जेठ १९ राति, राजदरबारको घटना नेपालीहरूका लागि मात्र नभएर सम्पूर्ण विश्वको लागि अकल्पनीय र विश्वास नलाग्ने थियो । नेपाल र त्यसको राजप्रासादभित्र यस्तो घटना हुनै सक्दैन भन्ने मान्यता विश्वस्तरमै थियो । नेपालीहरूबीच टेलिफोनबाट सूचनाको आदानप्रदान हुन थाल्यो । “सर्किट व्यस्त भएको हुँदा केही बेरपछि प्रयास गर्नुस्” फोनमा स्वचालित जवाफ आउँथ्यो । टेलिफोन सुविधा नभएका नेपालीलाई सूचना पाउन कर्णपरम्परा मात्रै आधार बन्न पुग्यो । २० गते बिहान सबैले अपेक्षा गरेका थिए, संसदीय प्रजातन्त्र र संवैधानिक राजतन्त्र अन्तर्गत दश वर्ष भइसकेको सरकार र त्यस अन्तर्गत रहेका निकायहरूले नेपाली जनतालाई दरबारको घटनाका सम्बन्धमा कम्तीमा केही सूचना दिन शुरु गर्नेछन् । तर शोक धुन बजाएर र मन्दिरका तस्बिर देखाएर नेपाल टेलिभिजन र रेडियो नेपालले आफ्नो जिम्मेवारी पूरा भएको ठाने । बीच बीचमा अस्पष्ट र अपूर्ण समाचार प्रसारित गरिए । जनतालाई धैर्य धारण गर्न अनुरोध गर्ने कुनै सूचना प्रसारित भएनन् । सबैको चासो गढेको घटनाका सम्बन्धमा भने अझ्ै पनि केही बताइएन । २०२८ सालमा तत्कालीन महाराजाधिराज श्री ५ महेन्द्रको निधन हुँदा पनि रेडियोबाट धार्मिक धुन मात्र प्रसारण भएको थियो । त्यसबेला टीभी थिएन । यसपटक पनि सरकार, सञ्चारमाध्यम र राजप्रासादको घटनासम्बन्धी सूचना दिने जिम्मेवारी पाएका निकायहरूले ठीक त्यस्तै व्यवहार र क्रम दोहो¥याए, जस्तो ३० वर्षअघि तिनले गरेका थिए । तर, सौभाग्य वा दुर्भाग्य भनौँ, यस पटक देश र समाज धेरैअघि बढिसकेको थियो, जसले गर्दा सूचना दिने र सूचना पाउने (जनता) का बीच कुनै सन्तुलन स्थापित हुन सकेन । शोकको घडीमा आँशुसँगै राजधानीका सडकमा आक्रोश पोखिनुको प्रमुख कारण यही नै रह्यो । राजा महेन्द्रको निधनपछिका तीन दशकमा नेपाली समाजले निम्न परिवर्तनलाई आत्मसात् गरिसकेको तथ्यलाई सत्तामा रहेकाहरूले अनुमान नै गर्न सकेनन् ।
¨ शिक्षित र चेतनशील नेपालीको सङ्ख्यामा भएको गुणात्मक वृद्धि,
¨ २०४६ सालको परिवर्तनपछि सूचनाको अधिकार सुनिश्चित गर्ने संविधान,
¨ राजनीति र सार्वजनिक जीवनमा विश्वव्यापी रूपमा सञ्चारमाध्यमको बढ्दो र अहम् भूमिका,
¨ सर्वसुलभ सञ्चार प्रविधिको व्यापकता ।
मुख्य रूपमा पश्चिमी समाज र केही वर्षअघि छिमेकी भारतमा खुलेका स्याटलाइट टीभी च्यानलहरूको प्रभाव त्यतै मात्र सीमित छैन । आकाशे बाटोबाट हाम्रो घर, कोठा, दैलो, डबली सबैतिर सबैजसो च्यानल आइपुग्छन् । बजार र प्रतिस्पर्धाबाट चलेको टीभीको भूमिका अमेरिकी राजनीतिमा होस्, इराकमाथि बम वर्षा गरिँदा होस् वा युगोस्लाभिया माथि नाटोले हमला गर्दा होस्, अहम् रूपमा संलग्न थियो । कारगिलमा भएको लडाइँको रिपोर्टिङमा भारतका सरकारी र निजी सञ्चारमाध्यम समेत संलग्न थिए । यी दुईका समाचार सम्प्रेषण कतिपय स्थितिमा एक–अर्कासित बाझ्एिका पनि थिए । विगत दश वर्षमा नेपालमा पनि टीभी, छापा र रेडियो माध्यमको उल्लेखनीय मात्रामा विकास र विस्तार भएको छ । यसै अनुरुप वास्तविक