१-१५ असार २०५८ | 15-29 June 2001

परेको बेला काम नदिने हाम्रो सञ्चार संयन्त्र

Share:
  
- हेमबहादुर विष्ट

गएको वर्ष हामीले बहुदलीय संसदीय प्रजातन्त्र पुनस्र्थापना भएको दशौँ वार्षिकोत्सव मनायौँ । प्रत्येक नेपालीको सार्वजनिक महŒवको सूचना माग्ने र पाउने हकलाई ग्यारेन्टी प्रदान गर्ने नेपाल अधिराज्यको संविधान, २०४७ लागु भएको एक दशक पूरा भएको अवसरमा त्यसवेला सूचना र सञ्चारजगत पनि त्यत्तिकै हर्षित देखिएको थियो । नयाँ संविधान लागु भएयता सूचना र आमसञ्चारका माध्यममा सार्वजनिक र निजी क्षेत्रको लगानी अभूतपूर्व रूपमा बढेको छ । एक अनुमान अनुसार, यो क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्रको लगानी अहिले रु. ५ अर्ब नाघिसकेको छ । लगानी मात्र नभई, सूचना र सञ्चारको पेशा एवम् व्यवसायमा अहिले अरू कुनै समयमा भन्दा बढी सुपठित, सुशिक्षित र सुप्रशिक्षित व्यक्तिहरू संलग्न छन् । ठीक यस्तै वेलामा सौभाग्य, दुर्भाग्य वा संयोग जे भनौँ, इतिहासमा विरलै घट्ने घटनाको हामी जीवित साक्षी बन्न पुग्यौँ । विद्यमान सुरक्षा व्यवस्थाको सबैभन्दा अभेद्य भन्ने ठानिएको किल्लाभित्र देशका सबैभन्दा सुरक्षित ठानिएका राजारानीको हत्या भयो भन्ने हल्ला फैलिन थाल्यो । रातको ९ः१५ बजे घटेको यस घटनाको विषयमा सूचना र समाचारलाई आफ्नो पेशा र व्यवसाय बनाउने व्यक्ति वा माध्यममध्ये धेरैजसोले राति १२–१ बजेसम्ममा पहिलो जानकारी पाइसकेका थिए । त्यो रात काठमाडौँ उपत्यकामा टेलिफोनका घण्टीहरू रातभर जसो बजिरहे । सत्य, असत्य सूचनाहरू फैलने क्रम रातभरि नै चलिरह्यो ।

त्यसवेला काठमाडौँको आफूलाई सचेत र जागरुक भन्ने प्रत्येक व्यक्तिलाई सत्य र तथ्य के हो भन्ने जान्ने आवश्यकता संभवतः आफ्नो जीवनमा सबैभन्दा बढी भएको हुन सक्छ । तर त्यस दिन मानिसहरूले बिहानै प्रकाशित हुने धेरैजसो ‘ब्रोडसिट’ दैनिक पत्रिकाहरूबाट मात्र होइन चौबीसै घण्टा प्रसारणमा रहनेदेखि लिएर एकाबिहानै खुल्ने रेडियो तथा टेलिभिजन स्टेशनहरूबाट समेत् आफूले सबैभन्दा बढी जान्न चाहेको कुरा जान्न पाएनन् । क्षण क्षणमा चल्ने हल्लाहरूले स्थितिलाई क्रमिक रुपबाट झ्न् झ्न् भ्रामक र तनावपूर्ण बनाउँदै लगिरहेको थियो । मानिसहरू पत्रपत्रिका बिक्री हुने ठाउँहरूदेखि लिएर रेडियो टेलिभिजन अघि जम्मा भैरहेका थिए । तर हाम्रा सूचना र सञ्चारका माध्यमहरूलाई ठीक त्यसैबेला आफ्नो कर्तव्य र दायित्व नै नसम्झ्ने रोगको संक्रमणले झ्न् झ्न् ग्रस्त तुल्याउँदै लगिरहे झ्ैं देखियो । हामी नेपालीहरू मध्ये धेरै श्रापमा विश्वास गर्छौं, विशेष गरी सतीको श्राप । महाभारतमा पाण्डव र कौरवहरूका बीचको महायुद्धमा कर्णसँग सम्बन्धित एउटा प्रसङ्ग धेरैलाई सम्झ्ना हुनुपर्छ । युद्ध मैदानमा कर्णलाई जुन हतियार र विद्याको सबैभन्दा बढी आवश्यकता जतिवेला पर्दछ, त्यहिवेला त्यो विद्या र हतियार उनले प्रयोग गर्न पाउँदैनन् । किनकि उनलाई यस्तै हुने श्राप परेको थियो । नेपालीहरूलाई जुनवेला जस्तो सूचना र जानकारीको सबैभन्दा बढी आवश्यकता हुन्छ ठीक त्यसैवेला हाम्रा सूचना र सञ्चारका माध्यमहरूले ती सूचना र जानकारी दिनसक्ने अवस्था हामी किन सृजना गर्न सकेनौं ? २१ औं शताव्दीमा प्रवेश गरेका भनिएका हाम्रा सञ्चारकर्मीहरू र समाचार माध्यम आफ्नो कर्तव्य पूरा गर्न किन विफल भए ?

सूचना र सञ्चारलाई आफ्नो पेशा र व्यवसाय बनाएकाहरूले अरू थुप्रै कुराहरूमा जस्तै गरी अरू कसैको थाप्लोमा दोष थोपरेर आफू चोखो बन्ने कि यस पटकको यो अकल्पनीय भनिने घटनाबाट सिक्तै कठिन र प्रतिकूल अवस्थामा पनि आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न सक्ने गरी आफूलाई तयार पार्ने ? जवाफ खोजिनु अति आवश्यक छ ।

comments powered by Disqus

रमझम