२९ बैशाख २०७० | 12 May 2013

नेपालगञ्जको अन्तर्राष्ट्रिय प्रतिनिधित्व

Share:
  

तस्वीर: तुफान न्यौपाने

नेपालगञ्जका १६ वर्षीय प्रकाश केसी अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागी हुँदैछन्, १२ जेठदेखि कतारको दोहामा हुने जुनियर एशियन च्याम्पियनसीपमार्फत।

कुनै बेला भारोत्तोलनका लागि उर्वरभूमि नेपालगञ्जका समसुद्दिन अघि सहकिल अहमद सिद्धिकी, राजेन्द्र बर्मा र सुरेन्द्र हमालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए। प्रकाशका पिता राजु केसी पनि भारोत्तोलनका राष्ट्रिय खेलाडी थिए। घरमै खेल वातावरण पाएका प्रकाशका प्रशिक्षक भारोत्तोलनका ओलम्पियन सुरेन्द्र हमाल भन्छन्, “प्रकाशको क्षमता पदक ल्याउने खालको छ।” ३―५ वैशाखमा वीरगञ्जमा भएको राष्ट्रिय छनोट प्रतियोगिताबाट प्रकाश एशियन च्याम्पियनसीपमा छनोट भएका हुन्।

प्रकाश अहिले हमालसँगै समसुद्दिन सिद्धिकीसँग बिहान/बेलुका प्रशिक्षण दिइरहेका छन्। क्यान्सरबाट लामो समय थलिएका हमालले १९९४ को ओलम्पिक, दुइटा एशियन गेम र पाँचवटा एशियन च्याम्पियनसीप खेलेका थिए भने सिद्धिकीले जुनियर एशियन, एशियन र साउथ एशियन गेम खेले।

तुफान न्यौपाने, नेपालगञ्ज


जिरो एङ्गलको सन्न्यास

१८ वैशाखमा राजधानीको दशरथ रंगशालामा लक्ष्मी ब्याङ्क थ्रीस्टारले भारतको मोहन बगानलाई मैत्रीपूर्ण खेलमा २–१ गोल अन्तरले पराजित गरेपछि राष्ट्रिय टीमका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङ (३२) ले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यासको घोषणा गरे। राष्ट्रिय टीमबाट ११ अन्तर्राष्ट्रिय खेल खेलेका उनी भारतको सिलिगुडी जाँदै गर्दा बस दुर्घटनामा घाइते भएपछि केही वर्ष खेलबाट बाहिर थिए। जिरो एङ्गलबाट गोल गर्न माहिर उनले राष्ट्रिय टीमको तर्फबाट भुटानविरुद्ध गोल गरेका थिए।

२०५७ मा थ्रीस्टारबाट व्यावसायिक फूटबलमा डेब्यु गरेका तामाङकै कप्तानीमा थ्रीस्टारले सिक्किमको गभर्नर्स गोल्ड कप, आहा गोल्ड कप र बूढा सुब्बा गोल्ड कप जितेको थियो। २०६१ मा थ्रीस्टार ए डिभिजन लिग च्याम्पियन बन्दाका प्रमुख स्ट्राइकर उनले २०६१ मा उत्कृष्ट खेलाडी घोषित भएर मोटरसाइकल पुरस्कार पाएका थिए।

एनआईबीएल फ्रेन्डस् र सिमि्रक सरस्वती क्लबबाट पनि केही समय खेलेका तामाङ २०६९ मा रूपक स्मृति पुरस्कार पाउनुलाई जीवनकै अविस्मरणीय क्षण भन्न रुचाउँछन्। मासिक रु.१५००–२००० पारिश्रमिक लिएर व्यावसायिक

फूटबल खेल्न थालेका तामाङ दामभन्दा पनि नाम पाएकोमा दंग छन्। जन्मक्षेत्र इटहरीमा ११―१६ उमेरका किशोरहरूलाई दक्ष फूटबल खेलाडी बनाउन ट्रेनिङ सेन्टर खोल्ने योजनामा रहेका तामाङ छिट्टै प्रशिक्षकको तालीम लिंदैछन्।

सन्त गाहा मगर

comments powered by Disqus

रमझम