सूचना प्राप्त गर्ने जनताको अपेक्षा बढ्नु स्वाभाविक पनि हो । टीभी र रेडियोबाट विभिन्न घटनाहरूबारे स्थलगत रिपोर्टिङको थालनी पनि भएको थियो । हामी पनि यस क्षेत्रमा क्षमतावान भइसक्यौँ भन्ने छाप नेपालीहरूलाई परेको थियो । तर अहिलेको राष्ट्रिय सङ्कटमा हाम्रा निकायहरूमा यस्तो क्षमता मात्रै हैन प्रवृत्ति नै नरहेको स्पष्ट देखियो । आफ्ना राजा, रानी र राजपरिवारका सदस्यहरूको सामूहिक मृत्युबारे सार्वजनिक अपेक्षा अनुसार राज्य सञ्चालनमा रहेका कुनै पनि जिम्मेवार व्यक्तिले जनताका सामु सूचना प्रवाह गर्नुपर्ने आवश्यकता देखेनन् । सबै नेपालीले स्वाभाविक अपेक्षा गरेका थिए, सरकारी प्रवक्ताले नियमित रूपमा सूचना दिनेछन्, घटनाबारे सकेसम्म वस्तुपरक विवरण अगाडि ल्याउने छन् । यस्तो अपेक्षा गरिनु अस्वाभाविक थिएन किनभने विश्वका थुप्रै देशहरूमा अघिपछि नभए पनि सङ्कटको बेला यस्तै गरिने व्यवस्था हुन्छ । आफ्ना सञ्चारमाध्यममा त सम्बन्धित कसैले बोलेन भने विदेशी सञ्चारमाध्यमलाई उपयोग गरेर बोल्ने कुरै भएन । वस्तुगत सूचना प्रभावित गर्ने हाम्रो संस्थागत व्यवस्था र क्षमता अत्यन्तै फितलो र अविकसित रहेछ भन्ने स्पष्ट भयो ।
कुनै पनि समाजमा लुकेर रहेका डर, त्रास, कमी–कमजोरी एवं आन्तरिक क्षमता सङ्कटका समयमा मात्र बाहिर प्रकट हुने गर्दछन् । अहिलेको घटनाले नेपाली समाज सामु आफ्नो संरचनात्मक विडम्बना आलो घाउ सरह देखिएको छ । विदेशी सञ्चारमाध्यमले शुक्रबार रातिको घटनाका प्रत्यक्षदर्शीको भनाइ प्रसारण गरिसक्दासम्म पनि सरकारी र सामाजिक व्यवस्था रनभुल्लमै रह्यो र आधिकारिक छानबिन नै कुरेर बस्यो । यही आधारमा विश्व समाजले निष्कर्ष निकाल्न थालेको छ– ‘नेपाली समाज यो खोक्रो पुरातन व्यवस्था परिवर्तन गर्न अनिच्छुक छ ।’ हाम्रो लागि यो अत्यन्तै तीतो र पीडादायी सत्य हो । नेपाल र नेपाली समाजलाई यस्तो अक्षमताको खाल्डोबाट माथि लान प्रयास नगर्ने दोष हालको सरकार र त्यसलाई नेतृत्व गर्ने पार्टीमा जान्छ । नेपाली ब्यूरोक्रेसी, विपक्षी पार्टीहरू, राजदरबार, हाम्रो शिक्षित समाज र प्रबुद्ध वर्गहरू पनि त्यसमा त्यत्तिकै भागिदार हुन पुगेका छन् । नेपाली समाजले पुरातन संस्कार त्यग्ने तत्परता नदेखाउँदा राजादेखि जनतासम्म सबैलाई वेफाइदा पुगेको स्थिति स्पष्ट भइसकेको छ । संवैधानिक राजसंस्था, राजनैतिक पार्टीहरू, न्यायव्यवस्था, शिक्षा व्यवस्थामा संलग्न सबै र शिक्षित समाजको सामूहिक प्रयासले मात्रै नेपाली समाज अब यस अक्षमताको खाल्डोबाट माथि उठ्न सक्नेछ । ‘नेपालीहरू असल, मिलनसार, मेहनती, राष्ट्र र राजसंस्थाप्रति आस्थावान छन्, तर सङ्कटको घडीमा पनि एकापसमा मिलेर काम गर्न नसक्ने गैरजिम्मेवार र मूर्ख छन्’ भन्ने निष्कर्ष निकाल्न कसैलाई नदिऔँ । यही सङ्कल्प र अठोट नै राष्ट्रलाई संवैधानिक राजतन्त्रको बाटोमा डो¥याउने दिवंगत महाराजाधिराज श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेव, राजपरिवारका अन्य सदस्यहरूप्रति हाम्रो सच्चा श्रद्धाञ्जलि हुनेछ ।