राष्ट्रियता, जीवन र जगतमा आधारित छन् । सरल, सहज र सौम्य प्रस्तुति शाहका लेखनका विशेषता हुन् ।” दीपेन्द्र शाहको नेपाली साहित्यप्रति रुचि हुनुको पछाडि उनको साहित्यिक पारिवारिक पृष्ठभूमिको पनि हात छ । उनका मुमा कवयित्री चाँदनी शाह तथा हजुरबुबा कवि म.बी.बी.शाह पनि नेपाली साहित्यिक क्षेत्रमा स्थापित नाम हुन् । वंशको परम्परागत गुण नै कवि दीपेन्द्र शाहमा रहेको पाइन्छ । दीपेन्द्र शाहले नाटक पनि लेखेका छन् । राजपरिवारका सदस्यहरूलाई लामो समयसम्म पढाउने प्राध्यापक हरिश्चन्द्र न्यौपानेले युवराजाधिराज दीपेन्द्रलाई दुई कक्षादेखि एसएलसीसम्म पढाएका थिए । प्राध्यापक न्यौपाने भन्छन्, “श्री ५ दीपेन्द्र नाटक लेखिबक्सिन्छ । भाषा सम्बन्धमा पनि मौसुफको विशेष दृष्टि हुने हुँदा शुद्धाशुद्धिको विशेष निर्णय गर्नु पथ्र्यो । मौसुफबाट लेखिएका नाटकको शुद्धाशुद्धि तथा ह्रस्वदीर्घ पनि मिलाउने गर्थेँ ।”
कलिलो मष्तिस्कबाट पनि राम्रो साहित्यिक सिर्जना हुन सक्छ । १७ वर्षको छँदा लेखिएको दीपेन्द्र शाहको कविता ‘हे आमा !’ ले यो कुराको पुष्टि गर्दछ । प्राध्यापक घटराज भट्टराई यस कवितासँगै कवि दीपेन्द्रबारे भन्छन्, “मूलतः निबन्धकारका रुपमा स्थापित र चर्चित भए पनि ‘हे आमा !’ कविताका माध्यमबाट एक सिद्धहस्त कविका रूपमा कवि दीपेन्द्र शाहको परिचय पाइन्छ ।”
हे आमा !
देखाइदेउ हे आमा ! काम, काम हामी गर्दछौँ
घरका रित्ता भकारी – डाला पौरखले भर्दछौँ ।.
जाने हो कता देखाऊ बाटो हृदय खोलेर
उघार्छौँ हामी ज्योतिको दैलो यो जुगै फेरेर ।
घुम्दछौँ प्रत्येक गाउँका कुना ज्ञानज्योति छरेर
प्रत्येक सुख्खा थलोमा आजै सिँचाइ गरेर ।
पु¥याउँदछौँ सारा विकट ठाउँमा चम्किलो बिजुली
उर्वरा पाछौँ खोँच र बगर यै माटो उचाली ।
यो छातीभित्र छ राँको जल्दो नेपाली तागत
मिहिनेत गछौँ बनाउन देश बहुञ्जेल रगत ।
भिजाउनु परे यो माटो आज, मायाले भिजाउँछौँ
माटोमा जाँगर उठाउनु परे आफैलाई उठाउँछौँ ।
देशलाई शक्ति चाहिएमा मेरै बल बाहु छन् तयार
चम्किला सधैँ म देख्न पाउँ आमाको मुहार ।
(‘उपकार’ त्रैमासिक, वर्ष ८, अङ्क ३, २०४५ बाट)
सम्भावनाको विश्राम
श्री ५ अधिराजकुमारी श्रुति शाह– चित्रकलामा उदीयमान कलाकारको नाम हो÷थियो । २०५३ सालमा श्रुतिको एकल चित्रकला प्रदर्शनीको आयोजना गरिएको थियो नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा । उनका ३० वटा कलाकृति राखिएका त्यो प्रदर्शनी हेर्ने अधिकांश व्यक्ति र छापाको साझ प्रतिक्रिया थियो– श्रुतिका कलाकृति निष्कपट, निश्छल र वस्तुगत चेतनाका अभिव्यक्ति मात्र थिएनन्, तिनले कलाकारको सौम्य र शालिन व्यक्तित्व समेत उद्घाटित गरेका थिए । बाल्यकालदेखि नै चित्रकला प्रति अभिरुचि राख्ने श्रुति शाहले आफ्नो कलायात्राको प्रारम्भ २०४९ सालदेखि गरेकी थिइन् । कलाकार श्रुतिले वाटरकलर, अइल, चार्कोल, पेन्सिल र मिक्स मिडिया आदि कलर माध्यमको प्रयोग गरी कुची (ब्रस) चलाएकी छन् र उनको कुचीले वस्तुवादी एवं यथार्थपरक भाव व्यक्त गरेको छ । उनका केही चर्चित चित्रहरूमा भगवान शिव, गणेश, सगरमाथा श्रृङ्खला, फूल तथा घोडाका चित्रहरू छन् जसमा बनावटीपन पटक्कै देखिँदैन, सजीवता झ्ल्कन्छ ।
भौतिक सुविधा सम्पन्न आधुनिक परिवेशमा हुर्किएकी श्रुतिका चित्रहरूले प्रकृति, अध्यात्म र परम्परासँग आधुनिक परिवेशका मानिसहरूको मन–मस्तिष्क कसरी गाँसिएको हुन्छ भन्ने कुरा देखाउँछन् । अधिकांश कलाकारहरूको विचारमा उनका चित्रमा नैराश्य होइन उत्साह र ऊर्जा भेटिन्छ । श्रुतिद्वारा सृजित चित्रहरू विषयवस्तुका दृष्टिले गम्भीर, प्रस्तुतिका दृष्टिले सबैले बुझने, सरल, आकर्षक, बोधगम्य हुनु नै उनको कलाकारिताको विशिष्टता थियो ।